कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अयोध्या पुर्‍याइयो कालीगण्डकीको शिला

अयोध्या — भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि रामको मूर्ति बनाउन नेपालको कालीगण्डकी नदीबाट शिला (ठूलो पत्थर) ल्याइएको छ । शालिग्राम पत्थर पाइने भएकाले कालीगण्डकी नदीको शिला छनोट गरिएको हो । हिन्दुहरूले राम र सीतालाई भगवान्का रूपमा पुज्दै आएका छन् ।

अयोध्या पुर्‍याइयो कालीगण्डकीको शिला

म्याग्दीस्थित कालीगण्डकी नदीबाट शिला लिएर सयौं नेपाली अयोध्या आएका छन् । शिला उत्खननदेखि त्यसलाई अयोध्या पुर्‍याउनेसम्मका काम नेपाली नै गरेका छन् । राम जन्मभूमि तीर्थ क्षेत्र कार्यालयले कात्तिक १९ मा जनकपुरको जानकी मन्दिरलाई पत्राचार गरेर कालीगण्डकीको शिला मागेको थियो । पुस ३ मा नेपालको मन्त्रिपरिषद्ले जानकी मन्दिरमार्फत शिला पठाउने निर्णय गरेको थियो । केन्द्रको निर्णयमा गण्डकी प्रदेश सरकार हुँदै बेनी नगरपालिकासम्मले सहमति जनाएपछि शिला अयोध्या ल्याइएको हो । ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३.५ फिट मोटाइका दुईवटा शिला म्याग्दीबाट ट्रकमा ल्याइएको हो ।

धार्मिक पीठ हरिहर सेवा सदनका सञ्चालक सञ्जय शास्त्रीले हिन्दु धर्ममा साक्षात् नारायणको रूप मानिने शालिग्राम पत्थर नेपालबाट प्राप्त हुनुले एक खालको सकारात्मक ऊर्जा प्रवाह भएको बताए । ‘नेपालदेखि भारतसम्मका नागरिकलाई गण्डकीबाट आएको शालिग्राम शिलाले एक सूत्रमा बाँध्ने काम गरेको छ,’ उनले भने । राम र सीताले दुई देशलाई जोडेजस्तै शालिग्रामको आगमनले सम्बन्धलाई थप बलियो बनाउने उनले बताए ।

राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका मुख्य आचार्य दुर्गाप्रसाद गौतमले नेपालबाट रामको मूर्ति निर्माणका लागि शिलाको आगमनले दुई देशबीचको नागरिक तहको सम्बन्धलाई थप कसिलो बनाएको बताए ।

लामो समयको विवादपछि अयोध्यामा राममन्दिर निर्माण गर्न थालिएको हो । अयोध्याको जमिन राममन्दिरको कि बाबरी मस्जिदको भन्नेमा हिन्दु र मुस्लिम समुदायबीच विवाद उत्कर्षमा पुगेको थियो । भारतको सर्वोच्च न्यायालयले २०१९ नोभेम्बर ९ मा राम जन्मभूमिको पक्षमा फैसला सुनाएको थियो । विवादित जमिन मन्दिर निर्माणका लागि दिने र मस्जिदका लागि अन्यत्र जग्गा उपलब्ध गराउने फैसला अदालतले गरेको थियो ।

प्रकाशित : माघ १९, २०७९ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?