शिलाले कस्दै नागरिक सम्बन्ध- समाचार - कान्तिपुर समाचार

शिलाले कस्दै नागरिक सम्बन्ध

नेपालबारे भारतमा सकारात्मक सन्देश प्रवाह 
राजेश मिश्र

अयोध्या (उत्तर प्रदेश) — भारतीय प्रधानममन्त्री नरेन्द्र मोदीले नेपालको बारे बोल्दा प्राय: दोहोर्‍याइरहने वाक्य हो- ‘नेपालके बिना हमारे राम भी अधूरे हैं’ । जनकपुर होस् या लुम्बिनी आफ्नो भ्रमणका क्रममा उनले दुई देशलाई जोड्ने धार्मिक र सांस्कृतिक विषयलाई महत्त्वका साथ उठाउने गरेका छन् ।

हिन्दु धार्मिक मान्यताअनुसार त्रेतायुगमा भगवान विष्णुको अवतारका रुपमा अयोध्यामा जन्म लिएका भगवान रामको विवाह जनकपुरकी राजकुमारी जानकीसँग भएको थियो । प्राचिनकालको अयोध्या आधुनिककालमा भारतमा तथा जनकपुर नेपालमा छ ।

त्यही धार्मिक मान्यताअनुसार ‘नेपाल बिना राम अधुरा’ भनिएको हो । आजको आधुनिक युगमा पनि रामलाई पूर्णता दिन नेपाल अघि सरेको छ । भगवान रामको जन्मस्थल भारतको अयोध्यामा भव्य मन्दिर निर्माण भइरहेको छ । मन्दिरमा राखिने रामको मूर्ति निर्माणका लागि कालीगण्डकी नदीबाट शिला उत्खनन् गरी भारत ल्याइएको छ । शालिग्राम पत्थर पाइने भएकाले कालीगण्डकी नदीको शिलाको छनोट गरिएको हो ।

धार्मिक भनाइ छ– ‘माने भगवान, नमाने पत्थर’ । नेपालमा पत्थरको खानी छ । कालीगण्डकीमा पााइने शालिग्राम पूजनीय मानिन्छ । त्यही नदीबाट निकालिएका दुई ठूला पत्थर यतिबेला भगवान रामका रुपमा पुजिन थालेका छन् । नदीमा रहँदासम्म पत्थरको परिचयमा मात्रै सीमित त्यहाँबाट अयोध्या राम मन्दिरका लागि उत्खनन् भएदेखि दुई पत्थर भगवानको रुपमा पूजनीय हुन पुगे ।

बेनीबाट जनकपुर आउँदा नेपाली नागरिकले त्यसप्रति आस्था दर्शाउन थालेका थिए । जनकपुरबाट भारत प्रवेश गरेपछि त्यस शिलाप्रति आस्था प्रकट गर्नेका संख्या बढ्दै गयो । अयोध्यासम्मको यात्रामा उक्त शिलालाई हजारौं हजार मानिसले श्रद्धा र आस्था प्रकट गरे । नेपालबाट अयोध्यामा रामको मूर्ति निर्माणका लागि शिला आएको खबर भारतीय सञ्चारमाध्यममा लगातार छाइरह्यो । यात्राभरि कतिपय टेलिभिजनले प्रत्यक्ष प्रसारण पनि गरे । म्याग्दीको कालीगण्डकी नदीबाट शिला उत्खनन्‌देखि त्यसलाई अयोध्या पुर्‍याउने क्रममा बाटामा हजारौं नरनारीले शिलालाई रामको स्वरुप मानेर पूजाआजा गरेका छन् ।

राम जन्मभूमि स्थल विवादित थियो । भारतको सर्वोच्चले ९ नोभेम्बर २०१९ मा राम जन्मभूमिको पक्षमा फैसला सुनाएपछि मन्दिर निर्माण हुँदैछ । राम जन्मभूमि अयोध्यामा राम मन्दिर निर्माणको विषय भारतको हिन्दु समुदायका लागि महत्वपूर्ण हो । त्यही मन्दिरमा राखिने मूर्ति बनाउन नेपालबाट शिला ल्याइएको विषयले यतिबेला भारतभर नेपालको चर्चा छ । नेपालसँगको पौराणिक, धार्मिक सम्बन्ध तथा नेपालका पवित्र कालीगण्डकी नदी र तीर्थस्थलहरुको व्याख्यान यतिबेला भारतीय मिडियामा भएका छन् । सीमा वारिपारि दुई देशका नागरिक तहको सम्बन्धलाई बलियो बनाउन कालीगण्डकीको शिलाले भूमिका खेलेको देखिन्छ ।

अयोध्यामा मन्दिर निर्माणसँग जोडिएका पदाधिकारी, नागरिक समाजका मानिसहरुले नेपालले शिला प्रदान गरेको विषयलाई मुक्तकण्ठले प्रशंसा गरेका छन् । अयोध्यामा शिला हस्तानान्तरण कार्यक्रममा दर्जनौं टेलिभिजनहरुले गरेको प्रत्यक्ष प्रसारण र प्रिन्ट मिडियमा प्राथमिकता साथ प्रकाशित समाचारहरुले भारतमा नेपालको सकारात्मक प्रचारमा मद्दत पुर्‍याएको छ । नेपालबारे प्रायः नकारात्मक चर्चाले बढी स्थान पाउने । अझ पछिल्लो पटक पोखरामा भएको विमान दुर्घटनाले भारतीय मिडियामा नेपालको यात्रा नै असुरक्षित खालको रिपोर्टिङ आएका थिए । तर, शिलासम्बन्धी यहाँका मिडियाले गरेको रिपोर्टिङले भारतीय जनमानसमा नेपालबारे कायम नकारात्मकतालाई केही हदसम्म पक्कै चिरेको हुनुपर्छ ।

मन्दिर निर्माणको विषयलाई वर्षौंदेखि रिपोर्टिङ गरेका पुराना पत्रकार भीएन दास केन्द्र र प्रदेश दुवै सरकारको ध्यान अयोध्यामा रहेको बताए । राम मन्दिर निर्माणको मुद्दाबाट उदाएको भाजपा यतिबेला दुवै तहको सरकारको नेतृत्व गरिरहेको छ । सिंगो देशको ध्यान अयोध्याको मन्दिर निर्माणमा रहेका बेला शालिग्रामको प्रसंगले नेपाल पनि जोडिन पुगेको उनले बताए । ‘यो अत्यन्तै खुसीको कुरा हो, सीताको गाउँबाट रामको मूर्ति निर्माणका लागि शिला आएको छ, यसलाई यहाँका नागरिकले राम्रो मानेका छन्,’ उनले भने, ‘यस घटनाले नेपाल भारतको सम्बन्ध थप चर्चामा आएको छ । पुरानो र परम्परागत मित्रता थप कसिने छन् ।’

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्र्रस्टका महासचिव चम्पत रायले कालीगण्डकी नदीबाट शिलाको उत्खननदेखि यहाँसम्म पुर्‍याउने कार्यमा नेपाल सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । ‘जनकपुर र अयोध्याको सम्बन्धको व्याख्या गर्न जरुरी छैन, यो धेरै प्राचीन हो । तर, आजबाट नयाँ सम्बन्धको पनि सुरुवात भएको छ,’ उनले भने, ‘नेपाल सरकार, गण्डकी प्रदेश सरकार र जानकी मन्दिरले गरेको सहयोग अमूल्य छ ।’ उनले ३० जनवरीमा शिला भारत प्रवेश गरेको र १ जनवरीको साँझ अयोध्या आइपुग्दासम्म बाटोभरि हजारौंहजार मानिसले व्यक्त गरेको श्रद्धाले शिलाको महत्व धेरै बढेर गएको उल्लेख गरे ।

कालीगण्डकीको शिलाबाट मूर्ति बन्ने विषयलाई प्राथमिकतामा राखेर त्यसलाई पूर्णता दिन पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले विशेष भूमिका खेलेका छन् । उनले अयोध्यामा निर्माणाधीन मन्दिरमा जनकपुरबाट चिनोको रुपमा धनुष राख्ने प्रस्ताव लिएर मन्दिर निर्माण समितिका पदाधिकारीहरुसँग छलफल गर्दै आएका थिए । त्यस विषयमा कुरा चलिरहँदा मूर्तिका लागि शालिग्राम पत्थरको प्रसंगले प्रवेश पाएको निधिले बताए ।

विज्ञहरुसँग स्थलगत निरीक्षण र कालीगण्डकीको पत्थरबाट मूर्ति बनाउन सकिने विज्ञको रायसहित निधिले अयोध्याका सरोकारवाला पक्षलाई त्यसबारे अवगत गराएका थिए । लामो छलफल र सरकारी प्रक्रियाहरु पूरा गरेर शिलालाई अयोध्यासम्म ल्याइपुर्‍याउँदा आफूले एउटा सार्थक काम गर्न सकेको अनुभूति प्राप्त भएको निधिले बताए ।

नेपालबाट ल्याइएको शिलाप्रति भारतमा देखिएको चसो, आस्था र सम्मानले दुई देशको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने विश्वास उनले व्यक्त गरे ।

प्रकाशित : माघ २०, २०७९ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्

अर्थतन्त्रमा गम्भीर समस्या आएको छ : प्रधानमन्त्री दाहाल

अनिश तिवारी

सिन्धुपाल्चोक — प्रधानमन्त्री पुष्पकमल दाहालले देशको सिंगो अर्थतन्त्रमा संवेदनशील र गम्भीर समस्या आएको बताएका छन् । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित जुगल गाउँपालिका ५ बराम्ची चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालय भवन उद्घाट्नको क्रममा शुक्रबार उनले यस्तो बताएका हुन् ।

‘देशको सिंगो अर्थतन्त्रमा गम्भीर समस्या आएको छ, तपाइँहरूले केही कुरा सुन्नु भएकै होला, मैले प्रधानमन्त्री बनेसँगै यी समस्या हल गर्ने अठोट लिएको छु, केही सकरात्मक संकेत पनि देखिएको पनि छ,’ प्रधानमन्त्री दाहालले भने ।

साथै उनले आफूले तेश्रो पटक सरकारको जिम्मेवारी सम्हालेपछि मन्त्रिपरिषद्‍को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने निश्चय लिएको बताए । यसका लागि निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने लक्ष्य राखिएको उनको भनाइ थियो ।

‘बैंक र व्यवसायीबीच सहज सहकार्यको स्थिति सिर्जना भएको छ । अर्थतन्त्रले क्रमशः विकासको गति लिनेमा म ढुक्क छु,’ प्रधानमन्त्री दाहालले भने ।

यस क्रममा उनले नेपालका लागि चिनियाँ सहयोगको खुलेर प्रसंसा गरेका थिए । साथै सिन्धुपाल्चोकमा भूकम्प र बाढीबाट पीडित बस्तीलाई पुनर्वास गराउन आफू तयार रहेको उनले बताएका थिए । चनौटेमा चीनको एक अर्बभन्दा बढी लागतमा र्निर्मित विद्यालयका अत्याधुनिक सुविधायुक्त ६ वटा भवन चिनियाँ मोडेल अनुसार निर्मित छन् । भवन निर्माणमा बालुवा, गिटी र ढुंगा मात्रै नेपालको प्रयोग भएको छ । अन्य सबै सामग्री चीनबाटै ल्याएर चिनियाँ मजदुरबाट बनाइएको हो ।

सन् २०१७ जनवरीमा सुरु भएर २०१९ डिसेम्बरमा निर्माण सकिएको विद्यालय भवन तत्कालीन चिनियाँ राजदूत होउ यान्छी हुँदा नै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तय भएको थियो । तर निर्माणको तीन वर्षपछि प्रधानमन्त्री दाहालले शुक्रबार विद्यालयको भवन उद्घाटन गरेका हुन् ।

यसैबीच उद्घाटन समारोहमा चिनियाँ राजदूत चेन सङ पनि उपस्थित थिए । उनले हिमालमुनि रमाउने नेपाली देखेर छक्क परेको र चीनले विद्यालयबाहेक अन्य विभिन्न भौतिक संरचना र पूर्वाधार पुनर्निर्माणमा सहयोग गरिरहेको उदाहरण दिए । ‘भूकम्प निर्दयी छ, तर नेपाल र चीनको प्रेम छ, त्यसैले हामीले प्रधानमन्त्रीलाई भेटेर यसरी सहयोको बारेमा कुरा गर्न पाउनु सौभाग्यको कुरा हो,’ सेङले भने ।

जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोका अनुसार नेपालका लागि चिनियाँ राजदूत चेन सङले विद्यालय भवन प्रधानमन्त्रीमार्फत् समुदायलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा २ का सांसद मोहनबहादुर बस्नेत, प्रतिनिधिसभा २ का सांसद माधव सापकोटा, वाग्मती प्रदेश सांसद सरल सहयात्री पौडेल, कृष्णबहादुर तामाङ, मसिना खड्का, अमृता नेपाललगायत उपस्थित थिए ।

प्रकाशित : माघ २०, २०७९ १६:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×