८० करोडको इन्धन ट्यांकी निर्माणमा अख्तियारको अनुसन्धान- समाचार - कान्तिपुर समाचार

८० करोडको इन्धन ट्यांकी निर्माणमा अख्तियारको अनुसन्धान

अमलेखगन्जमा १० हजार किलोलिटर इन्धन भण्डारण क्षमताको ट्यांकी निर्माणाधीन
राजु चौधरी

काठमाडौँ — नेपाल आयल निगमले अमलेखगन्जमा निर्माण गर्न लागेको ‘इन्धन भण्डारण ट्यांकी’को ठेक्कामा अनियमितता आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छानबिन थालेका छन् ।

१० हजार किलोलिटर इन्धन भण्डारण क्षमताको ट्यांकी निर्माणका लागि अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा नगराएको, निश्चित कम्पनीका लागि अनुकूल हुने गरी मापदण्ड बनाएर ठेक्का प्रक्रिया अघि बढाइएको र बढी लागतमा सम्झौता गरेका विषयमा छानबिन थालिएको हो । ‘विभिन्न क्षेत्रबाट प्राप्त सूचनाका आधारमा अख्तियारले छानबिन सुरु गरेको हो । यसबारे अख्तियारले छानबिन गरी प्रतिवेदन पेस गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले भन्यो ।

आयोगको उक्त निर्देशनपछि मन्त्रालयकी सहसचिव राधिका अर्यालको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको थियो । समिति सदस्यहरूमा मन्त्रालयको कानुन तथा फैसला शाखाका बालकृष्ण निरौला, आपूर्ति नीति तथा नियमन शाखाकी उपसचिव उर्मिला केसी र शाखा अधिकृत चन्द्रिका पण्डित छन् । समितिले निगमका कार्यकारी निर्देशक उमेश थानी तथा ठेक्का प्रक्रियामा संलग्न अधिकारीमाथि बयान लिएर प्रतिवेदन बुझाइसकेको छ ।

‘इन्धन भण्डारण ट्यांकीका सम्बन्धमा प्रतिवेदन बनाएर मन्त्रालयमा पेस गरिसकेका छौं । प्रतिवेदन मन्त्रालयबाट अख्तियार पुगेको होला,’ सहसचिव अर्यालले भनिन् । निगमले ९० दिनलाई पुग्ने इन्धन भण्डारणका लागि अमलेखगन्जमा १० हजार किलोलिटरका दुई भण्डारण ट्यांकी बनाउन लागेको छ । जसमा ५ हजार किलोलिटर पेट्रोल र ५ हजार किलोलिटर डिजेल मौज्दात हुने दाबी गरिएको छ । यी दुई ट्यांकी निर्माणका लागि करिब ८० करोडको लागत अनुमान गरी ०७९ असोजमा टेन्डर आह्वान भएको थियो । रेलिगेर कन्स्ट्रक्सन प्रालि र समानान्तर निर्माण सेवाले ट्यांकी बनाउन प्र्रस्ताव गरेका थिए ।

रेलिगेरले ७८ करोड ४५ लाख र समानान्तरले करिब ८८ करोडको कबोल गरेको निगमका मधेस प्रादेशिक कार्यालय प्रमुख प्रदीप यादवले जनाए । कम रकम कबोल गर्ने रेलिगेरलाई कात्तिक २८ मा निगमले छनोट गरेको थियो । निगमले मंसिर २९ मा शिलान्यास गरेर निर्माण प्रक्रिया सुरु गरिसकेको छ । तर ठेकेदार कम्पनी छनोट तथा सम्झौताबारे प्रश्न उठेपछि अख्यिारले छानबिन बढाएको हो । यसबारे छानबिन गर्न अख्तियारले गत मंसिर २० मा मन्त्रालयलाई निर्देशन दिएको थियो ।

निर्देशनपछि तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मंसिर २८ मा छानबिन समिति गठन गर्ने निर्णय गरेका थिए । ‘समानान्तर निर्माण सेवा र रेलिगेर कन्स्ट्रक्सन प्रालि आपसमा मिलेर काम गर्ने कम्पनी हुन्,’ छानबिनमा संलग्न एक अधिकारी भन्छन्, ‘उनीहरूबीच मात्रै प्रतिस्पर्धा गराएर ठेक्का सुम्पिनु मिलेमेतोको प्रमुख आधार हो ।’ समानान्तरका सञ्चालक अच्युत खरेल हुन् । उनी कांग्रेसनिकट व्यवसायी हुन् । रेलिगेरका सञ्चालक शेरबहादुर केसी हुन् । यी दुई ठेकेदार कम्पनीले विभिन्न ठाउँमा साझेदारीमा काम गर्दै आएका छन् ।

निगमको ट्यांकी ठेक्कामा प्रतिस्पर्धा गरिए पनि मिलेमतोमा अघि बढेको स्रोतको दाबी छ । निगमले पोखरामा निर्माण गरिरहेको १० हजार किलोलिटरको ट्यांकीमा पनि यिनै कम्पनीले मिलेर काम गरिरहेका छन् । पोखरामा समानान्तर र रेलिगेरले भारतीय कम्पनीसँग जेभीमा काम गरेका हुन् । सोही कम्पनीमध्ये एक रेलिगेरले अमलेखगन्जमा ठेक्का पाएको हो ।

सार्वजनिक खरिद ऐन ०६३ र नियमावली ०६४ लाई टेकेर टेन्डर आह्वान र सम्झौता गरिएको प्रादेशिक कार्यालय प्रमुख यादवले बताए । ‘सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपाली कम्पनीलाई प्राथमिकता दिन भनेको छ । ऐनको दफा १५ मा सार्वजनिक निकायको मागअनुरूपको मालसामान वा निर्माण कार्य प्रतिस्पर्धी मूल्यमा नेपालभित्रका एकभन्दा बढी निर्माण व्यवसायी वा आपूर्तिकर्ताबाट प्राप्त नहुने भए र मालसामान, निर्माण कार्य वा अन्य सेवा खरिदका लागि राष्ट्रियस्तरमा बोलपत्र आह्वान गर्दा कुनै बोलपत्र नपरी विदेशबाट प्राप्त गर्नुपर्ने भएमा मात्रै अन्तर्राष्ट्रियस्तरको बोलपत्र गर्न भनिएको छ,’ यादवले भने, ‘यही ऐनलाई टेकेर नेपाली कम्पनीहरूबीच प्रतिस्पर्धा गराई ठेक्का प्रक्रिया अघि बढाइएको हो ।’

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले अमलेखगन्ज र अन्य क्षेत्रमा गरेको टेन्डरका आधारमा ट्यांकी निर्माण लागत अनुमान निर्धारण गरिएको यादवले जनाए । राष्ट्र बैंकले जारी गर्ने महँगी र ट्यांकी निर्माणका लागि प्रयोग हुने स्टिल पाताको मूल्य ३० प्रतिशतले बढेका आधारमा लागत अनुमान तयार पारिएको उनको भनाइ छ । ‘४ वर्षअघि पोखरामा १० हजार किलोलिटरको भण्डारण ट्यांकीको टेन्डर गर्दा अनुगमन लागत ८० करोड नै थियो । अहिले पनि लागत मूल्य ८० करोड नै छ,’ उनले भने, ‘त्यसकारण लागत बढाई कुनै अनियमितता गरिएको छैन ।’

निगमका कार्यकारी निर्देशक थानीले पनि ऐन र नियमावलीभन्दा बाहिर गएर काम नगरिएको दाबी गरे । ‘सार्वजनिक खरिद ऐन र नियमावलीले दिएको अधिकार र त्यसको परिधिभित्र रहेर निर्णय भएको छ, त्यसबाहेक तलमाथि भएको छैन,’ उनले भने, ‘ठेक्का प्रक्रियामा पनि कुनै अनियमितता भएको छैन ।’

प्रकाशित : माघ १९, २०७९ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्

कसरी हुन्छ सेवा शुल्क नियमन ?

विज्ञ भन्छन्– ‘सम्बन्धित क्षेत्रको ऐनमा प्रस्ट रुपमा सेवा शुल्कबारे तोकिएको छ भने लिन मिल्छ, अन्यथा त्यो सरासर गैरकानुनी हो, सरोकारवालाले नियमन थालिहाल्नुपर्‍यो’
राजु चौधरी

काठमाडौँ — गत बुधबार अर्थात् माघ ११ मा सर्वोच्च अदालतले श्रम ऐन ०७४ को दफा ८७ (३) मा को व्यवस्था र श्रम नियमावली ०७५ को नियम ८२ बुँदा खारेज गरिदिएपछि होटल–रेस्टुराँ आदि व्यावसायिक संस्थाले अवैध रूपमा लिइरहेको सेवा शुल्क हटेको छ । यसको सफल कार्यान्वयनको पाटो भने बाँकी नै छ । यससँगै एउटा प्रश्न उब्जिएको छ– सरकारले अन्य क्षेत्र एवम् व्यावसायिक प्रतिष्ठानले लिइरहेको सेवा शुल्क के हुन्छ ?

यस विषयमा विज्ञहरूको एउटै भनाइ छ– सम्बन्धित क्षेत्रको ऐनमा प्रस्ट रूपमा सेवा शुल्कबारे तोकिएको छ भने लिन मिल्छ, अन्यथा त्यो सरासर गैरकानुनी हो । सर्वोच्च अदालतको फैसलाविपरीत हो । यही विषयलाई पुष्टि गर्छन् अधिवक्ता एवम् उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ । भन्छन्, ‘आर्थिक विधेयक र सम्बन्धित क्षेत्रको ऐनबाट तोकिएर आएको सेवा शुल्कबाहेक अन्यत्र लिन पाइँदैन ।’

सर्वोच्चको फैसलापछि शिक्षा, खानेपानी, अस्पताल, होटललगायत व्यावसायिक प्रतिष्ठानले सेवा शुल्क उठाउन नपाउने बानियाँको भनाइ छ । बैंक तथा वित्तीय संस्थामा ०.५७ देखि १.५ प्रतिशत शुल्क लिने गरिएको जानकार बताउँछन् । बैंकहरूले राष्ट्र बैंकको नियमअनुसार सर्वसाधारणलाई सेवा दिएबापत शुल्क उठाउने गरेका छन् । बैंक एन्ड फाइनान्सियल इन्स्टिच्युसन एक्ट (बाफिया) अन्तर्गत रहेर निर्देशिका जारी भएको बैंकहरूको दाबी छ । ‘राष्ट्र बैंकअन्तर्गत रहेर ऐनअनुसार बैंकहरूले सेवा शुल्क लिने गरेका छन्,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘सर्वोच्चको फैसलापछि भने यसमा पनि पुनर्विचार गर्नेबारे छलफल भएको छ ।’

दूरसञ्चार सेवा प्रदायक कम्पनीले पनि सेवा शुल्कबापत १० प्रतिशत रकम असुल्दै आएका छन् । यी कम्पनीले दूरसञ्चार सेवा शुल्क लगाउँदै आएका हुन् । विद्युत् महसुलमा पनि इनर्जी शुल्क लाग्दै आएको छ । यी कम्पनीले आर्थिक ऐनको व्यवस्थाबमोजिम शुल्क उठाउने गरेका छन् । सेवाग्राहीबाट यस्तो शुल्क घटाउन माग भइरहँदा दूरसञ्चार सेवाप्रदायक कम्पनीले भने चर्को शुल्क असुलिरहेका छन् । करमाथि शुल्क लगाइरहेका छन् । सेवा शुल्कका विषयमा सर्वोच्चको फैसला आएपछि आफूहरू कानुनी परामर्शमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले बताए । ‘प्राधिकरणले आर्थिक ऐनअन्तर्गत सेवा शुल्क लिएको हो । १० प्रतिशत शुल्क यथावत् नै छ,’ उनले भने, ‘सथप के गर्ने भन्ने विषयमा परामर्श गरिरहेका छौं ।’

उपभोक्ता अधिकारकर्मी भने अदालतले फैसला गरेपछि सम्बद्ध सेवा प्रदायकहरूले नलिने भनेर घोषणा गर्नुपर्ने दाबी गर्छन् । अदालतको फैसलाविपरीत शुल्क उठाए मानहानि हुने उनीहरूको भनाइ छ । ‘चाहे सरकारी होस् या गैरसरकारी, कुनै पनि प्रतिष्ठानले सेवा शुल्क लिन मिल्दैन । सरकारी संस्थानले त आफैं अग्रसर भएर यस्तो शुल्क हटाउनुपर्छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सेवा शुल्कका नाममा प्रतिमहिना ५० रुपैयाँ उठाएको तिमिल्सिना बताउँछन् । उक्त शुल्क तत्काल खारेज गर्नुपर्ने उनको भनाइ छ । ‘खानेपानीको हकमा न्यूनतम चार्ज १ सय ५० रुपैयाँ हुन्छ । त्यसमा सेवा शुल्कका नाममा ५० रुपैयाँ उठाइन्छ,’ उनले भने, ‘यो तत्काल हटाउनुपर्छ ।’ अहिले अस्पताल र शिक्षा क्षेत्रमा पनि ठगी भइरहेको उपभोक्ता अधिकारकर्मीको दाबी छ । अस्पताल र विद्यालयअनुसार मनलाग्दी सेवा शुल्क उठाइने गरे पनि कसैले नियमन नगरेको उनीहरूको भनाइ छ ।

प्रतिवादी श्रम तथा रोजगार मन्त्रालय भएकाले ऐन र नियमावलीमा भएको सेवा शुल्कसम्बन्धी व्यवस्था खारेज भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईले बताए । आर्थिक ऐनमा उल्लेख भएको शुल्क भने खारेज नभएको उनको दाबी छ । ‘सर्वोच्च अदालतको आदेश होटल–रेस्टुराँलगायतमा परिकार बेचेपछि कुनै शुल्क नलेऊ भन्ने हो,’ उनले भने, ‘मैले होटल–रेस्टुराँ मात्रै बुझेको छु । बाँकी व्याख्या गर्ने अदालत नै हो ।’

होटल–रेस्टुराँले ग्राहकलाई सेवा दिएबापत ०६४ फागुन ३ देखि १० प्रतिशत सेवा शुल्क लिने गरेका थिए । रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेबान), अखिल नेपाल तथा रेस्टुरेन्ट मजदुर संघ, नेपाल स्वतन्त्र होटल मजदुर युनियन, नेपाल पर्यटन तथा होटल श्रमिक संघ, नेपाल होटल मजदुर संघ, अखिल नेपाल होटल मजदुर संघसहितको बैठकले ०६४ माघ १६ मा १० प्रतिशत सेवा शुल्क लागू गर्ने सम्झौता गरेका थिए । १० प्रतिशत सेवा शुल्कमध्ये सम्बद्ध प्रतिष्ठानका कर्मचारीले ६.८ तथा व्यवस्थापकले ३.२ प्रतिशत लिइरहेका थिए ।

वस्तु तथा सेवा शुल्कका नाममा उपभोक्ता ठगिएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा गत बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले सेवा शुल्क खारेज गरेको हो ।

होटल–रेस्टुराँले श्रम ऐन ०७४ को दफा ८७ (३) र श्रम नियमावली ०७५ को नियम ८२ को प्रावधानका आधारमा ग्राहकबाट अतिरिक्त १० प्रतिशत सेवा शुल्क लिँदै आएका थिए । त्यसलाई खानाको मूल्यसरह अनिवार्य गरी उक्त सेवा शुल्कलाई बिक्रीको कुल मूल्यमा जोडी त्यसमा समेत थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर पनि लिने गरेका थिए । सर्वोच्चले संविधानको धारा ४४ र ११५ (१) को भावना र मर्मअनुकूल नदेखिएको भन्दै श्रम ऐन ०७४ को दफा ८७ (३) र श्रम नियमावली ०७५ को नियम ८२ को व्यवस्था माघ ११ देखि लागू हुने गरी अमान्य र बदर घोषित गरिदिएको छ । अब भने सर्वोच्चको फैसला कार्यान्वयन भए/नभएको तत्काल अनुगमन गर्नुपर्ने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् ।

सेवा शुल्कका विषयमा ट्रेड युनियनसँग छलफल गरेर अगाडि बढ्ने रेबानका अध्यक्ष अरनिको राजभण्डारीले बताए । ‘फैसलापछि सेवा शुल्क बन्द भएको छ, औद्योगिक वातावरण बिगारेर जानुहुँदैन,’ उनले भने, ‘संयुक्त ट्रेड युनियनसँग छलफल गरेर निष्कर्षमा पुग्छौं ।’

यसैबीच वाणिज्य विभागले सोमबार काठमाडौंको बानेश्वर क्षेत्रमा सञ्चालित होटल–रेस्टुराँमा अनुगमन गरेको छ । अनुगमनका क्रममा मेनुमाथिको सेवाशुल्क र भ्याट हटाएको भेटिएको विभागको भनाइ छ । सिनामंगलस्थित बाजेको सेकुवा र तीनकुनेस्थित रोयल लाउन्ज ब्याङ्क्वेटलाई घरेलु कार्यालयमा दर्ता नभएको भन्दै विभागले एकएक लाख जरिवाना गरेको छ ।

प्रकाशित : माघ १७, २०७९ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×