मलेसियाद्वारा घरेलु कामदार पठाउने गरी श्रम सम्झौता नवीकरण गर्न नेपाललाई प्रस्ताव- समाचार - कान्तिपुर समाचार

मलेसियाद्वारा घरेलु कामदार पठाउने गरी श्रम सम्झौता नवीकरण गर्न नेपाललाई प्रस्ताव

होम कार्की

काठमाडौँ — मलेसियाले घरेलु क्षेत्रमा नेपाली कामदारलाई पठाउने गरी श्रम सम्झौता नवीकरण गर्न शुक्रबार प्रस्ताव राखेको छ । २०७५ कात्तिक ११ गते नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतामा घरेलु कामदार पठाउने विषय उल्लेख छैन ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको नेतृत्वमा काठमाडौंको सोल्टी होटलमा भएको द्वीपक्षीय बैठकमा मलेसियाको तर्फबाट मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले घरेलु कामदार पठाउन प्रस्ताव राखेको हो । नेपालले यो प्रस्तावलाई नेपाल र मलेसियाको संयुक्त प्राविधिक बैठकमा एजेन्डा बनाउन तयार भएको छ । यो बैठक तीन महिनाभित्र राख्न मलेसिया तयार भएका छन् ।

‘मलेसियाले घरेलु कामदारलाई पठाउन राखेको प्रस्तावलाई संयुक्त प्रविधिक समितिको बैठकमा राखेर टुंगाउन तयार भएका छौं,’ बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले इकान्तिपुरलाई भने ।

बैठकमा मलेसियाले तुरुन्तै ५ लाख विदेशी कामदार लैजान ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ ल्याएको बारे नेपाललाई औपचारिक रुपमा जानकारी दिएको छ । ‘हामी तुरुन्तै ५ लाख विदेशी कामदार लैजान्छौं । यसमा नेपाली कामदारलाई उच्च प्राथमिकतामा राखेका छौं,’ मलेसियन गृहमन्त्रीको भनाइ उद्धत गर्दै उप्रेतीले भने,‘त्यसको लागि हाम्रो गृह र मानव संशाधन मन्त्रालयबीच लाग्ने समय घटाएका छौं । यो व्यवस्थापनलाई अझ सहज र चुस्त बनाएका छौं ।’

बैठकमा ५ लाख विदेशी कामदारमध्ये नेपालीबाट लैजाने संख्या भने स्पष्ट तोकिएन ।

मलेसियन पक्षले कम्पनी छाडेर वा भिसाको म्याद समाप्त भएपछि पनि बसिरहेका अलेखबद्ध (गैरकानुनी हैसियत भएका) कामदारलाई पुनः कानुनी हैसियतमा ल्याउने गरी नयाँ कार्यक्रम ल्याएको जानकारी दिइएको थियो । ‘अन्य देशका नागरीकको तुलनामा मलेसियामा नेपाली नागरिकहरु एकदमै कम अलेखबद्ध हैसियतमा बसिरहेका छन् । उनीहरुमाथि धेरैको मुद्दामामिला छैन’, मलेसियन पक्षको भनाइ थियो,‘उनीहरुले पुन: आफ्नो हैसियतलाई वैधानिक बनाउन पाउने बाटो खुल्ला भएको छ ।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री अर्यालले नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न मलेसियाको सहयोग गर्नुपर्ने वताए । ‘शून्य लागतमा कामदार जान पाउने गरी भएको श्रम सम्झौताको प्रभावकारी हुनुपर्छ भन्नेमा हामी दृढ छौं । यसमा मलेसियाले पनि आफ्नो तर्फबाट सक्दो सहयोग हुनेछ भन्नेमा हामी आशावादी छु,’ मन्त्री अर्यालले भने ।

नेपालले मलेसियामा कार्यरत सबै नेपाली कामदारलाई सामाजिक सुरक्षा कार्यक्रम (सोस्को)मा समेट्नका लागि अनुरोध गरेको छ । बैठकमा नेपाली सुरक्षागार्डको अवस्थाबारे पनि छलफल भएको छ । श्रम मन्त्रालयले नेपालबाट प्रहरी, सेना र सशस्त्र प्रहरी छिट्टै अवकाश पाउने हुँदा उचित तलब सेवा सुविधा दिइ सुरक्षा गार्डमा आकर्षित गर्नुपर्नेमा जोड दिइएको थियो । ‘हामीसँग तालिमयुक्त सुरक्षाकर्मीहरु छन् । उनीहरुले उचित सेवा सुविधा भएमा मलेसियाको रोजगारीमा आकर्षित हुनेछ,’ मन्त्री अर्यालको जोड थियो, ‘सीपयुक्त जनशक्ति उत्पादनमा नेपालको सधैं जोड छ ।’

प्रकाशित : माघ २०, २०७९ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्

रामपुर नगरपालिकाको राष्ट्रपति रनिङ सिल्ड उपाधि रामतुल्सीलाई 

माधव अर्याल

पाल्पा — रामपुर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि रामपुर–५, स्थित रामतुल्सी माध्यमिक विद्यालयले हात पारेको छ । २० माध्यमिक विद्यालय सहभागी भएको प्रतियोगितामा रामतुल्सी ११ अंकसहित पहिलो भएको हो । 

६ अंक ल्याएको आधारभूत माध्यमिक विद्यालय रामपुर-७ दोस्रो भयो । तीन अंकसहित दरैठाँटी मावि रामपुर–६, तेस्रो भएको छ । भानुभक्त मावि रामपुर–१०, जनकल्याण मावि रामपुर–१० र भूपू सैनिक राइजिङ, इङ्लिस स्कुलले समान दुई/दुई अंक प्राप्त गरे । कृष्णादेवी मावि रामपुर-२, रामपुर आवासीय मावि रामपुर-५, आनन्द निकेतन विद्याश्रम रामपुर-७ र गंगा मावि रामपुर–८ ले एक/एक अंक प्राप्त गरे ।

रामपुर नगरपालिकाको आयोजना र दरैठाँटी माविको व्यवस्थापनमा प्रतियोगिता भएको हो । छात्रछात्रा भलिबल, एथ्लेटिक्सका सबै विधा, विभिन्न तौल समूहबीचको कराँतेसहित विभिन्न विद्यामा छात्र/छात्राबीच प्रतिस्पर्धा भएको थियो । छात्र भलिबलमा भानुभक्त माध्यमिक विद्यालय रामपुर–१०, बर्दले पहिलो भयो ।

रामतुल्सी माध्यमिक विद्यालय रामपुर–५, बेझाड दोस्रो र र दरैठाँटी मावि रामपुर–६, विजयपुर तेस्रो भएको छ । विजयी तथा उपविजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले खेलाडी र अनुशासन एकअर्काका पुरक भएको बताउँदै जिल्ला स्तरको राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा आफ्नो प्रतिभा र दक्षता देखाउनुपर्नेमा जोड दिए ।


प्रकाशित : माघ २०, २०७९ १३:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×