सांसद थापाको प्रश्न- ‘साना किसानलाई दिन्छु भनेको क्षतिपूर्ति किन नदिएको ?’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद थापाको प्रश्न- ‘साना किसानलाई दिन्छु भनेको क्षतिपूर्ति किन नदिएको ?’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले साना किसानहरूलाई सरकारले दिने निर्णय गरेको क्षतिपूर्ति रकम यथाशीघ्र भुक्तानी गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै महामन्त्री थापाले सरकारले पहिल्यै निर्णय गरिसकेको ५८ करोड रुपैयाँ क्षतिपूर्ति रकम दिन ढिला सुस्ती भइरहेको प्रति प्रश्न गरे ।

‘अहिले सयौंको संख्यामा साना किसानहरू कृषि मन्त्रालय धाइरहेका छन् । सरकारले बर्ड फ्लुको संक्रमण फैलिन नदिन क्षतिपूर्ति दिने घोषणा गरेर किसानका फार्ममा हुर्किरहेका कुखुरा नष्ट गर्‍यो, सरकारले उनीहरूलाई क्षतिपूर्ति दिने भनेको छ, कृषि मन्त्रालयले निर्णय पनि गरिसकेको छ,’ थापाले भने, ‘तर मन्त्रालयले दिन चाहेको छैन, मन्त्रालय किसानलाई क्षतिपूर्ति दिँदैन, तर बैंकले किसानलाई उठिबास लगाइरहेका छन् । बैंकको ऋणले थिचिएका साना किसानहरुले क्षतिपूर्ति रकम लिन कहिलेसम्म कुर्न पर्ने हो ? कि किसानले अप्रिय निर्णय नगरेसम्म नदिने हो ?’

थापाले सरकारले किसानलाई ५८ करोड रुपैयाँ क्षतिपुर्ति दिने निर्णय गरेपनि अहिलेसम्म नदिएको भन्दै ध्यानाकर्षण गराए ।

प्रकाशित : माघ १८, २०७९ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्

सांसदको माग- ‘बाँदरको साम्राज्य बढ्दा मान्छेको उठीबास लाग्यो, क्षतिको अध्ययन होस् ’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले दोलखाका गाउँमा बाँदरले उठिबास लगाएको भन्दै क्षतिको अध्ययन गर्ने र राहतको व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद् रिजालले बाँदरको बढ्दा मान्छेको उठीबास लागेको बताए ।

‘दोलखामा बाँदरको प्रकोप बढेको छ । मान्छेहरूले कमाइ खेती छोडेका छन् । त्यहीकारण बसाइँसराइ बढिरहेको छ,’ उनले अघि भने, ‘बाँदरको साम्राज्य बढ्दा खेती कमाइ गरिखाने किसानको उठिबास लागेको छ । यसबारे सरकारले एउटा अध्ययन टोली बनाओस्, क्षतिको मूल्यांकन गरेर राहतको व्यवस्था गरोस् । संविधानले व्यवस्था गरेको खाद्य अधिकार र बाली बिमाको व्यवस्था गरियोस् ।’


प्रकाशित : माघ १८, २०७९ १३:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×