राष्ट्रपति भण्डारीमा दलगत गन्ध धेरै आयो : बिडारी- समाचार - कान्तिपुर समाचार

राष्ट्रपति भण्डारीमा दलगत गन्ध धेरै आयो : बिडारी

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभाका पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन् । काठमाडौंमा शनिबार भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रियामा उनले राष्ट्रपति पद एकता, संघीयता र गणतन्त्रकै प्रतीक भएकाले सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनाउनुपर्ने बताएका हुन् ।

राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाए अहिले झेल्नुपरेका समस्याहरुबाट मुक्ति मिल्ने उनको भनाइ थियो ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी दलगत गन्ध धेरै आएको आरोप लगाए । उनले राष्ट्रपति भण्डारी राष्ट्रपति बनेर भन्दा पनि दलको प्रभावमा परेर काम गरेको आरोप लगाए । उनले राष्ट्रपति पद पहिला फालेको जस्तो पद भए पनि पछिल्ला घटनाक्रमले राष्ट्रपतीय पद्धतिलाई परिमार्जन गर्नका निम्ति विद्वत् वर्गले सुझाव दिनुपर्ने आवश्यकता देखिएको बताए ।

उनले राष्ट्रपति निर्वाचनमा गोप्य चुनाव किन हुनुपर्‍यो भन्दै प्रश्नसमेत गरे । उनले भने, ‘राष्ट्रपति निर्वाचनको बारेमा गोप्य चुनाव किन गराए, भोट हाल्ने जनताका प्रतिनिधिले, माननीयहरुले ? तर त्यसको चुनावचाहिँ गोप्य, यसको अर्थ त ह्वीप लाग्दैन भनेको हो नि ! ह्वीप नलाग्ने प्रकारको यो चुनाव हो । राष्ट्रपतिको चुनावमा ह्वीप नलाग्ने कुरामा अभ्यास गर्नुपर्छ ।'

प्रकाशित : माघ १४, २०७९ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति आवश्यक : भट्टराई

'शुभेच्छुकहरूले मेरो नाम पनि चर्चामा ल्याउनु भएको छ'
हरिराम उप्रेती

गोरखा — नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  बाबुराम भट्टराइले राष्ट्रपति निर्वाचनमा सर्वसम्मत भए उपयुक्त हुने बताएका छन् । शनिबार गृहजिल्ला गोरखा आएका भट्टराईले पत्रकारसँगको कुराकानीमा राष्ट्रपतिमा प्रमुख शक्तिबीच राष्ट्रिय सहमति हुनुपर्ने बताएका हुन् । 

‘राष्ट्रिय राजनीतिका अहम् मुद्दामा सहमति गराएर जानु उपयुक्त हुन्छ, राष्ट्रपति जस्तो संस्थालाई चाहिँ धेरैभन्दा धेरै सहमति चाहिन्छ,’ उनले भने,‘सर्वसम्मत नहुन पनि सक्छ, अधिकतम सहमति हुने तवरले जानु उपयुक्त हुन्छ । कम्तीमा कांग्रेससहित एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका शक्तिहरूबीच राष्ट्रिय सहमति बन्छ ।’

अभिभावकीय भूमिका भएकाले पनि राष्ट्रपति पदमा राष्ट्रिय सहमति भएमा राम्रो भट्टराईको भनाइ छ । ‘सकेसम्म सरकार निर्माणलगायतका विषयमा ५ वर्ष राष्टिय सहमति गरेर जाऔँ, नभए कम से कम देशको अभिभावकका रूपमा परिकल्पना गरिएको राष्टपति सर्वसम्मतिले गरौँ भन्ने बहस चलिरहेको छ,’ उनले भने,‘ त्यसमा को व्यक्तिमा सहमति बन्छ अहिलै भन्न सकिने अवस्था चाहिँ छैन ।’

‘राष्ट्रपतिमा तपाईँको चर्चा छ नि’ भन्ने पत्रकारको प्रश्नमा भट्टराईले भने,‘राष्ट्रिय सहमतिको निमित्त निरन्तर पैरवी गरेको छु, सायद त्यसैमा आधारित भएर शुभेच्छुकहरूले म पनि एउटा पात्र हुन सक्छु भनेर चर्चा चलाउनुभएको छ, म आफैले त्यसलाई त्यस्तै रूपमा बुझ्नु समयभन्दा अलि अघि हुन्छ जस्तो लाग्छ ।’

नेपालको राजनीतिमा देखिएको अन्योल र अस्थिरताको संकेतलाई हल गर्न पनि राष्ट्रिय सहमति आवश्यक रहेको उनले बताए ।

‘मैले सुरुदेखि नै शासकीय प्रणाली र निर्वाचन प्रणालीका कारण एक दलको मात्र बहुमत नआउने र स्थिर सरकार नबन्ने खतरा रहन्छ भनेको थिएँ, निर्वाचनपछि त्यही देखियो,’ उनले भने,‘विडम्बना एउटा गठबन्धन बनाएर निर्वाचन लड्यौँ, सरकार बनाउने क्रममा अर्को गठबन्धन बन्यो र विभिन्न मुद्दामा समीकरण फेरिइरहने परिदृश्य पनि देखिएको छ ।’

प्रकाशित : माघ १४, २०७९ १६:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×