सत्तामा फर्कन रविको आशक्ति- समाचार - कान्तिपुर समाचार

सत्तामा फर्कन रविको आशक्ति

फैसलाको पूर्ण पाठ नआउँदै र दोहोरो राहदानीको अनुसन्धान नसकिँदै तालुकवाला मन्त्रालयमै फर्कन हतार
नयाँ दलका अगुवा पनि गैरसांसद मन्त्री बनेर स्वार्थको द्वन्द्व बढाउँदै सुशासनको खिल्ली उडाउने प्रतिस्पर्धामा
बबिता शर्मा

काठमाडौँ — सुशासन र नैतिकताको राजनीति गर्ने उद्घोषसहित गत मंसिरको निर्वाचनमार्फत उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व पनि शक्ति र सत्ताप्रति आशक्त देखिएको छ । नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलासँगै सांसद, उपप्रधानमन्त्री तथा गृहमन्त्री, संसदीय दलको नेता र पार्टी सभापति पद गुमाएका रवि लामिछानेले दुई दिनमै सबै पदमा फर्किन खोजेका छन् ।

आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएलगत्तै उनले लगातार पार्टीका तीनवटा बैठक राखे । उनले आइतबार नै पार्टीको साधारण सदस्यता लिए, केन्द्रीय सदस्यमा मनोनीत भए र पार्टी सभापतिमा छानिए । लगत्तै गृह मन्त्रालय माग्न बालुवाटार पुगे । जबकि उनले एकैपटक दुई देशका राहदानी लिएको विषयमा प्रहरी अनुसन्धान सकिएको छैन ।

लामिछाने फैसलाको पूर्णपाठसमेत प्रतीक्षा गर्न तयार छैनन् । नागरिकता लिएलगत्तै उनले राहदानी विभागमा पुगेर राहदानी फिर्ता गरेका छन् । तर राज्यले गर्ने अनुसन्धान पूरा भएको छैन । उनी गृहमन्त्री भएपछि अनुसन्धान रोकिएको थियो ।

लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर पुनः जिम्मेवारी दिन माग गरेका छन् । ‘उहाँले प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा राख्नुभएको छ,’ दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने, ‘प्रधानमन्त्रीले प्रश्नहरू बाँकी छन्, यसलाई कसरी हल गरेर जाने सबैसँग सल्लाह गरौं, के गर्नुपर्ने गरौंला भन्नुभयो ।’

लामिछानेले सत्ता साझेदार दल एमालेमार्फत समेत उपप्रधान तथा गृहमन्त्री बन्न प्रधानमन्त्रीसमक्ष दबाब बढाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबारै प्रधानमन्त्री दाहाललाई भेटेर लामिछानेलाई पुरानै जिम्मेवारी दिन सुझाएका छन् । दाहालले भने राहदानी छानबिन प्रक्रिया टुंगिएपछि मात्रै पुनः जिम्मेवारीमा आउँदा राम्रो हुने बताएका छन् ।

अधिवक्ता रमण कर्ण लामिछानेलाई अहिले नै गृहमन्त्री बनाइए त्यसले राजनीतिक र कानुनी संकट ल्याउने तर्क गर्छन् । फैसलाको पूर्णपाठको प्रतीक्षा नगरी उनी पुनः गृहमन्त्री भए भने अदालतको अवहेलनाको विषय बन्ने कर्णको भनाइ छ । ‘सर्वोच्च अदालतले उहाँमाथि जारी अनुसन्धानबारे आफ्नो पूर्ण फैसलामा केही बोलेको छ कि ? सरकारका नाममा कुनै परमादेश दिएको छ कि, त्यो पनि प्रतीक्षा नगर्ने ? उहाँले एकैपटक दुई देशको नागरिकता र पासपोर्ट प्रयोग गरेकोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यसलाई प्रभाव पार्ने उद्देश्यले गृह मन्त्रालय पुग्न हतार गर्नुभएजस्तो देखिन्छ,’ उनले भने, ‘त्यो त झन् उहाँकै लागि घातक हुने देखिन्छ ।’

अनुसन्धान नटुंगिएसम्म राज्य संयन्त्रलाई सहयोग गर्नुको साटो लामिछाने अनुसन्धान नै प्रभावित हुने गरी पुनः उपप्रधान तथा गृहमन्त्रीमा जान खोलेका हुन् । ‘उहाँ गृहमन्त्री भएको अवस्थामा गृह मन्त्रालय र काठमाडौंका प्रमुख जिल्ला अधिकारीले रविजीको नागरिकताले कसैलाई क्षति गरेको छैन भन्ने जवाफ सर्वोच्च अदालतमा पठाएका थिए, कायमै नरहेको नागरिकताबारे त्यस्तो जवाफ दिने निकायले अब राहदानीबारे कस्तो अनुसन्धान गर्लान् ?’ अधिवक्ता कर्ण भन्छन्, ‘उहाँको मुद्दाका क्रममा दोहोरो राहदानी प्रयोगबारे पनि इजलासमा प्रशस्त प्रश्न उठेका थिए । त्यसमा अदालतले के भनेको छ भन्ने प्रतीक्षा पनि नगरी के काम फत्ते गर्न उहाँ हतारिरहनुभएको छ ?’ पुनः पार्टी सभापति चुनिएका लामिछानेले पार्टी बैठकमार्फत गृह मन्त्रालय आफ्नै पार्टीले लिने बताएका छन् ।

राजनीतिक विश्लेषक झलक सुवेदी लामिछानेले अहिलेका नेतालाई नै माथ दिने गरी राजनीति गरिरहेको बताउँछन् । ‘उनको पार्टीले आइतबार नै रविलाई सभापति चयन गर्‍यो जबकि उनले दुईवटा पासपोर्ट एकैपटक प्रयोग गरेको प्रश्नको जवाफ दिएका छैनन्, भोलि अर्को मुद्दा पर्ला, उनी त्यसमा फेरि पराजित हुनुपर्ला, यी कुरा सोचेका छैनन्,’ उनले भने, ‘लामिछानेले जसरी सत्ता राजनीति गरिरहेका छन्, त्यो अहिलेका नेतालाई पनि माथ गर्ने खालको छ ।’

स्वतन्त्र पार्टीका एक केन्द्रीय सदस्यका अनुसार लामिछानेकै इच्छामा उनलाई केन्द्रीय समिति बैठकले सभापतिको जिम्मेवारी दिएको हो । लामिछाने शक्तिका कति भोका छन् भन्ने उनको पार्टीको आइतबार लगातार बसेका तीनवटा बैठकले पुष्टि गर्छन् । पहिलो बैठकमा लामिछानेलाई केन्द्रीय सदस्यमा प्रस्ताव गरी पारित गरिएको थियो । दोस्रो बैठकमा सभापति प्रस्ताव गरिएको थियो भने तेस्रो बैठक लामिछानेको सभापतित्वमा बसेको थियो ।

विश्लेषक सुवेदी लामिछानेले शक्तिका लागि हतार गरेर नैतिक रूपमा आफूलाई कमजोर बनाएको बताउँछन् । ‘नागरिकता पुनःप्राप्ति गरेलगत्तै पार्टी सभापतिमा चुनिएर उनले नैतिक हिसाबले आफूलाई चुकाइहाले, कांग्रेस, माओवादी, एमाले, राप्रपाको नेतृत्व उस्तै हुन् भन्ने आमधारणा छ, रवि त्यस्तो नभइदिए हुन्थ्यो भन्नेहरूका लागि उनको पछिल्लो कदम दिक्क लाग्ने विषय हो,’ सुवेदी भन्छन्, ‘आफूमाथिका प्रश्न र मुद्दाहरूबाट सफाइ लिएपछि उपचुनावमार्फत संसद्मा आउने र मन्त्री हुने सही बाटो हुन्थ्यो । दुई दिनअघि राजीनामा दिएर फेरि मन्त्रीमा दाबी गर्ने कुरा भ्रष्ट मानसिकताको प्रतिबिम्ब हो । उनले सत्ताप्रतिको मोह देखाएर आफ्ना मतदातालाई धोका दिएका छन् ।’

जिल्ला प्रशासनबाट पुनः नागरिकता र लगत्तै पार्टीको नेतृत्व हातमा लिएसँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्री लिन प्रधानमन्त्री दाहालमाथि दबाब बनाउन थालेका छन् । सांसद नभएको व्यक्ति ६ महिना मात्रै मन्त्री बन्न सक्छ । स्वतन्त्र पार्टीले उपप्रधान तथा गृहमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने बताइसकेको छ । महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेकाले फेरि दाबी गर्नॅपर्ने अवस्था नरहेको बताए । केन्द्रीय समिति बैठकपछि आइतबार उनले गृह मन्त्रालयमा पार्टीले फेरि दाबी गर्नॅपर्ने अवस्था नरहेको बताएका हुन् ।

‘हाम्रो पार्टीमा एउटा समस्या आएको थियो, त्यो समस्याको समाधान भएको छैन तर यो अन्य दललाई परेको समस्या होइन,’ उनले भने, ‘अहिले सरकारको विषयमा छलफल भएको छैन तर गृह मन्त्रालय रास्वपाले पहिल्यै पाइसकेको हो, फेरि दाबी गर्नॅपर्ने कुरा छैन । कसलाई जिम्मेवारी दिने छलफल गरेर निर्णयमा पुग्छौं ।’

विश्लेषक सुवेदी प्रधानमन्त्रीले लामिछानेलाई मन्त्रिपरिषद्मा लैजान नहुने सुझाव दिन्छन् । ‘अदालतको फैसला आइसकेपछि रविले राजीनामा दिनुअघि नै प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने थियो, त्यो गरेनन् । अब उनलाई उपप्रधान तथा गृहमन्त्री बनाए भने प्रचण्ड सत्ताका लागि जे पनि गर्छन् भनेर स्थापित गर्ने नयाँ रिफरेन्स बन्छ,’ उनले भने, ‘अहिले प्रधानमन्त्रीलाई संसद्मा ठूलो समर्थन छ, रास्वपाले समर्थन फिर्ता लिएछ भने पनि सरकारलाई कुनै घुनपुत्लो लाग्दैन । त्यसकारण रविलाई चोर बाटोबाट सरकारमा लैजाने खेल जसले खेलेको छ, त्यो गलत हो ।’

अर्कोतर्फ लामिछानेकै कारण अहिलेको गठबन्धनमा समस्या आउने संकेत देखिएको छ । लामिछानेको नागरिकता विवाद र सर्वोच्च अदालतका सम्बन्धमा एमाले नेताहरूको टिप्पणीले पनि त्यस्तो संकेत गर्छ । एमाले महासचिव शंकर पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको दाबी नै गरेका छन् ।

‘रवि लामिछानेको नागरिकताको विषयलाई अगाडि बढाएर सत्ता समीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भन्ने अर्थमा यसलाई मुद्दा बनाइयो तर यसले उनीहरूले सोचेजस्तो काम गर्दैन किनकि राजनीतिक मिसन भनेको अदालती प्रक्रियाले उत्पन्न गरेका प्रश्नका कारणले बिथोलिने होइन,’ न्युज एजेन्सी नेपालसँग आइतबार कुरा गर्दै उनले भनेका छन्, ‘हामी यसलाई राजनीतिक ढंगले ट्याकल गर्छौं । समाधान गर्छौं भन्ने नै मुख्य कुरा हो ।’

राजनीतिक विश्लेषक हरि शर्मा लामिछानेको तत्काल मन्त्री बन्ने चर्चालाई ‘शक्ति छ, संसद्मा संख्या छ भने जे मन लाग्यो, त्यही गर्न सकिन्छ’ भन्ने बाटोमा राजनीति उन्मुख हुनुको परिणाम ठान्छन् । लामिछाने पुनः मन्त्री बन्ने विषय संविधान र कानुनभन्दा पनि नैतिकताको भएको उनी बताउँछन् । ‘अदालतको आदेश आएपछि नागरिकता लिनेबित्तिकै हतार–हतारमा पार्टी सभापतिमा पुनर्बहाली भइसके, अब फेरि मन्त्रालयतिर पनि त्यही हतारो देखिँदै छ,’ उनले भने, ‘संविधान/कानुनले गैरसांसदलाई ६ महिनासम्म मन्त्री बनाउन त रोक्दैन तर संवैधानिक नैतिकता भन्ने पनि कुरा हुन्छ । मूल्यमान्यता भएन भने केही कुराको पनि काम लाग्दैन । संस्थाको विकास गर्ने भन्ने कुरा कहाँ जान्छ ?’

दोहोरो राहदानीको विषय अनुसन्धान क्रममा रहेको र त्यसलाई लिएर सर्वोच्च अदालतमा समेत प्रश्न उठिसकेको हुँदा लामिछाने तुरुन्त मन्त्री बन्दा त्यो छानबिन र अनुसन्धान के हुन्छ भन्ने शर्मा प्रश्न गर्छन् । संवैधानिक मूल्यमान्यताका हिसाबले पनि लामिछाने यस्तो अनुचित कामतर्फ लाग्न नहुने उनको सुझाव छ । ‘अहिले हाम्रो राजनीतिमा जुन प्रकारको प्रपञ्च देखिएको छ, त्यसको अन्त्य कहीं छैन । सबै मूल्यमान्यता भत्काउन लागेपछि कहाँ पुगिएला ?’ उनले भने, ‘दोहोरो राहदानी अनुसन्धानको क्रममा छ । सर्वोच्चमा समेत त्यसमा प्रश्न उठ्यो । उनी तुरुन्त मन्त्री हुँदा त्यसको छानबिन के हुन्छ ?’

प्रकाशित : माघ १६, २०७९ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्

एमालेलाई थप सशंकित बनाउँदै माओवादी

राष्ट्रपति सुरक्षित गर्न अहिलेकै गठबन्धन बचाइराख्ने, प्रधानमन्त्री दाहाललाई नबिच्काउने, सरकारका निर्णयमा अतिरिक्त हस्तक्षेप नगर्ने र दाहालले दूरी बनाए पनि सत्ता साझेदार दलका शीर्ष नेतालाई आफ्नो खेमामा राख्ने एमालेको रणनीति
सर्वस्वीकार्य व्यक्ति राष्ट्रपति हुँदा राम्रो हुने माओवादी स्थायी कमिटी बैठकमा दाहालको ब्रिफिङ, संवैधानिकपदहरूमा राष्ट्रिय सहमति जुटाउन सके एमालेको दबाबबिनै सरकार चलाउन सहज हुने बुझाइ
बबिता शर्मा

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयनको प्रस्ताव निरन्तर दोहोर्‍याएपछि एमाले थप सशंकित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहालसँग बिहीबार बालुवाटारमा भएको छलफलमा पनि यसबारे आशंका व्यक्त गरेका छन् ।

स्रोतका अनुसार ओलीले दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने बेला भएको सहमति कार्यान्वयनमा जोड दिँदै राष्ट्रपति निर्वाचनमा एमालेले अघि सारेको व्यक्तिमा राष्ट्रिय सहमति खोज्नुपर्ने बताएका थिए । उनले बिहीबार सुरु पार्टी स्थायी कमिटी बैठकमा पनि सर्वस्वीकार्य व्यक्ति राष्ट्रपति हुँदा राम्रो हुने ब्रिफिङ गर्दै सदस्यहरूको राय मागेका छन् ।

कांग्रेसले दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि झस्किएको एमाले राष्ट्रपति आफ्नो पोल्टामा पार्ने कसरतमा छ । राष्ट्रपतिमा माओवादीको भूमिका निर्णायक रहेकाले एमालेको नजर प्रधानमन्त्री दाहालमाथि नै छ । कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने स्पष्ट गरिसकेको छ, जसका कारण एमाले ढुक्क हुन सकेको छैन ।

राष्ट्रपति सुरक्षित गर्न अहिलेकै गठबन्धन बचाइराख्ने रणनीतिमा एमाले छ । एमाले स्थायी कमिटीका एक सदस्यका अनुसार राष्ट्रपति निर्वाचनसम्म प्रधानमन्त्री दाहाललाई नबिच्काउने, सरकारका निर्णयमा अतिरिक्त हस्तक्षेप नगर्ने र दाहालले दूरी बनाए पनि सत्ता साझेदार दलका शीर्ष नेतालाई आफ्नो खेमामा राख्ने एमालेको रणनीति छ । सोही रणनीतिअन्तर्गत ओलीले प्रधानमन्त्री दाहालसँग पटक–पटक भेट गरेका छन् ।

दाहाललाई प्रधानमन्त्री बनाउँदा एमालेले राष्ट्रपति र आधा कार्यकाल सभामुख लिने सहमति भएको नेताहरूले बताएका थिए । दाहालले भने लिखित सहमति नभएको बताउँदै आएका छन् । एमाले उपाध्यक्ष युवराज ज्ञवाली दाहाल र ओलीबीच भएको सहमति कार्यान्वयन हुने बताउँछन् । ‘प्रचण्ड र केपी ओलीबीच जे सहमति भएको छ, त्यसैअनुसार जानुपर्छ, जान्छ । प्रधानमन्त्रीको ठाउँबाट प्रचण्डले सकेसम्म सहमति भए हुन्थ्यो भन्नु उहाँको कर्तव्य हो,’ ज्ञवालीले भने, ‘उहाँहरू दुई जना (दाहाल–ओली) बीच राष्ट्रपति एमाले, प्रधानमन्त्री र सभामुख आधा–आधा कार्यकाल लिने भन्ने सहमति छ । त्यसो हुँदा तीनवटै संवैधानिक पद एमालेको रहँदैन । राष्ट्रपति र प्रधानमन्त्री एमालेको हुँदा सभामुख माओवादीको हुन्छ । त्यसकारण राष्ट्रिय सहमति भयो भने पनि र भएन भने पनि एमालेको मान्छे नै राष्ट्रपति हुन्छ ।’

ज्ञवालीका अनुसार अहिले एमालेको मुख्य ध्यान राष्ट्रपति निर्वाचनमै छ । ‘दुई–दुई जना राष्ट्रपति हामीले व्यहोरिसक्यौं, राष्ट्रपति उपयुक्त पात्र भएन भने समस्या आउँदो रहेछ, त्यसकारण को व्यक्ति अघि सार्दा सबैतिरबाट स्वीकार्य हुन्छ, भविष्यमा समस्या आउँदैन भन्ने कुरामा अध्यक्षले ध्यान दिनुहोला र पार्टीमा पनि छलफल होला,’ उनले भने ।

प्रतिपक्षमा रहेर पनि संसद्को ठूलो दल कांग्रेसले सरकारलाई ‘निःसर्त’ विश्वासको मत दिएपछि भावी राष्ट्रपतिलाई लिएर राजनीतिक परिदृश्य अनिश्चित बनेको छ । प्रधानमन्त्री दाहालले सरकारलाई विश्वासको मत दिने दलहरूको बैठक (माघ ३) मा संवैधानिक पदहरूमा सहमति गरेर जान प्रस्ताव गरेको दुई दिनपछि माघ ५ मा एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले पठाएको राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति बन्नुपर्ने टिप्पणी गरेका थिए । संवैधानिक पदहरूमा सहमति जुट्ने परिस्थितिमा आफूले त्यसको सहजीकरण गर्ने दाहालको भनाइ छ ।

एमाले उपाध्यक्ष ज्ञवाली संसद् विघटनको घटना बारम्बार दोहोरिने स्थिति नभएकाले आशंका गर्न नहुने बताउँछन् । ‘एमालेले सबै लियो भने हिजोको जस्तो संसद् विघटन हुन्छ कि भन्ने शंका होला तर त्यस्तो घटना बारम्बार घटिरहँदैन,’ उनले भने, ‘त्यो विघटनबाट के–के भयो भन्ने कुरा सबैले व्यहोरिसके । त्यसकारण अब पनि त्यही हुन्छ कि भन्ने बेकारको आशंका हो । एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाएर जानु भनेकै कोर्स करेक्सन हो ।’

दाहालले एमालेबाहेकका साझा व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने निकट नेताहरूसँग बताएका छन् । उनले बिहीबार सुरु पार्टी स्थायी कमिटी बैठकमा ‘राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्नुपर्ने अवस्था आएको’ बताएका छन् । उनले सर्वस्वीकार्य व्यक्ति राष्ट्रपति हुँदा राम्रो हुने ब्रिफिङ गरेका थिए । सोहीअनुसार उनले राष्ट्रपतिको निर्वाचनका लागि स्थायी समिति सदस्यहरूसँग सुझाव पनि मागेका छन् ।

स्थायी समितिका एक नेताका अनुसार दाहाल संवैधानिक पदहरूमा राष्ट्रिय सहमति जुटाउन सके एमालेको दबाबबिनै सरकार चलाउन सहज हुने बुझाइमा छन् । उनका अनुसार दाहालले संवैधानिक पदहरूको रणनीतिक महत्त्व, शान्तिप्रक्रिया र अन्तर्राष्ट्रिय चासोहरूलाई समेत ध्यान दिएर सहमतिको प्रस्ताव गरेका हुन् । कांग्रेसलाई पनि शक्ति बाँडफाँटमा जोड्न सके संक्रमणकालीन न्याय टुंग्याउन सकिने उनको बुझाइ छ । तत्काल एमालेलाई बिच्क्याउँदा सरकार अप्ठ्यारोमा पर्न सक्ने र मुख्य संवैधानिक पद एमालेलाई दिँदा विगतका घटना दोहोरिन सक्ने आशयको ब्रिफिङ दाहालले गरेका थिए ।

‘प्रधानमन्त्री एवं पार्टी अध्यक्षले बैठकमा सरकार गठनयताका सम्पूर्ण राजनीतिक घटनाक्रमको ब्रिफिङ गर्नुभएको छ र अहिलेको अवस्थामा प्रमुख दलबीच सहकार्यको खाँचो रहेको सुनाउनुभएको छ,’ माओवादी स्थायी कमिटीका ती सदस्यले भने, ‘राष्ट्रपति निर्वाचनबारे ठोस निर्णय दिनुभएको छैन, परिस्थितिको विश्लेषण गर्दै सुझाव माग्नुभएको छ । उहाँको जोड हेर्दा पार्टीले कांग्रेससहितका दलको सहमति हुने र सर्वस्वीकार्य व्यक्तित्व राष्ट्रपति हुनुपर्ने नीति लिने सम्भावना छ ।’

बैठकपछि सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिमा साझा व्यक्तिको आवश्यकता रहेको बताए । ‘राष्ट्रपति साझा पद हो, प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिएजस्तै राष्ट्रपति पनि साझा रूपमा चुन्नुपर्छ, संविधानको संरक्षणका लागि पनि आवश्यकता यही छ,’ उनले भने, ‘राष्ट्रिय सहमति भनेको कांग्रेससहित पनि र एमालेसहित पनि हो । भारतमा एपीजे अब्दुल कलामको नाममा सहमति भएजस्तै हामी पनि साझा व्यक्ति खोज्न सक्छौं ।’

यही बीचमा माओवादी र नेपाल समाजवादी पार्टी तथा एकीकृत समाजवादी र जसपाबीच एकताको गृहकार्य भइरहेको छ । यसले पनि राष्ट्रपति निर्वाचनमा प्रभाव पार्न सक्ने नेताहरूको बुझाइ छ । प्रतिनिधिसभाका २ सय ७५, राष्ट्रिय सभाका ५९ र सातवटा प्रदेशसभाका कुल ५ सय ५० सदस्य राष्ट्रपति निर्वाचनका मतदाता हुन् । निर्वाचनमा संघीय सांसदको ७९ र प्रदेश सांसदको ४८ मतभार हुन्छ ।

संविधानअनुसार संघीय र प्रदेशसभातर्फका तत्काल कायम रहेका कुल सदस्य संख्याको बहुमत अर्थात् ५० प्रतिशत मत ल्याउने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन् । पहिलो निर्वाचनमा कसैले ५० प्रतिशत मत नल्याए सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुन्छ । राष्ट्रपति पदमा अडान लिइराख्दा गठबन्धन भत्कन सक्ने भय पनि एमालेपंक्तिमा छ । गठबन्धन भत्किँदा एमालेले संघमा मात्रै होइन, प्रदेशमा पनि अधिकांश पद गुमाउनसक्छ ।

अहिलेसम्म एमालेले संघमा उपप्रधानमन्त्रीसहित ९ मन्त्री र ४ वटा प्रदेशमा मुख्यमन्त्री पाएको छ । प्रदेश १ मा मुख्यमन्त्री, उपसभामुख र दुई मन्त्री एमालेले पाएको छ । बाँकी दुई मन्त्रालयमा एमाले र माओवादीको दाबी छ । मधेस प्रदेशसभाको सभामुख र एक मन्त्री एमालेले पाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ११ सदस्यीय मन्त्रिपरिषद् रहेको मधेसमा सात मन्त्रालयको भागबन्डा हुन बाँकी छ । वाग्मती प्रदेशसभाको उपसभामुख र प्रदेश सरकारमा चार मन्त्री एमालेले लिएको छ ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री, उपसभामुख र ३ मन्त्री एमालेकै छन् । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसहित एक मन्त्री (हाल बिनाविभागीय) एमालेले लिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १० मन्त्रालय रहने भएका छन् । तीमध्ये बाँकी ७ मन्त्रालयको भागबन्डा हुन सकेको छैन ।

कर्णाली प्रदेशमा सभामुख पाएको एमालेले ७ सदस्यीय मन्त्रिपरिषद्मा ३ मन्त्री पाएको छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री र उपसभामुख एमालेका छन् । त्यसबाहेक एक पदका लागि लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पनि सत्ता गठबन्धनका तर्फबाट एमालेले उम्मेदवारी दर्ता गराएको छ ।

प्रकाशित : माघ १३, २०७९ ०७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×