गृह ‘युद्ध’ ले सरकार बन्धक- समाचार - कान्तिपुर समाचार

गृह ‘युद्ध’ ले सरकार बन्धक

आम निर्वाचनपछि बनेको सरकार आर्थिक, सामाजिक मुद्दामा केन्द्रित हुनुपर्नेमा गठबन्धनभित्रको अविश्वासले कुहिरोको कागजस्तै
रास्वपाले फेरि दियो दुईदिने अल्टिमेटम, लामिछानेको मागमा ओलीको साथले गठबन्धन समस्यामा परेको पार्टी बैठकमा प्रधानमन्त्रीको ‘ब्रिफिङ’
बबिता शर्मा

काठमाडौँ — - गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको चेतावनी ।
- नदिने प्रधानमन्त्रीको अडान । 
- रविलाई नै गृह दिलाउन एमाले अध्यक्ष ओलीको जोडबल । 
- नदिने प्रधानमन्त्रीको अडान । 
- दुई दिनपछि सरकार छाड्ने अर्को ‘अल्टिमेटम’ ।

सरकार गठन भएको डेढ महिना भएको छैन, तर सरकार यस्तै खबरको स्रोत बनेको छ । आम निर्वाचनपछि बनेको सरकार आर्थिक, सामाजिक मुद्दामा केन्द्रित हुनुपर्नेमा गठबन्धनभित्रको दाउपेचको बन्धक बनेको छ ।

नेपालको वैधानिक नागरिकताबिना प्रतिनिधिसभा सदस्यमा निर्वाचित रास्वपा सभापति रवि लामिछानेका सबै सार्वजनिक पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि सरकार कुहिरोको कागजस्तो बनेको हो । सर्वोच्चको फैसलालगत्तै नेपाली नागरिकता प्राप्त गरेका लामिछानेलाई गैरसांसदका रूपमा मन्त्री बनाउने कि नबनाउने र गृह मन्त्रालय दिने कि नदिने भन्ने विवादले गठबन्धनको जग नै हल्लाइदिएको छ ।

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले बिहीबार पार्टी बैठकमा गृह मन्त्रालयकै कारण गठबन्धन जोखिममा पर्न सक्ने संकेत गरेका छन् । स्थायी कमिटी बैठकमा दाहालले रविकै विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अडानका कारण गठबन्धनमा समस्या भएको ‘ब्रिफिङ’ गरेका थिए ।

‘पहिला सहमति गर्दा गृहमन्त्री रविजीलाई दिएको हो, उहाँको पार्टीलाई होइन । प्रधानमन्त्री माओवादीले पाएकाले मैले पार्टीबाट अर्को कुनै नेतालाई प्रधानमन्त्री बनाउन सक्छु, तपाईंहरू मान्नुहुन्छ भनेर मैले केपीजीलाई सोधेको थिएँ, उहाँले त्यस्तो त मिल्दैन भन्नुभयो,’ दाहाललाई उद्धृत गर्दै स्थायी कमिटीका एक सदस्यले भने, ‘तर लगत्तै विराटनगर गएर उहाँले नै गृहमन्त्री रविलाई नै बनाउनुपर्छ भन्नुभयो । ओलीजी समझदारी कायम गर्नेतिर भन्दा पनि बिगार्नेतिर लाग्नुभएको छ । तर, अहिलेको अवस्थामा रविजीलाई गृहमन्त्री बनाउन सकिन्न भन्ने प्रस्ट छ ।’

एमाले अध्यक्ष ओलीले बिहीबार विराटनगरमा पूर्वसहमतिअनुसार गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीबाटै हुने बताएका थिए । ‘रास्वपालाई गृहमन्त्री नदिए विवाद हुनु स्वाभाविक हो किनकि राष्ट्रिय स्वतन्त्र पार्टीले कसलाई गृहमन्त्रीमा पठाउँछ, त्यो त्यही पार्टीको काम हो,’ भने, ‘पार्टीले रवि लामिछानेलाई नै गृहमन्त्रीमा पठाउँछ भने अरूलाई केको टाउको दुखाइ !’

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँगको भेटमा गृह मन्त्रालय लामिछानेलाई दिन दबाब दिइरहेको स्रोतको भनाइ छ । प्रधानमन्त्री दाहाल भने गृहमन्त्री लामिछानेलाई नदिने अडानमा कायमै छन् । सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म र दोहोरो राहदानीसम्बन्धी विवादको कानुनी निरूपण नभएसम्म लामिछानेलाई गृहमन्त्री बनाउन नसकिने उनको तर्क छ ।

सरकार छाड्ने चेतावनी दोहोर्‍याउँदै आएको रास्वपाले बिहीबार राति केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक गरेर गृह मन्त्रालयका विषयमा निर्णय गर्न प्रधानमन्त्री दाहाललाई दुई दिनको ‘अल्टिमेटम’ दिएको छ । गृह मन्त्रालयका विषयमा निर्णय नआइरहेका बेला सरकारबाट बाहिरिने–नबाहिरिने निर्णय गर्न रास्वपाले बिहीबार साँझ केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राखेको थियो । ‘बैठकअगावै प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीको फोन आएको थियो । उहाँहरूले दुई दिन पर्खिन भनेका कारण बैठकमा अरू निर्णय भएन,’ प्रवक्ता मुकुल ढकालले कान्तिपुरलाई भने ।

गृह मन्त्रालयको अडानबाट पार्टी पछि भने नहट्ने प्रवक्ता ढकालको भनाइ छ । ‘गृह मन्त्रालय हाम्रो पार्टीले पाएको जिम्मेवारी हो । पार्टीबाट व्यक्ति पठाउने भन्ने कुरा पार्टीको निर्णयको अधिकार हो । अन्य व्यक्ति वा पार्टीले यो मान्छे पठाउनुपर्छ भन्ने होइन,’ उनले भने । रास्वपाले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि माग गरेको छ ।

नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सुनाएको फैसलापछि लामिछाने पार्टी सभापतिबाहेक अरू जिम्मेवारीमा छैनन् । सांसद नभए पनि संविधानको सुविधाअनुसार ६ महिना मन्त्री बन्ने दाउमा उनी छन् । बिहीबारको बैठकअघि लामिछानेले सामाजिक सञ्जालमार्फत आफू अभिमन्यू नभएको उल्लेख गर्दै आफ्नो मौनता साँझसम्म भएको चेतावनी दिएका थिए । ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नुहोला, लेखिहाल्नुहोला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यू होइन,’ उनले लेखेका थिए । उक्त अभिव्यक्तिपछि रास्वपाले सरकार छाड्ने आकलन भएको थियो । तर उनले अर्को चरणको ‘अल्टिमेटम’ जारी गरेका छन् ।

साँझ बसेको पार्टी बैठकमा अधिकांश केन्द्रीय सदस्य र सांसदले ‘गृह मन्त्रालय नपाएर रास्वपा सरकारबाट बाहिरियो भन्ने सन्देश जानु पार्टीको हितमा नहुने’ धारणा राखेका थिए । त्यसपछि दुई दिन कुर्ने निर्णय भएको रास्वपाका एक नेताले बताए ।

प्रधानमन्त्री र सत्ता साझेदार दलका नेताहरूबीच अविश्वास देखिइरहेका बेला आएको गृह मन्त्रालयको विवादले गठबन्धन अब संकटमा परेको छ । प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत दिएपछि राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई माओवादीले मत दिन्छ कि दिँदैन भन्नेमा एमाले सशंकित छ । सरकारलाई विश्वासको मत दिएका दलहरूको बैठक राखेर संवैधानिक पदहरूमा राष्ट्रिय सहमति गर्ने प्रस्ताव राखेर दाहालले शंका गर्ने थप ठाउँ दिएका थिए । एमाले नेतृत्वप्रति नै उत्तरदायी रहने खालको राष्ट्रपति नहोस् भन्ने दाहालले चाहिरहेका छन् ।

निर्वाचन आयोगले फागुन २५ मा राष्ट्रपति निर्वाचन गर्न कार्यतालिका सार्वजनिक गरिसके पनि सत्ता साझेदार दलहरू उम्मेदवार चयनको विषयमा प्रवेश गरेका छैनन् । माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन प्रयास गर्ने बताइरहेको छ । नेताहरूका अनुसार दाहाल र ओलीबीचका पछिल्ला भेटवार्ता सकारात्मक छैनन् ।

प्रधानमन्त्री दाहालसँग अर्को साझेदार दल राप्रपा पनि असन्तुष्ट छ । संघीयता र गणतन्त्रविरोधी अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री दाहाल राप्रपाका मन्त्रीहरूसँग असन्तुष्ट छन् । सुरुमा कानुनमन्त्री ध्रुवबहादुर प्रधानले संघीयताविरोधी अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री दाहालले राष्ट्रिय सभामा बोल्दै संघीयताविरोधी अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टीकरण लिने बताएका थिए । त्यसपछि सहरी विकासमन्त्री विक्रम पाण्डेले पनि आफ्नो पार्टी संघीयताको विरोधमा रहेको बताएका थिए । यही विषयमा बुधबार संसद्मा सत्तापक्षकै सांसदहरूबीच घोचपेच भयो ।

सरकारलाई समर्थन गरेको तर माग पूरा नभएको भन्दै मन्त्रिपरिषद्मा सहभागी नभएको नागरिक उन्मुक्ति पार्टी आफ्ना सांसद पक्राउ परेपछि भड्किएको छ । कैलालीबाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी बिहीबार पक्राउ परेपछि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सामाजिक सञ्जालमै असन्तुष्टि जनाएकी छन् । १३ वर्ष पुरानो आगजनीको घटनामा जिल्ला अदालत कैलालीबाट ६ महिना कैद सजाय सुनाइएका चौधरी बिहीबार दिउँसो बाँकेको कोहलपुरबाट पक्राउ परेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोद पण्डितले विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र उनलाई रिहा नगरे सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । नागरिक उन्मुक्ति पार्टीले कैलाली–२ बाट निर्वाचित सांसद चौधरीलाई सरकार र तत्कालीन आन्दोलनकारीबीच २०६६ भदौ ३ मा समझदारी भएको विषय फेरि उठाएर पक्राउ गरिएको भन्दै आन्दोलनको चेतावनी दिएको हो । ‘यस घटनाले नागरिक उन्मुक्ति पार्टी र पहिचानवादीहरूमा ठूलो आघात परेको महसुस गराएको छ । हामीलाई जबर्जस्त आन्दोलनमा धकेल्ने प्रयास नगरियोस्,’ विज्ञप्तिमा भनिएको छ ।

टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका रेशम चौधरीलगायतको मुद्दा फिर्ता र रिहा गराउने सर्तमा नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेको थियो । माग पूरा हुने सुनिश्चित नभएको भन्दै उसले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन मानेको छैन । त्यही कारण सुदूरपश्चिम प्रदेश सरकार नै संकटउन्मुख छ ।

सत्ता साझेदार जनमत पार्टी पनि रोजेको मन्त्रालय नपाएपछि असन्तुष्ट छ । जनमतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको थियो । तर साझेदार दलहरूले जनमतलाई खानेपानी मन्त्रालय दिएका छन् । त्यसबाट असन्तुष्ट मन्त्री अब्दुल खान केही दिनपछि मात्र पदभार गर्न मन्त्रालय गएका थिए । सरकारलाई समर्थन गरे पनि रोजेको मन्त्रालय नपाएपछि जसपा सरकारमा सहभागी भएको छैन । साझेदार दलहरूले वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय जसपाको भागमा राखेका थिए । तर अध्यक्ष उपेन्द्र यादवले ठूला दलले रोजीरोजी मन्त्रालय राखेको र कसैले लिन नमानेका मन्त्रालय आफ्नो पार्टीलाई छुट्याएको भन्दै सरकारमा सहभागी हुन अस्वीकार गरेका छन् । प्रधानमन्त्री दाहाल अरू दलका मन्त्रालय खोसेर जसपालाई सरकारमा लैजाने अवस्थामा छैनन् ।

सत्ता साझेदार दलमा मतभेद रहे पनि अहिले नै राजनीतिक समीकरण नफेरिने प्रधानमन्त्री दाहाल बताउँछन् । ‘केही हुँदैन । मैले बुझेसम्म कसैले समर्थन फिर्ता पनि लिनुहुन्न,’ बिहीबार पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग उनले भने । माओवादीका एक पदाधिकारीका अनुसार लामिछानेका कारण अहिले सरकार जोखिममा नपर्ने दाहालको बुझाइ छ । ‘रविजी बाहिरिए पनि राष्ट्रपतिको निर्वाचनसम्म सरकार अप्ठ्यारोमा पर्दैन । त्यसबीचमा विश्वासको मत दिएका अन्य दलसँग पनि कुराकानी हुन्छ, एउटा नभए अर्को विकल्प छँदै छ नि π तर गृह मन्त्रालय रविजीले पाउने सम्भावना छैन,’ ती पदाधिकारीले भने । उनको भनाइमा संवैधानिक प्रश्न उठ्ने गरी मन्त्रिपरिषद्मा लामिछानेलाई भित्र्याएर आलोचना नखेप्ने अडानमा दाहाल छन् ।

दाहालले गत पुस १० मा प्रधानमन्त्रीमा दाबी गर्दा माओवादीसहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीका र ३ स्वतन्त्र गरी १ सय ६९ सांसदको समर्थन पेस गरेका थिए । संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पुस २६ मा प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए । मतदानमा २ सय ७० सांसद सहभागी भएकामा २ सय ६८ जनाले विश्वासको मत दिएका थिए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले मात्र विपक्षमा मतदान गरेका थिए ।

प्रकाशित : माघ २०, २०७९ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्

रविको भोक र भय

सत्ताको आशक्ति मात्र होइन, शक्तिबाहिर बसे दोहोरो राहदानीको अनुसन्धान तीव्र हुन सक्छ भन्ने डरले ग्रस्त देखिएका छन् रवि
विडम्बना ! वैकल्पिक सपना बोकेर स्वतन्त्र पार्टीमा आबद्ध आशालाग्दो युवापंक्ति पनि स्वार्थको द्वन्द्वप्रेरित नेताको कदमप्रति नतमस्तक
बबिता शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका रवि लामिछानेले गृह मन्त्रालयमा फर्कन बालुवाटारदेखि बालकोटको परिक्रमा तीव्र पारेका छन् ।

दोहोरो राहदानीको विषयमा प्रहरी प्रशासनले उनीमाथि अनुसन्धान पूरा गरेको छैन, तर तालुकवाला मन्त्रालयको नेतृत्वमा पुगेर अनुसन्धान प्रभावित गर्न खोजेको भन्दै गठबन्धनभित्र र बाहिर पनि विरोध भइरहेको छ । तर, सार्वजनिक आलोचनाको वास्तै नगरी शक्तिमा पुग्न उनी आतुर देखिएका छन् ।

आइतबार नेपालको नयाँ नागरिकता लिएका लामिछानेले त्यही दिन पार्टीका तीन बैठक बसाएर साधारण सदस्य, केन्द्रीय सदस्य, केन्द्रीय सभापति बन्ने प्रक्रिया पूरा गरेका थिए । साँझ बालुवाटार पुगेर उनले उपप्रधानमन्त्री तथा गृह मन्त्रालयमा दाबी गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालबाट सकारात्मक जवाफ नपाएपछि उनी राति नै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

सोमबार पनि ओलीसँग भेट गरेका लामिछाने मंगलबार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार गएका थिए । प्रधानमन्त्री दाहालले माओवादी बैठकमा पनि यो विषयमा चर्चा गरेका छन् । लामिछानेलाई पुनर्बहाल गर्न एमाले अध्यक्ष ओली र स्वयम् लामिछानेबाट लगातार दबाब आए पनि कानुनी राज्यको सम्मान गर्दै तत्काल उनलाई जिम्मेवारी दिन गाह्रो हुने दाहालको भनाइ छ । ‘हामी सल्लाह गर्दै छौं । सकेसम्म इंगेज भइरहने, यो गठबन्धन नटुटोस् भन्ने मेरो प्रयास छ,’ मंगलबार पार्टी बैठकपछि सञ्चारकर्मीसँग दाहालले भने, ‘अदालतको पूर्णपाठ पनि कुर्नुपर्ने आवश्यकता छ भनेर धेरैको सुझाव मलाई छ ।’

माओवादी सचिव गणेश साहका अनुसार बैठकमा प्रधानमन्त्री दाहालले लामिछानेको दाबी र आफ्नो अडानबारे ‘ब्रिफिङ’ गरेका थिए । दाहालले बैठकमा तत्काल गृहमा नयाँ मन्त्री नियुक्त नगर्ने र लामिछानेलाई पनि नदिने बताएका थिए । ‘रविजी अहिले जनप्रतिनिधि होइन । गैरसांसदलाई मन्त्री बनाउँदा अरू पनि गैरसांसदहरूको दाबी आउन सक्छ,’ साहले भने, ‘तर, गृहमन्त्री बनाउन लामिछाने आफैंले दबाब दिनुभएको छ, सरकारको सहयात्री एमालेमार्फत पनि दबाब आएको छ, तर फैसलाको पूर्णपाठ नआएसम्म तथा राहदानीको विवाद विधिवत् किनारा नलागेसम्म गृह मन्त्रालय नदिने विषयमा प्रधानमन्त्री प्रस्ट हुनुहुन्छ ।’

लामिछानेसँग मंगलबारको भेटमा पनि प्रधानमन्त्री दाहालले सकारात्मक जवाफ दिएनन् । ‘सर्वोच्चबाट सांसद पद नै बदर भएकाले तपाईंलाई यथास्थितिमा मन्त्री बनाउन गाह्रो छ, त्यसमाथि दोहोरो राहदानीको विषय पनि अनुसन्धान हुनुपर्छ भनेर माग उठिरहेको छ, तपाईं पनि हतार नगर्नोस्, हामीलाई पनि परिपक्व निर्णय गर्न दिनोस्,’ प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै बालुवाटारका एक सहकर्मी नेताले भने ।

बालुवाटारबाट सकारात्मक प्रतिक्रिया नपाएका लामिछाने लगत्तै एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । पुस ११ मा पनि ओलीकै जोडबलमा उपप्रधान तथा गृहमन्त्री पाएका लामिछानेले सोही भूमिका दिलाइदिन आग्रह गरेका थिए । ‘बाँडफाँट गर्दा नै गृह मन्त्रालय स्वतन्त्र पार्टीको भागमा परेको हो, गठबन्धन यथास्थितिमा छ, पूर्वसहमति कायम गर्न प्रधानमन्त्री दाहालसँग छलफल गर्छु भनेर अध्यक्ष ओलीले बचन दिनुभएको छ,’ एमालेका एक नेताले भने ।

प्रधानमन्त्रीको अडानले रास्वपा सरकारमा रहने कि बाहिरिने भन्ने द्विविधामा देखिन्छ । यसअघि यो पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । प्रधानमन्त्री दाहाललाई मंगलबार बेलुकासम्मको ‘अल्टिमेटम’ दिएको रास्वपाले अझै केही दिन पर्खने नीति लिएको छ । लामिछानेनिकट केन्द्रीय सदस्य दीपक बोहराले एमाले अध्यक्ष ओली पनि पूर्वसहमति अनुसार गृह मन्त्रालय स्वतन्त्र पार्टीले पाउनुपर्ने पक्षमा भएको बताए । ‘प्रधानमन्त्री, एमाले अध्यक्ष ओली र हाम्रो सभापति लामिछानेबीच छलफल गरेर टुंग्याउने कुरा भएको छ,’ उनले भने ।

रास्वपा महामन्त्री मुकुल ढकाल गृहमन्त्री यसअघि नै आफ्नो पार्टीको भागमा परेको र त्यसको पालना गर्दै तत्काल गृहमन्त्रीका लागि नाम पठाउन प्रधानमन्त्रीले आफूहरूलाई आग्रह गर्नुपर्ने बताउँछन् । ‘काम गर्ने वातावरण बनाउने सहमति भएकाले हामी सरकारमा गएका हौं । तर, हामीलाई सरकारमा पंगु बनाएर काम गर्न नदिने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई असफल बनाउने षड्यन्त्र भएको हो कि भनेर पनि हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘गृहमन्त्रीको नाम प्रधानमन्त्रीले हामीसँग माग्नुपर्छ । रास्वपाले कसलाई गृहमन्त्री बनाउँछ भन्नेमा चासो राख्न मिल्दैन ।’ लामिछाने पनि गृहमन्त्री भएर जान सक्ने र अरू व्यक्तिलाई पनि पार्टीले पठाउन सक्ने ढकालको भनाइ छ ।

प्रधानमन्त्री दाहालले यथास्थितिमा उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारी लामिछानेलाई दिन नसकिने अडान लिएपछि गठबन्धनमा तनाव बढ्ने संकेत देखिएको छ । गृह मन्त्रालयको विवादमा सरकार र गठबन्धनको भविष्य जोखिममा पर्ने भन्दै दबाब बढाउने ओली र लामिछानेको रणनीति छ । उता सरकारलाई दिएको समर्थन फिर्ता लिए कांग्रेससँग सहकार्यको ढोका खोल्ने मनस्थितिमा दाहाल देखिएका छन् ।

अहिलेको तनावले राष्ट्रपति निर्वाचनसमेत प्रभावित पार्न सक्ने सम्भावना छ । त्यसैले एमालेले प्रधानमन्त्रीलाई पूर्वसहमति स्मरण गराइरहेको छ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पुस ११ को समझदारीअनुसार प्रधानमन्त्री अघि बढ्नुपर्ने बताउँछन् । ‘नयाँ समीकरण बन्ने बेला जुन समझदारी बनेको छ, त्यो समझदारीमा आधारित भएर अघि बढ्नुपर्छ । एक महिना भएको छैन, यो वा त्यो कुरा गर्दा उचित हुँदैन,’ उनले भने ।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले यो गठबन्धन भत्काउन अदालत नै प्रयोग भएको हो कि भन्ने आशंकासमेत व्यक्त गरे । ‘निकै संवेदनशील मुद्दा अदालतमा बसिराखेका छन्, त्यसमा श्रीमान्हरूको ध्यान नजाने ? यही बेला यो (लामिछानेको नागरिकताको फैसला) कुरा गर्नुको अर्थ, राम्रो कुरा गर्दा पनि समयको तारतम्य जुन छ, त्यो के हो कसो भन्ने मान्छेलाई लाग्ने भयो । अर्थात् यो नयाँ समीकरणमाथि केन्द्रित गरिएको त होइन भन्ने प्रश्न मान्छेले उठाउन पाउने भए नि,’ उनले भने ।

एमाले स्थायी कमिटी सदस्य राजन भट्टराई पनि सहमतिअनुसार प्रधानमन्त्री अघि बढ्नुपर्ने बताए । ‘सत्तासाझेदार दलमा प्रचण्डजीको हैसियत दोस्रो भए पनि अहिले भूमिका र जिम्मेवारीको हिसाबले पहिलो हुनुहुन्छ । अब उहाँ कसरी जान चाहनुहुन्छ, त्यो उहाँको कुरा हो । तर हामी पुस १० मा जे सहमति भएको छ, त्यसबाट तलमाथि गर्नुहुँदैन भन्नेमा छौं,’ उनले भने, ‘त्यतिबेला भएका सहमति पार्टीहरूका बीचमा हो । माओवादीबाट प्रधानमन्त्री, राष्ट्रपति र सभामुख एमाले र मन्त्रालय विभाजन गर्दा त्यहीअनुसार सत्तासाझेदार दलले लिने गरी टुंग्याएको हो । मन्त्रीहरू को के हुने सम्बन्धित पार्टीको कुरा हो । व्यक्ति कसलाई पठाउने भनेर निर्णय गर्न दलहरू स्वतन्त्र छन् ।’

सत्तासाझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा पनि गठबन्धन नै भत्किने जोखिम बढेको मान्छन् । ‘अहिले राप्रपा सरकारमा छ । हामी गठबन्धनकै कुरालाई अघि सारेका छौं । रवि लामिछाने गृहमन्त्री हुने कि नहुने राप्रपाको सरोकारको विषय होइन । यो विषय प्रधानमन्त्री र केपी शर्मा ओलीले मिलाउने हो । तर कसरी मिलाउनु हुन्छ ? म त गठबन्धन भत्किने सम्भावना देखेको छु,’ राणाले भने ।

नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलासँगै सांसद, उपप्रधान तथा गृहमन्त्री, संसदीय दलको नेता र पार्टी सभापति पद गुमाएका लामिछानेले अहिले पार्टी सभापतिबाहेक अन्य जिम्मेवारी पाएका छैनन् । गैरसांसद भएकाले उनी संसदीय दलको नेता बन्न सक्दैनन् । तर लामिछानेले एकातिर परम्परागत दलका नेताले जस्तै सत्ताको भोक प्रदर्शन गरेका छन्, अर्कोतिर शक्तिभन्दा बाहिर बसे दोहोरो राहदानीको अनुसन्धान हुन सक्छ भन्ने भयले पनि उनी ग्रस्त देखिएका छन् । वैकल्पिक सपना बोकेर स्वतन्त्र पार्टीमा आबद्ध आशालाग्दो युवापंक्ति पनि स्वार्थको द्वन्द्वप्रेरित आफ्ना नेता र दलको प्रतिष्ठा बचाउन प्रतिबद्ध देखिएको छैन ।

प्रकाशित : माघ १८, २०७९ ०६:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×