अभियुक्तलाई फूलमाला, पीडितलाई तिरस्कार- समाचार - कान्तिपुर समाचार
बलात्कारपीडित किशोरीको बयान

अभियुक्तलाई फूलमाला, पीडितलाई तिरस्कार

‘तपाईंहरूका लागि ऊ अभियुक्त होला, मेरा लागि अपराधी हो । ऊ जेलबाट निस्कँदा टीका, फूलमाला र अबिर लगाइदिए, ताली बजाए तर जो पीडित हो, ऊ लुकेरै बस्नुपरेको छ ।’
तुफान न्यौपाने

काठमाडौँ — गौशाला–२६ कुनै ठेगाना होइन, एक किशोरीको नाम हो । यस्ती किशोरी जसले न्याय माग्दा सामाजिक तिरस्कार भोग्न बाध्य भएकी छन् । सन्तान हुर्काइरहेका बाबुआमा, आफ्ना दिदीबहिनीलाई औधी माया गर्ने दाजुभाइ तथा कथित भद्रभलादमीले उनको सातो लिन खोजिरहेका छन्– पुरुषसँग किन बाहिर गयौ ? होटलमा किन बस्यौ ? मानौं, कुनै पुरुषको मित्रवत् अनुरोधमा घुम्न निस्कनु वा होटलमा पुग्नु भनेको आफ्नो शरीरमाथि रजाइँ गर्न दिनु हो ।

क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत भएको भन्दै न्यायालयबाट निसाफ खोजिरहेकी किशोरीको गोपनीयता कायम राख्न प्रहरीले उनको नाम गौशाला २६ राखिदिएको छ । नागरिकताअनुसार उनी आजसम्म पनि नाबालिग हुन् । आमा र उनकी कानुन व्यवसायीको अनुमतिमा तथा दाइ नाता पर्ने दुई बयस्कको उपस्थितिमा गौशालाले कान्तिपुरलाई आफ्नो व्यथा सुनाएकी छन् ।

प्रहरी, अदालत, वकिल, मिडिया । यो सब झमेला आइलाग्दा भन्ने उनले सपना पनि सोचेकी थिइनन् । भदौ ५ मा त उनले कलेजका साथीहरूलाई खुसीसाथ सुनाएकी थिइन्, ‘म आज सन्दीप लामिछानेलाई भेट्न जाँदै छु नि ।’

त्यसो त उनीहरूबीच भदौ १ देखि स्न्यापच्याटमा कुराकानी हुन थालेको थियो । त्योबीचमा पनि भेट्ने प्रस्ताव अस्वीकार गरेकी उनले त्यो दिन पनि सुरुमा त आउन्न भनेकी थिइन् । तर, भदौ ५ को दिउँसो लामिछानेले अलि जोड नै दिएर भने, ‘म भोलि नै केन्या उड्दै छु । त्यसपछि सीपीएल खेल्न जमैका जान्छु । बीबीएलको अक्सन पनि यहीबीचमा हुँदै छ । छानिएँ भने बीबीएल पनि खेलेर फर्कंदा एक/दुई महिना बित्छ । आज नभेटे हामी भेट्नै पाउँदैनौं ।’

राष्ट्रिय टिमको त्यति ठूलो खेलाडीले यसरी बारम्बार भेट्न बोलाइरहेको छ, किन नजानु भन्नेमा पुगिन् गौशाला । त्यसपछि नै उनले साथीहरूलाई सुनाएकी थिइन् । साथीहरूले सन्दीपसँग एउटा फोटो मात्र खिच्न पाए पनि त्यो ठूलो अवसर हुने भनेर हौसाएका पनि थिए । सन्दीपलाई कतिपयले ‘एरोगेन्ट’ र ‘इगोइस्ट’ भनेको पनि उनले सुनेकी थिइन् । तर, उनै ‘स्टार’ लाई भेट्न र फोटो खिच्न पाउनु नै ठूलो उपलब्धि हुने साथीहरूको उक्साहट । द्विविधाबीच उनले सन्दीपलाई भेट्ने मन बनाइन् ।

दिउँसो साढे दुई बजेतिर नचिनेको नम्बरबाट फोन आयो । सन्दीपले ‘टिममेट’ को नम्बरबाट कल गरेका रहेछन् । उनले आफ्नै नम्बरमा फोन र मेसेज गरेको रुचाउँदैनथे । ‘सातदोबाटोमा मिटिङमा जाँदै छु, त्यसपछि भेटौं’ भनेर फोन राखे । त्यसपछि ‘स्न्यापच्याट’ मा कुराकानी जारी रह्यो ।

काठमाडौंको एक कलेजमा १२ कक्षा पढ्ने गौशाला होस्टेलमा बस्थिन् । होस्टेलमा ८ बजेपछि ढोका बन्द हुने कारणले उनले आफ्नी रुममेटलाई भनिन्, ‘सकेसम्म ८ बजेभित्रै आउँछु । ढिला भएछ भने ढोका खोल्दिनू ।’ होस्टेलमा बस्न थालेपछि उनी पहिलो पटक साँझमा निस्किँदै थिइन् ।

...

छोटो उमेरमै कठिन यात्रा पारेर गरेर मात्र गौशाला होस्टेलमा आएकी हुन् । परिवारको इच्छाविपरीत प्रेमबिहे गरेका उनका बाबुआमाले घर त्यागेका थिए । बिहान साँझ मिठो मसिनो खाएर जिन्दगी चलिराखेकै थियो । दाइ र गौशाला, दुई सन्तान जन्मिए । उनीहरू हुर्कने बेला भने बा–आमाको कुरा मिल्न छाड्यो । बाले अर्को बिहे गरे, बिहे दर्ता नगरेका कारण आमा कानुनी प्रक्रियामा जान सकिनन् ।

काठमाडौं बाहिर आमासँग बस्न थालिन् गौशाला, दाइ भने बासँग अर्को सहरमा । आमा छोरीलाई पढाउँदै गुजारा गर्न अर्काको घरमा काम गर्थिन् । तर, स्कुलमा जेहेन्दार गौशाला कक्षामा पहिलो–दोस्रो भइरहने, वक्तृत्वकलामा पुरस्कार जितिरहने । त्यसैले कापीकलम आफैं जुटाउन सक्थिन् ।

आमासँगै अर्काको घरको काम सघाउँदै एसएलसी सकेकी गौशाला काठमाडौं आएर पढ्ने विचार गरिन् । तर, आमाको आर्थिक क्षमता थिएन । सहयोग पाउने बाटा थिएनन् । काठमाडौंका नाम चलेका तीनवटा कलेजमा आवेदन दिएकी थिइन् । तीमध्येको एउटाले छात्रवृत्ति दिने भयो । विदेशमा रहेका एक जना भलादमीले मासिक ३ हजार रुपैयाँ ‘स्पोन्सर’ गरिदिने भए । त्यतिले पनि उनी काठमाडौंमा टिक्ने अवस्था थिएन । उनले इन्टरनेटमा खोजिन्, मासिक ८ हजार रुपैयाँ तिर्नेगरी सस्तो होस्टेल भेटियो । उनले स्पष्ट कुरा राखिन्, ‘मेरो अवस्था यस्तो छ, नियमित रूपमा मासिक ८ हजार तिर्न सक्ने अवस्था छैन । कहिलेकाहीं ढिलो भएछ भने पनि मलाई होस्टेलबाट ननिकाल्नुहोला ।’

होस्टेल सञ्चालक महिलाले ‘हाम्रो काम सघाउँदै बस न त नानी, तिमीलाई छोरीजस्तै गरी राखौंला’ भनिछन् । मासिक शुल्कको सट्टा खाना पकाउन, भाँडा माझ्न र सरसफाइ गर्न सघाउने सर्तमा उनी होस्टेलमा बस्न पाउने भइन् । केही समय त्यसरी पढेकी उनलाई होस्टल सञ्चालकले एक इन्स्टिच्युटमा काम खोजिदिए । बिहानको सुरुको क्लासमा आफूले सिक्ने त्यसपछि अकाउन्टसँग सम्बन्धित ‘प्रोग्राम’ अरूलाई सिकाउने काम मिल्यो– मासिक ८ हजार रुपैयाँ तलब पाउने गरी । उनले होस्टेलमा सहयोगीभन्दा अफिसकै काम गर्नु उचित ठानिन् र त्यो तलबबाट होस्टेल खर्च धान्ने हिसाब निकालिन् ।

इन्स्टिच्युटमा पार्ट टाइम काम पाएपछि उनले नियमित तलब पाउने भइन्, तलब बुझ्न बैंक खाता चाहिने भयो । उनी बा भएको ठाउँमा गएर नागरिकता बनाइन् । २०७९ को असार १५ मा उनको नाममा नागरिकता जारी भयो । नागरिकतामा जन्ममिति स्पष्ट छ– २०६२ जेठ १८ । यो हिसाबले घटना हुँदा उनी १७ वर्षकी मात्र थिइन् । सन्दीपसँग कुराकानी भदौमा मात्र सुरु भएको हो । जबकि उनको नागरिकता असार १५ मा बनेको हो । तर, पनि बजारमा हल्ला छ– सन्दीपलाई फसाउन नयाँ नागरिकता बनाइएको हो ।

...

सुरुमा, नेपाली क्रिकेट टिमका देव खनालले बेडमा बसेर गितार बजाउँदै गरेका सन्दीपको तस्बिर स्न्यापच्याटमा पठाएका थिए । देवले सन्दीपलाई आफ्नो रुममेटको रूपमा चिनाउँदै त्यसअघि पनि सन्दीपको ‘स्न्यापच्याट’ आईडी देखिने गरी तस्बिरहरू पठाएका थिए । गौशालाले पहिले वास्ता गरेकी थिइनन् । यस पटक भने उनले आफैं ‘रिक्वेस्ट’ पठाइन् । सन्दीपले तुरुन्तै ‘एसेप्ट’ गरे । ‘अदालतमा बकपत्रको क्रममा सन्दीपले देवको साथी भनेर आफूले मेरो रिक्वेस्ट एसेप्ट गरेको बताएको छ तर, स्नापच्याटमा म्युचुअल फ्रेन्ड्स नै देखिँदैन,’ गौशाला भन्छिन् ।

भदौ १ मा स्न्यापच्याटमा साथी बनेपछि सुरु भएको कुराकानीले उनीलाई भदौ ५ को भेटसम्म पुर्‍याएको थियो । त्यसअघि गौशालाको जीवनमा अभाव र संघर्ष त जरुर थियो, तर अहिलेजस्तो पीडा र उल्टै लाञ्छना थिएनन् । समाजसँग डराएर हिँड्नुपरेको थिएन । ‘घर छाड्नेबेला आमाले किड्नी बेचेर भए पनि पढाउँछु भन्नुभएको थियो । त्यही सम्झेर रातदिन मिहिनेत गरेकी थिएँ,’ कान्तिपुरसँको कुराकानीमा आमाको दुःख र प्रतिबद्धता सम्झेर उनी बारम्बार भक्कानिन् ।

संघर्ष गरेर पढ्दा उनलाई कलेजले पनि सकेजतिको सहयोग गरेको रहेछ । ‘मैले प्राय किताब किन्नु परेन, प्रकाशकले स्कुललाई पठाइदिएका किताब नै सरहरूले मलाई दिनुहुन्थ्यो । कलेजको ड्रेस एक जना सरले र जुत्ता अर्को सरले ‘स्पोन्सर’ गरिदिनुभएको थियो,’ भन्छिन्, ‘कलेजमा काठमाडौंका सम्पन्न परिवारका व्यक्तिहरूसमेत पढ्थे । उनीहरूले छाडेर गएका सामान केही दिनसम्म ‘लस्ट एन्ड फाउन्ड’ मा रहन्थे । मैले सरहरूलाई मेरो क्याल्कुलेटर भएन भन्ने गुनासो गरेपछि उहाँले ‘लस्ट एन्ड फाउन्ड’ मा भएकोमध्येबाट प्रयोग गर्न मिल्ने रोजेर लग भन्नुहुन्थ्यो । मेरो कलेज जीवन यसरी चलेको थियो ।’ गौशालाका अनुसार यी सबै संघर्षका कथा उनले सन्दीपलाई बताएकी थिइन् । स्न्याप च्याटमा पनि र भेटमा पनि ।

घटनाको दिन सन्दीप सेतो रङको कार लिएर भेट्न आए । भेट्दाको अनुभूति गौशाला भन्छिन्, ‘मलाई त केबल वाउ भन्ने मात्र भयो ।’

सन्दीपले बस्न अनुरोध गरे । कहाँ जाने भन्ने कुरै हुन पाएको थिएन, गाडी स्टार्ट गरे । भोलि (भदौ ६) देखि सन्दीप खेल्न जान लागेको प्रतियोगिताको कुरा भयो । ‘कोटेश्वर पुगेर मैले फेरि सोधें– कहाँ जाने हो ? उसले ‘लेट्स सी’ भन्यो,’ गौशाला भन्छिन्, ‘म होस्टेल बस्न थालेपछि साँझमा होस्टेल छाडेर हिँडेको त्यो नै पहिलो र अन्तिम दिन हो ।’

गौशालाले कहाँ जाने हो भन्ने थाहा नपाउँदै गाडी अगाडि बढ्यो । लोकन्थलीबाट भित्री बाटोतिर मोडियो । ‘त्यहाँ पुगेपछि नगरकोट जाने भन्ने भयो । म पहिले गएकी थिइनँ । हामीले मूलसडक छाडिसकेका थियौं । भित्रीबाटो धेरै नै साँघुरो थियो, अर्कोतिरबाट आएको गाडीलाई साइड दिन ब्याक गर्नुपर्थ्यो,’ सम्झिन्छिन्, ‘किन त्यस्तो बाटो गएको होला भनेर अहिले सम्झँदा ढिला गर्ने उद्देश्यले लिएर गएको हो रहेछ जस्तो लाग्छ ।’

उनीहरू नगरकोट पुगे । सन्दीपले गौशालालाई ड्रिङ्सका लागि कर गरे । उनले मानिनन् । आफ्ना लागि मगाएको हुक्का खान भने, त्यो पनि मानिनन् । तर, पनि कुराकानी सौहार्दपूर्ण नै थियो । ‘त्यो बेलासम्म राम्रै कुरा गरेको थियो । मैले पनि आफ्नो कथा भनेकाले उसले मलाई मोटिभेट हुने नै कुरा गरिराखेको थियो,’ उदाहरण दिँदै भनिन्, ‘मैले तिम्रो आँखा कति राम्रो छ भनें भने तिमीले आहा भन्छौं । तर, मैले तिम्रो कपाल किन यस्तो लथालिंग छ भनें भने तिमीले विभिन्न बहाना खोज्न थाल्छौ । सेरम लगाउन बिर्सिएँ, वा कोर्न बिर्सिएँ वा हतार भयो भन्छौं । हामीले सकारात्मक कुरालाई जीवनमा सजिलै स्वीकार गरिरहेका हुन्छौं, तर नकारात्मकलाई भने विभिन्न बहाना बनाउँछौं ।’

गौशालालाई अहिले आएर लागेको छ, सन्दीपले ती सबै कुरा उनलाई प्रभावित पार्ने उद्देश्यले गरेका रहेछन् । भन्छिन्, ‘मेरो पारिवारिक पृष्ठभूमि थाहा पायो । आर्थिक अभावमा संघर्ष गर्नुपरेको पनि थाहा पायो । उसले आफ्नो उदाहरण दिँदै भन्थ्यो– म कस्तो अवस्थाबाट आएर आज कहाँ छु, तिमी पनि भोलि यहाँ हुन सक्छौ ।’

ठीक यही बेला उनलाई लाग्यो, बाहिरबाट हेर्ने मानिसहरूले कुरै नबुझी सन्दीपलाई ‘एरोगेन्ट’ भन्दा रहेछन् । ‘त्यत्रो ठूलो प्रोफाइल भएको मानिस मसँग यस्ता राम्रा कुरा गरिराखेको छ । मैले मेरा साथीहरूलाई तिमीहरू गलत छौ भनेर सावित गर्नेछु भन्ने सोच्दै थिएँ,’ उनले भनिन् ।

उनीहरू बसिराखेको स्थानमा होटल स्टाफ आएर बारम्बार सन्दीपलाई ‘सर, भीआईपी रुम बुक गरिदिऊँ’ भन्दै सोध्थे । गौशालाले बारम्बार फर्कनु छ भनिराखेकी थिइन् । तर, सन्दीपले रुम चाँहिदैन भनेनन् । उनले कहिले ५ मिनेटपछि आऊ कहिले १० मिनेटपछि आऊ भन्दै पठाए । ‘नगरकोट पुग्ने योजना नै थिएन । भोलिपल्ट क्रिकेट खेल्न विदेश जाने खेलाडीलाई अघिल्लो साँझ त्यत्रो समय हुन्छ भन्ने पनि मलाई थाहा थिएन । भेटेर एकछिन कुरा गर्ने, केही फोटो खिचेर फर्कने योजनाले मात्र म आएकी थिएँ, तर ११ बज्न थालेपछि धेरै ढिला भइसक्यो भनेर मैले अब त नफर्की हुन्न भनेर ढिपी गरें,’ भनिन्, ‘उसले त्यसपछि रिसाउँदै ‘कहाँ पच्थ्यो त’ भन्यो । त्यो मैले अझै पनि बिर्सन सकेकी छैन । यत्रो होटलमा लिएर आएको छु, तँ जस्तो मानिस (अफोर्ड गर्न नसक्ने) लाई कहाँ यस्तो कुरा कहाँ पच्थ्यो त भनेर मलाई ह्युमिलिएट गर्‍यो ।’

फर्कँदा लोकन्थली पुगेपछि गौशालाले रुममेटलाई मेसेज पठाइन् । सुरुसुरुमा होस्टेल सञ्चालककै परिवारको सदस्यको रूपमा बसेकाले ‘राति कहाँ, कोसँग गएको’ भनेर आउनसक्ने सम्भावित प्रश्नबाट उनी डराइन् । ‘यो कुरा मैले सन्दीपलाई भनें । उसले मलाई एउटा होटलमा छाडिदिएर आफू सबै खेलाडी भएको होटलमा फर्कने उपाय सुझायो । मलाई पनि होस्टेलमा विभिन्न प्रश्नको जवाफ दिनुभन्दा भोलि बिहानै जान पाइने भए ठिकै छ नि भन्ने लाग्यो,’ उनी भन्छिन्, ‘यति कुरा हुँदा मैले एउटा फोटो खिच्न खोजें । उसलाई भेट्नुको सबैभन्दा ठूलो उद्देश्य त्यही थियो । तर, उसले मोबाइल खोसेर फोटो खिच्न दिएन । क्याम्पबाहिर आएको बेलामा फोटो खिच्दा केही समस्या पर्ने भएर नमानेको होला भन्ने लाग्यो र अन्यथा केही सोचिनँ ।’

त्यसपछि सन्दीपले तिलगंगास्थित काठमाडौं इन होटलका अनिश श्रेष्ठलाई फोन गरेर ‘त्यही रुम गरिदिनू’ भने । गौशालाले पनि बस्ने भए दुइटा कोठा भन्नु भनेर अनुरोध गरिन् । उनका अनुसार फोन राखेपछि सन्दीपले भने, ‘होटलमा दुइटा रुम नै छैन रे ।’

‘त्यसो भए हुन्न’ गौशालाले भनिन् ।

‘म तिमीलाई होटलमा छाडेर आफ्नो टिम बसेको होटलमै फर्कन्छु’ सन्दीपले जवाफ फर्काए ।

होटलको गेटमा पुगेपछि गाडीबाट ओराल्नुअघि सन्दीपले सोधे, ‘मास्क छ ?’ गौशाला भन्छिन्, ‘मैले आफूसँग नभएको बताएपछि उसले पहिले आफूले प्रयोग गरिसकेको मास्क दिएर लगाउनैपर्छ भनेर दबाब दियो ।’ गौशालालाई रिसेप्सनतिर पठाएर सन्दीप गाडी पार्क गर्न गए । गाडीबाटै सन्दीपले फोन गरेकाले अनिश चाबी लिएर कुरिबसेका थिए । उनी रुममा पुगिन् । एउटा मात्र बेड थियो । ‘एकैछिनमा सन्दीप आयो, रुमको एसी चलेको थिएन । त्यसो भएपछि उनीहरूले अर्को रुममा सर्ने कुरा गरे । अघिसम्म एउटा मात्र छ भनेकोमा उक्त होटलमा अब रुम दुइटा निस्किए,’ उनले भनिन्, ‘त्यतिबेला पनि मैले फेरि भनें, एसी बिग्रेको भए पनि म यसैमा बस्छु । तपाईं एसी चल्ने रुममा जानू । उसले एकछिन कुरा गरेर आफ्नो होटल फर्कने बतायो ।’

बिहानै अफिस, त्यसपछि होस्टेल, त्यहाँबाट कलेज, फेरि होस्टेल अनि चिताउँदै नचिताएको नगरकोट यात्रा र राति अबेर काठमाडौं फिर्ती । साँझको खानासमेत नखाएकी गौशाला थाकेर लखतरान थिइन् । ‘ऊ एकछिन गफ गरेर फर्कनेवाला थियो । म कुर्सीमा बसिराखेको थिएँ । उसले बेडमा बस्दा हुन्छ नि भन्यो । त्यसपछि म बेडमा गएँ,’ उनले भनिन्, ‘उसले अघि मैले फोटो खिच्न लाग्दा खोसेकाले मसँग मेरो फोन थिएन । माग्दा उसले नाटक गरेर गाडीमै छुटेछ भन्यो । मैले लिन जाऊ कि जाऊ भन्न सकिनँ । कुरा गर्दागर्दै म बेडमै निदाएछु ।’

‘उसको शरीरले मलाई डोमिनेट गरेको थाहा पाएर हठात् झस्किएँ । हात हटाउन खोजें, सकिनँ । मैले नमान्दा नमान्दै उसले मलाई रेप गर्‍यो । उसको सिमेन (वीर्य) मेरो शरीरमा परेको थियो । बाथरुम गयो । टिस्यु लिएर आएर मेरो अनुहारमा फालिदियो,’ आफूमाथि त्यो रात भएको अत्याचार सम्झिएर बारम्बार भक्कानिइन् ।

गौशालाका अनुसार उनलाई पहिले भेट्नुअघि नै आफूहरूबीच भेट हुँदै छ भनेर कसैलाई पनि नभन्न भनिएको थियो । ‘त्यो घटनापछि पनि मलाई यो घटना कसैलाई नभन्नू भनेर त्यस्तै गरी थर्कायो,’ उनी भन्छिन् । तत्काल त्यहाँबाट निस्कन सम्भव थिएन । उनले चिनिराखेको ठाउँ पनि थिएन । आफू कहाँ छु भन्ने पनि थाहा थिएन ।

यो घटनालाई उनले भदौ २१ मा प्रहरीसमक्ष र त्यसपछि अदालत पुर्‍याइन्, अहिले थुप्रैले तुरुन्तै किन उजुरी नगरेको भनेर उल्टै प्रश्न सोधिरहेका छन् । मान्छेहरूको यो प्रतिक्रिया देख्दा उनी फिल्मका कथा सम्झिन्छिन् । ‘फिल्ममा बलात्कार हुँदा महिलाको घाँटी न्याकेको, शरीर रगताम्मे भएको, लुगा च्यातिएको वा महिलाहरू मारिएको देखाइएको हुन्छ । बारम्बार ती दृश्य देख्दा हामीलाई पनि त्यस्तो नभएसम्म बलात्कार नै हुन्न भन्ने लागिसकेको हुनेरहेछ,’ उनी भन्छिन्, ‘त्यसैले त अहिले मानिसहरूले उल्टै मलाई प्रश्न गरिराखेका छन् । म उनीहरूलाई सोध्न चाहन्छु– के बलात्कृत भएको प्रमाणित हुन म मारिनुपर्थ्यो ?’

उनी दोहोर्‍याएर भन्छिन्, ‘घटना मेरो सहमतिमा भएको थिएन । मौखिक रूपमा पनि थिएन । व्यवहारबाट पनि सहमति थिएन । नगरकोट जाने योजना थिएन । फर्केर होटल जाने पनि योजना होइन । झुक्याएर र बाध्यतामा पारेर मलाई त्यहाँ पुर्‍याइएको थियो ।’

नेपालमा हरेक दिन सात जनाको अनुपातमा महिला तथा बालिका बलात्कारको सिकार भइरहेका छन् । नेपाल प्रहरीको आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार एक वर्षमा जबर्जस्ती करणी, अपहरण तथा जबर्जस्ती करणी र जबर्जस्ती करणी गरी ज्यान मारेको घटना २ हजार ४ सय ६१ वटा भए । बलात्कारका घटना हतपत सार्वजनिक नै नहुने तर अपहरणपछि बलात्कार वा बलात्कारपछि हत्याजस्ता घटना मात्र सार्वजनिक हुने कारणले पनि समाजका धेरै मानिसले तिनै अवस्था भएमा मात्रै बलात्कार भएको ठान्छन् ।

अरू त अरू कैयौं अवस्थामा सर्वोच्च अदालतले समेत बलात्कारलाई महिलाको व्यक्तिगत स्वतन्त्रता, मानवअधिकार र आत्मनिर्णयको अधिकारविरुद्धको अपराधका रूपमा नस्वीकारेर उनको इज्जत र प्रतिष्ठामा लाग्ने दागका रूपमा चित्रण गरिरहेको पाइन्छ । सर्वोच्च अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेका फैसलामा समेत बलात्कारको परिणाममा ‘...महिलालाई सामाजिक रूपमा लाञ्छना लाग्ने, उनको चरित्रमा दाग लाग्ने, मान–प्रतिष्ठामा आँच आउने, अस्मितामा प्रश्न उठ्ने, सतित्व नाश हुने...’ जस्ता मान्यता उल्लेख गरेको पाइन्छ । अर्थात् यी कारणहरूले मात्रै बलात्कार अपराध भएको हो भन्ने सुसुप्त दृष्टिकोण ती फैसलामा पाइन्छ ।

यस्तो दृष्टिकोणले अहिले गौशालामाथि पनि विभिन्न प्रश्नहरू उठाइएको छ । ‘म यस्तो अवस्थामा थिएँ कि अहिले त्यो कोठाको रङ कस्तो थियो भनेर तपाईंले सोध्नुभयो भने मैले सायद सम्झन सक्दिनँ । मलाई त्यो ज्यादती कसरी सुरु भयो र कसरी अन्त्य भयो भन्ने पनि सम्झना छैन,’ उनी भन्छिन्, ‘एकछिन गफ गरेर आफ्नो होटल जान्छु भनेको थियो । तर, उसको मनमा सुरुदेखि नै त्यो अपराधले ठाउँ लिएको रहेछ । म मानसिक रूपमा पूरै विचलित भएकी थिएँ ।’

गौशालाले त्यो राति आफूमाथि दुई पटक बलात्कार भएको बताइन् । ‘मेरो कपाल यति लामो (आफ्नो कम्मरसम्म हातले देखाउँदै) थियो । उसले त्यो दिन मेरो कपाल तानेर ती सबै कुरा गरायो, जुन म कहिल्यै चाहँदैनथें,’ उनले भनिन्, ‘त्यो बेला म केही उपाय नलागेपछि रुन थालें । त्यसपछि उसले भनेअनुसार नगरेको भनेर नराम्रोसँग पिट्यो । केही दिनपछि जब म सम्हालिएँ । सबैभन्दा पहिले यो कपाल काटिदिएँ । उसले तानेको कपाल सम्झेर पनि मलाई एलर्जी हुन्छ ।’

धेरै मानिसले अहिले सामाजिक सञ्जालहरूमा त्यही दिन किन प्रहरीकोमा नगएको ? किन नचिच्याएको ? भन्ने जस्ता प्रश्न गरेर उल्टो लाञ्छित गरिरहेका छन् । ‘म कहाँ थिएँ भन्ने पनि थाहा थिएन । त्यति शक्तिशाली मानिस, उसैले बुक गरेको होटल, उसैले चिनेका मानिसहरू । मलाई मारेर फालिदिन्छन् कि भन्ने पनि डर लाग्यो,’ उनी भन्छिन्, ‘तर त्यो परिबन्दमा नभएका मान्छेहरू सुविधापूर्वक यसो गरेको भए हुन्थ्यो, उसो गरेको भए हुन्थ्यो भनेर सजिलै भनिरहेका छन् ।’

बिहान उनले सन्दीपको गाडीको नम्बर प्लेटको फोटो खिचेर देव खनाललाई पठाइन् । ‘त्यसपछि सन्दीपले फोन गरेर गाली गर्दै तैंले त्यो फोटो किन पठाएको भन्दै थर्कायो,’ उनले भनिन् । गौशालाका अनुसार सन्दीपले तँ भनेरै गाली गरेका थिए । त्यही दिन केही समयपछि सन्दीपले स्न्याप च्याटमा साथीको सूचीबाट गौशालालाई हटाए ।

केही दिन अफिस र कलेज छुट्यो । साहस जुटाएर उनले आफूमाथि भएको अपराधबारे मिल्ने साथीलाई सुनाइन् । ‘उसले विश्वास नै गरेन । तेरो नै गल्ती होला भन्यो । सन्दीप लामिछाने व्यक्तिको गल्ती हुन सक्छ होला तर नेपालको राष्ट्रिय टिमको कप्तानले उसको जिम्मेवारीले पनि त्यसो गर्न दिन्न भन्दै मलाई नै अविश्वास गर्‍यो,’ गौशाला भन्छिन् ।

केही दिनपछि उनी आमालाई भेट्न गइन् । दुई दिन घर बसेपछि फर्कनु अघिल्लो दिन कुराकानीको सुरुआत गर्दै उनले सोधिन्, ‘ममी, मलाई किन घर आएकी छोरी भनेर सोध्नुहुन्न ?’ आमाले भनिन्, ‘छोरी घर आउँदा पनि किन सोध्नू ? मलाई त न्यास्रो नै मेटिएको छ ।’

तर, जब गौशालाले आमालाई आफूमाथि भएको ज्यादती सुनाइन्, आमाले गालामा झापड हानिन् । ‘ममीले आफूले कति धेरै हिंसा सहनुभएको थियो । आफूलाई मन परेको केटासँग बिहे गर्दा माइती त्याग्नुपर्‍यो । त्यसपछि जो मान्छेलाई मन पराएर बिहे गरेको, उसैले छाडिदियो । अर्काको घरमा काम गर्दा कुन नजरले मानिसले हेर्छन् त्यो ममीले भोग्नुभएको थियो । उहाँको चिन्ता अब तँलाई कसैले पनि बिहे गर्दैन भन्ने थियो,’ गौशाला भन्छिन् ।

सुरुमा त उनकी आमाले ‘त्यति धेरै शक्तिशाली मानिससँग हामी लड्न सक्दैनौं, यो घटना बिर्सनू’ भनेकी थिइन् । ‘तर, म जत्तिको पढेलेखेको मानिस पनि चुप लागें भने कसले बोल्छ त भनेर आमालाई सम्झाएँ,’ त्यसपछि दाइसँग पनि कुरा भयो र काठमाडौं आएर भदौ २१ मा उजुरी दियौं ।’

तर, पाँच महिना गौशाला लुकेर बस्नुपर्‍यो । ‘अहिले पनि म लुकीलुकी हिँड्नुपरेको छ । घाम देख्दा पनि तर्सने गरी बस्नुपरेको छ । मानिसले जो पीडक हो, उसैप्रति सहानुभूति राखेका छन्, उसैलाई पीडितका रूपमा उभ्याएका छन्,’ उनी भन्छिन्, ‘तपाईंहरूका लागि ऊ अभियुक्त होला, मेरा लागि अपराधी हो । ऊ जेलबाट निस्कँदा टीका, फूलमाला र अबिर लगाइदिए, ताली बजाए तर जो पीडित हो, ऊ लुकेरै बस्नुपरेको छ । यो कस्तो समाज हो भनेर कसै न कसैले प्रश्न गर्छ नि ।’

उजुरी पर्दा सन्दीप जमैकामा सीपीएल खेल्दै थिए । टिमले हटायो । क्यानले राष्ट्रिय टिमको कप्तान र खेलाडीबाट निलम्बन गर्‍यो । नेपाल आउँछु भनेर सामाजिक सञ्जालमा लेखेर करिब १ महिना लुके । असोज २० मा फर्केका उनलाई काठमाडौं विमानस्थलबाट पक्राउ गरी मुद्दा दर्ता गरियो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालतले पुस २८ गते २० लाख धरौटीमा छाड्यो । त्यसविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने निर्णय गरेको छ ।

तर, यहीबीच बयान बदल्न लगाउने प्रयास पनि भएको उनको भनाइ छ । ‘सन्दीपको दाइ मेरो वकिल बनेर मेरी आमालाई भेट्न गएर यो मुद्दा तिमीहरूले जित्न सक्दैनौं, पैसा लिएर मिल्नू भनेछ । मलाई सिंगापुर, अस्ट्रेलिया वा अमेरिका जहाँ जाने हो, त्यहीं सेटल गरिदिन्छौं, ५ लाख डलर दिन्छौं भन्न आए । मैले मानिनँ’ किन भन्ने प्रतिप्रश्न गर्दै उनी भन्छिन्, ‘हिजो पल शाहको केसमा किशोरीलाई फकाएर, फुलाएर बयान बदल्न लगाए । पीडितको आवाजलाई कमजोर बनाए । मैले अहिले बयान बदलें भने भोलि अत्याचारमा पर्ने कसैले पनि बोल्न सक्ने छैनन् । बोलेपछि दुनियाँले पत्याउने छैन । भोलि कुनै दिदीबहिनीले अत्याचार सहेर बस्न नपरोस् भनेर पनि म डटिरहन्छु ।’

प्रकाशित : माघ १६, २०७९ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्

नैतिकता र सुशासनको परीक्षा बल्ल सुरु

रवि लामिछानेलाई कानुनविद्हरुको सुझाव
१. नागरिकता लिन सक्छन्, तर दोहोरो राहदानीको अनुसन्धानलाई सघाउनुपर्छ
२. सफाइ नपाएसम्म मन्त्री वा कुनै पनि सार्वजनिक पदमा फर्कन मिल्दैन
३. गृह मन्त्रालयमा आफ्नै सांसदलाई पठाएर स्वार्थको द्वन्द्व सिर्जना गर्नु हुँदैन
तुफान न्यौपाने

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री र सांसद पद बदर गरिदिए पनि विधिपूर्वक नागरिकता लिने, राहदानीको अनुसन्धानलाई सघाउने र सफाइ पाएमा इज्जतपूर्वक सक्रिय राजनीतिमा फर्कने बाटो रवि लामिछानेका लागि खुला छ, तर उनले नैतिक धीरता प्रदर्शन गर्छन् कि जसरी पनि शक्तिमा फर्कने खेल खेल्छन् ? प्रश्न उनीतर्फ सोझिएको छ ।

अमेरिकी नागरिकता लिएपछि कायम नरहेको नेपालको नागरिकता प्रयोग गरेर प्रतिनिधिसभामा उम्मेदवार बनेका कारण उनको सांसद पद बदर भएको हो । संवैधानिक इजलासले शुक्रबार गरेको फैसलाका कारण लामिछानेले एकै पटक चार पद गुमाएका छन् । सांसद पद बदर भएसँगै उनले उपप्रधान तथा गृहमन्त्री पनि छाड्नुपरेको छ । त्यस्तै आफ्नै पार्टीको सभापति र सदस्य बन्न पनि उनी अयोग्य सावित भएका छन् । यी सबै पदका लागि नेपाली नागरिक हुन अनिवार्य छ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको संवैधानिक इजलासले लामिछानेका विषयमा निर्वाचन आयोगमा भएका सबै प्रक्रिया बदर गरिदिएको हो । लामिछानेको उम्मेदवारी कायम गर्ने, निर्वाचित घोषणा गर्ने र प्रमाणपत्र दिने आयोगको कामकारबाही बदर भएको छ । उनी गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका थिए ।

सर्वोच्च अदालतको शुक्रबारको फैसलाले नजिर स्थापित गर्दै भनेको छ– विदेशको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता कायम रहँदैन र त्यस्तो व्यक्तिले विदेशको नागरिकता त्यागेपछि नेपालको नागरिकता प्राप्त गर्न सक्छ, तर स्वतः होइन, यसका लागि प्रक्रिया पूरा गर्नुपर्छ ।

सर्वोच्चको फैसलालाई थप स्पष्ट पार्दै निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता रमण कर्णले कान्तिपुरसँग भने, ‘नेपाली नागरिकता पुनः प्राप्त गर्न विदेशको नागरिकता त्याग गरेको निस्सा सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष अनिवार्य पेस गर्नुपर्छ र पुनः नेपाली नागरिकता पाउँ भनेर निवेदन दिनैपर्छ भन्ने स्थापित भएको छ ।’

लामिछानेका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुनील पोखरेलका अनुसार अदालतले भनेअनुसारको प्रक्रियामा प्रवेश गरेर लामिछानेले नागरिकता लिनेछन् । ‘नागरिकता ऐनअनुसारको प्रक्रियामा प्रवेश गर्नुपर्ने कुरा अब अनिवार्य भयो । त्यसो नगरेसम्म सर्वोच्च अदालतले रविजीलाई नेपाली नागरिक नै मानेन,’ उनले भने, ‘नागरिकताको प्रमाणपत्र नभएको भन्ने आधारमा उम्मेदवारी नै रद्द भएपछि अब त्यो प्रक्रियामा नगई सुख भएन ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकालले लामिछानेले पुनः नागरिकता प्राप्त गर्ने प्रक्रिया आइतबार नै अगाडि बढाउने विषयमा छलफल भइरहेको बताए । पुनः नागरिकता लिएर लामिछानेकै नेतृत्वमा पार्टी चल्ने उनको भनाइ छ । ‘त्यसमा कुनै शंका छैन । यसको प्राविधिक कुरा कसरी सच्याउने भनेर हेरिरहेका छौं,’ ढकालले भने । पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिएको छ । उनी श्रममन्त्रीसमेत हुन् ।

कतिपयले लामिछानेले नेपाली नागरिकता प्राप्त गर्नेबित्तिकै गैरसांसदका रूपमा मन्त्री पदमा नियुक्ति लिन सक्ने तर्क गरेका छन् । यद्यपि उनको दलले यस विषयमा स्पष्ट बोलेको छैन । तर, एकै पटक नेपाल र अमेरिकाको नागरिकता र राहदानी प्रयोग गरेको विषय फौजदारी कसुर मानिने भएकाले अनुसन्धान नटुंगिउन्जेल सार्वजनिक जिम्मेवारी लिन नमिल्ने तर्क उठेको छ ।

सफाइ नपाएसम्म मन्त्रीको नियुक्ति लिएमा सुशासनको पैरवी गर्ने लामिछानेको नैतिक धरातल समाप्त हुने मात्र होइन, कानुनी रूपमा पनि प्रश्न उठ्ने अधिवक्ता कर्णको भनाइ छ ।

‘त्यस्तो निर्णय र नियुक्ति भएछ भने लामिछानेप्रति मात्रै होइन यो सरकारप्रति पनि प्रश्न उठ्छ,’ उनले भने, ‘जबर्जस्ती गरेर अहिले नै कुनै पद लिन मिल्दैन । राज्यका निकायले गरिरहेको अनुसन्धानलाई सघाउनु र त्यसको निष्कर्ष पर्खनु उनका लागि र देशका लागि उचित हुन्छ ।’

सर्वोच्चमा रिट दर्ता गराएका अधिवक्ता युवराज पौडेलले गत मंसिर १२ मा गृहसचिवलाई सम्बोधन गर्दै लामिछानेले एकै पटक दुई देशको नागरिकता र राहदानी प्रयोग गरेकामा छानबिन गर्न अनुरोध गर्दै उजुरी दिएका थिए  । उक्त उजुरीलाई गृहले काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई र प्रशासनले काठमाडौं प्रहरी परिसरलाई पठाएका थिए  । प्रहरीको तालुकवाला मन्त्रालयमा लामिछाने आफैं मन्त्री बनेर आएपछि उजुरीमाथिको अनुसन्धान रोकिएको छ । सुशासनको लोकप्रिय नारा दिएर चुनाव जितेका लामिछानेले आफैंमाथि फौजदारी कसुरमा अनुसन्धान गरिरहेको निकायको तालुकवाला मन्त्रालयको जिम्मेवारी लिएको भन्दै त्यतिबेलै आलोचना भएको थियो ।

आफ्नो दलका तर्फबाट अरू कसैलाई सरकारमा पठाउन भने लामिछाने स्वतन्त्र छन् । तर, आफू नजाने अवस्थामा आफ्नै दलका कुनै पनि नेतालाई गृह मन्त्रालय दिन पनि नमिल्ने कानुन व्यवसायीहरूको भनाइ छ । ‘हठ गरेर गृह मन्त्रालय लिनु स्वार्थको द्वन्द्व हो, वैकल्पिक राजनीतिको पैरवी गर्ने दल र नेताले त्यस्तो गर्न मिल्दैन,’ अधिवक्ता कर्ण भन्छन्, ‘लामिछाने गृहमन्त्री बनेपछि नागरिकता र राहदानी दुरुपयोगमा प्रहरीले गरिरहेको अनुसन्धान रोकिएको थियो । अब त्यो नटुंगिएसम्म उनी र उनको दलका नेता गृहमा आउन मिल्दैन, क्लिन चिट पाएपछि जुन मन्त्रालय लिए पनि हुन्छ ।’

लामिछानेको सांसद पद बदर भएसँगै अब चितवन–२ मा उपनिर्वाचन हुनेछ । प्रतिनिधिसभा निर्वाचनसम्बन्धी कानुनमा प्रत्यक्ष निर्वाचित कुनै सदस्यको पद रिक्त भएमा उपनिर्वाचन हुने व्यवस्था गरेको छ । निर्वाचन आयोगका एक आयुक्तले सर्वोच्चको फैसला आइसकेपछि आयोगले सरकारसँग परामर्श गरेर कानुनबमोजिम उपनिर्वाचन गर्नेर् बताए ।

लामिछानेले दुईवटा नागरिकता र राहदानी प्रयोग गरेको कसुरमा काठमाडौं प्रहरी परिसरले गरिरहेको अनुसन्धानका आधार भेटिएमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गर्न सक्छ । त्यसलाई अदालतले नियमित प्रक्रियाबाट सुनुवाइ गरी फैसला दिन सक्छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले भने फौजदारी मुद्दा हेर्दैन, उसले प्रतिनिधिसभा सदस्यको अयोग्यतासम्बन्धी विवादमा मात्र सुनुवाइ गर्ने क्षेत्राधिकार प्रयोग गरेको हो ।

बहसका क्रममा लामिछानेका कानुन व्यवसायी नरेन्द्रप्रसाद गौतमलाई न्यायाधीश खतिवडाले ‘अमेरिकाको नागरिकता त्याग्नुअघि नै कायम नरहेको नेपाली नागरिकता प्रयोग गरेर राहदानी निकाल्न पाइन्छ ?’ भनी सोधेका थिए । जवाफमा गौतमले उक्त प्रश्न संवैधानिक इजलासको सुनुवाइसँग सम्बन्धित नरहेको बताए । तर, लामिछानेले त्यस्तो कसुर गरेका होइनन् भन्न सकेनन् ।

सर्वोच्च अदालतको फैसलापछि गृह मन्त्रालयबाट बाहिरिँदै गर्दा लामिछानेले आफूले फैसलालाई सम्मान गर्ने बताए पनि आगामी प्रक्रियाका बारेमा भने ‘अनागरिक’ ले जवाफ दिन नसक्ने प्रतिक्रिया दिए । उनका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता पोखरेलले सर्वोच्च अदालतको आदेश अप्रत्याशित भएको प्रतिक्रिया दिँदै भने, ‘तर संवैधानिक इजलासको फैसला स्वीकार्नुको विकल्प छैन ।’

रिट निवेदक अधिवक्ता रविराज बसौलाले सर्वोच्च अदालतको फैसलाले कानुन सबैका लागि समान हुन्छ, त्यसभन्दा माथि कोही छैन भन्ने पुनःस्थापित गरेको बताए । ‘लामिछानेले पुनः नेपाली नागरिकता प्राप्त गर्न कानुनले तोकेको प्रक्रिया पूरा नगरेको हाम्रो दाबी थियो, संवैधानिक इजलासले न्यायको फैसला दिएको छ,’ उनले भने ।

प्रकाशित : माघ १४, २०७९ ०७:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×