सन्दीपलाई थुनामै राख्न माग- समाचार - कान्तिपुर समाचार
महान्यायाधिवक्ता कार्यालय सर्वोच्चमा

सन्दीपलाई थुनामै राख्न माग

तुफान न्यौपाने

काठमाडौँ — नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत गएको छ । उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न गत पुस २८ मा गरेको आदेशलाई महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा चुनौती दिएको हो ।

लामिछानेमाथि गत भदौ ५ गते राति एक नाबालिगलाई काठमाडौंको तिलगंगास्थित होटलमा लगेर बलात्कार गरेको अभियोग छ । राष्ट्रिय क्रिकेट टिमको नेतृत्व गरेर ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलका लागि केन्या उड्नु अघिल्लो साँझ उनी क्लोज क्याम्पबाट निस्केर नाबालिग बलात्कारमा मुछिएका हुन् । केन्याका खेलहरू सकेर जमैकामा सीपीएल खेलिरहेका बखत लामिछानेविरुद्ध पीडित किशोरीले भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसपछि उनलाई सीपीएलले आफ्ना प्रतियोगिताबाट हटाएको थियो भने नेपाल क्रिकेट संघ (क्यान) ले पनि कप्तान र राष्ट्रिय खेलाडीबाट निलम्बन गरेको थियो ।

आफूमाथि आरोप लागेपछि लामिछानेले सामाजिक सञ्जालमा नेपाल फर्किएर अनुसन्धानलाई सघाउने उल्लेख गरेका थिए । तर उनी करिब एक महिनासम्म लुकेका थिए । नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले लामिछानेलाई फरार सूचीमा राख्दै ‘डिफ्युजन’ नोटिस जारी गरेपछि उनी असोज २० मा नेपाल फर्किएका थिए । उनलाई त्रिभुवन विमानस्थलबाटै प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।

जिल्ला अदालतले कात्तिक १८ मा तत्काल प्राप्त प्रमाणअनुसार लामिछाने दोषी देखिने भन्दै उनलाई थुनामा राखेर मुद्दाको बाँकी कारबाही अगाडि बढाउन आदेश दिएको थियो । त्यसपछि पुर्पक्षका लागि थुनामा रहेका लामिछाने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै पाटन उच्च अदालत पुगेका थिए । पाटनका न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले पुस २८ मा लामिछानेलाई धरौटी लिएर तारिखमा छाड्न आदेश दिएको थियो । भोलिपल्ट पुस २९ मा लामिछाने धरौटी बुझाएर छुटेका थिए ।

उच्च अदालतले आफ्नो आदेशमा लामिछाने तत्काल प्राप्त प्रमाणका आधारमा दोषी देखिन सक्ने अवस्था रहेको स्वीकार गरेको थियो, तर उनलाई थुनामै राख्नुपर्ने कारण नरहेको भन्दै धरौटीमा छाडेको थियो । तीन वर्षभन्दा बढी कैद हुन सक्ने मुद्दामा तत्काल प्राप्त प्रमाणका आधारमा दोषी देखिने अभियुक्तलाई थुनामा राखेर मुद्दाको कारबाही गर्नुपर्ने कानुनी व्यवस्थाविपरीत उच्च अदालतको आदेश आएको भन्दै त्यसलाई महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा चुनौती दिएको प्रवक्ता सञ्जीवराज रेग्मीले बताए । ‘तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा प्रमाणले दोषी देखिने अवस्थाका अभियुक्तलाई थुनामै राख्नुपर्ने कानुनको अनिवार्य व्यवस्था हो,’ प्रवक्ता रेग्मीले भने, ‘लामिछाने दोषी रहेको उच्च अदालतले पनि स्विकार्छ तर उनलाई धरौटीमा छाड्ने आदेश पनि गर्छ । कानुनअनुसार त्यस्तो आदेश मिलेको छैन । त्यसलाई बदर गरेर जिल्ला अदालतको आदेशअनुसार नै उनलाई थुनामा राख्नुपर्छ भन्ने हाम्रो मुख्य माग हो ।’

लामिछानेमाथि लागेको नाबालिग बलात्कारको अभियोग पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्छ । अर्थात् तत्काल प्राप्त प्रमाणका आधारमा दोषी देखिने अवस्था भए (जसलाई उच्च अदालतले त्यस्तो अवस्था छ भन्ने स्वीकार गरेको छ) लामिछानेलाई मुद्दाको अन्तिम फैसला नभएसम्म थुनामै राख्नुपर्ने (तीन वर्षभन्दा बढी सजाय हुने कसुर भएकाले) हो । उच्च अदालतले धरौटीमा छाड्ने आदेश गर्दा यस्तो कानुनी व्यवस्था उल्लंघन भएको महान्यायाधिवक्ता कार्यालयको निवेदनमा उल्लेख छ ।

उच्च अदालतको आदेश सर्वोच्च अदालतले विकास गरेका नजिरको समेत विपरीत रहेको महान्यायाधिवक्ता कार्यालयले दाबी गरेको छ । सर्वोच्च अदालतले २०६६ सालमा ‘थुनछेकलाई निषेध गर्ने हो भने कुनै पनि फौजदारी मुद्दाको अनुसन्धान प्रक्रिया नै सञ्चालन गर्न सकिँदैन भन्दै आरोपित व्यक्ति समाजमा खुल्ला रूपमा हिँड्न सक्ने र समाजले नै असुरक्षित महसुस गर्नॅपर्ने’ अवस्था रहने भन्दै गम्भीर अपराधको अभियोग लागेको व्यक्तिविरुद्ध प्रमाणले दोषी देखिने भए थुनामै राख्नुपर्ने नजिर विकास गरेको थियो । त्यही फैसलामा सर्वोच्चले ‘तत्काल प्राप्त प्रमाणबाट दोषी देखिने अभियुक्तलाई निर्दोषिताको अनुमानको आडमा छाड्दै जाने हो भने फौजदारी न्याय प्रशासनले काम गर्न सक्दैन’ भनेको थियो । महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालतको गत पुस २८ को आदेश उक्त नजिरविपरीत रहेको दाबी गरेको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिताले १० वर्षभन्दा बढी कैद सजाय हुन सक्ने अपराधलाई ‘जघन्य कसुर’ को सूचीमा राखेको छ । जघन्य प्रकृतिका कसुरमा तत्काल प्राप्त प्रमाणबाट अभियुक्तले कसुर गरेको देखिए थुनामा नै राख्नुपर्ने आधार बन्ने स्वयं उच्च अदालतको आदेशमा उल्लेख छ । अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आधारका रूपमा नेपालका अदालतहरूले अहिलेसम्म यसलाई स्वीकार गर्दै आएका छन् । तर, जघन्य कसुरको अभियोग लाग्दालाग्दै र दोषी हुन सक्ने प्रमाण रहेको अदालत स्वयंले स्वीकार गर्दागर्दै पनि लामिछानेलाई धरौटीमा छाडिएको छ । यस्तो आदेश नमिलेको महान्यायाधिवक्ता कार्यालयको दाबी छ । सर्वोच्चमा मंगलबार पेस गरिएको निवेदनमा ‘जघन्य कसुरमा अभियुक्तलाई धरौट वा जमानतमा छाड्नु विधायिकी मनसायको विपरीत हुन्छ’ उल्लेख छ ।

अभियुक्तलाई फूलमाला, पीडितलाई तिरस्कार

उच्च अदालतले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा छाड्ने भन्नेबारे नेपालको कानुनमा यथेष्ट व्यवस्था नरहेको भन्दै विदेशी मुलुकको कानुन र अदालतको फैसलालाई सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्दै लामिछानेलाई धरौटीमा छाडेको थियो । त्यसलाई महान्यायाधिवक्ताको कार्यालयले ‘अन्य मुलुकका थुनछेकसम्बन्धी कानुनी व्यवस्था तथा अन्तर्राष्ट्रिय दस्ताबेजहरू विधायिकाले कानुन निर्माण गर्ने क्रममा द्वितीय स्रोतका रूपमा मात्र लिन सक्ने’ भन्दै आदेशका क्रममा तिनलाई सन्दर्भ मानिएको प्रसंगलाई पनि सर्वोच्चमा चुनौती दिएको छ । ‘नेपाल कानुनमा रहेको थुनछेकसम्बन्धी व्यवस्था नै नेपालको सन्दर्भमा विधायिकी मनसाय हो,’ महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा दिएको निवेदनमा भनिएको छ, ‘कसुरको गाम्भीर्य मूल्यांकन गरी समाजमा आपराधिक क्रियाकलापमा कमी ल्याउन सहयोग गर्ने गरी आदेश गर्नॅपर्नेमा सोविपरीत भएको उच्च अदालत, पाटनको आदेश बदरभागी छ ।’

पीडित किशोरीले लामिछानेले प्रहरीमा दिएको जाहेरी र अदालतमा गरेको बकपत्रमा आफूमाथि भदौ ५ गते राति दुई पटक बलात्कार गरेको विवरण खुलाएकी छन् । उनी शारीरिक, मानसिक तथा सामाजिक प्रतिकूलतामा समेत न्यायका लागि प्रतिबद्ध भएर लागेकी छन् । अदालतमा बयान फेर्नका लागि दिइएका प्रलोभनका बाबजुद पीडित न्यायका लागि स्थिर भएर लागेको अवस्था र परिस्थितिलाई उच्च अदालतको आदेशले नजरअन्दाज गरेको महान्यायाधिवक्ताको कार्यालयले आफ्नो निवेदनमा लेखेको छ । लामिछानेले आफूलाई जबर्जस्ती करणी गरेको भनी किटानी रूपमा पीडितले गरेको कागज, उनले दिएको किटानी जाहेरी, प्रतिवादीको कसुरजन्य कार्यबाट सिर्जित पीडितको स्वास्थ्य जाँच प्रतिवेदन, होटलका कर्मचारीलगायतका बुझिएका मानिसले गरिदिएको कागज प्रमाण तत्काल प्राप्त प्रमाणका रूपमा रहेका र ती सबैले लामिछानेलाई दोषी देखाउन सक्ने महान्यायाधिवक्ता कार्यालयको दाबी छ । यसैबीच, मुद्दाको किनारा नलाग्दै नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । क्यानको पोखरामा बसेको बोर्ड बैठकले उनलाई राष्ट्रिय टोलीमा फर्किन बाटो खोल्ने उद्देश्य राखेर निलम्बन हटाएको हो । नाबालिगको किटानी जाहेरीपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेलगत्तै भदौ २३ मा क्यानले लामिछानेलाई कप्तानबाट हटाउनुका साथै टिमबाट निलम्बन गरेको थियो ।

प्रकाशित : माघ १८, २०७९ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्

अभियुक्तलाई फूलमाला, पीडितलाई तिरस्कार

‘तपाईंहरूका लागि ऊ अभियुक्त होला, मेरा लागि अपराधी हो । ऊ जेलबाट निस्कँदा टीका, फूलमाला र अबिर लगाइदिए, ताली बजाए तर जो पीडित हो, ऊ लुकेरै बस्नुपरेको छ ।’
तुफान न्यौपाने

काठमाडौँ — गौशाला–२६ कुनै ठेगाना होइन, एक किशोरीको नाम हो । यस्ती किशोरी जसले न्याय माग्दा सामाजिक तिरस्कार भोग्न बाध्य भएकी छन् । सन्तान हुर्काइरहेका बाबुआमा, आफ्ना दिदीबहिनीलाई औधी माया गर्ने दाजुभाइ तथा कथित भद्रभलादमीले उनको सातो लिन खोजिरहेका छन्– पुरुषसँग किन बाहिर गयौ ? होटलमा किन बस्यौ ? मानौं, कुनै पुरुषको मित्रवत् अनुरोधमा घुम्न निस्कनु वा होटलमा पुग्नु भनेको आफ्नो शरीरमाथि रजाइँ गर्न दिनु हो ।

क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत भएको भन्दै न्यायालयबाट निसाफ खोजिरहेकी किशोरीको गोपनीयता कायम राख्न प्रहरीले उनको नाम गौशाला २६ राखिदिएको छ । नागरिकताअनुसार उनी आजसम्म पनि नाबालिग हुन् । आमा र उनकी कानुन व्यवसायीको अनुमतिमा तथा दाइ नाता पर्ने दुई बयस्कको उपस्थितिमा गौशालाले कान्तिपुरलाई आफ्नो व्यथा सुनाएकी छन् ।

प्रहरी, अदालत, वकिल, मिडिया । यो सब झमेला आइलाग्दा भन्ने उनले सपना पनि सोचेकी थिइनन् । भदौ ५ मा त उनले कलेजका साथीहरूलाई खुसीसाथ सुनाएकी थिइन्, ‘म आज सन्दीप लामिछानेलाई भेट्न जाँदै छु नि ।’

त्यसो त उनीहरूबीच भदौ १ देखि स्न्यापच्याटमा कुराकानी हुन थालेको थियो । त्योबीचमा पनि भेट्ने प्रस्ताव अस्वीकार गरेकी उनले त्यो दिन पनि सुरुमा त आउन्न भनेकी थिइन् । तर, भदौ ५ को दिउँसो लामिछानेले अलि जोड नै दिएर भने, ‘म भोलि नै केन्या उड्दै छु । त्यसपछि सीपीएल खेल्न जमैका जान्छु । बीबीएलको अक्सन पनि यहीबीचमा हुँदै छ । छानिएँ भने बीबीएल पनि खेलेर फर्कंदा एक/दुई महिना बित्छ । आज नभेटे हामी भेट्नै पाउँदैनौं ।’

राष्ट्रिय टिमको त्यति ठूलो खेलाडीले यसरी बारम्बार भेट्न बोलाइरहेको छ, किन नजानु भन्नेमा पुगिन् गौशाला । त्यसपछि नै उनले साथीहरूलाई सुनाएकी थिइन् । साथीहरूले सन्दीपसँग एउटा फोटो मात्र खिच्न पाए पनि त्यो ठूलो अवसर हुने भनेर हौसाएका पनि थिए । सन्दीपलाई कतिपयले ‘एरोगेन्ट’ र ‘इगोइस्ट’ भनेको पनि उनले सुनेकी थिइन् । तर, उनै ‘स्टार’ लाई भेट्न र फोटो खिच्न पाउनु नै ठूलो उपलब्धि हुने साथीहरूको उक्साहट । द्विविधाबीच उनले सन्दीपलाई भेट्ने मन बनाइन् ।

दिउँसो साढे दुई बजेतिर नचिनेको नम्बरबाट फोन आयो । सन्दीपले ‘टिममेट’ को नम्बरबाट कल गरेका रहेछन् । उनले आफ्नै नम्बरमा फोन र मेसेज गरेको रुचाउँदैनथे । ‘सातदोबाटोमा मिटिङमा जाँदै छु, त्यसपछि भेटौं’ भनेर फोन राखे । त्यसपछि ‘स्न्यापच्याट’ मा कुराकानी जारी रह्यो ।

काठमाडौंको एक कलेजमा १२ कक्षा पढ्ने गौशाला होस्टेलमा बस्थिन् । होस्टेलमा ८ बजेपछि ढोका बन्द हुने कारणले उनले आफ्नी रुममेटलाई भनिन्, ‘सकेसम्म ८ बजेभित्रै आउँछु । ढिला भएछ भने ढोका खोल्दिनू ।’ होस्टेलमा बस्न थालेपछि उनी पहिलो पटक साँझमा निस्किँदै थिइन् ।

...

छोटो उमेरमै कठिन यात्रा पारेर गरेर मात्र गौशाला होस्टेलमा आएकी हुन् । परिवारको इच्छाविपरीत प्रेमबिहे गरेका उनका बाबुआमाले घर त्यागेका थिए । बिहान साँझ मिठो मसिनो खाएर जिन्दगी चलिराखेकै थियो । दाइ र गौशाला, दुई सन्तान जन्मिए । उनीहरू हुर्कने बेला भने बा–आमाको कुरा मिल्न छाड्यो । बाले अर्को बिहे गरे, बिहे दर्ता नगरेका कारण आमा कानुनी प्रक्रियामा जान सकिनन् ।

काठमाडौं बाहिर आमासँग बस्न थालिन् गौशाला, दाइ भने बासँग अर्को सहरमा । आमा छोरीलाई पढाउँदै गुजारा गर्न अर्काको घरमा काम गर्थिन् । तर, स्कुलमा जेहेन्दार गौशाला कक्षामा पहिलो–दोस्रो भइरहने, वक्तृत्वकलामा पुरस्कार जितिरहने । त्यसैले कापीकलम आफैं जुटाउन सक्थिन् ।

आमासँगै अर्काको घरको काम सघाउँदै एसएलसी सकेकी गौशाला काठमाडौं आएर पढ्ने विचार गरिन् । तर, आमाको आर्थिक क्षमता थिएन । सहयोग पाउने बाटा थिएनन् । काठमाडौंका नाम चलेका तीनवटा कलेजमा आवेदन दिएकी थिइन् । तीमध्येको एउटाले छात्रवृत्ति दिने भयो । विदेशमा रहेका एक जना भलादमीले मासिक ३ हजार रुपैयाँ ‘स्पोन्सर’ गरिदिने भए । त्यतिले पनि उनी काठमाडौंमा टिक्ने अवस्था थिएन । उनले इन्टरनेटमा खोजिन्, मासिक ८ हजार रुपैयाँ तिर्नेगरी सस्तो होस्टेल भेटियो । उनले स्पष्ट कुरा राखिन्, ‘मेरो अवस्था यस्तो छ, नियमित रूपमा मासिक ८ हजार तिर्न सक्ने अवस्था छैन । कहिलेकाहीं ढिलो भएछ भने पनि मलाई होस्टेलबाट ननिकाल्नुहोला ।’

होस्टेल सञ्चालक महिलाले ‘हाम्रो काम सघाउँदै बस न त नानी, तिमीलाई छोरीजस्तै गरी राखौंला’ भनिछन् । मासिक शुल्कको सट्टा खाना पकाउन, भाँडा माझ्न र सरसफाइ गर्न सघाउने सर्तमा उनी होस्टेलमा बस्न पाउने भइन् । केही समय त्यसरी पढेकी उनलाई होस्टल सञ्चालकले एक इन्स्टिच्युटमा काम खोजिदिए । बिहानको सुरुको क्लासमा आफूले सिक्ने त्यसपछि अकाउन्टसँग सम्बन्धित ‘प्रोग्राम’ अरूलाई सिकाउने काम मिल्यो– मासिक ८ हजार रुपैयाँ तलब पाउने गरी । उनले होस्टेलमा सहयोगीभन्दा अफिसकै काम गर्नु उचित ठानिन् र त्यो तलबबाट होस्टेल खर्च धान्ने हिसाब निकालिन् ।

इन्स्टिच्युटमा पार्ट टाइम काम पाएपछि उनले नियमित तलब पाउने भइन्, तलब बुझ्न बैंक खाता चाहिने भयो । उनी बा भएको ठाउँमा गएर नागरिकता बनाइन् । २०७९ को असार १५ मा उनको नाममा नागरिकता जारी भयो । नागरिकतामा जन्ममिति स्पष्ट छ– २०६२ जेठ १८ । यो हिसाबले घटना हुँदा उनी १७ वर्षकी मात्र थिइन् । सन्दीपसँग कुराकानी भदौमा मात्र सुरु भएको हो । जबकि उनको नागरिकता असार १५ मा बनेको हो । तर, पनि बजारमा हल्ला छ– सन्दीपलाई फसाउन नयाँ नागरिकता बनाइएको हो ।

...

सुरुमा, नेपाली क्रिकेट टिमका देव खनालले बेडमा बसेर गितार बजाउँदै गरेका सन्दीपको तस्बिर स्न्यापच्याटमा पठाएका थिए । देवले सन्दीपलाई आफ्नो रुममेटको रूपमा चिनाउँदै त्यसअघि पनि सन्दीपको ‘स्न्यापच्याट’ आईडी देखिने गरी तस्बिरहरू पठाएका थिए । गौशालाले पहिले वास्ता गरेकी थिइनन् । यस पटक भने उनले आफैं ‘रिक्वेस्ट’ पठाइन् । सन्दीपले तुरुन्तै ‘एसेप्ट’ गरे । ‘अदालतमा बकपत्रको क्रममा सन्दीपले देवको साथी भनेर आफूले मेरो रिक्वेस्ट एसेप्ट गरेको बताएको छ तर, स्नापच्याटमा म्युचुअल फ्रेन्ड्स नै देखिँदैन,’ गौशाला भन्छिन् ।

भदौ १ मा स्न्यापच्याटमा साथी बनेपछि सुरु भएको कुराकानीले उनीलाई भदौ ५ को भेटसम्म पुर्‍याएको थियो । त्यसअघि गौशालाको जीवनमा अभाव र संघर्ष त जरुर थियो, तर अहिलेजस्तो पीडा र उल्टै लाञ्छना थिएनन् । समाजसँग डराएर हिँड्नुपरेको थिएन । ‘घर छाड्नेबेला आमाले किड्नी बेचेर भए पनि पढाउँछु भन्नुभएको थियो । त्यही सम्झेर रातदिन मिहिनेत गरेकी थिएँ,’ कान्तिपुरसँको कुराकानीमा आमाको दुःख र प्रतिबद्धता सम्झेर उनी बारम्बार भक्कानिन् ।

संघर्ष गरेर पढ्दा उनलाई कलेजले पनि सकेजतिको सहयोग गरेको रहेछ । ‘मैले प्राय किताब किन्नु परेन, प्रकाशकले स्कुललाई पठाइदिएका किताब नै सरहरूले मलाई दिनुहुन्थ्यो । कलेजको ड्रेस एक जना सरले र जुत्ता अर्को सरले ‘स्पोन्सर’ गरिदिनुभएको थियो,’ भन्छिन्, ‘कलेजमा काठमाडौंका सम्पन्न परिवारका व्यक्तिहरूसमेत पढ्थे । उनीहरूले छाडेर गएका सामान केही दिनसम्म ‘लस्ट एन्ड फाउन्ड’ मा रहन्थे । मैले सरहरूलाई मेरो क्याल्कुलेटर भएन भन्ने गुनासो गरेपछि उहाँले ‘लस्ट एन्ड फाउन्ड’ मा भएकोमध्येबाट प्रयोग गर्न मिल्ने रोजेर लग भन्नुहुन्थ्यो । मेरो कलेज जीवन यसरी चलेको थियो ।’ गौशालाका अनुसार यी सबै संघर्षका कथा उनले सन्दीपलाई बताएकी थिइन् । स्न्याप च्याटमा पनि र भेटमा पनि ।

घटनाको दिन सन्दीप सेतो रङको कार लिएर भेट्न आए । भेट्दाको अनुभूति गौशाला भन्छिन्, ‘मलाई त केबल वाउ भन्ने मात्र भयो ।’

सन्दीपले बस्न अनुरोध गरे । कहाँ जाने भन्ने कुरै हुन पाएको थिएन, गाडी स्टार्ट गरे । भोलि (भदौ ६) देखि सन्दीप खेल्न जान लागेको प्रतियोगिताको कुरा भयो । ‘कोटेश्वर पुगेर मैले फेरि सोधें– कहाँ जाने हो ? उसले ‘लेट्स सी’ भन्यो,’ गौशाला भन्छिन्, ‘म होस्टेल बस्न थालेपछि साँझमा होस्टेल छाडेर हिँडेको त्यो नै पहिलो र अन्तिम दिन हो ।’

गौशालाले कहाँ जाने हो भन्ने थाहा नपाउँदै गाडी अगाडि बढ्यो । लोकन्थलीबाट भित्री बाटोतिर मोडियो । ‘त्यहाँ पुगेपछि नगरकोट जाने भन्ने भयो । म पहिले गएकी थिइनँ । हामीले मूलसडक छाडिसकेका थियौं । भित्रीबाटो धेरै नै साँघुरो थियो, अर्कोतिरबाट आएको गाडीलाई साइड दिन ब्याक गर्नुपर्थ्यो,’ सम्झिन्छिन्, ‘किन त्यस्तो बाटो गएको होला भनेर अहिले सम्झँदा ढिला गर्ने उद्देश्यले लिएर गएको हो रहेछ जस्तो लाग्छ ।’

उनीहरू नगरकोट पुगे । सन्दीपले गौशालालाई ड्रिङ्सका लागि कर गरे । उनले मानिनन् । आफ्ना लागि मगाएको हुक्का खान भने, त्यो पनि मानिनन् । तर, पनि कुराकानी सौहार्दपूर्ण नै थियो । ‘त्यो बेलासम्म राम्रै कुरा गरेको थियो । मैले पनि आफ्नो कथा भनेकाले उसले मलाई मोटिभेट हुने नै कुरा गरिराखेको थियो,’ उदाहरण दिँदै भनिन्, ‘मैले तिम्रो आँखा कति राम्रो छ भनें भने तिमीले आहा भन्छौं । तर, मैले तिम्रो कपाल किन यस्तो लथालिंग छ भनें भने तिमीले विभिन्न बहाना खोज्न थाल्छौ । सेरम लगाउन बिर्सिएँ, वा कोर्न बिर्सिएँ वा हतार भयो भन्छौं । हामीले सकारात्मक कुरालाई जीवनमा सजिलै स्वीकार गरिरहेका हुन्छौं, तर नकारात्मकलाई भने विभिन्न बहाना बनाउँछौं ।’

गौशालालाई अहिले आएर लागेको छ, सन्दीपले ती सबै कुरा उनलाई प्रभावित पार्ने उद्देश्यले गरेका रहेछन् । भन्छिन्, ‘मेरो पारिवारिक पृष्ठभूमि थाहा पायो । आर्थिक अभावमा संघर्ष गर्नुपरेको पनि थाहा पायो । उसले आफ्नो उदाहरण दिँदै भन्थ्यो– म कस्तो अवस्थाबाट आएर आज कहाँ छु, तिमी पनि भोलि यहाँ हुन सक्छौ ।’

ठीक यही बेला उनलाई लाग्यो, बाहिरबाट हेर्ने मानिसहरूले कुरै नबुझी सन्दीपलाई ‘एरोगेन्ट’ भन्दा रहेछन् । ‘त्यत्रो ठूलो प्रोफाइल भएको मानिस मसँग यस्ता राम्रा कुरा गरिराखेको छ । मैले मेरा साथीहरूलाई तिमीहरू गलत छौ भनेर सावित गर्नेछु भन्ने सोच्दै थिएँ,’ उनले भनिन् ।

उनीहरू बसिराखेको स्थानमा होटल स्टाफ आएर बारम्बार सन्दीपलाई ‘सर, भीआईपी रुम बुक गरिदिऊँ’ भन्दै सोध्थे । गौशालाले बारम्बार फर्कनु छ भनिराखेकी थिइन् । तर, सन्दीपले रुम चाँहिदैन भनेनन् । उनले कहिले ५ मिनेटपछि आऊ कहिले १० मिनेटपछि आऊ भन्दै पठाए । ‘नगरकोट पुग्ने योजना नै थिएन । भोलिपल्ट क्रिकेट खेल्न विदेश जाने खेलाडीलाई अघिल्लो साँझ त्यत्रो समय हुन्छ भन्ने पनि मलाई थाहा थिएन । भेटेर एकछिन कुरा गर्ने, केही फोटो खिचेर फर्कने योजनाले मात्र म आएकी थिएँ, तर ११ बज्न थालेपछि धेरै ढिला भइसक्यो भनेर मैले अब त नफर्की हुन्न भनेर ढिपी गरें,’ भनिन्, ‘उसले त्यसपछि रिसाउँदै ‘कहाँ पच्थ्यो त’ भन्यो । त्यो मैले अझै पनि बिर्सन सकेकी छैन । यत्रो होटलमा लिएर आएको छु, तँ जस्तो मानिस (अफोर्ड गर्न नसक्ने) लाई कहाँ यस्तो कुरा कहाँ पच्थ्यो त भनेर मलाई ह्युमिलिएट गर्‍यो ।’

फर्कँदा लोकन्थली पुगेपछि गौशालाले रुममेटलाई मेसेज पठाइन् । सुरुसुरुमा होस्टेल सञ्चालककै परिवारको सदस्यको रूपमा बसेकाले ‘राति कहाँ, कोसँग गएको’ भनेर आउनसक्ने सम्भावित प्रश्नबाट उनी डराइन् । ‘यो कुरा मैले सन्दीपलाई भनें । उसले मलाई एउटा होटलमा छाडिदिएर आफू सबै खेलाडी भएको होटलमा फर्कने उपाय सुझायो । मलाई पनि होस्टेलमा विभिन्न प्रश्नको जवाफ दिनुभन्दा भोलि बिहानै जान पाइने भए ठिकै छ नि भन्ने लाग्यो,’ उनी भन्छिन्, ‘यति कुरा हुँदा मैले एउटा फोटो खिच्न खोजें । उसलाई भेट्नुको सबैभन्दा ठूलो उद्देश्य त्यही थियो । तर, उसले मोबाइल खोसेर फोटो खिच्न दिएन । क्याम्पबाहिर आएको बेलामा फोटो खिच्दा केही समस्या पर्ने भएर नमानेको होला भन्ने लाग्यो र अन्यथा केही सोचिनँ ।’

त्यसपछि सन्दीपले तिलगंगास्थित काठमाडौं इन होटलका अनिश श्रेष्ठलाई फोन गरेर ‘त्यही रुम गरिदिनू’ भने । गौशालाले पनि बस्ने भए दुइटा कोठा भन्नु भनेर अनुरोध गरिन् । उनका अनुसार फोन राखेपछि सन्दीपले भने, ‘होटलमा दुइटा रुम नै छैन रे ।’

‘त्यसो भए हुन्न’ गौशालाले भनिन् ।

‘म तिमीलाई होटलमा छाडेर आफ्नो टिम बसेको होटलमै फर्कन्छु’ सन्दीपले जवाफ फर्काए ।

होटलको गेटमा पुगेपछि गाडीबाट ओराल्नुअघि सन्दीपले सोधे, ‘मास्क छ ?’ गौशाला भन्छिन्, ‘मैले आफूसँग नभएको बताएपछि उसले पहिले आफूले प्रयोग गरिसकेको मास्क दिएर लगाउनैपर्छ भनेर दबाब दियो ।’ गौशालालाई रिसेप्सनतिर पठाएर सन्दीप गाडी पार्क गर्न गए । गाडीबाटै सन्दीपले फोन गरेकाले अनिश चाबी लिएर कुरिबसेका थिए । उनी रुममा पुगिन् । एउटा मात्र बेड थियो । ‘एकैछिनमा सन्दीप आयो, रुमको एसी चलेको थिएन । त्यसो भएपछि उनीहरूले अर्को रुममा सर्ने कुरा गरे । अघिसम्म एउटा मात्र छ भनेकोमा उक्त होटलमा अब रुम दुइटा निस्किए,’ उनले भनिन्, ‘त्यतिबेला पनि मैले फेरि भनें, एसी बिग्रेको भए पनि म यसैमा बस्छु । तपाईं एसी चल्ने रुममा जानू । उसले एकछिन कुरा गरेर आफ्नो होटल फर्कने बतायो ।’

बिहानै अफिस, त्यसपछि होस्टेल, त्यहाँबाट कलेज, फेरि होस्टेल अनि चिताउँदै नचिताएको नगरकोट यात्रा र राति अबेर काठमाडौं फिर्ती । साँझको खानासमेत नखाएकी गौशाला थाकेर लखतरान थिइन् । ‘ऊ एकछिन गफ गरेर फर्कनेवाला थियो । म कुर्सीमा बसिराखेको थिएँ । उसले बेडमा बस्दा हुन्छ नि भन्यो । त्यसपछि म बेडमा गएँ,’ उनले भनिन्, ‘उसले अघि मैले फोटो खिच्न लाग्दा खोसेकाले मसँग मेरो फोन थिएन । माग्दा उसले नाटक गरेर गाडीमै छुटेछ भन्यो । मैले लिन जाऊ कि जाऊ भन्न सकिनँ । कुरा गर्दागर्दै म बेडमै निदाएछु ।’

‘उसको शरीरले मलाई डोमिनेट गरेको थाहा पाएर हठात् झस्किएँ । हात हटाउन खोजें, सकिनँ । मैले नमान्दा नमान्दै उसले मलाई रेप गर्‍यो । उसको सिमेन (वीर्य) मेरो शरीरमा परेको थियो । बाथरुम गयो । टिस्यु लिएर आएर मेरो अनुहारमा फालिदियो,’ आफूमाथि त्यो रात भएको अत्याचार सम्झिएर बारम्बार भक्कानिइन् ।

गौशालाका अनुसार उनलाई पहिले भेट्नुअघि नै आफूहरूबीच भेट हुँदै छ भनेर कसैलाई पनि नभन्न भनिएको थियो । ‘त्यो घटनापछि पनि मलाई यो घटना कसैलाई नभन्नू भनेर त्यस्तै गरी थर्कायो,’ उनी भन्छिन् । तत्काल त्यहाँबाट निस्कन सम्भव थिएन । उनले चिनिराखेको ठाउँ पनि थिएन । आफू कहाँ छु भन्ने पनि थाहा थिएन ।

यो घटनालाई उनले भदौ २१ मा प्रहरीसमक्ष र त्यसपछि अदालत पुर्‍याइन्, अहिले थुप्रैले तुरुन्तै किन उजुरी नगरेको भनेर उल्टै प्रश्न सोधिरहेका छन् । मान्छेहरूको यो प्रतिक्रिया देख्दा उनी फिल्मका कथा सम्झिन्छिन् । ‘फिल्ममा बलात्कार हुँदा महिलाको घाँटी न्याकेको, शरीर रगताम्मे भएको, लुगा च्यातिएको वा महिलाहरू मारिएको देखाइएको हुन्छ । बारम्बार ती दृश्य देख्दा हामीलाई पनि त्यस्तो नभएसम्म बलात्कार नै हुन्न भन्ने लागिसकेको हुनेरहेछ,’ उनी भन्छिन्, ‘त्यसैले त अहिले मानिसहरूले उल्टै मलाई प्रश्न गरिराखेका छन् । म उनीहरूलाई सोध्न चाहन्छु– के बलात्कृत भएको प्रमाणित हुन म मारिनुपर्थ्यो ?’

उनी दोहोर्‍याएर भन्छिन्, ‘घटना मेरो सहमतिमा भएको थिएन । मौखिक रूपमा पनि थिएन । व्यवहारबाट पनि सहमति थिएन । नगरकोट जाने योजना थिएन । फर्केर होटल जाने पनि योजना होइन । झुक्याएर र बाध्यतामा पारेर मलाई त्यहाँ पुर्‍याइएको थियो ।’

नेपालमा हरेक दिन सात जनाको अनुपातमा महिला तथा बालिका बलात्कारको सिकार भइरहेका छन् । नेपाल प्रहरीको आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार एक वर्षमा जबर्जस्ती करणी, अपहरण तथा जबर्जस्ती करणी र जबर्जस्ती करणी गरी ज्यान मारेको घटना २ हजार ४ सय ६१ वटा भए । बलात्कारका घटना हतपत सार्वजनिक नै नहुने तर अपहरणपछि बलात्कार वा बलात्कारपछि हत्याजस्ता घटना मात्र सार्वजनिक हुने कारणले पनि समाजका धेरै मानिसले तिनै अवस्था भएमा मात्रै बलात्कार भएको ठान्छन् ।

अरू त अरू कैयौं अवस्थामा सर्वोच्च अदालतले समेत बलात्कारलाई महिलाको व्यक्तिगत स्वतन्त्रता, मानवअधिकार र आत्मनिर्णयको अधिकारविरुद्धको अपराधका रूपमा नस्वीकारेर उनको इज्जत र प्रतिष्ठामा लाग्ने दागका रूपमा चित्रण गरिरहेको पाइन्छ । सर्वोच्च अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेका फैसलामा समेत बलात्कारको परिणाममा ‘...महिलालाई सामाजिक रूपमा लाञ्छना लाग्ने, उनको चरित्रमा दाग लाग्ने, मान–प्रतिष्ठामा आँच आउने, अस्मितामा प्रश्न उठ्ने, सतित्व नाश हुने...’ जस्ता मान्यता उल्लेख गरेको पाइन्छ । अर्थात् यी कारणहरूले मात्रै बलात्कार अपराध भएको हो भन्ने सुसुप्त दृष्टिकोण ती फैसलामा पाइन्छ ।

यस्तो दृष्टिकोणले अहिले गौशालामाथि पनि विभिन्न प्रश्नहरू उठाइएको छ । ‘म यस्तो अवस्थामा थिएँ कि अहिले त्यो कोठाको रङ कस्तो थियो भनेर तपाईंले सोध्नुभयो भने मैले सायद सम्झन सक्दिनँ । मलाई त्यो ज्यादती कसरी सुरु भयो र कसरी अन्त्य भयो भन्ने पनि सम्झना छैन,’ उनी भन्छिन्, ‘एकछिन गफ गरेर आफ्नो होटल जान्छु भनेको थियो । तर, उसको मनमा सुरुदेखि नै त्यो अपराधले ठाउँ लिएको रहेछ । म मानसिक रूपमा पूरै विचलित भएकी थिएँ ।’

गौशालाले त्यो राति आफूमाथि दुई पटक बलात्कार भएको बताइन् । ‘मेरो कपाल यति लामो (आफ्नो कम्मरसम्म हातले देखाउँदै) थियो । उसले त्यो दिन मेरो कपाल तानेर ती सबै कुरा गरायो, जुन म कहिल्यै चाहँदैनथें,’ उनले भनिन्, ‘त्यो बेला म केही उपाय नलागेपछि रुन थालें । त्यसपछि उसले भनेअनुसार नगरेको भनेर नराम्रोसँग पिट्यो । केही दिनपछि जब म सम्हालिएँ । सबैभन्दा पहिले यो कपाल काटिदिएँ । उसले तानेको कपाल सम्झेर पनि मलाई एलर्जी हुन्छ ।’

धेरै मानिसले अहिले सामाजिक सञ्जालहरूमा त्यही दिन किन प्रहरीकोमा नगएको ? किन नचिच्याएको ? भन्ने जस्ता प्रश्न गरेर उल्टो लाञ्छित गरिरहेका छन् । ‘म कहाँ थिएँ भन्ने पनि थाहा थिएन । त्यति शक्तिशाली मानिस, उसैले बुक गरेको होटल, उसैले चिनेका मानिसहरू । मलाई मारेर फालिदिन्छन् कि भन्ने पनि डर लाग्यो,’ उनी भन्छिन्, ‘तर त्यो परिबन्दमा नभएका मान्छेहरू सुविधापूर्वक यसो गरेको भए हुन्थ्यो, उसो गरेको भए हुन्थ्यो भनेर सजिलै भनिरहेका छन् ।’

बिहान उनले सन्दीपको गाडीको नम्बर प्लेटको फोटो खिचेर देव खनाललाई पठाइन् । ‘त्यसपछि सन्दीपले फोन गरेर गाली गर्दै तैंले त्यो फोटो किन पठाएको भन्दै थर्कायो,’ उनले भनिन् । गौशालाका अनुसार सन्दीपले तँ भनेरै गाली गरेका थिए । त्यही दिन केही समयपछि सन्दीपले स्न्याप च्याटमा साथीको सूचीबाट गौशालालाई हटाए ।

केही दिन अफिस र कलेज छुट्यो । साहस जुटाएर उनले आफूमाथि भएको अपराधबारे मिल्ने साथीलाई सुनाइन् । ‘उसले विश्वास नै गरेन । तेरो नै गल्ती होला भन्यो । सन्दीप लामिछाने व्यक्तिको गल्ती हुन सक्छ होला तर नेपालको राष्ट्रिय टिमको कप्तानले उसको जिम्मेवारीले पनि त्यसो गर्न दिन्न भन्दै मलाई नै अविश्वास गर्‍यो,’ गौशाला भन्छिन् ।

केही दिनपछि उनी आमालाई भेट्न गइन् । दुई दिन घर बसेपछि फर्कनु अघिल्लो दिन कुराकानीको सुरुआत गर्दै उनले सोधिन्, ‘ममी, मलाई किन घर आएकी छोरी भनेर सोध्नुहुन्न ?’ आमाले भनिन्, ‘छोरी घर आउँदा पनि किन सोध्नू ? मलाई त न्यास्रो नै मेटिएको छ ।’

तर, जब गौशालाले आमालाई आफूमाथि भएको ज्यादती सुनाइन्, आमाले गालामा झापड हानिन् । ‘ममीले आफूले कति धेरै हिंसा सहनुभएको थियो । आफूलाई मन परेको केटासँग बिहे गर्दा माइती त्याग्नुपर्‍यो । त्यसपछि जो मान्छेलाई मन पराएर बिहे गरेको, उसैले छाडिदियो । अर्काको घरमा काम गर्दा कुन नजरले मानिसले हेर्छन् त्यो ममीले भोग्नुभएको थियो । उहाँको चिन्ता अब तँलाई कसैले पनि बिहे गर्दैन भन्ने थियो,’ गौशाला भन्छिन् ।

सुरुमा त उनकी आमाले ‘त्यति धेरै शक्तिशाली मानिससँग हामी लड्न सक्दैनौं, यो घटना बिर्सनू’ भनेकी थिइन् । ‘तर, म जत्तिको पढेलेखेको मानिस पनि चुप लागें भने कसले बोल्छ त भनेर आमालाई सम्झाएँ,’ त्यसपछि दाइसँग पनि कुरा भयो र काठमाडौं आएर भदौ २१ मा उजुरी दियौं ।’

तर, पाँच महिना गौशाला लुकेर बस्नुपर्‍यो । ‘अहिले पनि म लुकीलुकी हिँड्नुपरेको छ । घाम देख्दा पनि तर्सने गरी बस्नुपरेको छ । मानिसले जो पीडक हो, उसैप्रति सहानुभूति राखेका छन्, उसैलाई पीडितका रूपमा उभ्याएका छन्,’ उनी भन्छिन्, ‘तपाईंहरूका लागि ऊ अभियुक्त होला, मेरा लागि अपराधी हो । ऊ जेलबाट निस्कँदा टीका, फूलमाला र अबिर लगाइदिए, ताली बजाए तर जो पीडित हो, ऊ लुकेरै बस्नुपरेको छ । यो कस्तो समाज हो भनेर कसै न कसैले प्रश्न गर्छ नि ।’

उजुरी पर्दा सन्दीप जमैकामा सीपीएल खेल्दै थिए । टिमले हटायो । क्यानले राष्ट्रिय टिमको कप्तान र खेलाडीबाट निलम्बन गर्‍यो । नेपाल आउँछु भनेर सामाजिक सञ्जालमा लेखेर करिब १ महिना लुके । असोज २० मा फर्केका उनलाई काठमाडौं विमानस्थलबाट पक्राउ गरी मुद्दा दर्ता गरियो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालतले पुस २८ गते २० लाख धरौटीमा छाड्यो । त्यसविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने निर्णय गरेको छ ।

तर, यहीबीच बयान बदल्न लगाउने प्रयास पनि भएको उनको भनाइ छ । ‘सन्दीपको दाइ मेरो वकिल बनेर मेरी आमालाई भेट्न गएर यो मुद्दा तिमीहरूले जित्न सक्दैनौं, पैसा लिएर मिल्नू भनेछ । मलाई सिंगापुर, अस्ट्रेलिया वा अमेरिका जहाँ जाने हो, त्यहीं सेटल गरिदिन्छौं, ५ लाख डलर दिन्छौं भन्न आए । मैले मानिनँ’ किन भन्ने प्रतिप्रश्न गर्दै उनी भन्छिन्, ‘हिजो पल शाहको केसमा किशोरीलाई फकाएर, फुलाएर बयान बदल्न लगाए । पीडितको आवाजलाई कमजोर बनाए । मैले अहिले बयान बदलें भने भोलि अत्याचारमा पर्ने कसैले पनि बोल्न सक्ने छैनन् । बोलेपछि दुनियाँले पत्याउने छैन । भोलि कुनै दिदीबहिनीले अत्याचार सहेर बस्न नपरोस् भनेर पनि म डटिरहन्छु ।’

प्रकाशित : माघ १६, २०७९ ०९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×