'बाबुसँग लेनदेन नमिलेपछि छोराको अपहरण'

पीडित किशोरका बाबुसँग लेनदेनमा विवाद भएपछि अपहरण गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ
पर्वत पोर्तेल

झापा — झापामा १० दिनअघि अपहरणमा परेका एक किशोरको प्रहरीले उद्धार गरेको छ । बिर्तामोड ३ भगवान चोक निवासी २१ वर्षीय राजीव बस्नेतलाई प्रहरीले अपहरणकारीको पन्जाबाट शनिबार साँझ मुक्त गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगम बहादुर कुँवरले जानकारी दिए ।

राजीव गत माघ ५ गते बिहान इलामको श्रीअन्तु घुम्न भनी घरबाट निस्किएका थिए । प्रदेश १–०१–०१५ प ८०९७ मोटरसाइकल चढेर गएका उनी साँझसम्म नफर्किएपछि परिवारले प्रहरीलाई हुलियासहित उजुरी दिएको थियो ।

डीएसपी कुँवरका अनुसार बुद्धशान्ति घर भई हाल भारतको मणिपुरमा बसेर व्यापार गर्ने राजु भनिने राजकुमार भण्डारी नामको व्यक्तिको संलग्नतामा राजीवको अपहरण भएको खुलासा भएको छ। राजीवका बाबु कमल बस्नेत र भण्डारी पहिले व्यापार साझेदार थिए । तर, पछिल्लो समय आर्थिन लेनदेनमा विवाद भएपछि यी दुईबीच मनमुटाव सुरु भएको थियो । उनीहरु सुन व्यापारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

‘पीडितका बाबु र भण्डारी पुराना कारोवारी रहेछन् । व्यापारको कुरामा लेनदेनको समस्या रहेछ, त्यही निहुँमा राजीवलाई अपहरण गरिएको खुलेको छ,’ डीएसपी कुँवरले भने, ‘बस्नेतले भण्डारीलाई रकम तिर्न बाँकी रहेको र त्यही कारण भाडाका मान्छे परिचालन गरेर छोरालाई उठाइएको पाइयो ।’

१० दिनसम्म अज्ञातस्थलमा राखिएका उनलाई प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको छ । अपहरणकारीले छोरालाई छुटाउन फिरौती रकम मागे पनि परिवारले भने नदिएको प्रहरीले दाबी गरेको छ ।

प्रकाशित : माघ १६, २०७९ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्

चितवन मेडिकल कलेजमा बन्यो १०० बेडको क्यान्सर अस्पताल

कान्तिपुर संवाददाता

काठमाडौँ — चितवन मेडिकल कलेज (सीएमसी) भित्र १०० बेड क्षमताको क्यान्सर अस्पताल तयार भएको छ ।‘सीएमसी क्यान्सर इन्स्टिच्युट’ नाम दिइएको सो अस्पतालको केही दिनअघि औपचारिक उद्घाटन गरिएको कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए । उनका अनुसार अस्पतालमा अहिले क्यान्सरको रेडियसन लगायतका उपचार सेवा सञ्चालनमा आइसकेका छन् ।

रक्तक्यान्सर बाहेक सम्पूर्ण क्यान्सरको परीक्षण र उपचार सुरु गरिएको इन्स्टिच्यूटका रेडिएसन अंकोलोजिस्ट डा. सुवास ठाकुरले जानकारी दिए । उनका अनुसार अस्पतालमा ब्राकी थेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध छन् । दैनिक एक सय जनासम्मलाई रेडियसन (सेकाउने) सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको ठाकुरले बताए । उनका अनुसार सो मेसिनमा 'टडी काउच' र 'हाइपर आर्क' प्रविधि उपलब्ध छ । टाउको भित्रको ट्युमरलाई विना शल्यक्रिया उपचार गर्ने प्रविधि एसआरएस (स्टेरियो टेक्टिक रेडियो सर्जरी) पनि ल्याइएको उनले बताए । ‘यसबाट उपचार गर्दा शल्यक्रिया नगरी टाउकोभित्र जुन भागमा ट्यूमर छ त्यसलाई मात्रै सेकाएर नष्ट गरिने हुँदा बिरामीलाई सहज हुनेछ’ ठाकुरले भने ।

यस्तै एसबीआरटी (स्टेरियो टेक्टिक बडी रेडिएसन थेरापी) सेवा पनि यो उपकरणबाट दिन मिल्ने उनको भनाइ छ । यो उपचार उपकरणले शल्यक्रियाविना शरीरका अंगहरुमा रहेको क्यान्सरका ट्यूमरहरुलाई नष्ट गर्ने उनले बताए । ठाकुरका अनुसार फोक्सो, प्रोस्टेट, आन्द्राको क्यान्सरमा यो विधि उपयोगी मानिन्छ । यसैगरी शल्यक्रिया गर्न नमिल्ने चौथो स्टेजमा पुगेका क्यान्सर र हड्डीको क्यान्सर उपचारमा पनि यो प्रविधि सहज र प्रभावकारी हुने ठाकुरले बताए ।

अस्पतालका अनुसार ब्रेकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरी क्यान्सर कोष मार्ने प्रविधि इन्स्टिच्युटमा ल्याइएको छ । पाठेघरको मुख र जिब्रोको क्यान्सरमा यो प्रविधिको उपचार बढी प्रयोग हुने बताइएको छ । ‘क्यान्सर पत्ता लागेको ३/४ दिनभित्र नै रेडियोथेरापी लगायतका उपचार सुरु गरिने भएकोले उपचार र परीक्षणमा महिनौं लामो पालो कुर्न पर्दैन’ ठाकुरले भने । इन्स्टिच्यूटमा भारत, अमेरिका र चीनमा क्यान्सर उपचारमा काम गरेका अनुभवी विशेषज्ञ चिकित्सक रहेको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले बताए । रेडियसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, बाल क्यान्सरको उपचारसहित आवश्यक अत्याधुनिक उपकरण ल्याइसकिएको देवकोटाले बताए ।

सीएमसी क्यान्सर इन्स्टिच्युटमा सरकारले तोकेको शुल्कमा उपचार हुने उनले दाबी गरे । ‘सरकारले तोकेको विपन्न उपचार शुल्कमा नै हामीले बिरामीलाई सेवा दिन्छाैं’ देवकोटाले भने ‘निजी भएकाले महँगो हुन्छ भन्ने पर्न दिँदैनौं ।’ सरकारले क्यान्सरको उपचारका लागि दिने एक लाख र प्रदेश सरकारले उपलब्ध गराउने थप रकमको उपचार सुविधा पनि दिने देवकोटाले बताए ।

प्रकाशित : माघ १६, २०७९ १९:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×