मेयर शाहविरुद्ध प्रदर्शन : डोजर आतंक बन्द गर !- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेयर शाहविरुद्ध प्रदर्शन : डोजर आतंक बन्द गर !

बालेन्द्र शाहले मौलिक हक खोस्न खोजे : अगुवा सुमन सायमी
तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ । गैरकानुनी रुपमा निजी संरचना भत्काएको, जथाभावी रुपमा डोजर चलाएको लगायत विषय उठाउँदै स्थानीयहरूले आइतबार प्रदर्शन गरेका हुन् ।

गत पुस २८ गते श‌ंखमुलस्थित एक निजी घरमा महानगरले नियम विपरीत डोजर चलाएर पर्खाल भत्काएको थियो । क्षेत्राधिकार मिच्दै महानगरले शंखमुलका सायल सिंहको घरको पर्खाल भत्काएको आन्दोलनका अगुवा सुमन सायमीले बताए ।


महानगरवासीमाथि नै मेयर बालेन्द्र शाहले ज्यादती गरेको उनको गुनासो छ । 'पुस २८ गते निजी घरमा डोजर लगाउन खोजेपछि मैले मेयर बालेन्द्र शाहलाई फोन गरेर गैरकानुनी भएको भनेँ,' सायमीले कान्तिपुरसित भनेँ,'क्षेत्राधिकार नाघ्नु भएको छ है भन्दा बालेन्द्रले एकछिन भनेर १० मिनेटपछि उल्टै नगर प्रहरी पठाएर घरको पर्खाल नै भत्काइदिए ।' उक्त प्रकरणपछि मेयरलाई फोन गर्दा फोन पनि नउठाएको र भेट्न समेत नदिएको सायमीले बताए ।

उनका अनुसार महानगरले कुनै पनि पत्र र सूचना नै बिना घरको कम्पाउन्ड भत्काएको हो । 'कुनै कानुनी आधार बिना महानगरले निर्णयको कपी नै नलिई तानाशाही तरिकाले घरहरु भत्काएको छ,' सायमीले भने ।


उक्त विषयलाई लिएर स्थानीयले महानगरलाई सूचनाको हक सम्बन्धी निवेदन पनि दिएका थिए । तर महानगरले बेवास्ता गरेर संविधान प्रदत्त मौलिक हक पनि खोसेको उनले बताए ।

निजी वाल भत्काउने क्रममा महानगरले घरधनी वृद्धालाई लछारपछार गर्दै मानवअधिकार हनन् गरेको प्रदर्शनमा सहभागीहरुले बताएका छन् ।

आइतबार दिउँसो माइतीघरमा भएको शान्तिपूर्ण प्रदर्शनमा उपत्यकावासी सडक विस्तार पीडित संघर्ष समितिलगायत विभिन्न समूहरूको सहभागिता रहेको छ । मेयर शाहले पूर्वसूचना बिना नै मानिसका घरमा डोजर चलाउने गर्दा यसअघि पनि पटकपटक स्थानीयहरू उनीविरुद्ध प्रदर्शनमा उत्रिएका थिए ।


प्रकाशित : माघ १५, २०७९ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपतिको साझा यात्रा [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी महाराजगन्जस्थित शीतल निवासबाट शनिबार यात्रुवाहक साझा यातायात बस चढेर पाटन पुगेकी छन् । पाटन पुगेर उनले पिम्बाहा पोखरी, मल्लकालीन संगीत प्रदर्शनी साथै मदन पुस्तकालयको अवलोकन गरेकी छन् ।पाटन बसपार्कमा राष्ट्रपति भण्डारीलाई ललितपुरका मेयर चिरिबाबु महर्जनले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गरेकी थिइन् । पुस्तकालयको अवलोकनपश्चात् राष्ट्रपति भण्डारी हिँडेर अवलोकनका लागि पिम्बहाः पुखु पुगेकी थिइन् । पिम्बहाः मा उनले नेवारी भजन ग्रहणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिएकी थिइन् । काठमाडौंको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो । पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतल निवास फर्किएकी छन् ।


प्रकाशित : पुस २३, २०७९ १६:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×