कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्ववियु निर्वाचनको तयारीमा नेविसंघ, घोषणापत्र बनाउन विज्ञ समिति

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले लामो समयपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गरेपछि नेपाल विद्यार्थी संघले तयारी थालेको छ । नेविसंघले स्ववियु निर्वाचन घोषणाको स्वागत गर्दै निर्वाचनका लागि संगठनको धारणाहरू सार्वजानिक गर्न, वर्तमान समयमा सुहाउँदो एजेन्डाहरू प्रस्तुत गरी चुनावमा सहभागी हुन केन्द्रीय घोषणापत्र तयारी समिति गठन गरेको छ ।

स्ववियु निर्वाचनको तयारीमा नेविसंघ, घोषणापत्र बनाउन विज्ञ समिति

अध्यक्ष दुजाङ शेर्पाले पूर्वकेन्द्रीय सदस्य पुजन गन्धर्वको संयोजकत्वमा ३४ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेका छन् । शेर्पाले विभिन्न क्षेत्रका विज्ञ, बुद्धिजीवी, विभिन्न संकायका उत्कृष्ट विद्यार्थी नेताहरुलाई समेटेर घोषणा पत्र तयारी समिति गठन गरिएको बताए ।

नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमिति भने अपुरो छ । नेपाली कांग्रेसले शेर्पालाई केन्द्रीय अध्यक्षमा नियुक्त गरेपनि पदाधिकारी र सदस्यहरुको टुंगो लगाउन सकेको छैन । संगठनको केन्द्रीय समितिमा एक जनामात्रै पदाधिकारी रहेको अवस्थामा नेविसंघले ३४ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेर चुनावको तयारी अघि बढाएको हो ।

समितिको सदस्य सचिवमा विकल राई मनोनित भएका छन् । उनले यसअघि कांग्रेसकै घोषणा त्र तयारी समितिमा समेत सदस्य रहेर काम गरेका थिए । जनप्रशासन क्याम्पसमा शनिबार बसेको समितिको बैठकले समितिका सदस्यहरुको नेतृत्वमा विभिन्न उपसमितिहरुसमेत गठन गरेको छ ।

समितिमा डा. सुमन आचार्य, चाटर्ड एकाउन्टेन्ट पदम भट्टराई, सार्वजनिक प्रशासन विज्ञ पंकजकुमार क्षेत्री, कृषि वन विज्ञानका पिएचडी स्कोलर रमेशप्रसाद भट्ट, इन्जिनियर राजेश्वर कमली, शिक्षाका लागि राष्ट्रिय अभियानका सचिव टेकराज अवस्थी, अधिवक्ता सुरज सैजुवाल, इन्जिनियर महेन्द्र सिंह, संस्कृततर्फबाट आचार्य प्रकाश सुवेदी, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष अनुप सुनुवार, आयुर्वेद चिकित्सक डा. हिमाल भट्ट, एमनेष्टी इन्टरनेसनलका अध्यक्ष विपिन बुढाथोकी सदस्य छन् ।

त्यस्तै, विद्यार्थी नेताहरु आदर्श लामिछाने, बबिन बस्नेत, गणेश थापा, श्यामराज ओझा, पूजा फुयाँल, सगुन कँडेल, पदम भुसाल, अनुकूल रेग्मी, प्रकाश श्रेष्ठ, विजय पुनमगर, विनोदराज जोशी, अर्जुन सापकोटा, वर्षा पराजुली, मनिषा रानाभाट, युरिका वन, सागर विश्वकर्मा, विपिन भट्टराई, आशिका पौडेल र शिवलाल पौडेल घोषणा पत्र तयारी समितिमा मनोनित भएका छन् ।

समितिका संयोजक गन्धर्वले तोकिएकै समयमा स्ववियु निर्वाचन हुनुपर्ने र त्यसकालागि आफूहरु तयार रहेको बताए । त्रिविले चैत्र ५ गते स्ववियु निर्वाचन गर्ने मिति तोकेको छ ।

कांग्रेसले स्ववियु निर्वाचनको मिति तोकिसकेपछि नेविसंघको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने प्रयास गरिरहे पनि अहिलेसम्म समितिले पूर्णता पाएको छैन । यसअघि बसेको कार्यसम्पादन समितिको बैठकमा पदाधिकारीविहीन केन्द्रीय समिति गठन गर्नेबारे छलफल भएको थियो । तर केही नेताहरुले भने पदाधिकारीसहितको नेविसंघ गठन हुनुपर्ने माग गरिरहेका छन् ।

प्रकाशित : माघ १५, २०७९ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?