अध्यागमनको सर्भर ५ घण्टा ठप्प हुँदा हजारौंको यात्रा अस्तव्यस्त- समाचार - कान्तिपुर समाचार

अध्यागमनको सर्भर ५ घण्टा ठप्प हुँदा हजारौंको यात्रा अस्तव्यस्त

सुरज कुँवर

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भरमा समस्या हुँदा शनिबार ११ वायुसेवाका उडान प्रभावित भए । जसले अन्तर्राष्ट्रियतर्फ हजारौंको यात्रा अस्तव्यस्त भयो ।

टर्मिनल कार्यालयका अनुसार विमान बंगलादेश, मलेसिया एयरलाइन्स, थाई स्माइल, थाई लायन, फ्लाई दुबईलगायतका यात्रु प्रभावित भएका हुन् । काठमाडौंबाट भारतको बैंग्लोर उड्ने नेपाल वायुसेवा निगम, ढाका उड्नुपर्ने हिमालय एयरलाइन्स, दिल्ली जाने इन्डिगो एयरलाइन्स र एयर इन्डियाको कोलकाता र दिल्ली उडान पनि प्रभावित भए ।

एक विदेशी वायुसेवाका स्टेसन इन्चार्जका अनुसार तीन घण्टाअघि विमानस्थलमा आएर झन्डै दुई घण्टा उड्न नपाएका यात्रुले अध्यागमन कार्यालयविरुद्ध नाराबाजी गरेका थिए । ‘विमानस्थलमा तीन घण्टा अगाडि चेकइन काउन्टरमा पुगेका यात्रु कम्तीमा डेढदेखि दुई घण्टा ढिलो भए,’ विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले भने, ‘विदेशबाट आएकाहरू अध्यागमनमा क्लियर हुन घण्टौं लाग्यो ।’ शनिबार बेलुकीसम्म विमानस्थलको वातावरण अस्तव्यस्त थियो ।

सर्भर नै बिग्रिएपछि अध्यागमन कार्यालयले विदेश जाने यात्रुको पासपोर्ट तथा विवरण हातले फाइलमा लेख्दै सुरक्षा जाँचतर्फ पठाउनुपरेको थियो भने विदेशबाट फर्केकाहरूको पनि ‘म्यानुअली’ नै विवरण राखेर भिसालगायतका सेवा दिइएको थियो । ‘ढड्डामा लेखेर यात्रुलाई सेवा दिनुले उडान डिले हुने, तेस्रो मुलुक जाने ट्रान्जिट छुट्ने त छँदै छ, कतिपय इन्टरपोललगायतका निकायले सुरक्षा दृष्टिकोणले निगरानी गरेकाहरू उम्किने जोखिम हुन्छ,’ अध्यागमनका अर्का अधिकृतले भने ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भर डाउन भएको अधिकारीले बताएका छन् ।

गौचरनस्थित विमानस्थल अध्यागमन कार्यालयले यात्रुलाई भिसा सेवा दिन प्रस्थान बिन्दुमा राखेका १४ र आगमन बिन्दुमा राखेका २२ वटा कम्प्युटर दिउँसो सवा १२ देखि सवा ४ बजेसम्म र बेलुकी सवा ७ देखि सवा ८ बजेसम्म गरी ५ घण्टा चलेनन् । यी कम्प्युटर नचल्दा अध्यागमन कार्यालयले विमानस्थलको भुइँतलामा रहेका वायुसेवाका चेकइन काउन्टरबाट बोर्डिङ पास लिई विदेश जाँदै गरेका तथा विदेशबाट नेपाल फर्केका यात्रुको राहदानी जाँच्न सकेन । विमानस्थलमा एकै दिन सबैभन्दा धेरै ५ घण्टा सर्भर बिग्रिएको यो पहिलो घटना हो । ‘यसअघि सबैभन्दा धेरै अढाई घण्टा सर्भर बिग्रिएको थियो,’ अध्यागमनका एक अधिकृतले भने, ‘त्यसपछि पनि एक–आधा घण्टा सर्भर बेलाबखत डाउन भइरहन्थ्यो ।’

प्रकाशित : माघ १५, २०७९ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्

अध्यागमनको सर्भर डाउन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र

सुरज कुँवर

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा ५ वटा वायुसेवाका सयौं यात्रु अलपत्र गरेका छन् । गृह मन्त्रालयमातहतको अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

सर्भर बिग्रिएपछि दुबईको फ्लाई दुबई, कोलकाता जान लागेको एयर इन्डिया, बैंकक जान लागेको थाई स्माइल र दिल्ली जान लागेको नेपाल वायुसेवा निगमका बैंग्लोर उडानका सयौं यात्रु अलपत्र परेका छन् ।

‘अध्यागमनको सर्भर बिग्रिएको यो पहिलो घटना होइन, बारम्बर बिग्रिरहन्छ,’महाप्रबन्धक ठाकुरले भने,‘यस्को वैकल्पिक व्यवस्था गर्न पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले थुप्रैपटक गृह मन्त्रालय र अध्यागन विभागलाई तोकेता गरिसक्दा पनि सुधार हुन सकेन ।’

सर्भर बिग्रिएका कारण यी ५ वटा वायुसेवाबाट तेस्रो मुलुक जानुपर्ने दर्जनौं यात्रुका कनेक्टिङ उडान छुट्ने भएका छन् । अहिले विमानस्थलमा यात्रुहरूले अध्यागमनविरुद्ध नाराबाजी गरिरहेका छन् ।

प्रकाशित : माघ १४, २०७९ १४:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×