सातुसामल बोकेर ट्युसन

तुलाराम पाण्डे

कालीकोट — तिलागुफा–१ का भरत बुढा महिना दिनका लागि खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा बोकेर सुर्खेत झरेका छन् । अपुग भए गाउँबाट वीरेन्द्रनगर आउने आफन्तले चामल, मकै, सिमी, आलुलगायत खाद्यान्न ल्याइदिने भएकाले उनलाई ढुक्क छ । नारायणीचौरको मालिका मावि नारायणीचौरमा १० कक्षाका उनलाई ट्युसन पढ्नका लागि सुर्खेत झर्नुपर्ने बाध्यता आइलागेको हो । 

सातुसामल बोकेर ट्युसन

अत्यधिक चिसो हुने हिउँदमा विद्यालयमा पढाइ हुँदैन । त्यसैले ट्युसन पढ्न सुर्खेत झर्ने विद्यार्थीको लर्को छ । मालिकाका कक्षा प्रथम कमल बुढाले पनि पढ्नकै लागि घर छाडेर सुर्खेत गएको दुई साता बित्यो । उनीसँगै १४ विद्यार्थी सुर्खेतमा ट्युसन पढ्छन् । अंग्रेजी, गणित, विज्ञान, ऐच्छिक गणित गरी चार विषयको ट्युसन पढ्न उनीहरूले गाउँ छाडेका हुन् । एउटा विषयको ट्युसन पढ्न मात्रै विद्यार्थीले महिनामा कम्तीमा २ हजार रुपैयाँ तिर्नुपर्छ ।

विद्यालयमा कोर्स नसकिएकाले ट्युसन पढ्नैपर्ने बाध्यता भएको हो । उनीहरूले ३ महिना ट्युसन पढ्दा ३० देखि ४० हजार रुपैयाँ खर्चिनुपर्छ । मालिकाकै अर्का विद्यार्थी हिक्मत बुढा पुस पहिलो सातादेखि काठमाडौंमा छन् । दिदी सुर्जा लोकसेवाको तयारीका लागि साथमै गएकी छन् । ३ महिनालाई खर्चको जोहो गरेर हिँडेका उनले चैतमा घर फर्किने बताए । ‘गाउँमा धेरै जाडो चिसो हुन्छ,’ उनले भने, ‘पढाइ पनि गतिलो हुँदैन, त्यसैले एसईई दिने विद्यार्थीले हिउँदमा ट्युसन पढ्न जिल्ला छोड्ने चलन नै बसिसकेको छ ।’

मालिका माविमा १० कक्षा पढिरहेका ४७ मध्ये अधिकांश विद्यार्थी सुर्खेत, नेपालगन्ज, काठमाडौंलगायत सहर झरेका छन् । विद्यालयबाट टेस्ट परीक्षा हटाइएपछि कक्षा १० का विद्यार्थी पलायन हुन थालेको विद्यालयका प्रधानाध्यापक खड्कराज पाण्डेले बताए । ‘विद्यालय त खुलै छ,’ उनले भने, ‘विद्यार्थी नै नआएपछि कक्षा १० को पढाइ हुन छाड्यो ।’ आर्थिक रूपमा विपन्न बालबालिका पनि पाएसम्म ऋण सापटी गरेर बाहिर जाने गरेको उनले बताए । हिमाली भेगमा पर्ने तिलागुफा नगरपालिकाका कालिका मावि राचुली, दुर्गा मावि रतडा, कालिका मावि खल्ला, सत्यदेवी मावि जुविथा, शिवालय मावि चिल्खायालगायत विद्यालयका एसईई परीक्षा दिने अधिकांश विद्यार्थी ट्युसन पढ्न घरबाट खर्च लिएर मान्म, सुर्खेतलगायत ठाउँमा झरिसकेको नगरपालिकाका शिक्षा स्रोत व्यक्ति नवीन हमालले बताए । जाडोका कारण फोइमहादेव, राचुली, चिल्खायालगायत ठाउँमा पुस र माघ गरी २ महिना पठनपाठन प्रभावित हुने गरेको उनले बताए ।

एसईर्ई दिने विद्यार्थी ठूलो संख्यामा जिल्ला बाहिर गए पनि आर्थिक अवस्था कमजोर भएर टाढा जान नसक्नेका लागि जिल्लाभित्रै ट्युसन पढाउने गरिएको छ । सदरमुकाम मान्ममा रहेका ३ वटा ट्युसन सेन्टरमा करिब ५ सय जना विद्यार्थी पढ्छन् । अंग्रेजी, गणित र विज्ञान विषयको ट्युसन पढ्न गाउँबाट विद्यार्थीले प्रतिविषयको ३ हजारका दरले मासिक शुल्क तिर्ने गरेको स्थानीय शिक्षक कमल पाण्डेले बताए । मान्मका ट्युसन सेन्टरले मंसिरदेखि फागुन अन्तिमसम्म ट्युसन पढाएर वर्षभरिको खर्च उठाउँछन् । ‘सिजनमा राम्रै कमाइ हुन्छ,’ कर्णाली हट बोर्डिङका प्रिन्सिपल सन्तोष पौडेलले भने, ‘सेवा दिएका छौं, ट्युसन पढेका विद्यार्थीको नतिजा पनि राम्रो देखिएको छ ।’ उनले अहिले दैनिक करिब १ सय जना विद्यार्थीलाई ट्युसन पढाइरहेको बताए । मान्ममा एटुजेट, गोल्डेन र उनी संलग्न ट्युसन सेन्टर सञ्चालित छन् । कालीकोटका ६४ माविबाट यस वर्ष करिब ३ हजार ८ सय विद्यार्थीहरू एईईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख प्रकाशचन्द्र धितालले बताए ।

प्रकाशित : माघ १९, २०७९ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?