प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी- समाचार - कान्तिपुर समाचार

प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गृह मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी छन् । 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएकाले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

लामिछानेले यही माघ १३ गते नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएका थिए । लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित : माघ १४, २०७९ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय वायुसेनाका दुइटा विमान दुर्घटना 

कान्तिपुर संवाददाता

नयाँदिल्ली — भारतीय वायुसेनाका दुई वटा शक्तिशाली लडाकु विमान शनिबार दुर्घटनाग्रस्त भएका छन् । उक्त घटनामा एक जना पाइलटको मृत्यु भएको छ ।  दुई जना पाइलटको जीवितै उद्धार गरिएको छ । 

एयरफोर्सको सुखोई–३० र मिराज–२००० दुर्घटनामा परेको हो । दुईवटै विमानको क्षतिग्रस्त अवशेष ९० किलोमिटरको फरकमा भेटिएको छ । मध्यप्रदेशको मुरैना र राजस्थानको भरतपुरमा दुर्घटनाग्रस्त विमानका अवशेष खसेको पाइएको छ । केही मिडियाले तीव्र गतिमा रहेका उक्त दुवै विमान आकाशमा ठोक्किन पुग्दा दुर्घटना भएको लेखेका छन् । तर, त्यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।

सुखोई विमानमा रहेका दुईजना पाइलट सुरक्षित छन् । तर मिराज विमानका पाइलटको निधन भएको छ । एयरफोर्सले विमान रुटिन ट्रेनिङ मिसनमा रहेका बेला दुर्घटनाग्रस्त भएको र दुर्घटनाको कारण पत्ता लगाउन जाँच थालिएको जनाएको छ ।

सुखोई रुसमा र मिराज फ्रान्समा बनेका लडाकु जहाज हुन् । दुवै अत्याधुनिक सुविधासम्पन्न विमान मानिन्छन् । बिहान साढे ५ बजे दुर्घटना भएको अनुमान गरिएको छ । दुवै विमान ग्वालियर एयर बेसबाट उडेका थिए ।


प्रकाशित : माघ १४, २०७९ १८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×