कानुन मिचेर निर्वाचन मिति- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कानुन मिचेर निर्वाचन मिति

मकर श्रेष्ठ

काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी ऐनको व्यवस्थाविपरीत हुने गरी निर्वाचनको मिति घोषणा गरेको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै निर्वाचन हुने गरी मिति तोक्नुपर्ने कानुनी व्यवस्था रहेकामा आयोगले बहालवालाको पदावधि सकिनै लाग्दा मात्र निर्वाचन गर्ने निर्णय गरेको हो ।

आयोगले फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपतिको निर्वाचन मिति तोकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको फागुन २८ मा र उपराष्ट्रपति नन्दबहादुर पुनको चैत ३ मा कार्यकाल सकिँदै छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ४ मा राष्ट्रपतिको र उपदफा ५ मा उपराष्ट्रपतिको निर्वाचन बहालको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि हुनुपर्ने व्यवस्था छ ।

आयोगको बैठकमा आयुक्त ईश्वरी पौड्यालले कार्यकाल सकिनु एक महिनाअघि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था मिच्न नहुने तर्क गरेका थिए तर प्रमुख आयुक्त दिनेश थपलिया, आयुक्तहरू रामप्रसाद भण्डारी, सगुनशमशेर जबरा र जानकी तुलाधरले कार्यकाल सकिनु केही दिनअघिका लागि मिति तोक्ने निर्णय बहुमतबाट गरेका हुन् ।

आयुक्त पौड्यालले कानुन संशोधन नगरी निर्वाचन मिति धकेल्नु गलत भएको भन्दै फरक मत राखेका छन् । उनको फरक मतमा लेखिएको छ, ‘फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपतिको निर्वाचन मिति तोक्ने र सोबमोजिमको निर्वाचन कार्यक्रम प्रकाशन गर्ने गरी राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ को प्रतिकूल भएको हुँदा ऐनको दफा ४ र ५ संशोधन गरी मात्र निर्वाचनको मिति तोक्न यो फरक मत प्रस्तुत गरेको छु ।’

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले संविधानको मर्मअनुसार निर्वाचनको मिति तोकिएको बताए । ‘संविधान र ऐनमा केही दुविधा देखियो । संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल ५ वर्षको हुने भनिए पनि ऐनमा कार्यकाल सकिनुभन्दा एक महिनाअघि निर्वाचन गर्नुपर्ने उल्लेख छ । आयोगले सविधानको मर्मअनुसार मिति तोकेको हो,’ उनले भने । आयोगले संविधानअनुसार कानुन संशोधन गर्नुपर्ने विषय भने उठाएको छैन । निर्वाचन एक महिनाअघि गरे पनि बहालवाला राष्ट्रपतिको कार्यकाल सकिएको दिन मात्रै शपथ गराउन मिल्थ्यो ।

निर्वाचन आयोगको निर्णयमा कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कानुन संशोधन नगरी राष्ट्रपति निर्वाचनलाई आयोगले धकेलेको प्रतिक्रिया दिए । ‘राष्ट्रपति जस्तो पदको निर्वाचन गराउँदा कानुनको उल्लंघन भएको सन्देश जानु राम्रो होइन । ऐनको व्यवस्थाअनुसार निर्वाचन गराउन तयार नभए संविधानको भावनाबमोजिम कानुन संशोधन गर्न सकिन्छ,’ उनले भने, ‘कानुन संशोधनका लागि प्रमुख प्रतिपक्ष तयार नै छ, हामीले प्रधानमन्त्रीसँग पनि यही कुरा राखेका छौं तर सरकार त्यसमा अग्रसर भएन ।’

संविधानविद् भीमार्जुन आचार्यले संविधान र कानुनमा समस्या नभएको तर कानुनको अपव्याख्या गरिएको टिप्पणी गरे । ‘अमेरिकामा पहिला नै राष्ट्रपतिको निर्वाचन हुन्छ । निश्चित दिनमा शपथ हुन्छ अनि कार्यकाल सुरु हुन्छ । हामीले पनि यस्तै गर्न कानुन बनाएको हो । तर, अपव्याख्या भयो,’ उनले भने, ‘अहिले भएको राष्ट्रपति कार्यकाल पूरा गरेर गएको दिन एक महिनाअघि निर्वाचित राष्ट्रपतिले जिम्मेवारी सम्हाल्नुपर्ने हो ।’

आयोगले सोमबार सार्वजनिक गरेको कार्यक्रमअनुसार राष्ट्रपति पदका लागि फागुन १३ मा उम्मेदवारी दिनुपर्नेछ । फागुन १४ मा उम्मेदवारविरुद्ध उजुरी दिने, त्यही दिनदेखि उजुरीउपर जाँचबुझ गर्ने, १५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने र त्यही दिन अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । उपराष्ट्रपतिको निर्वाचन कार्यक्रम भने फागुन २७ मा सुरु हुनेछ । उम्मेदवारको मनोनयन पत्र फागुन २७ मा दर्ता गर्ने, त्यही दिन उम्मेदवारविरुद्ध उजुरी दिने कार्यक्रम छ । यस्तै फागुन २८ मा जाँचबुझ गरी निर्णय दिने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्तिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन चाहे बन्दसूचीबाट नाम फिर्ता लिनुपर्ने आयोगले जनाएको छ । संघीय संसद्का सदस्य (प्रतिनिधिसभाका २ सय ७५, राष्ट्रिय सभाका ५९) र सातै प्रदेशसभाका ५ सय ५० सदस्यको मतदानबाट राष्ट्रपतिको निर्वाचन हुन्छ । ०६८ को जनगणनाका आधारमा संघीय संसद्का १ सदस्यको मतभार ७९ कायम गरिएको छ भने प्रदेशसभाको १ सदस्यको मतभार ४८ छ । राष्ट्रिय सभामा १ जनाको निर्वाचन माघ २५ मा हुँदै छ ।

प्रतिनिधिसभा सदस्य कांग्रेसका टेकराज गुरुङ भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद खारेज भइसकेको छ । राष्ट्रपतिको निर्वाचनअघि नै राष्ट्रिय सभा सदस्य १ जनाको निर्वाचन भइसक्ने भएकाले प्रतिनिधिसभामा निलम्बन र पद खारेजी भएका २ जनाबाहेकको मतभार २६ हजार २ सय २८ रहेको छ । प्रदेशसभाका ५ सय ५० जनाको मतभार २६ हजार ४ सय छ । संघीय संसद् र प्रदेशसभाको कुल मतभार ५२ हजार ६ सय २८ हुन्छ । प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका एक जना सांसद फरार सूचीमा रहेको पाइएपछि उनको पनि मतभार घट्ने सम्भावना छ ।

प्रकाशित : माघ १७, २०७९ ०६:१२
प्रतिक्रिया
पठाउनुहोस्

उपराष्ट्रपतिको कार्यकाल लम्बिने !

मकर श्रेष्ठ

काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन अन्तिम साता गर्ने तयारी थालेपछि उपराष्ट्रपतिको पदावधि भने लम्बिने भएको छ । राष्ट्रपति निर्वाचन फागुन २६ मा गर्ने गरी यही साता मिति घोषणा गर्ने आयोगको तयारी छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐनमा पदावधि सकिनुभन्दा एक महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था रहे पनि आयोगले यो प्रावधान गलत रहेको भन्दै ‘राष्ट्रपतिको कार्यकाल ५ वर्ष हुने’ संविधानको व्यवस्था कार्यान्वयन गर्न लागेको हो । ०७४ फागुन २९ मा निर्वाचित भएकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ मा सकिँदै छ ।

आयोगले राष्ट्रपति निर्वाचन कार्यकाल सकिनुभन्दा तीन दिनअघि मात्रै गर्ने भएपछि उपराष्ट्रपति निर्वाचन कार्यकाल सकिएपछि हुने निश्चित भएको हो । आयोग स्रोतका अनुसार उपराष्ट्रपति निर्वाचन चैत पहिलो साता हुनेछ । ‘राष्ट्रपतिको निर्वाचन फागुन अन्तिम साता हुँदा उपराष्ट्रपतिको कार्यकाल संविधानविपरीत कम्तीमा ५ दिन लम्बिने भएको छ,’ आयोग स्रोतले भन्यो ।

संविधानको धारा ६३ को उपधारा १ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ । यही व्यवस्थामा टेकेर आयोगले ऐनको दफा ४ को उपदफा १ मा रहेको ‘पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन गर्नुपर्ने’ प्रावधान गलत रहेको व्याख्या गरेको हो । दलका नेताहरूले पनि संविधान र ऐनको प्रावधान बाझिएकाले संशोधन गर्नुपर्ने बताउँदै आएका छन् ।

संविधानमा उपराष्ट्रपतिको कार्यकाल पनि राष्ट्रपतिको सरह हुने व्यवस्था छ । यसअनुसार पुनको पाँच वर्षको कार्यकाल ०७९ चैत ३ मा सकिँदै छ । उनी ०७४ चैत ४ मा निर्वाचित भएका थिए । राष्ट्रपतिको निर्वाचन फागुन २८ मा सकिएपछि मात्रै उपराष्ट्रपतिको निर्वाचन कार्यक्रम घोषणा हुने कानुनी व्यवस्था छ । उपराष्ट्रपतिको निर्वाचन चैत ९ भित्र सक्ने आयोगको तयारी छ ।

राष्ट्रपतिको पदावधि सकिने दिनसम्म पनि नयाँ राष्ट्रपति निर्वाचित हुन नसकेमा बहालवालालाई निरन्तरता दिने संवैधानिक व्यवस्था छ । कानुनअनुसार निर्वाचन नगरी ढिलो भएमा राष्ट्रपति भण्डारीको कार्यकाल लम्बिन सक्ने आशंका पनि छ । संविधानको धारा ६३ को उपधारा २ ले यो आशंका उब्जाएको हो । उपधारा २ मा भनिएको छ, ‘पदावधि समाप्त भएको राष्ट्रपतिले अर्को निर्वाचित राष्ट्रपतिले पदभार नसम्हालेसम्म यस संविधानबमोजिमको कार्य सम्पादन गर्नेछ ।’

आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २६ मा घोषणा गर्दा कुनै उम्मेदवारको बहुमत नपुगेमा दोस्रो चरणको निर्वाचन गर्नर्पुर्ने हुन्छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारको बहुमत नपुगेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जनाबीच मतदान गर्नुपर्ने हुन्छ । निर्वाचित हुन उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ । कुनै उम्मेदवारले कुल मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त नगरेमा पुनः मतदानमा जानुपर्ने हुन्छ । तेस्रो चरणको मतदानमा भने सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवारलाई निर्वाचन अधिकृतले निर्वाचित भएको घोषणा गर्ने प्रावधान छ । ‘कार्यकाल सकिनुअघि नै निर्वाचन गर्ने र यी सबै प्रक्रिया पूरा गर्न लाग्ने समय हेरेर मिति घोषणा चाँडै गर्छौं,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ।

दलहरूबाट समेत कार्यकाल सकिनुभन्दा एक साताअघि निर्वाचन गर्न सहमति पाएपछि मिति घोषणा गर्न लागेको हो । ‘ऐनमा त्रुटि भएकाले पछि सच्याउँला, अहिले निर्वाचन गर्नुस् भन्ने दलहरूको सुझाव छ,’ आयोग स्रोतले भन्यो, ‘कार्यकाल सकिनुभन्दा एक साताअघि चाहिँ नगर्नुस् भन्ने दलहरूको आग्रह छ किनभने राष्ट्रपति दुई जना हुनेबित्तिकै लफडा सुरु हुन्छ भन्नेछ । निर्वाचित भएपछि किन शपथग्रहण नगराएको भन्ने हुन्छ । त्यसैले २६ गते निर्वाचन गराउने, २८ गते निर्वाचित राष्ट्रपतिलाई प्रमाणपत्र दिने र २९ गते शपथग्रहण गराएर ह्यान्डओभर र टेकओभर हुन्छ ।’

प्रकाशित : माघ १५, २०७९ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×