लाखे जोगाउने तन्नेरीहरू- समाचार - कान्तिपुर समाचार

लाखे जोगाउने तन्नेरीहरू

प्रशान्त माली

काठमाडौँ — सानैदेखि नाच्न निकै मन पराउने ललितपुरका अनिल महर्जन ‘लाखे’ नाचेको देख्दा भने निकै डराउँथे । तर पनि लुकीलुकी नाचको हरेक स्टेप राम्ररी नियाल्थे । अनि घरमा नक्कल गर्थे ।

नाच्नका लागि उनीसँग मुकुट र पोसाक भने थिएन । सुनाकोठीको शान्त भजन मण्डलका थकालीहरूलाई सुरुमा नाचमा भाग लिन्छु भन्दा उनी हाँसोको पात्र बनेका थिए । शान्त भजन मण्डल लाखे नाच आयोजना गर्ने र भजन कीर्तन गर्ने समूह हो ।

‘त्यतिबेला त म निकै पातलो थिएँ । नाच्न अघि सर्दा बलियो मान्छेले त सकेन । तिमीले कसरी सक्छौं भनेर विश्वास गरेका थिएनन् । पहिलो पटक जिद्दी गरेर नाचेको थिएँ,’ ललितपुर महानगर–२७ का महर्जन सम्झन्छन्, ‘खाली खुट्टा नाच्नुपर्छ । पहिलो पटक नाच्दा पैतलाको छाला उप्केर चार दिनसम्म टेक्न नहुने भएको थियो । पछि नाच्ने तरिका जानेपछि बल्ल सहज भयो ।’ उनले लाखे नाच्न थालेको डेढ दशक बितिसकेको छ । तर उनले हालसम्म पारिश्रमिक भने लिएका छैनन् । ‘देवताको कामलाई पैसासँग तुलना गरेको छैन,’ उनले मुस्कुराउँदै भने ।


पाटन हखाः टोलका २६ वर्षीय अनिल महर्जन लाखे नाच्ने परिवारकै पहिलो व्यक्ति हुन् । उनी सानो छँदा नै पाटनमा नाच लोप भइसकेको थियो । पेसाले हस्तकलाकर्मी उनलाई आफ्नो संस्कृतिको महत्त्वबारे बुझ्न निकै उत्सुकता छ । यसकै कारण चार वर्षदेखि उनले लाखे नाच्न थालेका हुन् । ‘लाखेलाई आजु (भैरव) र राक्षस दवैका रूपमा पुजिन्छ । आफू पनि त्यो अवतारमा नाच्न पाए कस्तो महसुस हुन्थ्यो होला भन्ने मनमा लाग्थ्यो,’ उनी सुनाउँछन्, ‘पहिलो पटक लाखे नाच्दा निकै डर लागेको थियो । मुकुट लगाइसकेपछि धुप बाल्दा डरले थरथर कामेको सम्झना छ ।’ नाच प्रशिक्षणका क्रममा सबै कुरा जाने पनि मुकुट लगाउँदा फरक अनुभव हुने गरेको उनी बताउँछन् । भन्छन्, नृत्यकर्ममा बस्न सक्नुपर्छ । नाचमा कुखुराको मासु, अन्डा खान हुर्दैन । रक्सी सँगुनका रूपमा एक धुट्की खानु बेग्लै कुरा हो । मादकपदार्थ सेवन गरेर नाच्दैनौं ।’ उनी लाखे नाच आयोजना गर्ने ‘यल लायकु मिप्वा लाखे पुचः’ मा आबद्ध छन् ।

आफ्नो संस्कृति परम्परा जर्गेना गर्नकै लागि नाच्ने गरेको बताउँछन् पाटन नकबहिल टोलका २२ वर्षीय पुजन श्रेष्ठ । उनी पनि यल लायुक मिप्वा लाखे पुचः मा ०७५ देखि आबद्ध छन् । ‘पुर्खाले संरक्षण नगरेको भए आज हाम्रो पुस्ता लाखे नाचबारे अनभिज्ञ हुन्थ्यौं । आउँदो पुस्तालाई नाचबारेमा थाहा दिन पनि लागिपरेका हौं,’ उनले भने । आफ्नो भविष्य बनाउने नाममा सम्पदा संरक्षण प्रवर्द्धनप्रति बेवास्ता गर्ने युवाहरू थुप्रै छन् । उनीहरूलाई आफ्नो करिअर र परम्परा सँगसँगै लैजानुपर्नेमा उनी जोड दिन्छन् । ‘संस्कृति बचेन भने विकृति मौलाउँछ,’ उनले भने ।


पाटन नःटोलका १८ वर्षीय सुप्रिन्स शाक्यलाई संस्कृतिप्रति औधी मोह छ । उनी कात्तिक नाच, अष्टमाटिका नाचमा पनि नृत्य गर्छन् । लाखे नाचमा बाजा बजाउँछन् । तीनपाकु (लाखेसँगै नाच्ने अर्को पात्र) का रूपमा पनि नृत्य गर्छन् । सानै उमेरदेखि संस्कृति सम्पदाप्रति रुचि भएकाले संस्कृतिको अभिन्न अंगका रूपमा काम गर्दै आएको उनी बताउँछन् । लाखे नाच र अन्य नाचमा निकै भिन्नता छ । अरू नाचमा देवहरूको नृत्य हुन्छ । लाखेमा दानवको । ‘बाजाको ताल पनि छुट्टाछुट्टै हुन्छ,’ उनले भने । यल ल्याकु मिप्वा लाखे पुचःका अध्यक्ष उत्तमरत्न शाक्य मूर्तिकार हुन् । ०३९ सालदेखि कात्तिक नाचमा कामसेन राजा, बुद्धअवतारको भूमिका खेल्दै आइरहेका उनी पछिल्लो समय लोप भइसकेको लाखे नाच जर्गेना गर्न लागिपरेका छन् । लाखे नाचका गुरु उनकै अग्रसरतामा दुई दशकभन्दा बढी समय बन्द भइसकेको नाच ०७४ यता निरन्तर रूपमा चल्दै आएको छ । नाचलाई अझै दिगो बनाउन ०७५ मा उनकै नेतृत्वमा ‘यल ल्याकु मिप्वा लाखे पुचः’ संस्था पनि दर्ता गरेका छन् । लाखे नाच नेवार समदायले विशेष चाडपर्वमा मात्र नचाइन्छ । यो ठूलठूला आँखा, जामा, चोलो, दाह्रा निस्केको रातो वर्णको मुकुट पहिरिएर झ्याप्प बाक्लो डरलाग्दो कपाल, कम्मरमा धँगलाको आवाज निकाल्दै, धिमे र भुस्याको जीउ नै थर्किने आवाजमा मञ्चन गरिने नाच हो । नाचमा शरीर पूरै हल्लाउनुपर्ने भएकाले निकै ऊर्जा चाहिन्छ ।


नेवार समदायमा विभिन्न प्रकारका नाचहरू नचाइन्छ । प्रायः देवी नाचहरू छन् । यीमध्ये लाखे नाच भिन्नै फरक रोचकको छ । धिमे, धाः, दमोखी बाजाको तालमा नचाइने नाच घण्टाकर्ण चतुदर्शी, गाईजात्रा, मतयाः, जनैपूर्णिमाका अवसरमा विभिन्न ठाउँमा नचाइन्छ र इन्द्रजात्रामा काठमाडौंमा देखाइन्छ । नाचका लागि नाथ गुरु अनिवार्य रूपमा पूजा गर्नुपर्छ ।

यल ल्याकु मिप्वा लाखे पुचःका अध्यक्ष शाक्यका अनुसार नेपाल भाषामा ‘ला’ को अर्थ मासु र ‘खे’ को अन्डा बुझिन्छ । ‘मासु र अण्डा अत्यधिक मन पराउने राक्षस भएकाले लाखे भनिएको हो । लाखे नेपालमा १२ वर्षसम्म अनिकाल परेका बेला वृष्टि गराउन भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धदत्त आचाज र रथचक्र भनिने ललितपुरका ललित ज्यापूले भारत असमको कामरूपकामाक्ष पर्वतबाट यक्षका सन्तान रातो मत्स्येन्द्रनाथ ल्याउँदा सँगै आएको मानिन्छ,’ उनले भने, ‘त्यसैले लाखेलाई राक्षसका सन्तानका रूपमा पनि लिइन्छ ।’

नेपालमा धेरै प्रकारका लाखे छन् । संरक्षक देवताका रूपमा सबै लाखेको छुट्टाछुट्टै महत्त्व छ । धेरै लाखे नाच अस्तित्वविहीन भइसकेका छन् । पुचःका अध्यक्ष शाक्यले युवाहरूको समर्थनमा ‘मिप्वाः’ लाखे नाच पुनः ब्युँताइएको बताए । नेपाल भाषामा ‘मि’ को अर्थ ‘आगो र ‘प्वाः’ को ‘आगोवाला’ लाखे भन्ने बुझिन्छ । नाचमा लाखेसँगै अर्को पात्र ब्याँचा (भ्यागुतो) अथवा ‘तीनपाकु’ पनि नाच्ने गर्दछ । कथनअनुसार मिप्वाः लाखे र भ्यागुतो तीनपाकुलाई कृषकका सहयोगी हुन् । रोपाइँ सकेर सबै किसान आराम गर्दै थिए । लाखेले धानबाली बिगार्न थाल्छ । भ्यागुतोले बाली नबिगार्न लाखेसँग आग्रह गर्छ । तर, लाखेले उल्टै भ्यागतोलाई लखेट्छ । लाखे खाल्डोमा फस्छ । भ्यागुता ज्यान जोगाएर उफ्रिएर बाहिरिन्छ । नष्ट हुन लागेको बाली भ्यागुताले जोगाइदिएको विश्वासमा त्यही हाउभाउमा नाच नचाउने गरेको पुचःका अध्यक्ष शाक्य बताउँछन् ।


कतिपय ठाउँको लाखे नाच तान्त्रिक विधिबाट नचाइन्छ । कतिपयका लागि धार्मिक विधि, शास्त्रगत कुरा चाहिँदैन । कुनै लाखे नाचमा जाति विशेष पनि हुनुपर्छ भन्ने छैन । नेवार समुदायका बाहेक अन्य जातीय समुदाय पनि नाचमा सहभागी हुन सक्छन् । नाचमा भाग लिन र रमाउन पाउँछन् । यसका लागि कुनै गठीको विशेष तालिम पनि चाहिँदैन । काठमाडौंको मजिपात लाखे भने विधिवत् रूपमा नचाइने भएकाले अन्य स्थानमा नचाउन मिल्दैन । मजिपाटको लाखे नाच, कुमारीको रथयात्राको भीड सँगसँगै देखापर्ने सबभन्दा आकर्षित एउटा डरलाग्दो राक्षसको नाच हो । इन्द्रजात्राको साता दिनसम्म यो नाच देखाइन्छ ।शान्त भजन मण्डलका कोषाध्यक्ष सुनील महर्जनका अनुसार सुनाकोठीमा १५ वटा समूहले छुट्टाछुट्टै लाखे नचाइन्छ । ‘तीमध्ये अझै दुई वटा समूहले तान्त्रिक विधिबाट नचाउँदै आएको छ,’ उनले भने । लाखे नाचका अध्येता गणेशराम लाछी भन्छन्, ‘ठाउँअनुसार लाखेको कथा छुट्टाछुट्टै छ । काठमाडौंमा सिमरौनगढबाट तलेजु भित्रिँदा कुमारीको अंगरक्षक रूपमा लाखेलाई ल्याएको पनि भनिन्छ ।’ उनका अनुसार लंकाबाट लाखे बोलाई एकै रातमा ‘सिमरौनगढ नगर बनाइदिए । सिमरौनगढमा तलेजु भवानी रहेकाले लाखेहरू नगर सुरक्षाका लागि त्यहीं बसेको र समय परिस्थितिवश तलेजुलाई नेपाल ल्याएपछि त्यसको सुरक्षासँगै लाखे पनि नेपाल आएको भन्ने कुरा राजा नान्यदेवले सिमरौनगढ निर्माण गरेको प्रसंग भाषा वंशावलीहरू उल्लेख छ । अध्येता लाछी भन्छन्, ‘कुमारी तलेजुकी प्रतीक हुन् । इन्द्रजात्रामा कुमारीको जात्रा हुने भएकाले उसका सुरक्षाका लागि लाखे पनि सँगै नचाइएको पनि किंवदन्ती रहिआएको छ ।’


उनका अनुसार लाखेलाई शान्त भैरवका रूपमा पनि पुजिन्छ । कुनै समय मनुष्य रूपी लाखे (राक्षस) र काठमाडौंकी ज्यापू युवतीबीच माया बस्छ । छिमेकीले लाखेलाई मानिसभन्दा फरकको रूप देखेपछि राजाकहाँ सुटुक्क खबर गर्छन् । राजाको आदेशमा सैनिकले लाखेलाई समात्छ । अनि उक्त लाखेले राक्षस भए पनि सबैको भलो/सहयोग गर्ने वाचा गर्छन् । राजाले लाखेको इच्छाअनुरूप काम गर्न छुट दिन्छ । लाखे नाच्न थालेदेखि उपत्यकामा भूतप्रेतको डर हट्न थाल्यो र शान्त भैरवका रूपमा मान्न थालियो । अनि उपत्यका नेवार समुदायले टोलटोलमा लाखे नचाउने चलन चलेको अध्येता लाछी बताउँछन् । पछिल्लो समय लाखे नाच राजनीतिक दलका सभासमारोह, जुलुसमा पनि नचाउन थालेको छ । परम्परागत रूपमा नचाउँदै आएको लाखेलाई देवताका रूपमा पुजिने भएकाले निश्चित समयबाहेक अन्यमा नचाउनु गलत भएको लाछी बताउँछन् ।

प्रकाशित : माघ १९, २०७९ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्

ठूला अस्पतालमा आईसीयू अभाव

तुरून्तै असर गरिहाल्ने बिरामीका लागि अलग्गै बेड छुट्याउनुपर्ने व्यवस्था छ
तर गम्भीर बिरामीले समेत उपचार पाउँदैनन्
प्रशान्त माली

काठमाडौँ — ढाडको नसा च्यापिएर खुट्टा नचल्ने भएपछि धनगढीकी ५८ वर्षीया धर्मादेवी भट्ट मंसिर १० मा राष्ट्रिय ट्रमा सेन्टरको इमर्जेन्सी पुगिन् । चिकित्सकले तत्काल शल्यक्रिया गर्नुपर्ने बताए तर आईसीयूमा बेड खाली थिएन ।

बिरामीका आफन्तले धेरै हारगुहार गरे । अन्तमा धापासीको ग्रान्डी अस्पतालमा पुर्‍याउनुपर्‍यो । ‘साढे तीन लाख खर्चेर अपरेसन गराउन बाध्य भयौं,’ छोरा सुवासले भने, ‘आमा छट्पटिरहनुभएको थियो । ट्रमामा अपरेसन गराउन कम्तीमा १५–२० दिन कुर्नुपर्ने भएपछि निजी अस्पताल नलगी भएन ।’

०००

बाँसको झाङबाट लडेर ढाड भाँच्चिएपछि रौतहटका ५२ वर्षीया रामसाया चौधरीलाई मंसिर ८ मा ट्रमा सेन्टरको इमर्जेन्सी पुर्‍याइयो । अस्पतालले आईसीयू खाली नभएको भन्दै भर्ना लिएन । महाराजगन्जस्थित चिरायु अस्पतालमा १ लाख खर्चेर शल्यक्रिया गर्नुपरेको छोरा पर्मानन्दले बताए । ‘ट्रमाका चिकित्सकले वीरमा रेफर गरेका थिए । वीरमा ढिलासुस्ती भए ज्यानै तलमाथि हुन सक्ने खतरा देखेर निजीमा लग्यौं,’ उनी भन्छन् ।

०००

दाङबाट निमोनियाको उपचार गराउन त्रिवि शिक्षण अस्पताल (टिचिङ) आएकी ६१ वर्षीया सीतादेवी रेग्मीले साता दिन कुरेर पनि आईसीयूमा बेड पाइनन् । त्यसपछि आफन्तले ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पताल पुर्‍याए तर चर्को शुल्कका कारण शुक्रबार टिचिङमै फर्काएका छन् । ‘निजीमा अत्यधिक महँगोका कारण यतै फर्काउन बाध्य भयौं,’ बुहारी भन्छिन्, ‘यहाँ पनि आईसीयू खाली नभएपछि ‘रेड जोन’ मा राखिएको छ ।’ रेग्मी जस्तै रेड जोनमा उपचारार्थ बाराकी ६० वर्षीया कल्मा खातुन पनि आईसीयूमा पालो पर्खिरहेकी छन् । उनमा किड्नीको समस्या छ । ‘न ह्विलचियर गतिलो छ, न पर्याप्त बेड नै,’ श्रीमान् उजिर मियाँले भने, ‘टिचिङ जस्तो ठूलो अस्पतालको हविगत यस्तो भएपछि हामीजस्ता गरिब उपचार नपाएरै मर्ने त होला ।’ खुट्टा भाँच्चिएर मंसिर २७ मा ट्रमा सेन्टर पुगेका नुवाकोटका ५३ वर्षीय केशवबहादुर दर्लामीको समस्या पनि उस्तै छ । आईसीयू खाली नभएपछि उनले निजीमा महँगो शुल्क तिरेर उपचार गराए ।

निजीमा एक दिनको आईसीयू बेड चार्ज मात्रै १४ हजार ६ सय पर्छ । औषधि, डाक्टर चार्ज, ल्याब टेस्टको छुट्टै पैसा लाग्छ । भेन्टिलेटरमा राख्नुपरे दैनिक ६० देखि ७० हजार खर्च लाग्छ । ट्रमा सेन्टरमा वार्षिक औसत एक लाख ४ हजार ४ सय बिरामी आउँछन् । तीमध्ये मासिक ८–१० जना आईसीयू बेड अभावले फर्किन्छन् ।

२०७१ बाट सेवा सुरु गरेको ट्रमाको स्वीकृत बेड संख्या २ सय हो । जसमा सामान्य १५०, आईसीयू ११, पोस्टअप ७ र आकस्मिक ३२ बेड छन् । रेफरल अस्पतालमा आईसीयू अभावले बिरामीको ज्यानै जाने जोखिम बढेपछि दुई वर्षअघि १५ वटा थप्ने योजना बनाइए पनि कार्यान्वयन भएको छैन । अस्पतालले सेवा सुविधा थप व्यवस्थित बनाउन गर्नुपर्ने ओएन्डएम सर्भे पनि गरेको छैन ।

ट्रमाका अर्थोपेडिक्स विभाग प्रमुख प्राडा विनोद शेरचन भन्छन्, ‘प्रायः बुढाबुढीको अपरेसन जोखिमपूर्ण हुन्छ । आईसीयूमा बेड खाली भएन भने रद्द गर्नुबाहेक उपाय छैन ।’

ट्रमाका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनी भने आईसीयू थपेर मात्र समस्या समाधान नहुने बताउँछन् । ‘आईसीयू थप्नु मात्र समाधान होइन । त्यसका लागि आवश्यक जनशक्ति र ठाउँ व्यवस्थापन मुख्य चुनौती हो,’ उनले भने, ‘अस्पतालको वार्षिक बजेट ३० देखि ३५ करोड रुपैयाँ हुन्छ । तलबभत्ता र प्रशासन खर्च १३ करोड हुन्छ । उपकरण खरिद गर्न मात्र थप बजेट चाहिन्छ ।’

मुलुककै जेठो अस्पताल वीरमा दैनिक २ हजारदेखि २ हजार ५ सय बिरामी आउँछन् । तीमध्ये आईसीयू, उपकरण अभाव, अपरेसन गर्न पालो कुर्नुपर्नेलगायत कारणले दैनिक २०–२५ जना बिरामी फर्कने अस्पतालको भनाइ छ । अहिले अस्पतालमा ९ सय ६० बेड संख्या रहेकामा ६ सय ९० मात्र सञ्चालनमा छन् । आईसीयू बेड ६० वटा छन् । सूचना अधिकारी सागर मिश्रले बिरामीको चापअनुसार थप एक सय आईसीयू बेड आवश्यक रहेको बताए । ‘पूरै बेड सञ्चालनमा ल्याउन आवश्यक २ अर्ब बजेट माग गरे पनि अर्थ मन्त्रालयले काट्ने गरेको छ,’ उनले भने, ‘चालु वर्षका लागि ८७ करोड रुपैयाँ मात्र विनियोजन गरेको छ ।’ अर्थ मन्त्रालयबाट अस्पतालका लागि गत वर्ष एक अर्ब ११ करोड रुपैयाँ प्राप्त भएको थियो । चिकित्सकसहित २ हजार ६१ कर्मचारी आवश्यक रहे पनि १ हजार ६ सय ५० जनाले अस्पताल धानिरहेको मिश्र बताउँछन् ।

त्रिवि शिक्षण अस्पतालमा ५६ बेडको आईसीयू प्रायः भरिएका हुन्छन् । गम्भीर खालका बिरामीले पनि हतपत आईसीयूमा पाउँदैनन् । एकातिर बेड नपाएर बिरामी छट्पटिरहेका हुन्छन् भने अर्कातिर अस्पतालले आईसीयू बेड १ सय १२ पुर्‍याउने भने पनि सकिरहेको छैन । अस्पताल आएका १५–२० जना बिरामी दैनिक निजीमा जाने गरेका छन् । अस्पतालमा ९ सय ६२ बेड सञ्चालमा छन् । सूचना अधिकारी रामविक्रम अधिकारी बजेट, जनशक्ति र उपकरण अभावका कारण बिरामीको चापअनुसार आईसीयू र अपरेसन गर्न नसकिरहेको बाध्यता सुनाउँछन् । ‘तलबभत्तामा मात्रै मासिक १० करोड रुपैयाँ, बिजुलीको ६०–७० लाख रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन गर्न त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानलाई पटकपटक ध्यानाकर्षण गर्दा पनि सुनुवाइ भएको छैन ।’

कान्ति बाल अस्पतालमा आईसीयू बेड क्षमता ५२ रहे पनि ४३ मात्र सञ्चालनमा छन् । अस्पतालमा विशेषज्ञ चिकित्सकलगायतका पद रिक्त छन् । रोग परीक्षण गर्न अत्यावश्यक एमआरआईलगायत उपकरण छैन । आईसीयू बेड अभावकै कारण अस्पतालले भर्ना नलिँदा बिरामी थप मर्कामा परेका छन् । पाटन अस्पतालमा ५९ बेड आईसीयूमध्ये मेडिकल २१ र बालबालिकाका लागि ६ वटा बेड छन् । मेडिकल आईसीयू ३५ र बालबालिकाको १० पुर्‍याउन सकेमा आईसीयूको अभाव नहुने चिकित्सक बताउँछन् । आईसीयू बेड अभावकै कारण आईसीयू चाहिने बिरामीलाई हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मा राखेर उपचार गराउने गरिएको छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा १० वटामात्रै आईसीयू बेड सञ्चालनमा छन् । चिकित्सकहरू कम्तीमा १५ बेड आवश्यक रहेको बताउँछन् । निर्देशक डा.पवनजंग रायमाझीले आईसीयू बेडका कारण नभई अन्य रोगको उपचार नभएकाले रेफर गर्नुपरेको बताए । ‘उपकरण मात्र भएर हुँदैन, चलाउन जनशक्ति पनि चाहिन्छ,’ उनले भने, ‘जनशक्तिका लागि ओएन्डएम सर्वे मन्त्रालयमा बुझाएकै एक वर्ष बितिसक्यो ।’ यस्तै समस्या सिभिल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलगायत अस्पतालमा पनि छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुर भने बजेट अभाव मात्र अस्पतालको मुख्य समस्या होइन भन्छन् । ‘चिकित्सकले कार्यालय समयसम्म काम गर्छन्/गर्दैनन्, समयमा अस्पताल आउँछन्/आउँदैनन्, त्यसमा निगरानी बढाउनुपर्‍यो,’ उनले भने, ‘धेरै हदसम्म व्यवस्थापन चुस्तदुरुस्त भएमा सुधार गर्न सकिन्छ । अस्पतालहरूको ओएन्डएम सर्वेअनुसार जनशक्ति व्यवस्थापन गर्न बजेटका लागि अर्थ मन्त्रालयमा पठाइसके पनि सम्बोधन गरेको छैन ।’

स्वास्थ्यविद् प्रा.डा ढुण्डीराज पौडेलका अनुसार सरकारी अस्पतालमा कार्यरत अधिकांश चिकित्सकको निजीमा लगानी छ । ‘आफ्नो लगानी डुबाउन कोही चाहँदैन,’ उनले भने, ‘यसले पनि समस्या निम्तिएको हो ।’

अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार प्रत्येक वर्ष आम्दानीभन्दा बढीको बजेट निर्माण हुने गरेको छ । ‘राज्यको ढुकुटी सीमित छ । घाटामा बजेट बनाइरहेका छौं,’ उनले भने, ‘वैदेशिक ऋण बढ्दो छ, ऋणको

ब्याज तिनैपर्‍यो ।’ उनले स्वास्थ्यलाई मात्र बजेट प्राथमिकतामा राख्न मुस्किल पर्ने गरेको बताए । ‘त्यसमाथि स्वास्थ्यमा छुट्याउँदै आएको बजेट प्रत्येक वर्ष फ्रिज हुने समस्या छ,’ उनले भने ।

सामान्यतया उच्च रक्तचाप, शरीरको तापक्रम कम, बेहोस भएका, रगतको कमी, हृदयाघात, निमोनिया, मिर्गौला, कलेजोका बिरामी, दिमागमा रगत जमेका जस्ता बिरामीलाई अनिवार्य आईसीयू चाहिन्छ । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीका अनुसार दस हजार जना बराबर एउटा आईसीयू बेड चाहिन्छ । ‘नेपालमा कम्तीमा ३ हजार आईसीयू बेड चाहिन्छ । तर, सरकारले व्यवस्थापन गर्न सकिरहेको छैन,’ उनले भने, ‘आईसीयू अभावका कारण गम्भीर खालका बिरामीहरूको अकालमै ज्यान जाने गरेको छ ।’ उनका अनुसार आईसीयू कक्षमा प्रतिदुई बेडका लागि एउटा भेन्टिलेटर हुनुपर्छ । ‘तुरुन्तै असर गरिहाल्ने बिरामीका लागि आवश्यक मात्रामा अलग्गै बेड छुट्याउनुपर्ने व्यवस्था छ । आईसीयू, सीसीयू, एनआईसीयू जस्ता सघन सेवा प्रदान गर्ने युनिटमा प्रतिबेडको अनुपातमा एक जना स्टाफ नर्सको व्यवस्था हुनुपर्छ,’ उनले भने, ‘सम्बन्धित क्षेत्रमा तालिम प्राप्त चिकित्सक चौबीसै घण्टा उपस्थित रहनुपर्ने र सम्बन्धित कन्सल्ट्यान्ट अनकलमा उपलब्ध हुनुपर्ने व्यवस्था छ । तर, अस्पतालहरूले त्यसो गर्न सकेका छैनन् ।’

प्रकाशित : माघ १७, २०७९ ०६:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×