कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सीमापार बगिरहने मानव भेल

रोजगारीको खोजीमा भारत पस्ने नेपाली श्रमिकबारे एक दशकदेखि गड्डाचौकी नाकामा बसेर रिपोर्टिङ गर्दै रहँदा जे देखियो 
भवानी भट्ट

काठमाडौँ — कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलास्थित मेरो घरबाट नेपाल–भारत सीमा झन्डै एक किलोमिटर दूरीमा पर्छ । गड्डाचौकी नाकाबाट ५ सय मिटरको दूरीमा रहेको सिद्धनाथ अमर मावि पढ्दाताका कामको खोजीमा भारत पस्ने नेपालीको लर्को नयाँ थिएन । 

सीमापार बगिरहने मानव भेल

स्कुले बालबालिकादेखि तन्नेरी, पाका उमेरका महिला/पुरुष गड्डाचौकी नाका हुँदै भारत गइरहेको बाह्रैमास देखिन्थे । जीउमा च्यातिएका, झुत्रा कपडा, पिठ्युँमा झोलाको भारी । अझ कतिपय महिलाको त काखमा पनि दूधे बच्चा । फुटेर चिरा परेका कुर्कुच्चाले देश छाडिरहेको भीड देखिन्थ्यो । फर्कंदा पनि उनीहरू लुटपाटमा परेका घटना सुन्थें । घर फर्किएका नेपालीहरू बेलाबखत सीमा नाकामा कहिले भारतीय त कहिले नेपाली सुरक्षाकर्मीको दुर्व्यवहारमा परिराख्थे । मेरो किशोर मनदेखि नै परदेश जानेले सधैं यस्तै दुःख पाउँछन् होला भन्ने पर्‍यो ।

२०७० देखि कान्तिपुर दैनिकमार्फत पत्रकारिता थालेदेखि नै मलाई मजदुरी गर्न भारत जानेहरूको विषयले तान्न थाल्यो । सीमानाकाछेउको सानो बजारमा बसेर मैले भारततर्फ भइरहेको आप्रवासनका कथाहरू पठाउन थालें । दसैं, तिहार मनाउन घर फर्किने लर्कोको कथा मात्र लेखिनँ, उनीहरूले पाएको सास्ती, लुटपाट र बेखर्चीका कथा पनि लेख्दै गएँ । खेतीपातीको काम सकेर मंसिर, पुसको कठ्यांग्रिँदो चिसोमा काम खोज्दै कालापहाड पस्नेका दुःखको फेहरिस्त बर्सेनि छापिँदै गए । मैले लेख्ने समाचारका विषयहरू स्कुले जीवनमा देखे, सुनेका कथाभन्दा फरक थिएनन् ।

कान्तिपुरसँगको झन्डै दशक लामो पत्रकारिता यात्रामा भारत जाने नेपाली श्रमिकका कथा, व्यथामा केही फेरबदल आएको छैन । फेरिएका छन् त, केवल पात्रहरू । फेरिएका छन् त श्रम गन्तव्यका भारतीय सहरहरू । नेपालीको मुख्य श्रम गन्तव्य रहेका उत्तराखण्ड र हिमाञ्चलका कालापहाडदेखि दिल्ली, मुम्बई र बेंग्लोरमा विभिन्न घटनामा नेपाल श्रमिकको मृत्यु हुने तर मृत्युको कारण नखोजिने क्रम सधैं दोहोरिरहेको छ । कोरोना संक्रमणका बेला त भारतमा उनीहरूले पाएको सास्तीको कथा बयान गरिसाध्य छैन ।

२०७७ कात्तिक अन्तिमतिर गड्डाचौकीमा रहेको सहायता कक्षका कर्मचारी दानसिंह बोहराले दिएको एक त्यो सूचना मलाई आज पनि झल्झली छ । बोहराले मलाई भनेका थिए, ‘हरिद्वारमा लुटिएपछि एक नेपाली हिँडेरै गड्डाचौकी आइपुगेका छन् ।’ म हतारिँदै त्यहाँ पुगें । लुटिने थिए, सुर्खेतको लेकबेंसीका तीर्थबहादुर सारुमगर । तिहार मनाउन घर आउने क्रममा उनी लुटिएका थिए । बेखर्ची भएपछि चार/पाँच दिन लगाएर हिँडेरै गड्डाचौकी आइपुग्दा तिहार सकिसकेको थियो । सीमानाकामा तीर्थबहादुर जस्ता पात्र लुटिएर, बेखर्ची भएर वा सास मात्रै जोगाएर देश टेक्ने नेपाली श्रमिकका कारुणिक दृश्य सातैपिच्छे फरकफरक शैलीमा देखिन्छ । रिपोर्टिङका क्रममा यस्ता पात्र र तिनका पीडासँग साक्षात्कार हुनुपर्छ । खासगरी दुःखजिलो गरी दुई पैसा लिएर चाडबाडमा घर फर्किएका नेपालीलाई लठ्याएर लुटिएका खबर लेख्दा मनै एकतमासको हुन्छ । सस्तो मूल्यमा श्रम बेचिरहेका नेपालीहरू घर आउँदा बेखर्ची बनेर आएको देख्दा टीठ मात्रै लाग्दैन, यस्तो दुःखको अन्त्य कहिले होला भन्ने प्रश्नले पनि घोचिरहन्छ ।

रोजगारीका लागि भारत पस्ने नेपालीको नियति झन्डै दुई सय वर्षदेखि चल्दै आएको इतिहास छ । पचासको दशकसम्म नेपालीहरू चौकीदारीका लागि दिल्ली, मुम्बई, बेंग्लोरसम्म पुग्थे । कतिपय नेपालीले चौकीदारीका लागि बजारको ठेक्का नै लिएका हुन्थे । एउटा ठेकेदारले अर्कोलाई श्रमिक बिक्री गर्थे । त्यतिबेला उत्तराखण्ड र हिमाञ्चलका पहाडी भेगमा जाने कामदार कम हुन्थे । अहिले दृश्य फेरिएको छ । पछिल्ला वर्षहरूमा होटल, कृषि, खानी र सडकलगायतका विकास निर्माणका लागि हिमाञ्चल र उत्तराखण्डका कालापहाडमा पनि नेपालीका पसिना बग्न थालेका छन् ।

असारमा रोपाइँ सकेर भारतको सिमलामा स्याउ टिप्न जानेको लामो ताती गड्डाचौकीमा बर्सेनि बढ्दै गइरहेको देख्छु । सुदूरपश्चिमको अछाम, बझाङ र बाजुरबाट तथा कर्णालीको मुगु, सुर्खेत, कालीकोट र दैलेखबाट हजारौंको संख्यामा भारत छिर्नेको लर्को देख्दा सुदूरपश्चिम र कर्णालीका गाउँ नै रित्तिए होलान् जस्तो लाग्छ । अचेल त थारू समुदायका युवाहरू पनि कालापहाड जान थालेका छन् । धेरथोर कमाएर दसैं, तिहार मान्न घर फर्किन्छन्, झिटीगुन्टा बोकेर । ओड्ने/ओछ्याउनेदेखि भाँडाकुँडा बोकेर फर्केकाहरूले बाटोमा खेपेको सास्तीको कथा नाका कटेर नेपाल छिरेपछि गाउँ पुग्नेबेलासम्म जारी रहन्छ । मौसमीको कामको खोजीमा भारत पस्नेदेखि उतै भासिनेहरूको ब्यथाको अन्त्य कहिले होला ? स्वयं यसरी भासिनेले नै देशसँग उत्तर खोजिरहेका छन् झैं अनुभव गर्छु । २०७२ साउनमा संविधानको मस्यौदामाथि सुझाव संकलनका लागि सभासद मस्यौदासहित गाउँगाउँमा पुग्दा यहाँका नेपाली भने भारत पस्ने चटारोमा थिए । तैपनि संविधान जारी भएपछि घर आँगनमै रोजगारी पाइन्छ भन्ने आशा देखिन्थ्यो ।

त्यतिबेला सिमला जान बनबासा नाका आइपुगेका अछामको भटाकुटीका वीरेन्द्र साउदले भनेको सम्झिन्छु । उनले सांसदहरूसँग भनेका थिए, ‘हामीले सधैं भारत जानुपर्ने बाध्यताको अन्त्य होस् ।’ संविधान जारी भएपछि दोस्रो पटक संसद्को निर्वाचन भइसकेको छ । अहिले पनि गड्डाचौकी नाकाबाट मात्रै सिजनमा दैनिक दुई/तीन हजार र अफ सिजनमा तीन/चार सयको संख्यामा नेपालीहरू भारत जाने गरेका छन् । यो सबै देख्दा वीरेन्द्र साउदको कथन कहिले पो पूरा होला र भन्ने लाग्छ ।

कोरोना कहर

कोरोना संक्रमणमा बेला सीमानाकामा फरक दृश्य देखियो । संक्रमण बढ्दै गएपछि भारत र नेपाल दुवैतिर लकडाउन भयो । घर फर्किरहेका सयौंको संख्यामा नेपालीहरू सीमावर्ती टनकपुर, बनबासा र खटीमालगायत बजारमा रोकिए । उनीहरूलाई सीमावर्ती बजारका विद्यालयमा भेडाबाख्राझैं कोचेर राखियो । भोकभोकै राखिएपछि कतिपय रातिको समयमा भागेर जेनतेन नाकासम्म आइपुगे । त्यहाँ पनि उनीहरूले दुर्व्यवहार खेपे । कतिपय महाकालीमा हामफालेरसमेत स्वदेश फर्किए ।

सीमावर्ती क्षेत्रमा फसेकाहरूका लागि नाकामा प्रवेश खुकुलो पारिएपछि ठूलो संख्यामा नेपालीहरू भित्रिए । ०७६ चैतमा लकडाउनसँगै नाका बन्द भएर ०७७ वैशाख अन्तिममा नाका खुला भएपछि दैनिक चार/पाँच हजारको संख्यामा नेपालीहरू भित्रिएका थिए । त्यतिबेला स्थानीय तहले नाकाबाटै उनीहरूलाई सवारीसाधनको व्यवस्था गरेर सोझै क्वारेन्टाइन पुर्‍याएका थिए । त्यतिबेला सास्ती र हैरानी खेपेरे फर्किएकाहरूले सुनाउथे, अब हामी कहिल्यै काम गर्न भारत जान्नौं । तर कोरोना संक्रमण रोकिएर अवस्था सामान्य बन्दै गएपछि उनीहरूको वाचा त्यसै हरायो । स्वदेशभित्रै गरिखाने अवस्था नभएपछि उनीहरू फेरि भारततिरै लर्को लाग्न बाध्य भए ।

दोस्रो लहरको कोरोना संक्रमणका बेला भारतमा मृत्युदर उच्च थियो । नाकामा घर फर्किनेको भीड फेरि बढ्यो । कतिपय संक्रमणले थलिएर नाकामा आइपुगेका थिए । कतिपयले त बाटोमै ज्यान गुमाएको साथी र परिवारजनको खबर लिएर आएका थिए । त्यसरी स्वदेश छिरेकाहरूमध्ये कमैले राम्रो स्वास्थ्योपचार र सरकारी ढाडस पाए । विदेशमा मर्नुभन्दा स्वदेशमै मर्ने सोच बोकेर आएको बताउनेहरूको समाचार लेख्दालेख्दै ०७८ वैशाखमा म आफैं संक्रमित भए ।

कोरोना संक्रमणका बेला स्थानीय तहले कामको खोजीमा जाने र घर फर्किनेको तथ्यांक राख्न थालेका थिए । यसलाई निरन्तरता दिने उनीहरूको प्रतिबद्धता पनि थियो । संक्रमण कम भएसँगै पालिकाहरूले यो कुरा बिर्सिए । ‘भारतमा रोजगारीका लागि कति जान्छन् भन्ने तथ्यांक मात्रै भए पनि उनीहरूलाई गाउँमै रोक्न सक्ने तथा रोजगारी दिन सकिने योजना ल्याउन सकिन्छ,’ पुनर्वास नगरपालिकाका तत्कालीन नगरप्रमुख जीवन थापाको भनाइ थियो, ‘अब हामीले घर फर्किने र रोजगारीमा भारत जानेको तथ्यांक संकलन गर्छौं ।’

ज्याला माग्दा जेल

भारतमा श्रम गर्न कति नेपाली पुगेका छन् ? ती कुन–कुन क्षेत्रमा काम गर्छन् ? तिनीहरूको न्यूनतम पारिश्रमिक कति हो ? यी कुनै पनि प्रश्नको उत्तर नेपाल सरकारसँग छैन । औपचारिकभन्दा अनौपचारिक श्रममा जोडिएकाले पनि नेपाली कामदारहरूको दुर्घटना, मृत्यु वा अन्य भवितव्यको कुनै रेकर्डसम्म छैन । यस्तो अवस्थाको निरन्तरताले नेपालीहरू श्रम शोषणमा पर्नेदेखि अनेकन उल्झनको सामना गर्नुपर्ने परिस्थितिको सिकार भइरहेका छन् ।

एउटा घटना अझै सम्झनामा छ । आठ वर्षअघि भारत हिमाञ्चलको सिमला नजिकै निर्माणाधीन जलविद्युत् परियोजनामा ज्यालाको माग गर्दै कामदारहरूले आन्दोलन थाले । सन् २०१५ मा महिना दिनसम्म आन्दोलन चल्यो । रोजगारदाता कम्पनीले नेपालीसहित ९ सय कामदारलाई रोजगारीबाट निकाल्यो । आन्दोलनमा रहेकामध्ये एक सय बढीलाई थुनामा राखेर मुद्दा चलाइयो । भारतीय नागरिकको हकमा तत्काल जमानत राखेर रिहाइ गरियो भने ४८ जना नेपाली कामदारले करिब १ वर्ष जेल बस्नुपर्‍यो ।

उक्त घटनापछि घरपरिवारका सदस्यले आफन्तको रिहाइका लागि पहल थाले । उनीहरूले आफन्तको रिहाइका लागि राष्ट्रिय मानव अधिकार आयोगको तत्कालीन अध्यक्ष अनुपराज शर्मालाई पनि ज्ञापनपत्र बुझाए । नेपाल र भारत दुवैतर्फका अधिकारवादी संघसंस्थाको पहलमा नेपाली कामदार तारेखमा छुटे । तर, नियमित तारेख बुझाउन जाँदा खर्च मात्रै हुने भएकाले अहिले तारिख बुझाउन छाडेको मुद्दा खेपेकामध्येका कञ्चनपुरको कृष्णपुर–२ का नैनसिंह साउदले बताए । ‘अहिले पनि मुद्दा चलिरहेको छ, तर हामीले तारिख बुझाउन छाडिसक्यौं,’ उनले भने, ‘रोजगारी केही छैन, तारिख बुझाउन जाँदा खर्च मात्रै हुन्छ ।’ उनले जेलबाट छुटेको ४ महिनासम्म नियमित तारिख बुझाएको बताए । उनका अनुसार कम्पनीले दैनिक एक हजार ज्याला तोकेको थियो । तर लामो समयसम्म ज्याला नपाइने भएकाले आन्दोलन भएको हो ।

भारतमा अहिले पनि रोजगारस्थलमा थुप्रै किसिमका दुर्व्यवहारदेखि नेपाली कामदारमाथि शोषण भइरहेको छ । तोकेअनुसारको ज्याला नदिने, तोकेको समयभन्दा बढी काममा लगाउने, ज्याला माग गर्दा विभिन्न बहानामा मुद्दा चलाउनेलगायत घटनाहरू नियमित समाचारका विषय बनिरहेका छन् । तर यस्ता घटनामा कहाँकहाँ नेपाली कसरी परिरहेका छन् भनेर नेपाली राज्य संयन्त्रलाई थाहै छैन ।

बेलाबेला सीमानाकामा भारतबाट फर्केकाहरूले भोगेको कहालीलाग्दो खबर पनि सुनिन्छ । जस्तो कि, २०५९ मा भारतमा रोजगारी गरेर फर्किन लागेका कालीकोटका युवामाथि भारतीय कष्टमका सुरक्षाकर्मीले दुर्व्यवहार गरे । तिनको दुर्व्यवहार सहन नसकेपछि उनीहरूले भारतीय प्रहरीको लट्ठी खोसेर गड्डाचौकीमा नेपाली प्रहरीलाई बुझाए । त्यसपछि भारतीय सुरक्षाकर्मीले घर फर्किनेमाथि झनै कडाइ गरे ।

अहिले पनि नाकामा हुने दुर्व्यवहार उस्तै छ । रकम असुल्नेदेखि दुःख दिने काम भइरहेकै छ । सीमा क्षेत्रका सुरक्षा निकायको नियमित बैठकमा यो विषयले सधैं प्राथमिकता पाउँछ । दुवैतर्फका सुरक्षा निकायका प्रमुखले यसको समाधान गर्ने प्रतिबद्धता पनि गर्छन् । तर अवस्था जस्ताको त्यस्तै हुन्छ ।

सुदूरपश्चिम प्रदेशले पहिलो मुख्यमन्त्रीका रूपमा भारतमै चौकीदारी गरेर फर्केका त्रिलोचन भट्टलाई पायो । उनले कार्यभार सम्हालेदेखि नै कामका लागि भारत जानुपर्ने बाध्यताको अन्त्यका साथै व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । तर ५ वर्षे कार्यकालमा यसतर्फ कुनै कदम चालेनन् । ‘भारतमा कति नेपाली छन्, कतिले रोजगारी पाएका छन्, यसबारे तथ्यांक संकलन गरेर मात्रै योजना बनाउनुपर्छ,’ राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहेका आप्रवासनका जानकार डा. गणेश गुरुङले भने, ‘यसलाई व्यवस्थित बनाउन सबैभन्दा पहिले तथ्यांक संकलन गर्नुपर्छ ।’

डा. गुरुङका अनुसार केही वर्षअघिसम्म सुदूरपश्चिम, कर्णाली र पूर्वी तराईबाट भारत जानेको संख्या बढी थियो । पूर्वी तराईबाट अहिले तेस्रो मुलुक जाने क्रम बढ्यो । भारत जाने सुदूरपश्चिम र कर्णालीबाटै छन् । ‘पासपोर्ट बनाउनेदेखि तेस्रो मुलुक जान लाग्ने रकम तिर्न नसकेरै भारत जाने गरेका हुन्,’ उनले भने, ‘पैसा र पहुँच हुने त तेस्रो मुलुक जान थाले ।’ कोरोना संक्रमणका बेला सुदूरपश्चिमका दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट ३ लाख बढी नेपाली भारतबाट घर फर्किएका थिए । त्यसमध्ये ८० प्रतिशतभन्दा बढी सुदूरपश्चिमकै भएको तथ्यांक छ । कामको खोजीमा भारत जाने धेरै सुदूरका हुन्छन् । तर, प्रदेश सरकार भने अनभिज्ञ जस्तै छ । स्थानीयदेखि राष्ट्रियस्तरका सञ्चारमाध्यममा पटकपटक दुःख, पीडा र दुर्व्यवहारका समाचार प्रकाशन तथा प्रसारण हुँदा पनि सरकारको ध्यान केन्द्रित हुन सकेको छैन ।

कामको खोजीमा भारत जानेमध्ये ठूलो संख्या भारतमै बेपत्ता छन् । भारतमा हराएका परिवारका सदस्यहरूको सम्झनामा आँसु बगाउनेको संख्या कर्णाली र सुदूरपश्चिमका हरेकजसो गाउँमा होलान् । कमाउन गएको सदस्य हराएपछिको बल्झिरहने चोटमा समेत राज्यले कुनै भूमिका निर्बाह गरेको नदेख्दा दुःख मात्रै लाग्छ ।

कहिलेकाहीं भारतमा हराएका नेपाली वर्षौंपछि कुनै फिल्मको कथाका पात्र जसरी घर फर्किन्छन् । त्यतिबेला परिवारमा चिट्ठा परेजस्तो खुसी भेटिएको हुन्छ । यस्तै घटना कञ्चनपुरको शुक्लाफाँटा नगरको सिसैयाको ऐर परिवारमा भयो । २४ वर्षदेखि बेपत्ता भएका गणेश ऐर घर फर्किंदा उनको बाजागाजसहित स्वागत गरियो । रोजगारीका लागि पञ्जाब पुगेका उनी जानेबित्तिकै जेलमा परेका रहेछन् । जेलबाट छुटेपछि उनले पञ्जाबमै ज्याला मजदुरी गर्न थालेछन्, अनि घर फर्किनै बिर्सिएछन् । कुनै आफन्तले ऐरलाई देखेको खबर घरमा पुर्‍याएपछि उनलाई ल्याउने पहल भएछ ।

कञ्चनपुरकै वेदकोट–७ की ७० वर्षीया कलावती भट्ट बुढेसकालमा छोराहरूको बाटो कुर्दाकुर्दै आँखा नदेख्ने भइसकेकी छिन् । रोजगारीका लागि भारत पसेका उनका दुई छोरा बेपत्ता छन् । जेठो छोरा २७ वर्षदेखि र माइलो १३ वर्षदेखि बेपत्ता छन् । छोराको सोधीखोजी गर्दागर्दै श्रीमान्को मृत्यु भएको बताउँदै उनले अझै आस नमारेको बताइन् । ‘खाना पकाउन्या बेला इज्या भनेको सुन्छु, बाहिर आउँदा केही देखिन्न,’ उनले भनिन्, ‘बेपत्ता छोराहरूकै याद आउँछ, फेरि रोएरै बस्छु ।’

दोधारा चाँदनी–९ की गुल्टी धामीका पनि ४ छोरा भारतमै बेपत्ता छन् । ज्योतिषीलाई चिना हेराउनेदेखि धामीझाँक्री देखाउनेसम्म सबै भ्याइसकिन् तर खैखबर मिलेको छैन । रोजगारीमा भारत जानेको ताँती देख्दा वर्षौंदेखि बेपत्ता कलावती र गल्टी धामीका छोराहरू सम्झिन्छु । चाडपर्वका बेला गाउँ फर्किने देख्दा २४ वर्षपछि परिवारसँग मिलन भएका गणेश जस्तै घर फर्किन लागेका हुन् कि भन्ने लाग्छ ।

नाकामा बसेर हेर्दा हरेक दिन श्रम गर्न सक्ने योग्य जनशक्ति दुई छाक गुजाराका लागि भारत पसिरहेको दृश्यले मन रुवाउँछ । भारतबाट केही थान खुसी किनेर फर्केकाहरू पनि धेरै समय गाउँमा अडिँदैनन् । कमाएको सकिनेबित्तिकै फेरि भारत पस्नुपर्ने बाध्यता दोहोरिरहेको छ । विद्यार्थीकालमा देखेको दृश्य पत्रकारितामा लागेको सुरुवातदेखि नै सधैं दोहोरिरहेको देखेको छु । मनमा ख्याल आउँछ, बुढेसकालमा पनि मैले यस्तै दृश्य देखूँला कि केही फेरिएला ?

प्रकाशित : माघ १५, २०७९ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?