सहिदको आकांक्षा पूरा गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे- समाचार - कान्तिपुर समाचार

सहिदको आकांक्षा पूरा गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

रासस

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहिदका अधुरा सपना पूरा गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन् । पत्रकारहरूसँगको अन्तरक्रियात्मक कार्यक्रममा सोमबार सभामुख घिमिरेले सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरूको आकांक्षा पूरा गर्ने आमसञ्चारमाध्यमले विशेष भूमिका निर्वाह गर्ने बताए ।


उनले भने, ‘राष्ट्र र जनताको उन्नतिका लागि जीवन अर्पण गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु । सहिदहरूको सपना कति र कुन हदसम्म पूरा हुन आएको छ र अब पूरा गर्न के गर्नुपर्छ ? त्यसमा अठोट गर्ने र ती आकांक्षा पूरा गर्ने आमसञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ ।’

सभामुख घिमिरेले विगतमा संसदीय समाचार संकलनमा गरिएका राम्रा अभ्यासको निरन्तरता र समस्याको समाधान गर्ने प्रतिबद्धतासमेत जनाए । ‘ संसद्को भूमिका समाजलाई कसरी अग्रगति दिन सकिन्छ भन्ने हो । त्यसका लागि पत्रकार र आमसञ्चारमाध्यमले सहयोग गरिरहेको छ । समाचार सङ्कलन गर्न संसद्‌भित्र देखिएका चुनौती र समस्यालाई समाधान गर्नेछौँ,’ उनले भने । अन्तरक्रियामा पत्रकारहरूले संसदीय समाचार संकलनका क्रममा देखिएका चुनौतीबारे सभामुखको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित : माघ १६, २०७९ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्

सुदूरपश्चिम र कर्णालीका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

रासस

काठमाडौँ — पश्चिमी न्यून चापीय प्रणालीको असरले देशभर बदली हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार अहिले देशभरको आकाशमा बादल लागेको छ ।

आज दिनभरजसो नै बदली रहनेछ । दिउँसोको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य असर परेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा पनि सोही प्रकारको मौसमी प्रणाली कायम रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । महाशाखाले आगामी २४ घण्टासम्मका लागि सचेत हुन आग्रह गर्दै सुदूरपश्चिम प्रदेशका थोरै स्थान, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने जनाइएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । तराईका केही स्थानमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य असर पर्नसक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रकाशित : माघ १६, २०७९ १२:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×