सन्दीप लामिछानेलाई थुनामै राख्‍ने मागसहितको मुद्दाको सुनुवाइ शुक्रबार

कान्तिपुर संवाददाता

काठमाडौँ — क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दा किनारा लगाउनुपर्ने मागसहित परेको निवेदनमाथिको सुनुवाइ शुक्रबारका लागि तोकिएको छ ।

लामिछानेलाई थुनामै राखेर उनीविरुद्धको नाबालिग बलात्कार मुद्दाको प्रक्रिया अगाडि बढाउनु पर्ने माग गर्दै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा दिएको पुनरावलोकन मुद्दाको सुनुवाइ शुक्रबार तोकिएको हो ।

उच्च अदालतले पुस २८ गते लामिछानेलाई २० लाख धरौटीमा छाड्ने गरी दिएको आदेशविरुद्ध महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएको थियो।

गत बिहीबार महान्यायाधीवक्ता कार्यालयले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च जाने निर्णय गरेको थियो ।

प्रकाशित : माघ १९, २०७९ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्

पार्टी संगठन निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न एकीकृत समाजवादीको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले आफ्ना सबै कमिटी, विभाग र मोर्चा संगठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा संगठन निर्माण थप व्यवस्थित गर्न कार्ययोजनाका साथै समसामयिक विषयमा छलफल गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यही माघ २१ र २२ गते हुने पार्टी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने राजनीतिक कार्यपत्रमा छलफल केन्द्रित भएको बैठकले उक्त कार्यपत्रलाई परिमार्जन गरी पेस गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक बस्न लागेको बैठकले मुलुकमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा, पार्टीका विभिन्न तहका कमिटीले संगठन निर्माणमा गरेका निर्णय अनुमोदन गर्ने छ । संगठनको पुनःगठन, पार्टीको भूमिका र गतिविधि प्रभावकारी बनाउने विषयमा छलफल गरिने छ ।

पार्टीले यसअघि नै सबै जनवर्गीय, पेसागत र सामुदायिक संगठनका कमिटीलाई तत्काल सम्मेलन/अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्ने र आगामी फागुन मसान्तभित्र सबै जनवर्गीय, पेसागत र सामुदायिक संगठनका जिल्ला सम्मेलन तथा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो ।

प्रकाशित : माघ १९, २०७९ १८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×