भारतले अचानक ब्यारेज खोल्दा नेपालतर्फ जोखिम

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको वेदकोट नगरपालिका–१० सिसैयाका नरेन्द्र जोशी सोमबार बिहानै ट्र्याक्टर लिएर महाकाली पुगे । करिब ८ बजेतिर ट्र्याक्टर महाकालीको एउटा भँगालोको बीचमा पुगेको थियो । एक्कासि नदीमा पानीको सतह बढ्यो । उनलाई न अगाडि बढ्न सकिने न फर्किन सकिने अवस्था भयो । हेर्दाहेर्दै ट्र्याक्टर पूरै पानीमा डुब्न थाल्यो ।

चालक र मजदुरले ट्र्याक्टरमाथि चढेर ज्यान जोगाए । पानीको सतह झन्–झन् बढिरहेको थियो । पानीको वेगले ट्र्याक्टर पल्टिने जोखिम भइरहँदा सुरक्षाकर्मी पुगेर समन्वय गरेपछि भारतको उत्तराखण्डमा पर्ने शारदा ब्यारेजले केही मात्रामा पानी घटायो । कामदारको ज्यान जोगियो । सोमबार बिहान महाकाली नदीको भुजेला घाटमा पूर्वसूचनाबिना एक्कासि पानी छाडिँदा यस्तै पीडा भयो ।

शारदा ब्यारेजबाट पूर्वपट्टिको ढोका खोलिँदा केही कामदारसँगै नदीजन्य निर्माण सामग्री ढुवानी गर्ने ट्र्याक्टर र टिपरहरू नदीको बीच भागमै अड्किए । कतिपय बिग्रिए, कतिपय जेनतेन नदी तारिए । ‘यो पहिलो पटक भएको होइन, नदीमा धेरै ढुवानी साधन देखेपछि ब्यारेजका ढोका एक्कासि खोलिन्छ,’ जोशीले भने, ‘हरेक वर्ष पटकपटक हामीले यस्तै दुःख खेपिरहेका छौं ।’ उनका अनुसार महाकालीमा अचानक पानी छाडिँदा ८ वटा ट्र्याक्टर बीच भँगालोमै डुबेका थिए । ट्र्याक्टरसँगै चालक र कामदारलाई पानी घटेपछि निकालिएको थियो । हिउँदमा महाकालीमा पानीको सतह कम हुन्छ । शारदा ब्यारेजका ढोकामा खर तथा अन्य सामग्री राखेर पानी रोकिन्छ । ब्यारेजमा जम्मा पारिएको पानी नहर हुँदै लोहियाहेड पावर स्टेसन र उत्तर प्रदेशमा सिँचाइका लागि लगिन्छ ।

ब्यारेजमा कार्यरत कर्मचारीले तल्लो तटीय क्षेत्रमा निर्माण सामग्री ढुवानीका साधन फसेको वा बढी चलेको देखेमा एकाएक ढोका खोलेर दुःख दिने गरेका छन् । यसअघि पनि महाकाली नदी किनारमा तटबन्ध निर्माणका बेला एकाएक ढोका खोलिँदा निर्माण कार्य नै प्रभावित भएको थियो ।

पूर्वसूचनाबिना अनियन्त्रित रूपमा ढोका खोलिँदा महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम पनि पटकपटक प्रभावित भएको छ । ‘यस पटक पनि हामीलाई कुनै सूचना भएन,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले भने, ‘सूचनाबिना नै पानी छाड्दा केही समस्या र क्षति भएको छ ।’ उनले सीमा क्षेत्रका सुरक्षा निकायका प्रमुखको बैठकमा पटकपटक यो विषयमा पनि कुरा उठ्ने गरेको बताए । तर उत्तराखण्डमा पर्ने शारदा ब्यारेजको नियन्त्रण उत्तर प्रदेश सरकारमातहत भएका कारण समन्वयमा समस्या हुने गरेको भारतीय सुरक्षा निकायका प्रमुखको गुनासो रहेको उनले बताए । हिउँदमा मात्रै होइन, बर्खाका बेला पनि बाढी आउँदा पूर्वसूचनाको अभाव र नेपालतर्फकै ढोका खोलेर बढी क्षति हुने गरेको गुनासो पटकपटक उठ्ने गरेको छ । २०७० मा महाकालीको बाढीले भुजेला क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो । त्यतिबेला शारदा ब्यारेजका कर्मचारीले पूर्व र पश्चिमका ढोका मात्रै खोलेको स्थानीयको आरोप छ ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सोमबारको घटनाका विषयमा सीमावर्ती क्षेत्रका डीएमसँग छलफल गरिने बताए । उनले काउन्टर पार्टको बैठकमा पछिल्लो पटक यो विषय नउठेका कारण आफूले जानकारी नपाएको बताए ।

प्रकाशित : माघ १७, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?