सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तारमा अन्योल- समाचार - कान्तिपुर समाचार

सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तारमा अन्योल

सरकार गठन भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएन, नागरिक उन्मुक्तिले भर नदिँदा विश्वासको मतमा समेत अन्योल
अर्जुन शाह

धनगढी — सुदूरपश्चिममा सरकार गठन भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । मुख्यमन्त्री राजेन्द्रसिंह रावलसँगै थप दुई जना मन्त्री नियुक्त भए पनि उनीहरू हालसम्म बिनाविभागीय छन् । मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउँछ र नियुक्त भएका मन्त्रीको कार्यविभाजन पनि कहिले तोकिने हो भन्ने टुंगो लागेको छैन ।

विभागीय मन्त्री नभएकाले मन्त्रालयका कामकाज प्रभावित भएका छन् । मुख्यमन्त्रीको शपथ लिएकै दिन माओवादी संसदीय दलका नेता खगराज भट्ट र एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापा मन्त्री नियुक्त भएका थिए । ‘कार्यविभाजन नभएकाले कामको कुनै चाप छैन,’ मन्त्री शर्माले बताइन् । अन्य प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गरिसकेका भए पनि पुस २८ मा शपथ लिएका मुख्यमन्त्री रावलले भने विश्वासको मत लिन अझै सकेका छैनन् । संविधानतः ३० दिनभित्र विश्वासको मत लिनैपर्ने हुन्छ । एमाले र माओवादी सांसदहरूको सम्पूर्ण ध्यान विश्वासको मत लिनेमै रहेको भए पनि विश्वसनीय आधार तयार भइसकेको छैन । मुख्यमन्त्री रावलका लागि विश्वासको मत पुग्ने मुख्य आधार नागरिक उन्मुक्ति पार्टीका सांसद हुन् । तर, निर्णायक रहेको नागरिक उन्मुक्तिले सरकारमा सहभागिता र विश्वासको मतका लागि पार्टीका संस्थापक रेशम चौधरीसहित अन्य ६ जनालाई रिहा गर्नुपर्ने माग गर्दै आएको छ ।

आफ्ना माग सम्बोधनको प्रक्रिया सुरु गरे मात्र पनि विश्वासको मत दिने तर विश्वस्त वातावरण नबनेसम्म मत नदिने उन्मुक्ति पार्टीको भनाइ छ । मुख्यमन्त्री रावलसहित सत्तारूढ दलका नेताहरू पनि नागरिक उन्मुक्तिका सांसदसँग संवाद जारी राखेको तर ठोस उपलब्धि नभएको बताउँछन् । मुख्यमन्त्री रावल शपथलगत्तै काठमाडौं पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसहितका नेतासँग विश्वासको मतका लागि पहल गरेर फर्किएका छन् । यसअघि संघीय सरकारले आफ्ना माग सुनुवाइ नगरेको भन्दै नागरिक उन्मुक्तिले सुदूरपश्चिमको सभामुख चयनमा पनि अड्चन खडा गरेको थियो । तेस्रो पटक भएको मतदानमा मात्र उनीहरूले सभामुख चयनमा सघाएका थिए ।

५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ मत आवश्यक छ । माओवादीका सभामुखबाहेक १०, एमालेका १० र राप्रपाको एक गरी २१ मत छ । ७ सांसद रहेको नागरिक उन्मुक्तिले साथ दिए मात्र मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था छ । विभागीय मन्त्री नहुँदा सम्बन्धित मन्त्रालयका कर्मचारीमा अन्योल रहेको अधिकृतहरू बताउँछन् । ‘विभागीय मन्त्री नभएकाले अहिले जरुरी कामहरू मुख्यमन्त्रीमार्फत गराउनुपर्ने हुन्छ,’ आर्थिक मामिला मन्त्रालयका एक अधिकृतले भने, ‘अधिकांश काम थन्किएर बसेका छन् ।’ उनले बजेटमा रकमान्तरलगायत कतिपय महत्त्वपूर्ण काम रोकिएको बताए ।

मंसिर–पुसदेखि मात्र काम हुने यहाँको पुरानै परम्परा हो । यही बेला विभागीय मन्त्री नहुँदा काम प्रभावित हुनु स्वाभाविकै भएको भौतिक पूर्वाधार मन्त्रालयका एक अधिकृतले बताए ।

प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार सुदूरपश्चिममा चालु आर्थिक वर्षका लागि कुल बजेट ३६ अर्ब ३३ करोड ८९ लाख रहेकामा पुस मसान्तसम्म साढे १४ प्रतिशतभन्दा कम खर्च भएको छ । त्यसमा पनि पुँजीगत खर्च झन् न्यून छ । पुँजीगततर्फको कुल बजेट २३ अर्ब ७९ करोड ४५ लाख रहेकामा पुस मसान्तसम्म २ अर्ब ६३ करोड ६५ लाख अर्थात् ११ प्रतिशत मात्र खर्च हुन सकेको छ ।

प्रकाशित : माघ १६, २०७९ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

अर्जुन शाह

धनगढी — बुधबारका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले मंगलबार प्रदेशसभा सदस्यहरुलाई अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी पठाएको छ ।

सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको लिएका छैनन् । दल तथा सांसदहरुबीच समझदारी भएको भए बुधबार बस्ने भनिएको बैठकमा विश्वासको मत लिने तयारी मुख्यमन्त्रीको थियो । तर निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग अझै ठोस समझदारी भइनसकेकाले विश्वासको मत लिने दिन पनि अनिश्चित भएको हो ।

यतिबेला मुख्यमन्त्री रावल काठमाडौंमा छन् । काठमाडौंमा उनले नागरिक उन्मुक्तिका सांसदहरु तथा नेताहरुसँग आफ्नो र प्रधानमन्त्रीसहित शीर्ष तहको राजनीतिक भेटघाट गराएर समझदारीको प्रयत्न गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेशसभामा संख्यात्मक रूपमा निर्णायक घटकका रूपमा रहेको नागरिक उन्मुक्तिका सांसदहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको एमाले संसदीय दलका नेता रावललाई विश्वासको मत दिने नदिने बारेमा नागरिकले अझै ठोस निर्णय गरिसकेको छैन । तर आफ्ना नेता रेशम चौधरीको रिहाइ मुख्यमन्त्रीलाई समर्थन गर्ने मुख्य ‘बटम लाइन’ रहेको संसदीय दलका नेता रामेश्वर चौधरी बताउँछन् ।

त्यो कदममा प्रदेश सरकारको कुनै ठोस भूमिका नहुने भएकाले केन्द्र सरकारले नै गाँठो फुकाइदेओस् भन्ने मुख्यमन्त्रीको चाहना र अपेक्षा देखिएको छ । रेशम चौधरीको रिहाइ गर्न एमाले अध्यक्ष र प्रधानमन्त्रीको संयुक्तप्रयास रहने आश्वासन प्राप्त भएको नेताहरुले बताए ।

प्रकाशित : माघ ११, २०७९ ०८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×