आत्मदाह गर्नुपर्ने अवस्थाको कारण खोज्न न्यायिक छानबिन समिति गठन गर्न माग- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आत्मदाह गर्नुपर्ने अवस्थाको कारण खोज्न न्यायिक छानबिन समिति गठन गर्न माग

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा सदस्यहरूले इलामका प्रेमप्रसाद आचार्यलगायत देशका विभिन्न ठाउँमा भइरहेका आत्मदाहका घटनाहरूको कारण खोजी गर्न न्यायिक छानबिन समिति बनाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद् अमरेशकुमार सिंहले देशका विभिन्न ठाउँमा भइरहेका आत्मदाहका घटनाहरूको कारण पत्ता लगाई त्यस्ता घटनाको निरुपणकालागि न्यायिक छानबिन समिति बनाउन माग गरेका हुन् ।

‘देशका विभिन्न ठाउँमा आत्मदाहका घटनाहरू भइरहेका छन् । के कारणले एउटा नागरिक आत्मदाहका लागि प्रेरित भइरहेको छ ? यसको छानबिन हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सरकारले एउटा न्यायिक छानबिन समिति गठन गरोस् र समितिमार्फत छानबिन होस् ताकि आउँदा दिनमा फेरि यस्ता घटनाहरू नहोऊन् ।’ उनले नागरिकको सामान्य जनजीवनसमेत चल्न नसक्ने अवस्था हुनु र त्यही कारण नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थिति हुनु लज्जास्पद हुने बताए ।

नेपाली कांग्रेसकी सांसद अम्बिका बस्नेतले आचार्यको जस्तो नियति कसैले पनि भोग्नु नपर्ने परिस्थिति बनाउन सरकारसँग माग गरिन् । ‘नयाँ सरकार बनेको छ, सरकारले नागरिकमा आशा जगाउने गरी काम गरोस्,’ उनले भनिन्, ‘ताकि अब प्रेमप्रसाद आचार्यले जस्तो नियति कसैले भोग्नु नपरोस् ।’

प्रकाशित : माघ १८, २०७९ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्

क्यानका कार्यवाहक सचिव मल्लद्वारा राजीनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले राजीनामा दिएका छन् ।

मल्ल नेपाल टी–२० लिगमा गभर्निङ काउन्सिल अध्यक्ष समेत रहेका थिए । मल्लको राजीनामा मंगलबार पोखरामा बसेको संघको बोर्ड बैठकले अनुमोदन गरेको हो । बोर्डको उक्त बैठकले कार्यसमिति सदस्यमा दुर्गाराज पाठकलाई कार्यबहाक सचिवको रुपमा जिम्मेवारी दिने निर्णय गरेको बुधबार पत्र सम्मेलनमार्फत जनाएको छ ।

संघका ७ जनाले तीन जना पदाधिकारीको राजीनामा माग गरेका थिए । उनीहरूले क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह, कार्यवाहक सचिव प्रशान्त मल्ललगायतको राजीनामा मागेका थिए । राजीनामा माग्नेमा बोर्ड सदस्यहरू ऋषिराम गौतमको नेतृत्वमा दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, छुम्बी लामा, धर्मराज गिरी, अमितवीर पाण्डे रहेका थिए ।

राजीनामा माग गर्दै अध्यक्ष चन्दलाई पत्र बुझाएपछि उनीहरूले मंगलबारको बोर्ड बैठक बहिष्कार गरेका थिए । पत्रमा क्यानका अध्यक्ष, सचिव र कोषाध्यक्षले पत्रकार सम्मेलनमा आफ्नो कमीकमजोरी र गल्ती स्वीकार गरिसकेको र अरू कामले क्रिकेट संघको बदनाम भई निलम्बनको खतरामा पुगिसकेको आरोप छ ।

प्रकाशित : माघ १८, २०७९ १३:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×