खेलबाड ट्राफिकसँग कि जीवनसँग ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेलबाड ट्राफिकसँग कि जीवनसँग ?

सडक दुर्घटनाकोजो खिमबाट बच्न बनाइएका हुन् ट्राफिक नियम । तर अधिकांश दुर्घटना ट्राफिक नियम उल्लंघनकै कारण भएका छन् । किनकि, अधिकांश सवारी चालकले ट्राफिक प्रहरीको आँखा छल्न खोज्छन् तर दुर्घटना छल्न सक्दैनन् ।
लिला श्रेष्ठ

काठमाडौँ — भक्तपुरको नयाँ थिमिस्थित शंखधरचोकमा ट्राफिक बत्ती नियमित चल्छ । तर, सडक प्रयोगकर्ताले ट्राफिक प्रहरीको आँखा छलेर रातो बत्ती बलिरहेको समयमा नै लेन क्रस गर्नु सामान्य जस्तै देखिन्छ ।

शंखधरचोकमा रातो बत्ती बलिरहँदा प्रायः दुईपाङ्ग्रे सवारी चालकले ट्राफिक प्रहरीको आँखा छल्दै बालकुमारीतर्फ मोडिएको जस्तो गरेर मुख्य सडकतिरै हानिने गर्छन् । ‘हरियो वा पहेँलो बत्ती बल्दाको कुरा भएन, रातो बत्ती बल्दासमेत ट्राफिक प्रहरी सडकमा उभिएको छ भने मात्र सवारी साधन रोकिन्छ, नत्र नियम मिचेरै सवारी हाँक्छन्,’ शंखधरचोकमा खटिएकी एक ट्राफिक प्रहरीले भनिन्, ‘सकेसम्म ट्राफिक नियम पालना गर्नै नपरे हुन्थ्यो भन्ने मानसिकता हावी छ । जाने बुझेकै युवाहरू नै ट्राफिक नियम उल्लंघन गर्छन् ।’ सडकमा ट्राफिक प्रहरी उभिएको देख्यो भने पालना गर्ने, नत्र लेनको उल्लंघन गर्ने संस्कारकै रूपमा वृद्धि भएको उनी बताउँछिन् । कतिपय युवा जिकज्याक गरी सवारी हाँक्ने, ओभरटेक गर्ने, सडकमा आफू र आफ्ना सवारीप्रति केन्द्रित गर्न खोज्ने प्रवृत्ति बढेको उनको भनाइ छ ।

राजधानीको मुख्य सडकमै ट्राफिक नियम उल्लंघन हुनुमा सवारी चालक अनुमतिपत्र वितरण प्रणाली नै कमजोर भएको जानकारहरू बताउँछन् । ‘विशेषगरी नेपालमा गतिलो ड्राइभिङ स्कुल छैन, सवारी चालक अनुमतिपत्र वितरण गर्दा नै सवारीसाधन कसरी चलाउने भन्ने सिकाइ पूर्णरूपमा हुनु आवश्यक हुन्छ,’ काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाहपथका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले भने, ‘तर, हाम्रो मुलुकमा के–के पढ्ने, कति घण्टा पढ्ने भन्ने स्पष्ट नियम पनि छैन । जसरी हुन्छ सवारी चालक अनुमतिपत्र उत्तीर्ण भए पुग्छ । सैद्धान्तिक तथा व्यावहारिक पाटो कमजोर छ ।’ सहरमा खोलिएका ‘ड्राइभिङ स्कुल’ को अवस्था, मापदण्ड र सिकाइको विषयमा अनुगमन हुनुपर्ने उनी बताउँछन् ।

सडक सुरक्षा, दुर्घटनाबाट बच्ने उपाय, सवारी साधनबारे पनि विस्तृत अध्ययन हुनुपर्ने यातायात विज्ञ बताउँछन् । ‘विकसित देशहरूमा लाइसेन्स परीक्षा लिँदा ‘रोड टेस्ट’ को व्यवस्था हुन्छ । कुनै पनि सवारीसाधन सडकमा चलाउन लगाएर सफल भएपछि मात्र लाइसेन्स दिलाइन्छ,’ सहरी यातायात विज्ञ आशिष गजुलेलले भने, ‘विद्यालय/अस्पताल क्षेत्रमा चलाउँदा कति गतिमा चलाउने, जेब्रा क्रसिङमा के गर्ने भन्ने ज्ञान हुनुपर्छ । यहाँ त जेब्रा क्रसिङको समेत ख्याल गरिन्न ।’ सडक दुर्घटनाको जोखिमबाट बच्न बनाइएको नियम नै ट्राफिक नियम हो । तर, अधिकांश सडक दुर्घटनाको कारक ट्राफिक नियम उल्लंघन नै भएको ट्राफिक प्रहरीको विश्लेषण छ । ‘सवारीसाधन चलाउँदा वा हिँड्दा नै किन नहोस्, धेरै सडक प्रयोगकर्ताले जानी/नजानी ट्राफिक नियम उल्लंघन गरिरहेका हुन्छन् । चालकले तीव्र गतिमा सवारी हाँक्ने, संकेत नमान्ने, जथाभावी गाडी रोक्ने, सवारीको क्षमताभन्दा बढी यात्रु बोक्नेजस्ता कार्य गर्छन्,’ एसएसपी भट्टले भने, ‘शिक्षित मानिसले नै बढी नियम उल्लंघन गरेको पाइएको छ । ट्राफिक नियम पालना नगर्नु आफ्नै लागि खतरा हो ।’ सडकमा राखिएका मार्किङ (ट्राफिक चिह्न) को सही पालना गर्ने, सडक लेनको पालना गर्ने, तोकिएको निश्चित गतिमा सवारी हाँक्ने, व्यस्त सडकमा गति सीमित गर्ने, जथाभावी हर्नको प्रयोग नगर्नु सभ्य नागरिकको परिचय भएको समेत उनी बताउँछन् । तर, पैदलयात्रुलाई पहिलो प्राथमिकता दिने, दुईपाङ्ग्रे सवारी चलाउँदा हेल्मेट वा फित्ताको प्रयोग नगर्ने युवापंक्ति लामो छ । पढेलेखेका, नियम कानुन जानेबुझेकै युवापंक्तिले नै नियम उल्लंघन गर्ने घटना बढ्दो रहेको र ट्राफिक प्रहरीको कारबाही प्रक्रिया भोग्ने गरेको एसएसपी भट्टको भनाइ छ ।

युवाहरूलाई डर नहुने, साथी–साथीमा पनि नियम मिच्दा मलाई कसैले पनि केही गर्दैन भन्ने मनस्थिति हावी भएकै कारण ट्राफिक नियम उल्लंघनका घटना बढेको यातायात विज्ञ गजुरेलको भनाइ छ । ‘युवाहरूको सान देखाउने ठाउँ नै सडक भएको छ, मोटरसाइकल यत्ता घुमाउँछन्, उत्ता घुमाउँछन्, ब्याक गरेर जाममा पनि हुइँक्याउँछन्,’ उनले भने, ‘दुर्घटनाहरू पनि त्यत्तिकै मात्रामा भएका छन्, मान्छे मरेका छन् तर पनि चिन्ता नभएको जस्तो देखिन्छ ।’ ट्राफिक प्रहरीको आँखा छल्न पाउँदा ठूलै सान मिल्ने सोचले ‘शो अप’ गरेको समेत पाइएको उनी बताउँछन् । ‘नियम कानुनका विषयमा त युवाहरू नै बढी जानकार हुने गरेका छन्, उनीहरूमा ट्राफिक नियमसम्बन्धी बढी नै ज्ञान हुन्छ,’ उनले भने ।

पछिल्लो समय काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी अभियान नै थालेका छन् । उक्त अभियानमा कार्यालयले उपत्यकामा दैनिक ३ हजार वटाभन्दा बढी सवारीसाधन कारबाही गर्ने लक्ष्य नै लिएर ट्राफिक प्रहरी खटाएको समेत एक ट्राफिक प्रहरीले बताए । कार्यालयले हालै मात्र ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने करिब सयजना सवारी चालकहरूको अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग मीनभवन पठाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियमहरू ५ पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुर गरेको हुँदा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि विभाग पठाएको प्रवक्ता एसएसपी भट्टले बताए ।


ललितपुरको पुल्चोकमा जेब्रा क्रसिङमा रोकिएका सवारी । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

निलम्बनका लागि ६ देखि २९ पटकसम्म ट्राफिक नियम उल्लंघन गरेकाको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि पठाएको समेत उनले बताए । ‘ट्राफिक नियम उल्लंघन गरिरहने चालकबाट नै धेरैजसो सवारी दुर्घटना हुने गरेको पाइएको छ,’ उनले भने । कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७९/८० मा उपत्यकामा ३ हजार २ सय ५४ सवारी दुर्घटना भएका छन् । जसमध्ये, ६ हजार ८ सय ८८ वटा सवारीसाधनमा क्षति पुगेको र ७८ जनाको ज्यान गएको छ । यसवर्ष सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरूमा १६ वर्षमुनिका ५, १७ देखि ३५ वर्षका ४३ र ३६ वर्षभन्दा माथिका ३० जना छन् । ट्राफिक प्रहरीका अनुसार चालु आर्थिक वर्षमा चालकको लापरबाहीका कारण २ हजार ७६४, तीव्र गतिले ९४७, मादक पदार्थ सेवनले २६८, यान्त्रित गडबढीले ३६, ओभरटेकका कारण ४४, सडकको अवस्थाका कारण ९ र छाडा पशुचौपायाका कारण २१ वटा सवारी दुर्घटना भएको छ । ट्राफिक नियम उल्लंघन तथा सवारी दुर्घटनामा चालक मात्र दोषी नभई सडक संरचना र बनोटसमेत सही हुनुपर्ने सवारी चालक युवा डीबी श्रेष्ठ बताउँछन् । ‘ट्राफिक नियम उल्लंघनमा सवारी चालक मात्र दोषी छैन, राज्यको संयन्त्र नै दोषी छ,’ उनले प्रतिप्रश्न भने ।

ट्राफिक नियम उल्लंघनमा सवारी चालक मात्र नभई घरपरिवार, समाज र राज्यको संयन्त्र नै दोषी रहेको समाजशास्त्रीको भनाइ छ । ‘सभ्यता भन्ने कुरा न हाम्रो परिवारले सिकाउन सक्यो, न समाजले सिकायो, राज्य संयन्त्रको प्रणालीले नै सिकाउन सकेन,’ समाजशास्त्री सुरेन्द्र कोइरालाले भने, ‘आफ्नो उत्तरदायित्व, जिम्मेवारी बुझाउन नसक्दा कानुन विपरीतका काम भइरहेको छ ।’

प्रकाशित : माघ १७, २०७९ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्

शंखरापुर सबस्टेसन निर्माण स्थान्तरणको माग गर्दै स्थानीय आन्दोलित

सबस्टेसन निर्माण स्थान्तरण गर्न मिल्दैन : प्राधिकरण
लिला श्रेष्ठ

काठमाडौँ — काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदी बोझेनीमा अपर तामाकोसी जलविद्युत् आयोजनाको सबस्टेसन निर्माण स्थान्तरणको माग गर्दै स्थानीय बासिन्दा १० दिनदेखि आन्दोलनरत छन् ।


बोझेनीमा ४०० केभीको तामाकोसी–काठमाडौं प्रशारण लाइन अन्तर्गत सबस्टेसन निर्माण, २२०/१३२/११ केभीको चाँगुनारायण–लप्सीफेदी सबस्टेसन निर्माण आयोजना निर्माणाधीन अवस्थामा छ । पुस १७ गतेबाट सबस्टेसनका लागि जहरसिंह पौवाबाट बोझेनीसम्मको ३ किलोमिटर सडक सर्भेको काम थालेको थियो । उक्त सडक सर्भेको काम सुरु भएसँगै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।

आयोजनाले पूर्ण जानकारी नदिई झुक्याएर, धम्क्याएर बस्ती नै उठाउने गरी सबस्टेसन बनाउन लागेको दाबी गर्दै यस भेगका स्थानीय बासिन्दाले दुई वर्षदेखि नै विरोध गर्दै आएको आन्दोलनमा सक्रिय समान नेपालका प्रवक्ता आरके तामाङ बताउँछन् ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सुरक्षा घेराभित्र जबर्जस्ती सबस्टेसन निर्माणको काम थालेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन्। सबस्टेसन निर्माणस्थल बोझेनीमा सशस्त्र प्रहरीका डीएसपी तथा नेपाल प्रहरीका प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरी सर्भे गरिरहेको छ । ‘आयोजनाले पूर्ण जानकारी नदिई जग्गा अधिग्रहण गर्‍यो, दीर्घकालीन असर र क्षतिको विषयमा स्थानीय जग्गाधनीलाई नबुझाई केही टाठोबाठो व्यक्तिलाई हातमा लिएर मुआब्जा थमाइयो,’ स्थानीय अभियन्ता फूर्वा लामाले भने, ‘धम्कीपूर्ण ढंगले राज्यले प्रहरी प्रशासन लगाएर धरपकड गरिरहेको छ, त्यो मान्य हुँदैन । सबस्टेसन निर्माण स्थान्तरण हुनुपर्छ ।’

उक्त सबस्टेसन निर्माणको लागि बोझेनीमा योजना बन्नुअघि मण्डनदेउपुरको हलिदेमा अध्ययन गरी सार्वजनिक सुनुवाइ गरिसकेको भए पनि त्यहाँको स्थानीयको विरोधमा लप्सीफेदीमा सारेको लामा बताउँछन् ।

सबस्टेसनका लागि ५० जना जग्गाधनीहरुको एक सय ७० रोपनी जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्ष माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरी वितरण गरिएको थियो । मुआब्जा तथा क्षतिपूर्ति वापत करिब ५० करोड रुपैयाँ वितरण गरिसकेको छ । ४५६ मेगावाट विद्युत् उत्पादन गर्ने भनिएको अपर तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली काठमाडौं उपत्यका तथा देशका अन्य क्षेत्रमा पठाउन शंखरापुरको लप्सीफेदी बोझनीमा विद्युत् प्रसारण आयोजनाले सबस्टेसन निर्माणका लागि २०७४ मा जग्गा अधिग्रहण गरिसकेको छ ।

उक्त सबस्टेसनले अपर तामाकोशीसँगै चाँगुनारायण लप्सीफेदी सबस्टेसन निर्माण जोड्नेछ । लप्सीफेदी बोझनी बस्तीको बीचमा निर्माण गर्न लागिएको सबस्टेसनमा तीनतिरबाट ४०० केभी क्षमताको ‘हाईभोल्टेज’ प्रसारण लाइन विस्तार गर्ने लक्ष्य छ । सबस्टेसन निर्माण क्षेत्रको तीनतिरबाट ४६/४६ फिट जग्गा मुआब्जा बिना नै प्राधिकरणले लिएको समेत स्थानीय शम्भू चौलागाईंले बताए । सबस्टेसन निर्माण स्थान्तरणको माग गर्दै स्थानीयले अपर तामाकोसी जलविद्युत् पीडित संघर्ष समिति गठन गरेर विरोधमा उत्रिएका छन् । समान नेपाल, ढुङह्युल तामाङ लोप्तेन छोगछेनलगायतको स्थानीयलाई समर्थन छ । उनीहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको राजीनामाको माग गर्दै विरोध गरिरहेका छन् । आफूहरुले लिएको जग्गाको मुआब्जासमेत फिर्ता गर्ने भन्दै बोझेनीवासीले सबस्टेसन निर्माण स्थान्तरणको माग गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले भने बोझेनीका प्रभावित स्थानीय बासिन्दाको जायज मागलाई सम्बोधन गरी सबस्टेसन निर्माणको काम अगाडि बढाइएको र सबस्टेसन स्थान्तरण गर्न नसकिने जानकारी दिएको छ । सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीहरुले राजीखुसीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको, प्रारम्भिक वातावरणीय परीक्षण (आईई) लगायत सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिएको र उपलब्ध विकल्पहरुमध्ये हाल छनोट गरिएको स्थान नै उत्तम रहेको प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले बताए ।

‘जिल्ला प्रशासनको रोहबरमा जग्गाको मुआब्जा तोकी वितरण गरेपछि सबस्टेसन निर्माणका लागि बोलपत्र स्वीकृत भई ठेक्का सम्झौता गरी काम सुरु भइसकेको छ, सबस्टेसन स्थान्तरण गर्न सकिँदैन,’ उनले भने ।

सबस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ । लप्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारणलाइन र सबस्टेसन निर्माणाधीन छन् । चाँगुनारायण १३२ केभी सबस्टेसन सम्पन्न हुने चरणमा रहेको प्राधिकरणले जनाएको छ । नयाँ खिम्ती–काठमाडौं ४०० केभी तथा लप्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारणलाइन र चार वटा सबस्टेसन निर्माणका लागि अनुमानित लागत करिब १८ अर्ब रुपैयाँ छ । आयोजना निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) सँग २०६८ चैतमा पहिलो र २०७४ भदौमा दोस्रो ऋण सम्झौता भई ठेक्का प्रक्रियाबाट काम सुरु भएको थियो ।

प्रकाशित : पुस २६, २०७९ १९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×