सत्तारुढ सांसदबीच सदनमै वादविवाद- समाचार - कान्तिपुर समाचार

सत्तारुढ सांसदबीच सदनमै वादविवाद

जयसिंह महरा

काठमाडौँ — नयाँ प्रतिनिधिसभा चयन भएर आएपछि पहिलोपटक बुधबार निर्वाचन क्षेत्र, विकास, राष्ट्रका जल्दाबल्दा विषय र मुद्दा उठान गर्नका लागि छुट्याइने शून्य र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राख्न पाए । नवनिर्वाचित सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रदेखि राष्ट्रको आर्थिक, राजनीतिक र सामाजिक विषयमा धारणा राखे । 

प्रतिनिधिसभाको यही बैठकमा सत्तारुढ सांसदहरू भने एकआपसमा वादविवादको अवस्था आयो । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, सत्ताको मुख्य हिस्सेदार एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूबीच वादविवाद चलेको हो ।

एमाले सांसद रघुजी पन्त र माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले मन्त्रिपरिषद् सदस्यले संविधानका व्यवस्थाविपरीत संघीयता र धर्मनिरपेक्षता लगायत विरुद्ध खुलेआम अभिव्यक्ति दिन लागेको भन्दै आपत्ति जनाएका थिए । उनीहरूले मन्त्रीहरूका ती अभिव्यक्ति स्वीकार्य नहुने भन्दै सरकारलाई त्यस्ता विषयमा लगाम लगाउन चेतावनी दिए ।

धर्मको राजनीतिले मुलुकलाई सही दिशामा नलैजाने पन्तको भनाइ थियो । उनले सरकार र मन्त्रीहरू गठबन्धनका भएकाले ३० बुँदे न्यूनतम साझा कार्यक्रम अनुसार चल्नुपर्ने सुझाव दिए । संघीयता, धर्मलगायतका विषयमा बहस गरेर मन्त्रीहरूले सरकारलाई नै विवादमा पार्न नहुने उनको भनाइ थियो । धर्म रुपान्तरण रोक्ने नै लक्ष्य हो भने त्यसलाई रोक्ने कानुन ल्याउन तर उपप्रधानमन्त्री र मन्त्री भएर धर्मलाई राजनीतिक एजेन्डा नबनाउन उनले सुझाएका थिए ।

'संविधानले नागरिकको जीवनलाई पनि प्रभावित गर्नसक्छ । त्यसैले म यो संविधानको आधारभूत मान्यताविरुद्ध नजान सरकारका मन्त्रीहरूको ध्यानाकर्षण गराउन चाहन्छु,' पन्तले भने । राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्रीले संघीयताविरुद्ध बोल्ने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने अभिव्यक्ति दिएका थिए । सहरी विकासमन्त्री विक्रम पाण्डेले प्रधानमन्त्रीले बोलेको भोलिपल्ट चितवन पुगेर संघीयता स्वीकार नगरेको बताएका थिए । उनले प्रधानमन्त्री दाहालले दिएको चेतावनी राप्रपाले र उक्त पार्टीका मन्त्रीले नमान्ने बताएका थिए । मन्त्रिपरिषद्मा रहेर यस्ता कुरा गर्ने छुट नरहेको पन्तको भनाइ थियो । 'मैले मत हालेको सरकार हो । राप्रपाको आफ्नो विचार होला । सांसदले बोल्न पाउँछ तर मन्त्रीले पाउँदैन । सरकारको गम्भीर ध्यानाकर्षण होस्,' उनले भने, 'संविधान र कानुनको अधिनमा रहेर मन्त्रीहरूले आफ्नो गतिविधिलाई, अभिव्यक्तिहरूलाई अगाडि बढाउनु पर्दछ । संविधान अनुसार सपथग्रहण गर्नु भएको, संविधान र कानुनअनुसार चल्छु भनेर सपथ लिनुभएको मन्त्रीहरूले प्रधानमन्त्रीसँग यसरी आफ्ना कुरामा अन्तरविरोध गर्न मिल्दैन ।' प्रधानमन्त्री र मन्त्रीबीच यस्ता विषयमा सार्वजनिक विवाद भएको राम्रो नहुने उनले बताए ।

त्यसपछि बोलेका माओवादी सांसद बस्नेतले पनि मन्त्रीहरूले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रविरुद्ध गएर बोल्ने अधिकार मन्त्रीहरूलाई नभएको बताए । उनले सडक, सदनमा पार्टीका कुरा सार्वजनिक बहसका रूपमा राख्न पाउने तर मन्त्रिपरिषद्मा बसेर व्यवस्थाविरुद्ध बोलेको स्वीकार नहुने भन्दै सचेत गराए । 'सरकार, कार्यकारी अधिकार प्रयोग गरिराखेको क्याबिनेटका सदस्यहरूले संविधानका मूल्यबाहिर गएर गर्ने टिप्पणी स्वीकार्य हुन्न, यिनलाई सच्याइयोस्,' उनको भनाइ थियो ।

वर्तमान राजनीतिक, आर्थिक, सामाजिक समस्याको कारण अहिले गणतान्त्रिक व्यवस्था नभएको बस्नेतको भनाइ थियो । व्यवस्थाले ल्याउन खोजेको अवस्था सिर्जना नहुनुको कारण वरपर नै रहेको भन्दै उनले आर्थिक नीति निर्माण गर्न नसक्नु, व्यवस्था र अवस्थाबीचको अन्तरविरोध खोजी गर्न नसक्नुमा समस्या रहेको धारणा राखे । उनले संघीयताको विरोध काठमाडौंमा बस्नेहरूले गरेको भन्दै थपे, 'संघीयताको विरोध गर्नेहरू सुदूरपश्चिम, कर्णाली र पूर्वी पहाड जानुपर्छ । राजधानीमा बसेर संघीयताको बोध हुँदैन । असमान विकास, विविधता सम्बोधन गर्न र असमान विकासको समस्या समाधान गर्न संघीयता चाहिएको हो ।' संघीयताको प्रभावकारी कार्यान्वयन गर्नका लागि यससँग सम्बन्धित ऐन निर्माण गर्नुपर्ने, निजामती कर्मचारी र प्रहरी समायोजन हुनुपर्ने उनको भनाइ थियो ।

सरकारको नेतृत्व गर्ने दल माओवादी र प्रमुख साझेदार एमालेका प्रभावशाली सांसदहरूले बोलेपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले माइक उठाए । उनले सभामुखसँग समय मागे । तर, सभामुखले बोल्न अनुमति नदिँदै आफ्ना धारणा राख्न थाले । संसद्मा कुनै सांसदले बोलेका कुरालाई लिएर अर्को सांसदले आपत्ति जनाउने अभ्यास छैन । संसद्को नियम विपरीत बोलको खण्डमा भने बोलिरहेकै बेला नियमापत्ति गर्ने चलन हुन्छ । सांसदले बोलेका विषयमा खण्डन गर्दा अर्को सांसदको नाम उल्लेख नगर्ने पनि अभ्यास हो । तर शाहीले भने पन्त र बस्नेतको नामै लिएर संवैधानिक व्यवस्था हेर्न भने । 'रघू पन्त र शक्ति बस्नेतले बोलेको कुरा । उहाँलाई नेपालको संविधान, २०७२ बनाउन भन्दा अगाडि जुन हिसाबले सांसदहरूको राय संकलन गरिएको थियो संघीयता, धर्मनिरपेक्षता चाहिन्छ कि चाहिँदैन, त्यो किन सार्वजनिक गरिँदैन ?,' उनले भने । गणतन्त्र परिवर्तन गर्नसक्ने व्यवस्था संविधानमा नै रहेको पनि शाहीको तर्क थियो । धर्मबारे पन्तले राखेका विषयमा पनि शाहीले आपत्ति जनाए ।

त्यसपछि नियमावलीको व्यवस्था उल्लेख नगरी शाहीले दुवैले राखेका धारणा फिर्ता हुनुपर्ने सभामुखलाई माग गरेका थिए । 'यो कुरा तत्काल फिर्ता लगियोस्, नियमापत्ति छ,' उनले भने ।

त्यसपछि रघुजी पन्तले आफ्ना कुरा राख्न खोजे तर सभामुख घिमिरेले भने बोल्न दिएनन् । समय लिएर मात्र बोल्न आग्रह गर्दै सभामुखले पन्तलाई बोल्न दिएनन् । लगत्तै शक्ति बस्नेतले पनि बोल्न खोजे । उनलाई पनि सभामुखले बोल्न दिएनन् । उनीहरूले नियमापत्ति गर्न खोजेका हुन् कि हैनन् भन्ने पनि जान्न सभामुखले चाहेनन् ।

प्रतिनिधसभाको बैठकमै राजनीतिक एजेन्डा फरकफरक रहेका दलहरूको सत्ता पक्षको सिटमा बसेका गठन्धनभित्रका दलहरूको असमझदारी छताछुल्ल भएको हो ।

प्रकाशित : माघ १८, २०७९ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्

रविसँग तीन वर्षसम्म दुई राहदानी, रोकिएको अनुसन्धान अब होला ?

गैरपर्यटक भिसामा नेपाल आएको बखत नेपाली राहदानी बनाएपछि अमेरिका जाँदा उनले अमेरिकी राहदानी नै देखाएका थिए
जयसिंह महरा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाअनुसार उपप्रधान र गृहमन्त्रीबाट पदमुक्त भएपनि रवि लामिछानेले एकै पटक दुई देशको नागरिकता र राहदानी बोकेको विषयमा अनुसन्धान हुन भने बाँकी नै छ । उनी सरकारमा गएपछि प्रहरी अनुसन्धान रोकिएको थियो ।

२०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेका लामिछानेले अमेरिका पुगेर उतैको नागरिकता लिएका थिए । अमेरिकी नागरिक बन्ने प्रक्रिया पूरा गरेर उनले २०७० फागुन २१ (२०१४ मार्च ५) मा ५१२९६६९८१ नम्बरको राहदानी प्राप्त गरेका थिए । अमेरिकी नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहने कानुनी व्यवस्था छ ।

अमेरिकी राहदानी प्रयोग गरेर उनी गैरपर्यटक (नाता) भिसामा पहिलो पटक २०७१ जेठ २२ (२०१४ जुन ५) मा नेपाल आएका थिए  । दुई महिना बसेर उनले २०७१ साउन १ (२०१४ जुलाई १७) मा नेपाल छाडेका थिए ।

त्यस्तै अमेरिकी राहदानीमा २०७२ वैशाख २८ (२०१५ मे ११) मा दोस्रो पटक नेपाल आएका उनले १६ औं दिन अर्थात् जेठ १३ (मे २७) नेपाली राहदानी पनि बनाएका थिए, जसका लागि उनले २०५० मा नै जिल्ला प्रशासन कार्यालयबाट लिएको १८२२२ नम्बरको पुरानै नागरिकता प्रयोग गरेका थिए  । त्यतिमात्र होइन, नेपाली राहदानी बनाएपछि २०७२ कात्तिक १ (२०१५ अक्टोबर १८) मा अमेरिका जाँदा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राहदानी नै देखाएका थिए ।

लगत्तै २०७२ मंसिर १० (२०१५ नोभेम्बर २६) मा नेपाल आउँदा उनले अमेरिकी राहदानीमा नेपाली भिसा लगाएका थिए । करिब एक वर्षपछि २०७३ असोज २० (२०१६ अक्टोबर ६) मा फर्कंदा पनि उनले अमेरिकी राहदानी प्रयोग गरेका थिए । नेपालको भिसा लगाएर दुई महिनापछि उनी २०७३ मंसिर २ (२०१६ नोभेम्बर १७) मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए ।

कान्तिपुरलाई प्राप्त अध्यागमन विभागको तथ्यांकअनुसार अमेरिकी राहदानीमा नेपाली भिसा लगाएर अन्तिम पटक रवि २०७४ मंसिर २१ (२०१७ डिसेम्बर ७) मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका थिए ।

नेपालको राहदानी भएका रवि अमेरिकी राहदानीमा नेपालको भिसा लगाएर आऊजाऊ गरिरहेका थिए । यहीबीच उनले नेपालमा न्युज २४ टेलिभिजनमा काम सुरु गरे  । लामिछानेले अध्यागमन विभागमा लेखेको पत्रमा आफू नेपालमा अमेरिकी नागरिकका रूपमा बस्दा श्रम स्वीकृति लिएर टीभी कार्यक्रम सञ्चालन गरेको उल्लेख गरेका छन् । तर, अध्यागमन नियमावली, २०५१ को दफा २० को (१) मा स्पष्ट भनिएको छ, ‘पर्यटक र परिवारको सदस्यका हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न पाउने छैन ।’ त्यसैले नाता भिसामा आएका उनले के कानुनी आधारमा काम गरिरहेका थिए भन्ने प्रश्नको उत्तर पनि अनुसन्धानबाटै खुल्नेछ ।

गैरपर्यटक भिसामा नेपाल आएका अमेरिकी नागरिकले टेलिभिजनमा काम गरेको विषयमा प्रेस काउन्सिलले त्यतिबेलै प्रश्न गरेको थियो । विवाद बढेपछि लामिछानेले २०७५ जेठ ४ मा नेपालस्थित अमेरिकी दूतावासमा अमेरिकी नागरिकता र राहदानी त्याग गर्न निवेदन दिए, जसलाई अमेरिकाको स्टेट डिपार्टमेन्टले स्वीकार गर्‍यो ।

२०७५ असारमा अमेरिकी नागरिकता त्यागेको घोषणा गरेपछि उनले पुनः नेपालको नागरिकता लिने प्रक्रिया चलाएनन् । आफूखुसी पुरानै नागरिकता प्रयोग गरे, जो उनले अमेरिकी नागरिकता लिएपछि कायम थिएन । २०७५ जेठसम्म अमेरिकी राहदानी चलाउँदै आएका उनले त्यसपछि भने आफूखुसी नेपाली राहदानी चलाउन थाले, जो २०७२ जेठ १३ (२०१५ मे २७) मा बनाइएको थियो ।

२०७५ असोज ४ (२०१८ सेप्टेम्बर २०) मा विदेश जाँदा उनले नेपाली राहदानी प्रयोग गरेका थिए । उनी त्यतिबेला जापान र दक्षिण कोरिया गएको देखिन्छ । त्यहाँबाट उनी असोज १६ (२०१८ अगस्ट २) मा स्वदेश फर्किएका थिए । त्यसपछि २०७५ फागुन ३ मा विदेश गएर फागुन ५ मा स्वदेश फर्किएका थिए ।

नेपाली राहदानीमै उनी २०७६ जेठ ८ (२०१९ मे २२) मा र २०७८ पुस ३० (२०२२ जनवरी १४) मा विदेश गएका थिए । सर्वोच्चमा बुझाएको लिखित जवाफमा रविले नेपाली राहदानी प्रयोग नगरेको दाबी गरेका छन् । लामिछानेले ‘सरकारी निकायलाई गुमराहमा राखेर राहदानी लिएको’ र नागरिकता पुनः प्राप्त नगरेकाले सांसद बन्न अयोग्य रहेको पनि जिकिर गरी गृह मन्त्रालयमा उजुरी दिएको हो ।

संविधानविद् भीमार्जॅन आचार्यले राहदानीको विषयमा अनुसन्धान भई आरोप पुष्टि भएमा लामिछाने भविष्यमा निर्वाचनमा उम्मेदवार बन्न नसक्नेसम्मको अवस्था आउने बताए । ‘उहाँविरुद्ध राहदानी दुरुपयोगका उजुरी छन् भन्ने छ, त्यसो हो भने त्यसमा अनुसन्धान हुन सक्ने भयो,’ उनले भने, ‘राहदानीबारे सर्वोच्चको संवैधानिक इजलासले पूर्णपाठमा केही भनिदियो भने त सोहीबमोजिम गर्नैपर्ने हुन्छ । नागरिकताभन्दा राहदानीको विषयमा छानबिन भएर अगाडि केही प्रमाण उहाँको विरुद्धमा आउने अवस्था आयो भने गम्भीर हुन सक्छ । त्यो स्थापित भयो भने उम्मेदवार बन्न नसक्ने अवस्था हुन सक्छ ।’

राहदानीको कसुरमा फौजदारी आरोप पुष्टि भएमा सजाय र जरिवाना हुनेछ । राहदानी ऐन २०७६ मा ‘झूटा विवरण दिई राहदानी वा यात्रा अनुमतिपत्र लिए वा लिन प्रयत्न गरे’ जरिवाना र सजाय हुने व्यवस्था छ । त्यस्तो गर्ने व्यक्तिलाई दुईदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

आफूले २०५० सालमै निकालेको नेपाली नागरिकता प्रयोग गरी गत असार १७ मा लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरे  । त्यही नागरिकताका आधारमा उनले असोज २३ मा प्रतिनिधिसभा निर्वाचनका लागि चितवन–२ बाट उम्मेदवारी दर्ता गराएका थिए  । अमेरिकी नागरिकता लिइसकेपछि उनको नेपाली नागरिकता कायम नरहेको र पुनः नेपाली नागरिकता प्राप्त नगरी उनी निर्वाचनमा प्रतिस्पर्धा गर्न अयोग्य भएको भन्दै कात्तिक २८ मा निर्वाचन आयोगमा उजुरी पर्‍यो  । आयोगले समयमा निर्णय दिएन  । परिणाम घोषणाअघि उम्मेदवारको अयोग्यतासम्बन्धी निर्णय गर्ने अधिकार आयोगमा थियो । आयोगले तत्काल निर्णय नगरेकाले परिणाम आइसकेपछि यसको टुंगो गर्ने जिम्मेवारी सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइपुगेको हो । त्यसैले आयोगले मंसिर १३ मा उजुरी आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै तामेलीमा राख्ने निर्णय गर्‍यो  । त्यसपछि मंसिर २८ मा अधिवक्ताहरू रविराज बसौला र युवराज पौडेल सर्वोच्च पुगेका हुन् ।

प्रकाशित : माघ १४, २०७९ ०७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×