शीर्ष नेता र मन्त्रीका कुर्सी रित्तै- समाचार - कान्तिपुर समाचार

शीर्ष नेता र मन्त्रीका कुर्सी रित्तै

प्रतिनिधिसभामा कायम रहेका २ सय ७३ सांसदमध्ये बुधबारको बैठकमा २ सय ७ जना मात्रै उपस्थित
मकर श्रेष्ठ

काठमाडौँ — सभामुख र उपसभामुख चयन भइसकेपछि बुधबार बसेको प्रतिनिधिसभाको नियमित बैठकमा मुख्य दलका शीर्ष नेता उपस्थित भएनन् । प्रतिनिधिसभामा कायम रहेका २ सय ७३ सांसदमध्ये बुधबारको बैठकमा २ सय ७ जना मात्रै उपस्थित भए ।

शीर्ष तहका नेताहरू बस्ने संसद्को अघिल्लो लहरका कुर्सीमा बुधबार नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, कांग्रेस नेता रामचन्द्र पौडेल, एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, जनमत अध्यक्ष सीकी राउत, रास्वपाका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियार मात्रै थिए । मन्त्री बस्ने कुर्सी पनि प्रायःजसो खाली नै थिए । संसद् बैठकको नियमित प्रक्रिया सुरु भएकै दिन नेताहरू अनुपस्थित हुनु संसद्प्रतिको उपेक्षा भएको संसद् सचिवालयका एक कर्मचारीले बताए ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेताहरूलाई सत्ताको मात्रै चिन्ता भएकाले संसद् बैठकमा आउन फुर्सद नभएको बताए । ‘सत्ताको चिन्ता भएको मान्छेलाई संसद्को बैठकमा आएर जनताको समस्या उठाउने कहाँ फुर्सद छ र ?’ उनले भने, ‘आफ्ना मान्छेलाई राम्रो पद कसरी दिने ? राष्ट्रपति कसलाई बनाउने, सरकार कसरी टिकाउने भन्ने चिन्ता भएका बेला जनताका समस्या छलफल हुने थलोमा किन आउँथे त ?’

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएको र उक्त मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले लिएको सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । उनले चितवन क्षेत्र २ बाट निर्वाचित रास्वपाका सभापति लामिछानेको सांसद पद रिक्त भएको सूचना पनि प्रतिनिधिसभालाई जानकारी गराए ।

शून्य समयमा सांसदहरूले जनचासोका विषय उठाए । उनीहरूले सडकको स्तर सुधार नभएको, कर्णाली राजमार्ग साँघुरो भएका कारण दुर्घटना बढेको, देशभरिका पुलको अवस्था कमजोर रहेको, आत्महत्या गर्ने क्रम बढिरहेको लगायत विषयमा सरकारको ध्यानाकर्षण गराए । त्यस्तै सुकुम्बासी समस्या समाधान गर्न गठित भूमि आयोगको काम प्रभावकारी बनाउनुपर्ने, ठेक्कापट्टामा देखिएको सिन्डिकेट हटाउनुपर्ने, बाली बिमाको व्यवस्था हुनुपर्ने माग पनि उनीहरूले गरे ।

‘संसद्को नियमित प्रक्रिया सुरु भएको पहिलो दिनमा हामीले जनताको समस्या उठान गरेका छौं, विडम्बना हामीले उठाएको माग सुन्ने मन्त्रीहरू सबै थिएनन्,’ कांग्रेस सांसद जीवन परियारले भने, ‘मैले जवाफ मागेको छु, मन्त्री नै नभए पनि जवाफ त आउला भन्ने हो ।’

बैठकमा प्रधानमन्त्री र मन्त्रीहरू सबै नभएपछि सत्तारूढ दल एमालेका नेता रघुजी पन्तले बैठक चलेको दिन प्रधानमन्त्री र मन्त्री अनिवार्य आउनुपर्ने बताए । नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठले बैठक आफूले सोचेजस्तो उपस्थिति नभएको बताइन् ।

शून्य समय सकिएपछि सभामुख घिमिरेले दलीय आधारमा समय निर्धारण गरेर विशेष समय सुरु गरे । सुरुमै कांग्रेस नेता वीरबहादुर बलायरले सुदूरपश्चिमको समस्या सुनाए । त्यसपछि पालो आयो एमाले नेता रघुजी पन्तको । पन्तले राप्रपाका तर्फबाट सहरी विकासमन्त्री बनेका विक्रम पाण्डेले चितवनमा संघीयताविपरीत बोलेको भन्दै आपत्ति जनाए । संविधानको मर्मविपरीत नजान सरकारका मन्त्रीहरूलाई उनले आग्रह गरे । ‘संविधान र कानुनको अधीनमा रहेर मन्त्रीहरूले गतिविधि र अभिव्यक्ति दिनुपर्छ, संविधान र कानुनअनुसार चल्छु भनेर शपथ लिएकाले मन्त्रीले प्रधानमन्त्रीसँग विवाद गर्न मिल्दैन,’ उनले भने, ‘मन्त्री र प्रधानमन्त्रीबीच सार्वजनिक विवाद आएको राम्रो होइन ।’ धर्मलाई राजनीतिक एजेन्डा बनाउँदा छिमेकी देश अशान्त बनेको उनले बताए । ‘क्याबिनेटमा बसेर यसरी राय बझाउन थाल्ने हो भने यसले देशलाई कुन बाटोमा लैजान्छ ? राप्रपाको आफ्नो विचार होला, उसका सांसदले बोल्न सक्छन् तर मैले पनि मत हालेको सरकार हो, मन्त्रिपरिषद्मा बसेर संविधानको बर्खिलाप हुने गरी बोल्न मिल्दैन,’ उनले भने ।

उनीपछि बोलेका माओवादी नेता शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद्का सदस्यले संविधानको मूल्यभन्दा बाहिर गएर टिप्पणी गर्न नहुने बताए । ‘त्यो स्विकार्य हुन सक्दैन, यस्ता खालका गल्ती आगामी दिनमा नहोस्, सच्याइयोस्,’ उनले भने ।

बस्नेतपछि बोल्ने पालो दलीय आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाको थियो । सभामुखले उनलाई पालो दिनुअघि नै राप्रपाका सांसद ज्ञानेन्द्र शाही कुर्सीबाट जुरुक्क उठे र माइक समाएर बोल्न थालिहाले । माइक भने खुलेको थिएन । अनुमतिबिनै बोल्न थालेपछि सभामुखले हात उठाउँदै सोधे, ‘माननीय सदस्य किन उठ्नु भाछ ?’ त्यति नै बेला शाहीको माइक खुल्यो । उनले पन्त र बस्नेतले आफ्नो पार्टीका मन्त्रीले उठाएका विषयको विरोध गरेको भन्दै आपत्ति जनाए । यतिबेलासम्म सभामुखले प्रतिनिधिसभा नियमावलीको कुन नियमअनुसार नियमापत्ति हो भनेर सोधेनन् । केही नसोधी सभामुखले शाहीलाई डेढ मिनेट बोल्न दिए । शाहीले पन्त र बस्नेतको अभिव्यक्ति फिर्ता लिन आग्रह गरे ।

शाहीले बोल्नेबित्तिकै पन्त र बस्नेतले उठेर विरोध गरे । सभामुखले यतिबेला पनि कुन नियमावलीअनुसार आपत्ति जनाएको सोधेनन् । बरु समय लिएर बोल्नुहोला भन्दै बस्न आग्रह गरे । सभामुख घिमिरेले भने, ‘के कुरा आयो, सुन्नका लागि सुनेको हो । बसौं माननीय, बसौं ।’

प्रकाशित : माघ १९, २०७९ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्

कानुन मिचेर निर्वाचन मिति

मकर श्रेष्ठ

काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी ऐनको व्यवस्थाविपरीत हुने गरी निर्वाचनको मिति घोषणा गरेको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै निर्वाचन हुने गरी मिति तोक्नुपर्ने कानुनी व्यवस्था रहेकामा आयोगले बहालवालाको पदावधि सकिनै लाग्दा मात्र निर्वाचन गर्ने निर्णय गरेको हो ।

आयोगले फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपतिको निर्वाचन मिति तोकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको फागुन २८ मा र उपराष्ट्रपति नन्दबहादुर पुनको चैत ३ मा कार्यकाल सकिँदै छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ४ मा राष्ट्रपतिको र उपदफा ५ मा उपराष्ट्रपतिको निर्वाचन बहालको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि हुनुपर्ने व्यवस्था छ ।

आयोगको बैठकमा आयुक्त ईश्वरी पौड्यालले कार्यकाल सकिनु एक महिनाअघि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था मिच्न नहुने तर्क गरेका थिए तर प्रमुख आयुक्त दिनेश थपलिया, आयुक्तहरू रामप्रसाद भण्डारी, सगुनशमशेर जबरा र जानकी तुलाधरले कार्यकाल सकिनु केही दिनअघिका लागि मिति तोक्ने निर्णय बहुमतबाट गरेका हुन् ।

आयुक्त पौड्यालले कानुन संशोधन नगरी निर्वाचन मिति धकेल्नु गलत भएको भन्दै फरक मत राखेका छन् । उनको फरक मतमा लेखिएको छ, ‘फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपतिको निर्वाचन मिति तोक्ने र सोबमोजिमको निर्वाचन कार्यक्रम प्रकाशन गर्ने गरी राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ को प्रतिकूल भएको हुँदा ऐनको दफा ४ र ५ संशोधन गरी मात्र निर्वाचनको मिति तोक्न यो फरक मत प्रस्तुत गरेको छु ।’

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले संविधानको मर्मअनुसार निर्वाचनको मिति तोकिएको बताए । ‘संविधान र ऐनमा केही दुविधा देखियो । संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल ५ वर्षको हुने भनिए पनि ऐनमा कार्यकाल सकिनुभन्दा एक महिनाअघि निर्वाचन गर्नुपर्ने उल्लेख छ । आयोगले सविधानको मर्मअनुसार मिति तोकेको हो,’ उनले भने । आयोगले संविधानअनुसार कानुन संशोधन गर्नुपर्ने विषय भने उठाएको छैन । निर्वाचन एक महिनाअघि गरे पनि बहालवाला राष्ट्रपतिको कार्यकाल सकिएको दिन मात्रै शपथ गराउन मिल्थ्यो ।

निर्वाचन आयोगको निर्णयमा कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कानुन संशोधन नगरी राष्ट्रपति निर्वाचनलाई आयोगले धकेलेको प्रतिक्रिया दिए । ‘राष्ट्रपति जस्तो पदको निर्वाचन गराउँदा कानुनको उल्लंघन भएको सन्देश जानु राम्रो होइन । ऐनको व्यवस्थाअनुसार निर्वाचन गराउन तयार नभए संविधानको भावनाबमोजिम कानुन संशोधन गर्न सकिन्छ,’ उनले भने, ‘कानुन संशोधनका लागि प्रमुख प्रतिपक्ष तयार नै छ, हामीले प्रधानमन्त्रीसँग पनि यही कुरा राखेका छौं तर सरकार त्यसमा अग्रसर भएन ।’

संविधानविद् भीमार्जुन आचार्यले संविधान र कानुनमा समस्या नभएको तर कानुनको अपव्याख्या गरिएको टिप्पणी गरे । ‘अमेरिकामा पहिला नै राष्ट्रपतिको निर्वाचन हुन्छ । निश्चित दिनमा शपथ हुन्छ अनि कार्यकाल सुरु हुन्छ । हामीले पनि यस्तै गर्न कानुन बनाएको हो । तर, अपव्याख्या भयो,’ उनले भने, ‘अहिले भएको राष्ट्रपति कार्यकाल पूरा गरेर गएको दिन एक महिनाअघि निर्वाचित राष्ट्रपतिले जिम्मेवारी सम्हाल्नुपर्ने हो ।’

आयोगले सोमबार सार्वजनिक गरेको कार्यक्रमअनुसार राष्ट्रपति पदका लागि फागुन १३ मा उम्मेदवारी दिनुपर्नेछ । फागुन १४ मा उम्मेदवारविरुद्ध उजुरी दिने, त्यही दिनदेखि उजुरीउपर जाँचबुझ गर्ने, १५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने र त्यही दिन अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । उपराष्ट्रपतिको निर्वाचन कार्यक्रम भने फागुन २७ मा सुरु हुनेछ । उम्मेदवारको मनोनयन पत्र फागुन २७ मा दर्ता गर्ने, त्यही दिन उम्मेदवारविरुद्ध उजुरी दिने कार्यक्रम छ । यस्तै फागुन २८ मा जाँचबुझ गरी निर्णय दिने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्तिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन चाहे बन्दसूचीबाट नाम फिर्ता लिनुपर्ने आयोगले जनाएको छ । संघीय संसद्का सदस्य (प्रतिनिधिसभाका २ सय ७५, राष्ट्रिय सभाका ५९) र सातै प्रदेशसभाका ५ सय ५० सदस्यको मतदानबाट राष्ट्रपतिको निर्वाचन हुन्छ । ०६८ को जनगणनाका आधारमा संघीय संसद्का १ सदस्यको मतभार ७९ कायम गरिएको छ भने प्रदेशसभाको १ सदस्यको मतभार ४८ छ । राष्ट्रिय सभामा १ जनाको निर्वाचन माघ २५ मा हुँदै छ ।

प्रतिनिधिसभा सदस्य कांग्रेसका टेकराज गुरुङ भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद खारेज भइसकेको छ । राष्ट्रपतिको निर्वाचनअघि नै राष्ट्रिय सभा सदस्य १ जनाको निर्वाचन भइसक्ने भएकाले प्रतिनिधिसभामा निलम्बन र पद खारेजी भएका २ जनाबाहेकको मतभार २६ हजार २ सय २८ रहेको छ । प्रदेशसभाका ५ सय ५० जनाको मतभार २६ हजार ४ सय छ । संघीय संसद् र प्रदेशसभाको कुल मतभार ५२ हजार ६ सय २८ हुन्छ । प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका एक जना सांसद फरार सूचीमा रहेको पाइएपछि उनको पनि मतभार घट्ने सम्भावना छ ।

प्रकाशित : माघ १७, २०७९ ०६:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×