सांसद अरुण चौधरी जेल चलान- समाचार - कान्तिपुर समाचार

सांसद अरुण चौधरी जेल चलान

डीआर पन्त

धनगढी — कैलाली–२ बाट निर्वाचित सांसद् अरुण चौधरी जेल चलान गरिएका छन् । बिहीबार बाँकेबाट पक्राउ परेका चौधरीलाई शुक्रबार अदालतमा पेश गरेर कैदी पुर्जी बुझाएपछि जेल चलान गरिएको हो ।

मुलुकी फौजदारी संहिता २०७४ मा एक वर्षसम्मको कैदमा जरिवाना तिर्न सकिने व्यवस्था भएपनि सांसद चौधरीलाई अदालतमा पुर्जी दिएर जेल चलान गरिएको हो ।

फरार सूचीमा रहेका चौधरीलाई बिहीबार बाँकेबाट पक्राउ गरेको थियो । चौधरीलाई प्रहरीले पक्राउ गरेर नेपालगञ्जबाट जहाजमा काठमाडौं लगेको थियो । काठमाडौंबाट उनलाई बिहीबार नै जहाजमा धनगढी ल्याएको थियो । सांसद चौधरी नौ वर्षदेखि फरार थिए ।

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ मा लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ मा कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा गरेका थिए ।

विसं २०७० वैशाख ९ मा कैलाली जिल्ला अदालतले सांसद अरुणकुमार चौधरीसहित पर्शुराम र वीरबहादुर गरी तीन जनालाई छ महिना कैद सजाय सुनाएको थियो । अदालतले पीडितलाई रू आठ लाख १८ हजार चार सय २३ क्षतिपूर्ति उपलब्ध गराउनेसमेत फैसला भएको थियो ।

प्रकाशित : माघ २०, २०७९ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्

बलात्कार आरोपित सन्दीपलाई धरौटीमा छाड्ने फैसलाको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

कान्तिपुर संवाददाता

काठमाडौँ — नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै दायर गरिएको निवेदनमा सर्वोच्च अदालतले पाटन उच्च अदालतको फैसलाको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

न्यायाधीश हरि फुयाँलको इजलासले सन्दीपविरुद्ध दर्ता मुद्दाको जाहेरीदेखि उच्च अदालतले धरौटीमा रिहा गर्न दिएको फैसलाको प्रतिवेदनसहितका सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउन आदेश दिएको सर्वोच्चको वेबसाइटमा उल्लेख गरिएको छ । महान्यायाधिवक्ताको कार्यालयले बिहीबार नाबालिग बलात्कारका आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा दर्ता भएको निवेदन फुयालको इजलासमा परेको थियो ।

लामिछानेमाथि गत भदौ ५ गते नाबालिग बलात्कारको अभियोग लागेको थियो । काठमाडौं जिल्ला अदालतले कात्तिक १८ मा थुनामा पठाएको लामिछानेलाई पाटन उच्च अदालतले गत पुस २८ मा २० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

उच्चले धरौटीमा छाडेलगत्तै लामिछानेको निलम्बन फुकुवा गर्दै राष्ट्रिय क्रिकेट संघ (क्यान)ले लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

लामिछानेमाथि गत भदौ ५ गते नाबालिग बलात्कारको अभियोग लागेको थियो । काठमाडौं जिल्ला अदालतले कात्तिक १८ मा थुनामा पठाएको लामिछानेलाई पाटन उच्च अदालतले गत पुस २८ मा २० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न गरेको आदेशलाई महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा चुनौती दिएको थियो ।

उच्चले धरौटीमा छाडेलगत्तै लामिछानेको निलम्बन फुकुवा गर्दै राष्ट्रिय क्रिकेट संघ (क्यान)ले लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

लामिछानेमाथि गत भदौ ५ गते राति एक नाबालिगलाई काठमाडौंको तिलगंगास्थित होटलमा लगेर बलात्कार गरेको अभियोग छ । राष्ट्रिय क्रिकेट टिमको नेतृत्व गरेर ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलका लागि केन्या उड्नु अघिल्लो साँझ उनी क्लोज क्याम्पबाट निस्केर नाबालिग बलात्कारमा मुछिएका हुन् । केन्याका खेलहरू सकेर जमैकामा सीपीएल खेलिरहेका बखत लामिछानेविरुद्ध पीडित किशोरीले भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसपछि उनलाई सीपीएलले आफ्ना प्रतियोगिताबाट हटाएको थियो भने नेपाल क्रिकेट संघ (क्यान) ले पनि कप्तान र राष्ट्रिय खेलाडीबाट निलम्बन गरेको थियो ।

आफूमाथि आरोप लागेपछि लामिछानेले सामाजिक सञ्जालमा नेपाल फर्किएर अनुसन्धानलाई सघाउने उल्लेख गरेका थिए । तर उनी करिब एक महिनासम्म लुकेका थिए । नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले लामिछानेलाई फरार सूचीमा राख्दै ‘डिफ्युजन’ नोटिस जारी गरेपछि उनी असोज २० मा नेपाल फर्किएका थिए । उनलाई त्रिभुवन विमानस्थलबाटै प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।

जिल्ला अदालतले कात्तिक १८ मा तत्काल प्राप्त प्रमाणअनुसार लामिछाने दोषी देखिने भन्दै उनलाई थुनामा राखेर मुद्दाको बाँकी कारबाही अगाडि बढाउन आदेश दिएको थियो । त्यसपछि पुर्पक्षका लागि थुनामा रहेका लामिछाने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै पाटन उच्च अदालत पुगेका थिए । पाटनका न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले पुस २८ मा लामिछानेलाई धरौटी लिएर तारिखमा छाड्न आदेश दिएको थियो । भोलिपल्ट पुस २९ मा लामिछाने धरौटी बुझाएर छुटेका थिए ।

प्रकाशित : माघ २०, २०७९ १२:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×