२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

किन प्रस्ट देखिएन हरियो पुच्छ्रेतारा ?

पुच्छ्रेतारा बिहीबार बिहान ५० हजार वर्षपछि पृथ्वीको सबैभन्दा नजिक आएको भए पनि सोचेजस्तो प्रस्ट भने देखिएन
मणि दाहाल

काठमाडौँ — ५० हजार वर्षपछि ‘हरियो पुच्छ्रेतारा’ बिहीबार बिहान पृथ्वी नजिकैबाट गुज्रिएको छ । पृथ्वी नजिकै आउँदा खगोल विज्ञानमा चासो राख्नेहरुले काठमाडौंसहित देशको विभिन्न स्थानबाट अवलोकन गरेका छन् । हामी बस्दै आएको उत्तरी गोलार्द्धबाट ध्यानपूर्वक हेर्दा यो तारालाई नांगो आँखाले (उपकरणको प्रयोगबिना) देख्न सकिने सम्भावना रहेको खगोलशास्त्रीहरूले बताए पनि नेपालबाट भने देखिएन् । सबैभन्दा नजिक भएको समयमा पनि बिहीबार बिहान पनि नेपालबाट खुला आँखाले नदेखिएको बताए ।

किन प्रस्ट देखिएन हरियो पुच्छ्रेतारा ?

नेपालका खगोलशास्त्रीहरुले बाइनाकुलर प्रयोग गर्दा पनि बढी मुस्किलले देखिएको बताए । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले काठमाडौंबाट अवलोकन गर्न नसकेपछि नगरकोट गएर अवलोकन गरेको बताए । ‘हाम्रो कार्यालय रहेकोबाट अबलोकन गर्न खोजेका थियौं । प्रकाश प्रदूषणको कारण नदेख्ने अवस्था भएपछि हेर्न नगरकोट गएका थियौं । कुनै पनि उपकरणको सहयोगबिनै हेर्ने सकिने भएपनि बाइनाकुलरबाट निकै मुस्लिकले मात्रै,’ भट्टराईले भने, ‘४ इन्च एपाचरभन्दा बढी रहेको टोलिस्कोपको एस्ट्रोनमीको बारेमा जानकारले हेर्दा मात्रै हेर्न सकियो ।’

पछिल्लोपटक उक्त पुच्छ्रेतारा पृथ्वी नजिकै आउँदा होमो सेपियन्स (मानिस) अफ्रिकाबाट विश्वको अन्यत्र बसाइँ सर्न थालेका थिए । यो पुच्छ्रेतारा पृथ्वीको सबैभन्दा नजिक आएको हो । सबैभन्दा नजिक भएको समयमा पनि पृथ्वी र पुच्छ्रेताराबीचको दूरी २ करोड ६४ लाख किलोमिटर रहेको थियो । यो दूरी भनेको पृथ्वी र चन्द्रमाबीचको दूरीको १ सय १० गुणा बढी हो । त्यस दिन पृथ्वी र पुच्छ्रेताराबीचको दूरी २ करोड ६४ लाख किलोमिटर हुनेछ । यो दूरी भनेको पृथ्वी र चन्द्रमाबीचको दूरीको १ सय १० गुणा बढी हो ।

भट्टराईले काठमाडौं मात्रै नभएर अन्यत्रा पनि प्रकाश प्रदूषण बढी भएकाले खुला आँखाले देख्न नसकिएको हुन सक्ने बताए ।

रोयल एस्ट्रोनोमिकल स्पेस रिसर्च सोसाइटीका जयन्त आचार्यले काठमाडौंबाट टेलिस्कोप प्रयोग गरे अवलोकन गरेको बताए । वसुन्धारास्थित तक्षशिला एकेडेमीमा सोसाइटीले अवलोकन गरेको थियो ।

‘हामीले बिहान साढे २ बजेबाट अवलोकन गरियो । हामीलाई ६ इन्चको टेलिस्कोप प्रयोग गरेर हेरेका थियौं,’ आचार्यले भने, ‘अहिले धेरै बत्तीहरु बल्दा रहेछन् । काठमाडौंबाट हेर्न धेरै गाह्रो हुने रहेछ । २ बजे पनि धेरै बत्ती बल्दा रहेछन् । बरु गाउँतिर जानुपर्ने रहेकी छि जस्तो भएको थियो ।’

काठमाडौंको बसन्धुरास्थित तक्षशीला एकेडेमीबाट रोयल एस्ट्रोनोमिकल स्पेस रिसर्च अफ नेपालले आयोजना गरेको अवलोकन ।

कृतिक प्रकाश नभएको डार्क स्काई भएको ठाउँमा ६ म्याग्निच्युडसम्मको खगोलीय बस्तु खुला आँखाले देख्न सकिन्छ । खगोलीय वस्तुको चम्किलोपनलाई म्याग्निच्युड नाप्ने गरिन्छ । सूर्य माइनस २६ म्याग्निच्युड हुन्छ । सबैभन्दा चम्किलो व्याधा तारा माइनस १.४४ म्याग्निच्युड हुन्छ । हरियो पुच्छ्रेतारा ४.७ म्याग्निच्युडको थियो ।

कसरी पत्ता लागेको थियो ?

क्यालिफोर्नियास्थित पलोमर पहाडबाट ‘ज्विकी ट्रान्जिएन्ट फ्यासिलिटी’ (जेडटीएफ) टेलिस्कोपको प्रयोग गरेर सन् २०२२ मार्चमा यो पुच्छ्रेतारा पत्ता लगाएको थियो । त्यस समयमा यो तारा बृहस्पतिको वरिपरि परिक्रमा गरिरहेको थियो । त्यसबेला यो तारा खुला आँखाले देख्न सकिने सबैभन्दा धमिलो ताराभन्दा पनि करिब २५ हजार गुणा धमिलो थियो । तर, क्यामेरासहितको जेडटीएफले खिचेको धेरै रातहरूमा देखिएको आकाशका तस्बिरहरू स्क्यान गर्दा यो पुच्छ्रेतारा पत्ता लागेको थियो ।

किन हरियो हुन्छ ?

पुच्छ्रेतारा धूलो र जमेका ग्यासको पिण्ड हो । यसलाई केही खगोलशास्त्रीहरूले ‘फोहोरी हिउँको ढिक्का’ को संज्ञासमेत दिने गरेका छन् । कुनै एउटा पिण्ड चिसो वायुमण्डलमा विकास हुने र आफ्नो गतिमा चल्दै सौरमण्डल पुग्दा सूर्यको गुरुत्वाकर्षणले आफूतर्फ तान्ने भएकाले त्यो अन्तरक्रियाको क्रममा एउटा चित्ताकर्षक खगोलीय वस्तु बन्ने र त्यो वस्तु नै पुच्छ्रेतारा भएको बताइन्छ ।

सूर्यको तापले त्यसको सतह खिइँदै जाने हुँदा खिइएर गएको पदार्थबाट ग्यास र धूलो निस्किने खगोलशास्त्रीहरू बताउँछन्, जुन करोडौं किलोमिटर पर पुग्छ । ‘कोमा’ नाम गरेको केन्द्र भागमा नपुग्दासम्म उक्त पिण्डको खिइने क्रम जारी रहन्छ । यो सूर्यबाट टाढा हुँदा निष्क्रिय हुने र सूर्यको नजिक हुँदा सूर्यको तापका कारण सक्रिय हुने बताइन्छ । सूर्यबाट आउने परावैजनी विकिरण र पुच्छ्रेतारामा रहेको डाइटोमिक कार्बन दुवैको अणु मिलेर यसबाट हरियो प्रकाश निस्किने र त्यही प्रकाशका कारण यो तारालाई हरियो पुच्छ्रेतारा भन्न थालिएको हो ।

प्रकाशित : माघ १९, २०७९ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?