कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘चिफ कन्क्लेभ’ तयारी

काठमाडौँ — सेना दिवसको अवसरमा नेपाली सेनाले वर्तमान र पूर्वमानार्थ महारथीहरूलाई बोलाएर ‘चिफ कन्क्लेभ’ गर्ने भएको छ । त्यसका लागि भारतका वर्तमान र अवकाश प्राप्त मानार्थ महारथीहरूलाई बोलाइएको छ ।

‘चिफ कन्क्लेभ’ तयारी

नेपाली सेना स्थापना भएको फागुन ६ मा २ सय ६० वर्ष पुग्दै छ । ‘हामीले यस पटक विभिन्न कार्यक्रम गरिरहेका छौं, फागुन ७ मा हुन लागेको चिफ कन्क्लेभ पनि त्यसैमध्येको हो,’ सैनिक प्रवक्ता तथा सहायक रथी कृष्ण भण्डारीले भने । मानार्थ महारथीहरू फागुन ५ मा आएर तीन दिन बस्नेछन् । फागुन ७ मा सैनिक मञ्चमा परमाधिपति (राष्ट्रपति) सहित हुने कार्यक्रममा उनीहरू उपस्थित हुनेछन् ।

नेपाली र भारतीय सेनाबीचको विशेष परम्पराअनुसार नेपालका प्रधानसेनापति भारतीय सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका सेनाध्यक्ष नेपाली सेनाका मानार्थ महारथी रहँदै आएका छन् । सेना प्रमुखको जिम्मेवारी सम्हालेपछि केही महिनाभित्रै अर्को मुलुक गएर राष्ट्रपतिबाट मानार्थ महारथीको सम्मान लिने प्रचलन छ । कन्क्लेभमा भारतबाट नेपाली सेनाका मानार्थ महारथीहरूसहित नेपाली सेनाका पूर्वप्रधानसेनापतिहरू (भारतीय सेनाका मानार्थ महारथीहरू) को उपस्थिति हुनेछ । जसमा हालका भारतीय सेनाध्यक्ष मनोज पाण्डेसहित अवकाश प्राप्त सेनाध्यक्षहरू विश्वनाथ शर्मा, शंकर रोय चौधरी, सुन्दरारञ्जन पद्मनावन, निर्मल चन्द्रर भिज, जोगेन्दर जसवन्त सिंह, दीपक कपुर, विजयकुमार सिंह, विक्रम सिंह, दलवीर सिंह र मनोजमुकुन्द नरवणे रहेका छन् ।

भारतीय सेनाले लामो समयदेखि नेपाली सेनाका वर्तमान र अवकाश प्राप्त प्रधानसेनापतिलाई नयाँदिल्लीमा बोलाएर चिफ कन्क्लेभ गर्दै आइरहेको छ । नेपालले भने पहिलो पटक गर्न लागेको प्रवक्ता भण्डारीले बताए । ‘एक दर्जन मानार्थ महारथीहरूलाई निम्तो पठाइएको छ, भारतबाट को–को आउनुहुन्छ भन्ने केही समयपछि मात्र थाहा हुनेछ,’ उनले भने ।

सेनाका अनुसार नेपालबाट पहिलो पटक मानार्थ महारथीको दर्जा पाउने भारतीय सेनाका स्थल सेनाध्यक्ष केएम करिअप्पा हुन् । सन् १९५० मा नेपाल भ्रमणका क्रममा नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मानित भएका थिए । उक्त परम्परा २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरिएको थियो ।

प्रकाशित : माघ १६, २०७९ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?