अमेरिकी उपमन्त्रीका तीन सन्देश- समाचार - कान्तिपुर समाचार

अमेरिकी उपमन्त्रीका तीन सन्देश

छिमेकी मुलुकसँग आर्थिक सहकार्य गर्दा सार्वभौमसत्ता रक्षा गर्ने विषयमा ध्यान दिन सुझाव 
जगदीश्वर पाण्डे

काठमाडौँ — अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपालको दुईदिने भ्रमण सकेर सोमबार फर्किएकी छन् । आमनिर्वाचनपछि बनेको नयाँ सरकारसँग साझेदारी गरेर अघि बढ्ने लक्ष्यका साथ आएकी उपमन्त्री नुल्यान्डले भ्रमणका क्रममा उच्च पदाधिकारीहरूसँग भेटवार्ता गरेकी थिइन् ।


भ्रमणलाई पत्रकार सम्मेलनमार्फत बिट मार्दै उपमन्त्री नुल्यान्डले संक्रमणकालीन न्याय, अमेरिकी आर्थिक सहयोग र चीनलक्षित गरी मुख्य तीन सन्देश प्रवाह गरेकी छन् ।

उपमन्त्री नुल्यान्डले सोमबार प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा भेट गरेकी थिइन् । त्यसपछि धुम्बाराहीमा पुगेर कांग्रेस सभापति शेरबहादुर देउवा र सिंहदरबारस्थित एमालेको संसदीय दल कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीसँग उनले भेटवार्ता गरिन् । परराष्ट्रमन्त्री विमला राई

पौड्याललाई मन्त्रालयमा भेटेर छलफल गरिन् । भेटवार्तापछि सांस्कृतिक सम्पदा अवलोकन गर्न पाटन दरबार स्क्वायर पुगेकी उपमन्त्री नुल्यान्डले त्यहीं पत्रकार सम्मेलन गरेकी थिइन् ।

अमेरिकाले लामो समयदेखि उठाउँदै आएको संक्रमणकालीन न्यायको विषयलाई उपमन्त्री नुल्यान्डले पनि भ्रमणका क्रममा चासो दिएकी छन् । उनले नेपालको नयाँ सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माणमा अग्रसरता लिने विश्वास राखेकी छन् । कानुन निर्माणपछि कार्यान्वयनको पाटोमा सहयोग गर्न सक्ने उनको भनाइ थियो ।

२०५२ फागुन १ देखि राज्य पक्ष र तत्कालीन विद्रोही माओवादीबीच करिब १० वर्ष चलेको सशस्त्र द्वन्द्वका क्रममा मानवअधिकारको गम्भीर उल्लंघन तथा मानवताविरुद्धको अपराधमा संलग्न व्यक्तिहरूको सत्य अन्वेषण र समाजमा मेलमिलापको वातावरण निर्माणको काम अझै अधुरो छ । सरकारले आठ वर्षअघि गठन गरेका बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगले क्षेत्राधिकार र कानुनी समस्याका कारण काम गर्न सकेकै छैनन् ।

मानवअधिकारको विषय भएकाले संक्रमणकालीन न्यायका सवालमा अमेरिकालगायत पश्चिमा मुलुकले चासो दिँदै आएका छन् । संक्रमणकालीन न्यायलाई जतिसक्दो छिटो समाधान गर्ने भन्दै पूर्ववर्ती सरकारले २०७१ सालको कानुनलाई अन्तर्राष्ट्रिय मान्यता, सर्वोच्च अदालतको आदेशअनुसार संशोधन गर्न प्रतिनिधिसभामा विधेयक पेस गरेको थियो । तर त्यो विधेयक प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा पुगेर थन्कियो । नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले पनि गत महिना सञ्चारकर्मीसामु संक्रमणकालीन न्यायबारे अमेरिकी चासो रहेको उल्लेख गरेका थिए ।

भूराजनीतिक जानकार चन्द्रदेव भट्ट अमेरिकाले संक्रमणकालीन न्याय प्रक्रिया छिटो टुंगियोस् भन्ने चाहेको बताउँछन् । लोकतन्त्रसँग जोडिएको विषय भएकाले संक्रमणकालीन न्यायमा अमेरिकाले चासो राखेको उनको भनाइ छ । ‘हामीले भन्नुपर्ने कुरा उनीहरूले भनेका छन् तर उनीहरूले भनेका कुरालाई कसरी बुझ्ने भन्ने पनि हो,’ उनले भने । कम्युनिस्ट नेतृत्वको सरकारबाट लोकतन्त्रप्रति प्रतिबद्धता पनि अमेरिकाले चाहेको भट्टले बताए ।

नेपालमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत ५०० मिलियन अमेरिकी डलर अनुदानमा ऊर्जा र सडक पूर्वाधार विकास परियोजना कार्यान्वयन भइरहेको छ । लामो माथापच्चीपछि २०७८ फागुन १५ मा नेपालको संसद्ले १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता अनुमोदन गरेपछि परियोजना कार्यान्वयन अघि बढेको हो । त्यसपछि अमेरिकाले अमेरिकी सहयोग परियोजना (यूएसएआईडी) मार्फत सहयोग बढाएको छ । उपमन्त्री नुल्यान्डले उच्चस्तरीय भेटवार्ताका दौरान एमसीसी परियोजनाको विषय पनि निस्किएको जानकारी दिइन् । ‘अमेरिकी लगानीकर्तालाई यहाँ लगानी गर्ने प्रक्रियालाई सहज बनाउन पहल गर्ने कुरा पनि भयो,’ उनले भनिन् ।

उपमन्त्री नुल्यान्डले नेपाललाई बलियो आर्थिक शक्ति बनाउन अमेरिकाको सहयोग रहने बताएकी छन् । ‘नयाँ प्रविधिमा सहयोग गर्दै यो क्षेत्र (दक्षिण एसिया) मा प्राविधिक सुपर पावरका रूपमा स्थापित गर्ने चाहेका छौं, त्यसपछि नेपाली जनता र हाम्रा लागि थप रोजगारी हुन्छ,’ उनले भनिन् । अमेरिकाले अर्को ५ वर्षका लागि नेपालमा एक बिलियन डलरभन्दा बढी लगानी गर्न चाहेको पनि बताइन् ।

भूराजनीतिक जानकार भट्टका अनुसार अमेरिकी उपमन्त्री नुल्यान्डको चाहना नेपाल अन्तरसरकारी नीति निर्माण संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे जोन’ मा नपरोस् भन्ने रहेको बताए । ‘अनियमितता बढी भयो भने एफएटीएफको ग्रे जोनमा परिन्छ । त्यसपछि नेपालमा विदेशी लगानी आउन गाह्रो हुन्छ । हाम्रोमा पारदर्शितामा कमी छ । त्यही भएर अमेरिकाले सल्लाह दिएको हुन सक्छ, यसले नेपाललाई फाइदा नै गर्छ,’ उनले भने, ‘हामीकहाँ सम्पत्ति शुद्धीकरणका विषयमा पनि समस्या छ । चिनियाँले जहाँ लगानी गरेका छन्, त्यहाँ पारदर्शिताको समस्या छ भन्ने सन्देश पनि दिन खोजेको देखिन्छ ।’

उपमन्त्री नुल्यान्डले चीनलक्षित विषयलाई संकेत गर्दै नेपालको सार्वभौमिकतालाई जोडेर पनि सन्देश दिएकी छन् । उनले सबै छिमेकीसँग आर्थिक सहकार्य गर्न नेपाललाई सुझाव दिएकी छन् । नेपालले छिमेकी मुलुकसँग आर्थिक सहकार्य गर्दा आफ्नो सार्वभौमसत्ता रक्षा गर्ने विषयमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । ‘छिमेकीहरूसँग आर्थिक सहकार्य गर्नॅहोस्, सार्वभौमसत्ता रक्षामा ध्यान दिनुहोस् । छिमेकीहरूसँग आर्थिक सहकार्य गर्दा त्यसमा कुनै पनि भ्रष्टाचार नहोस् । सबै कुरा पारदर्शी होऊन् । नेपालले आफ्ना सबै छिमेकीसँग बनाउने सुमधुर सम्बन्धलाई हामी स्वागत गर्छौं,’ अमेरिकी उपमन्त्रीले भनिन् । नुल्यान्डले अमेरिकाको भारतसँग बलियो सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको अर्को छिमेकी राष्ट्र चीनसँग पनि अमेरिकाको सम्बन्ध सुमधुर रूपमा अघि बढिरहेको बताइन् । तर उनले घुमाउरो शैलीमा चीनका पछिल्ला गतिविधिलाई पनि संकेत गरिन् । ‘अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङले नोभेम्बरमा भेटवार्ता गरेका थिए । आगामी साता चीनसँग अमेरिकाको अझ बढी संलग्नता हुँदै छ,’ उनले भनिन् । उपमन्त्री नुल्यान्डले अमेरिकाले एउटा वा अर्को (देश रोज्ने) भन्नेबारे धारणा नराख्ने बताइन् ।

भूराजनीतिक जानकार तथा अवकाश प्राप्त उपरथी विनोज बस्न्यात नेपाल र आसपास क्षेत्रमा चीनको बढ्दो चासोका बारेमा अमेरिकाले ध्यान दिइरहेको उपमन्त्री नुल्यान्डको भ्रमणबाट बुझ्न सकिने बताए । ‘छोटो भ्रमण भए पनि अमेरिकाले नेपाललाई महत्त्व दिइरहेको र आफ्नै आँखाले हेर्न थालेको देखिएको छ,’ उनले भने । नुल्यान्ड नेपालपछि भारत, श्रीलंका र कतारको भ्रमण गरेर स्वदेश फर्किंदै छिन् । ‘अमेरिकाले श्रीलंकाको आर्थिक संकटलाई पनि बुझ्न खोजेको देखिन्छ । अमेरिकाले चीनको प्रतिद्वन्द्वी भारत तथा नेपाल र चीनबीचको सम्बन्धलाई पनि बुझ्न खोजेको छ,’ बस्न्यातले भने । कतारको भ्रमणले भने अफगानिस्तानमा अमेरिकी चासो कस्तो हुन्छ भन्ने प्रस्ट गर्ने उनको आकलन छ । अर्का भूराजनीतिक जानकार रूपक सापकोटा विश्व शक्ति राष्ट्रहरूको प्रतिस्पर्धा प्रतिद्वन्द्वीतातिर अघि बढेकाले नेपाल जस्ता मझौला मुलुकहरूमा दबाब बढिरहेको बताउँछन् । ‘नेपाल सधैं आफ्नो राष्ट्रियता, अखण्डता, राष्ट्रिय सुरक्षा र सार्वभौम सम्बन्धलाई लिएर चनाखो छ । नेपालको सार्वभौमिकतामा प्रभाव पर्ने घटनाक्रम भने अहिलेसम्म देखिएको छैन,’ उनले भने ।

प्रकाशित : माघ १७, २०७९ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्

विशालले जिते व्यास अल्ट्रा म्याराथन

कान्तिपुर संवाददाता

तनहुँ — सहिद दिवसका अवसरमा सोमबार आयोजित छैटौं व्यास नगर अल्ट्रा म्याराथन २०७९ को उपाधि व्यास–७ का विशाल गुरुङले जितेका छन् । व्यास नगरपालिका–५ मानहुँकोटदेखि वडा ८ पुलिमराङसम्मको ४४ किमी दूरीको अल्ट्रा म्याराथन ३ घण्टा २६ मिनेटमा पूरा गर्दै विशालले उपाधि जितेका हुन् ।

व्यास–६ का साहस पन्तले ३ घण्टा ३६ मिनेटबाट दोस्रो र आँबुखैरेनी गाउँपालिका–१ का सनम गुरुङले ३ घण्टा ३८ मिनेटबाट तेस्रो स्थान हात पारे ।

५७ खेलाडीको सहभागिता रहेको प्रतियोगिता विजेताले ६१ हजार, दोस्रोले ५१ हजार र तेस्रोले ३८ हजार रुपैयाँ पुरस्कार पाए । सान्त्वना स्थानका तीन खेलाडीलाई जनही १२ हजार ५ सय रुपैयाँबाट पुरस्कृत गरियो । ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरपालिकाको अभियान’ नारासाथ अल्ट्रा म्याराथनमा अलैचे, चापाघाट, अनसन चौतारी, सफासडक, भोर्लेटार चोक, बैरेनीकुमालटारी, दुम्सी खहरे, कलेस्ती, पाथ्रा, सत्रसय, बानियाँ डिही, बर्लाची, सोतीवेसी, बगुवा रिस्ती, बाहुन पोखरा गाडापानीको मार्ग प्रयोग गरिएको थियो ।

पर्यटकीय क्षेत्र मानहुँकोट र ऐतिहासिक क्षेत्र पुलिमराङको विकासका लागि व्यास नगरपालिकाले वर्सेनि यसै दिन अल्ट्रा म्याराथन गर्दै आएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

प्रकाशित : माघ १७, २०७९ ०६:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×