मानव बेचविखन आरोपमा दुई म्यानपावर एजेन्ट पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — मानव बेचबिखन अनुसन्धान ब्यूरोले मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जना म्यानपावर एजेन्टलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा उदयपुर उदयपुरगढी गाउँपालिका–२ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने ४४ वर्षीय रवि थापा मगर भन्ने लाल बहादुर मगर र इलाम फाकफोकथुम गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–९ बस्ने ४१ वर्षीय डम्बर मगर भन्ने डम्बर बहादुर दर्लामी रहेका छन् ।

रविलाई काठमाडौं महानगरपालिका–३ बाट पक्राउ गरिएको हो भने डम्बरलाई काठमाडौं महानगरपालिका–९ शम्भुमार्गस्थित न्यू लक्ष्मीमार्ग गेष्ट हाउसबाट मंगलबार पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसपी दान बहादुर मल्लले बताए ।

२६ वर्षीया युवतीलाई कुवेतको रोयल रेष्टुरेन्टमा वेट्रेसको रुपमा मासिक पारिश्रमिक १ सय २० कुवेती दिनार तलब हुने गरी काम लगाइदिने र उक्त रेष्टुरेन्टमा राम्रो काम गरेमा पोर्चुगल र अमेरिकामा रहेको रेष्टुरेन्टमा समेत पठाइदिने प्रलोभन देखाई गत मंसिर २६ गते आरोपित एजेन्टहरूले भिजिट भिसामा दुबई हुँदै कुवेत पुर्‍याएका थिए ।

कुबेत पुगेपछि अन्य एजेन्टहरु मार्फत् १ हजार ३ सय कुवेती दिनारमा बिक्री गरी पीडितलाई दैनिक १८ घण्टा सम्म काममा लगाई श्रमशोषण गरेको उजुरीको आधारमा ब्यूरोले पीडितलाई कुवेतबाट माघ ४ गते उद्दार गरी नेपाल ल्याएको हो ।

कुवेतमा बस्ने प्रतिवादीले पीडित युवतीको मोबाइल नियन्त्रणमा लिई फेसबुक लगायत सामाजिक संजालहरू प्रयोग गरी विभिन्न व्यक्तिहरुसँग अश्लिल कुराकानी गर्ने र सो कुराकानी गरेको रेकर्ड पीडितको श्रीमान लगायत आफन्तलाई पठाइदिने धम्की दिने गरेको समेत अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

ती पीडित युवतीलाई विभिन्न धाकधम्की दिई कुवेतमा आफू राजीखुसी आएको हुँ बेचबिखनमा परेको छैन भन्ने भिडियो बनाई नेपाल गएपछि कसैलाई उजुरी गर्दिनँ भन्ने बेहोराको कागज समेत गराएको अनुसन्धानमा खुलेको एसपी मल्लले बताए । घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी तथा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । पीडितको उद्धारपछि माघ १० मा मात्र पीडितले ब्यूरोमा जाहेरी दिएकी थिइन् ।

प्रकाशित : माघ १९, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्

पुसमा बैंकको ऋण तिर्न नसकेकालाई असारसम्म म्याद थप्न चेम्बरको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — पुसमा साँवा र ब्याज तिर्न नसकेका ऋणीका लागि आगामी असारसम्म म्याद थपको नीतिगत व्यवस्था गर्न चेम्बर अफ कमर्सले  राष्ट्र बैंक समक्ष माग गरेको छ । मौद्रिक नीतिको मध्यावधि समीक्षाका लागि बिहीबार चेम्बरले राष्ट्र बैंकलाई दिएको सुझावमा यस्तो उल्लेख छ ।


आर्थिक गतिविधिमा सुस्तता आएकाले ऋणीको ऋण भुक्तानी क्षमतामा कमी आएको भन्दै चेम्बरले २०८० असारसम्म साँवा र ब्याजको पुनर्तालिकीकरण गर्न आग्रह गरेको छ । ‘यसअघि उत्पन्न तरलता संकटसँगै चर्को ब्याजदरका कारण व्यवसायिक गतिविधि ठप्प प्रायः रहेकाले अधिकांश ऋणीहरु समस्यामा परेका छन्,’ चेम्बरको विज्ञप्तिमा भनिएको छ, ‘मौद्रिक समीक्षा मार्फत साँवा र ब्याजदरको पुनर्तालिकीकरण गर्न सकिए वित्तीय स्थायित्व कायम हुने देखिन्छ ।’

बैंक तथा वित्तीय संस्थामा एकल दरको ब्याजदर कायम गर्न समेत चेम्बरले आग्रह गरेको छ । ‘दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न एकल अंकको ब्याजदर कायम गरिनुपर्ने,’ विज्ञप्तिमा उल्लेख छ, ‘चालु पुँजी कर्जा सम्बन्धमा साना ठूला दुवै खाले व्यवसायीलाई समान आधारमा ४० प्रतिशत पुर्‍याई उद्योग व्यवसाय क्षेत्रको आवश्यकता अनुसार उपयोग गर्न पाउनुपर्ने देखिन्छ ।’

बैंक वित्तीय संस्थाले बेस रेटमा लिने प्रिमियम अधिकतम २ प्रतिशतसम्म कायम गर्न पनि चेम्बरले आग्रह गरेको छ । राष्ट्र बैंकलाई चेम्बरले दिएको सुझावमा भनिएको छ, ‘बैंकहरुले आधारदरमा ०.५ देखि ६ प्रतिशतसम्म प्रिमियम जोडिरहेका छन । सो असमान व्यवस्था हटाई अधिकतम २ प्रतिशत देखिसम्म मात्रै बेस रेटमा प्रिमियम कायम गरिनुपर्ने व्यवस्था गर्नुपर्छ ।’ यस्तै, रेमिट्यान्सलाई बैंकिङ प्रणालीबाट मात्रै आउने वातावरण बनाउनका लागि आर्कषक प्याकेजसहित नयाँ कार्यक्रम ल्याउन पनि चेम्बरले सुझाएको छ ।

प्रकाशित : माघ १९, २०७९ १८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×