१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड काठमाडौंमा

जगदीश्वर पाण्डे

काठमाडौँ — अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार काठमाडौं आइपुगेकी छन् । वासिङ्टन डिसीबाट सिधै नेपाल आएकी उपमन्त्री नुल्यान्डले आफ्नो दुईदिने भ्रमणमा नेपालको नयाँ सरकारसँग अमेरिकी साझेदारीको बृहत एजेन्डामा छलफल गर्नेछिन् ।

अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड काठमाडौंमा

कूटनीतिक स्रोतका अनुसार उपमन्त्री नुल्यान्डले सोमबार उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ताघटक दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने तय भइसकेको छ भने अन्य भेटवार्ताको अन्तिम टुंगो लागिसकेको छैन ।

काठमाडौंस्थित अमेरिकी दूतावासको अनुसार उपमन्त्री नुल्यान्डको भ्रमणमा द्विपक्षीय सम्बन्धलाई थप उजागर गर्न सरकारी अधिकारीहरूसँग भेटवार्ता हुनेछ । दूतावासले अमेरिकी सरकारले नेपालको ‘युनिक’ सांस्कृतिक सम्पदामा अमेरिकालाई गर्व महसुस भएको पनि उल्लेख गरेको छ । उपमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वारको भ्रमण पनि गर्ने छिन् ।

पुस १३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार बनेपछि विदेशबाट नेपालमा हुन लागेको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । उपमन्त्री नुल्यान्डले बद्लिँदो भूराजनीतिक परिवेशमा यहाँको वस्तुस्थिति बुझ्न र नयाँ सरकारसँग सहकार्यका लागि नेपाल भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए । नुल्यान्ड अमेरिकाकी एक अनुभवी कुटनीतिज्ञ हुन् ।

३३ वर्ष कुटनीतिक क्षेत्रमा काम गरिसकेकी उनले यसअघि महत्त्वपूर्ण जिम्मेवारी पनि सम्हालिसकेकी छन् । उनी सन् २०२१ अप्रिलदेखि उपमन्त्री भएकी हुन् । उनले राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री जोन केरीको नेतृत्वको बेलामा सन् २०१३ देखि २०१७ सम्म युरोपेली र यूरेसियन मामिलाका लागि सहायक मन्त्रीको रुपमा काम गरेकी थिइन् ।

उनी विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकालमा प्रवक्ता र राष्ट्रपति जर्ज डब्लु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटो (नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन) को लागि अमेरिकी राजदूतको रुपमा काम गरेकी थिइन् । गत वर्षको जेठमा अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री उज्रा जियाले नेपालको तीनदिने औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट भएको यो दोस्रो ठूलो भ्रमण हो ।

प्रकाशित : माघ १५, २०७९ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?