पिली : युद्ध बिर्सिएर पर्यटनतिर

पिलीलाई युद्ध पर्यटकीय क्षेत्र बनाउने घोषणा गरेको एक दशक बित्यो । ३ करोड खर्च भए पनि देखिने उपलब्धि छैन । प्रशासनिक भवन वर्षाले क्षतिग्रस्त छ भने शौचालय प्रयोग नहुँदै जीर्ण बनेको छ ।
पिलीमा युद्ध संग्रहालय, रेलिङसहित करिब १९ सय मिटर पैदल मार्ग, पोखरी, भ्यु टावर, चौतारो, शौचालय, जनयुद्धका लडाकु र तत्कालीन नेपाली सेनाका सालिकसँगै हतियारका नमुना निर्माण गरिने
तुलाराम पाण्डे

पिली, कालीकोट — माओवादी आक्रमणको अन्तिम निसाना बनेको थियो, कालीकोटको पिली । यहींको सुक्खा डाँडोमा हरियाली फर्काउन स्थानीयले ३ वर्षअघि लेप्टिस, बकाइनो, खयर, सल्लो, सिसौलगायतका ५ हजारभन्दा बढी बिरुवा रोपेका थिए । माघ पहिलो साताको आगोले जलेपछि कोप डाँडो कालो बनेको छ । 

पिली : युद्ध बिर्सिएर पर्यटनतिर

१० वर्षे द्वन्द्वले थलिएको पिलीको उजाड डाँडो हरियाली बनाउन स्थानीयले निकै दुःख गरेका थिए । आफ्ना पालामा बिरुवा रोपे पनि आगलागीबाट जोगाउन नसकेको खाडाचक्र–७ पिलीका पूर्ववडाध्यक्ष रजबहादुर मल्ल बताउँछन् । ‘गाग्रीमा पानी बोकेर जगाएका सबै बिरुवा मरे,’ उनले भने, ‘वन डढेको सबैले देखे तर मन डढेको कसैले देखेनन् ।’

पिलीलाई युद्ध पर्यटकीय क्षेत्र बनाउने घोषणा भएको झन्डै एक दशक बित्यो । तर, कार्यान्वयनमा सरकारले ढिलाइ गरेकामा मल्लको चित्त दुखाइ छ । तर काम जहाँको त्यहीं अड्किएपछि स्थानीय निराश छन् । अहिलेसम्म युद्ध पर्यटकीय क्षेत्र पिलीको नाममा ३ करोड खर्च भए पनि देखिने उपलब्धि केही नभएको स्थानीय हरिबहादुर मल्लले बताए । उनका अनुसार बनेका संरचना पनि जीर्ण हुँदै गएका छन् । कोप डाँडामा बनाइएको चारकोठे प्रशासनिक भवन गएको असोजको वर्षाले क्षतिग्रस्त छ भने शौचालय प्रयोग नहुँदै जीर्ण बनेको छ । ‘कुनै बेला प्रहरी र सेना देख्नेबित्तिकै हामी घरभित्र लुक्थ्यौं कि त जंगलतिर कुद्थ्यौं,’ उनले भने, ‘माओवादी गाउँ पसे भने भूमिगत हुन बाध्य पार्ने हुन् कि श्रम गर्न खटाउने हुन् भन्ने पिरलो हुन्थ्यो ।’

द्वन्द्वमा खरानी भएको पिलीको समृद्धिका कसैले वास्ता नगरेको ५० वर्षीया मिमकोशा मल्लले बताइन् । ‘हाम्मा दुःख त उस्ताइ (उस्तै) छन्,’ उनले भनिन्, ‘सुखका दिन आउन्याछन् भन्नाछिया (आउँछन् भन्थे), झुटा रयाछन् ।’ उनले ब्यवस्था फेरिए पनि आफूहरूको दुःख उस्तै भएको बताइन् । गाउँमा सडक र खानेपानी सुविधा पुगे पनि अरू विकासको अनुभूति गर्न नसकेको उनीजस्ता गाउँलेको भनाइ छ ।

कर्णाली राजमार्ग निर्माणका क्रममा ०६१ चैतमा ‘कर्णाली राजमार्ग सडक निर्माण कार्यदल’ स्थापना गरिएको थियो । माओवादीले देशभरिको शक्तिकेन्द्रित गरी पिली क्याम्पमा २३ साउन २०६२ मा आक्रमण गर्दा सेनाले ठूलो संख्यामा मानवीय र भौतिक क्षति भोग्नुपर्‍यो । पिली आक्रमणमा सडक खन्न भर्ना गरिएका अर्धसैनिकसहित तत्कालीन सेनाका ७५ जनाले ज्यान गुमाए । स्थानीय रासन ठेकेदार शक्ति मल्लको माओवादीले टाउको काटे भने वारि पिलीबाट सेनाले हानेको गोली लागेर तिला नदी पारि औलगेलाका करे घर्तीले पनि ज्यान गुमाए । पिलीमा माओवादीतर्फ पनि दुई दर्जनभन्दा बढीले ज्यान गुमाए भने कैयौं घाइते भए । घटनाको ३ दिनपछि मात्र सरकारी फौज पिली पुग्न सकेको थियो । तत्कालीन पश्चिम डिभिजन कमान्डर जनार्दन शर्माको नेतृत्वमा ठूलो मात्रामा सेनाको अत्याधुनिक हातहतियारसहित ६२ जना सेनालाई नियन्त्रणमा लिएर एक महिनापछि जाजरकोटबाट छाडिएको थियो ।

माओवादी आक्रमणपछि त्रस्त बनेको यहाँको जनजीवन शान्ति स्थापनापछि पनि सामान्य बन्न सकेन । पिलीको विकासका लागि तत्कालीन दाहा गाविस खाँडाचक्र नगरपालिका बनेपछि स्थानीयले सरकारलाई हारगुहार गर्दै आएका छन् । ‘हामी लागेका लागेका लाग्यै छौं,’ युद्ध पर्यटकीय क्षेत्र संरक्षण समितिका अध्यक्षसमेत रहेका तत्कालीन दाहा गाविसका उपाध्यक्ष पुत्रबहादुर मल्लले भने, ‘योजनाअनुसार संग्रहालय, सालिकसहितका सहिदका स्मारक बनाउने काम बाँकी नै छन् ।’


पिलीलाई नमुना बनाउन खाँडाचक्र नगरपालिकाले डीपीआरसहित योजना बनाएको छ । पिली पर्यटकीय युद्ध संग्रहालयका लागि १० करोड ८१ लाखको डीपीआर बनेर संघीय सरकारले कार्यान्वयनमा लिएको नगर प्रमुख कमलबहादुर शाहीले बताए । विभिन्न पूर्वाधार निर्माण गर्न गत आर्थिक वर्षको अन्त्यमा डिभिजन वन कार्यालयले ८ करोड ८९ लाख ९१ हजार रुपैयाँको टेन्डर आह्वान गर्‍यो । ठेक्का घटाघटका आधारमा कुशेश्वर कन्ट्रक्सन प्रालिले ६ करोड ८९ लाख ९९ हजार रुपैयाँमा ५ वर्षभित्र विभिन्न पूर्वाधार निर्माण गर्ने गरी सम्झौता गरेको छ । गत असारमा सम्झौता भए पनि काम अझै सुरु नभएको डिभिजन वन प्रमुख रमेशकुमार गिरीले बताए । ठेकेदारलाई पटकपटक काम छिटो सुरु गर्न ताकेता गरे पनि बेवास्ता गरिरहेको उनको भनाइ छ ।

युद्ध पर्यटकीय क्षेत्र पिलीको पूर्वाधार निर्माणका लागि साइट सेलेक्सन भइसकेको इन्जिनियर प्रकाश सेजुवालले बताए । उनका अनुसार वर्षा, दसैंतिहार, निर्वाचन, असोज दोस्रो साता भएको बेमौसमी वर्षालगायत कारण काम सुरु गर्न समस्या भएको ठेकेदारले जनाएका छन् । सम्झौताअनुसार पिलीमा युद्ध संग्रहालय, रेलिङसहित करिब १९ सय मिटर पैदल मार्ग, पौडी पोखरी, पार्किङ, प्रवेशद्वार, भ्यु टावर, बिरुवासहितका २ वटा चौतारो, २ वटा शौचालय, जनयुद्धका लडाकु र तत्कालीन नेपाली सेनाका सालिक र प्रयोग गरेका हतियारको नमुना निर्माण हुनेछन् ।

पिलीमा युद्ध संग्रहालय बनेपछि देशकै नमुना युद्ध पर्यटकीय गन्तव्य बन्ने माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले बताए । पिलीको विकास र संरक्षणका लागि आफूले पहल गरिरहेको बताउँदै उनले पिली पर्यटकीय हब बन्ने दाबी गरे । पिली हुँदै जुम्ला र मुगुको रारा पुग्ने कर्णाली राजमार्ग, पिली–पाखा सडकले पनि यहाँको समृद्धि र विकासका लागि योगदान पुर्‍याउने स्थानीयको अपेक्षा छ ।

माओवादी आक्रमणको निसाना बनेको कर्णाली राजमार्ग निर्माण सम्पन्न भएपछि पिली गाउँ र यस आसपासका बासिन्दाको दिनचर्या परिवर्तन भएको छ । कमाइका लागि भारत धाउने युवा गाउँमै विभिन्न पेसा अपनाएर आत्मनिर्भर बन्न थालेका छन् । १० वर्षअघिसम्म बढीमा ४/५ वटा मात्र होटल र खुद्रा पसल भएको पिली गाउँ हाल बजार बनेको छ । खाद्य, खुद्रा, कपडा, हार्डवेयरका गरी २२ वटा पसल र १६ होटल खुलेका छन् । अधिकांश व्यवसाय स्थानीयका छन् । जनक मल्ल, हुकुम मल्ल र कासे कार्कीले भेडा फाराम दर्ता गरी भेडापालनलाई निरन्तरता दिएका छन् भने कृष्णबहादुर मल्ल, मीमबहादुर कार्की र दीपक शाहीले ब्रोइलर कुखुरा फाराम दर्ता गरेर व्यवसाय गर्दै आएका छन् ।

१० वर्षअघिसम्म भारतबाहेकका मुलुकमा वैदेशिक रोजगारीमा नजाने केही युवा हाल कतार, मलेसिया, साउदी, इजरायल, पोर्चुगल, जापान, अमेरिकालागयतका देश पुगेका छन् । भारत जानेको संख्या पहिलेको तुलनामा निकै घटेको वडाध्यक्ष दीपक कार्कीले बताए । गाउँमा पनि प्रधानमन्त्री स्वरोजार, कर्णाली रोजगार कार्यक्रममार्फत युवालाई समावेश गरिएको छ । ‘सकेसम्म युवालाई स्वरोगार बनाउन स्थानीय सरकारले पहल गरेका छन्,’ कार्कीले भने ।

गेलागाउँ जोड्न गाउँको पुछारमा बग्ने तिला नदीमाथि झोलुंगे पुल निर्माण भएको छ । पिली परको पान्तडी बजार जोड्ने सेरी पान्तडी सडकमा पक्की पुल निर्माणका लागि प्रक्रिया सुरु भएको छ । घरघरमा सौर्य ऊर्जाले गाउँ झलमल्ल बनाइएको छ । सशस्त्र द्वन्द्वका बेलासम्म मट्टीतेलबाट टुकी र केही घरमा सल्लाको दियालो बाल्नुपर्ने बाध्यता थियो । कर्णाली उज्यालो कार्यक्रमले सुरुमा टुकीमारा वितरण गरेपछि स्थानीयले निकै राहत पाए । ०७० यता स्थानीयले आफैं २० देखि १५० वाट क्षमतासम्मको सोलार खरिद गरेर गाउँ उज्यालो बनाएको स्थानीय मैना कार्कीले सुनाइन् । उनका अनुसार राष्ट्रिय प्रसारण लाइन गाउँमा विस्तार गर्न पोल गाड्ने र तार तान्ने काम भइरहेको छ ।

खानेपानी नहुँदा घण्टौं लाइन बस्न जानुपर्ने बाध्यता भएका स्थानीय खुसी छन् । ७ किलोमिटर टाढा मेजर पाखा खानोपानी आयोजनाबाट १ सय १४ घरधुरी र पाखाको चौखोलामा पर्ने भेरे खोला खानेपानी आयोजनाबाट ७० घरधुरीलाई खानेपानी पुर्‍याइएको छ । ‘पानी भर्नमै दुई घण्टा लाइन बस्नुपर्थ्यो,’ स्थानीय मानकौरा मल्लले भनिन्, ‘अचेल त घरघरै धारा छन् ।’

माओवादी आक्रमणपछि त्रासमा रहेका स्थानीयले लोकतन्त्रको बहालीपछि मात्र शान्तिको सास फेर्न पाएको स्थानीय अगुवा पंखबहादुर मल्ल बताउँछन् । ‘पहिले त गाउँमा डरत्रास मात्र हुन्थ्यो,’ उनले भने, ‘शान्ति स्थापनासँगै सडक पुगेपछि विस्तारै गाउँ विकासको चरणमा अघि बढेको छ ।’ सशस्त्र द्वन्द्वमा गाउँ छाडेर सदरमुकाम मान्मलगायतका ठाउँमा विस्थापित बन्न बाध्य बनाइएकाहरू पनि अहिले गाउँ फर्किएर विभिन्न व्यवसायमा सक्रिय रहेको युवा उद्यमी रमित मल्लले बताए ।

ठकुरी, क्षेत्री र दलित समुदायका करिब २ सय ५० घरधुरीका १ हजार ४ सय जनसंख्याको बसोबास रहेको पिली ०४८ सम्म पाखा गाविस, त्यसपछि संघीय संरचना नहुँदासम्म दाहा गाविस रहेकामा अहिले खाँडाचक्र नगरपालिकाको ७ नम्बर वडामा पर्छ । नागरिकता सिफारिस, जन्म–मृत्यु दर्तासहितका काम गाउँमै हुन्छ भने बिरामी पर्दा पनि गाउँकै आधारभूत स्वास्थ्य इकाइले सेवा दिने गरेको स्थानीय तिलकौरा शाही मल्लले बताइन् ।

पिलीका ७९ वर्षीय नयाँबहादुर कार्कीले आफ्नो सरकार आएपछि यो गर्छौं र त्यो गर्छौं भनेर जनता झुक्याउने माओवादीप्रति आफूहरूको सधैं गुनासो हुने बताए । ‘पहिले त धनीको सम्पत्ति गरिबलाई बाँड्छौं भनेर ठूलै कुरा गर्थे, स्थानीय सरकारले सानातिना विकास त गर्‍यो तर हामीले भनेजस्तो परिवर्तन पाएनौं,’ उनले भने, ‘धनी झन् धनी गरिब जहाँको त्यहीँ छन् ।’

माओवादी सरकार बने पनि यहाँका द्वन्द्वपीडितले पर्याप्त राहत र सहयोग नपाएको स्थानीय जनक मल्लले बताए । उनी द्वन्द्वका घाइते हुन् भने सदरमुकाममा ५ वर्ष विस्थापित भएका थिए । सरकारले द्वन्द्वपीडित राहतमा समेत भेदभाव गरेको उनको गुनासो छ । ‘पिली भिडन्तमा ज्यान गुमाएकाहरूका आफन्त आफ्नो सन्तानको मृत्यु भएको ठाउँ खोज्दै आउने गरे पनि युद्ध पर्यटकीय क्षेत्र व्यवस्थित नहुँदा अमिलो मन लगाएर फर्किने गरेका छन्,’ उनले भने, ‘कम्तीमा यहाँ ज्यान गुमाएका व्यक्तिको फोटो र उनीहरूको परिचयसहितको विवरण मात्रै राखे पनि हुन्थ्यो ।’

पिलीमा होमस्टे बनाउने प्रचार गरिए पनि हालसम्म सञ्चालन हुन सकेको छैन । आर्थिक वर्ष ०७६/७७ को डेढ करोड बजेटबाट होमस्टेसहितका ३ वटा भवन, करिब ७ सय मिटर रेलिङसहितको सिँढी निर्माण भएको छ । त्यसअघि र पछि गरेर ३ करोड खर्च भइसके पनि नयाँ बन्ने संरचनाको काम सुरु भएको छैन । पिलीका लागि संघीय संरचना नबन्दै तत्कालीन दाहा गाविस, जिल्ला विकास समिति कालीकोट, नागरिक तथा पर्यटन उड्डयन मन्त्रालयलगायतका निकायबाट डेढ करोड खर्च भएको थियो । ०७६/७७ मा डिभिजन वन कार्यालय कालीकोटले उपभोक्ता समितिमार्फत ३ वटा भवन, ७ सय मिटर रेलिङसहितको बाटो निर्माण गरेको हो । त्यसपछि कोरोना कहरका कारण बजेट विनियोजन नभए पनि गत वर्ष सरकारले डिभिजन वन कार्यालयमार्फत ८ करोडभन्दा बढी बजेट विनियोजन गरेर असारका ठेकेदारसँग निर्माण सम्झौता गरेको हो ।

कालीकोटमा युद्ध पर्यटकीय क्षेत्र निर्माणले पूर्णता पाएपछि पिली आसपासको क्षेत्र पर्यटन हब बन्ने सम्भावना रहेको कालिका माविका प्रधानाध्यापक डिलबहादुर मल्लले बताए ।

प्रकाशित : माघ २०, २०७९ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?