साइबर आक्रमणको प्रयास : सरकारी वेबसाइटहरू डाउन


काठमाडौँ — सर्भरमा समस्या आएकाले केही समयदेखि नेपाल सरकारमातहत रहेका सबै वेबसाइटहरू खुलेका छैनन् । सर्भरमा समस्या आएकाले १ घण्टादेखि सरकारी वेबसाइट बन्द भएको राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले जानकारी दिए ।

बाहिरबाट साइबर आक्रमणको आशंकामा सबै वेबसाइट डाउन गरिएको उनले बताए । 'एक घण्टादेखि सर्भरमा समस्या देखिएको हो । बाहिरबाट साइबर आक्रमणको प्रयास नै भएजस्तो देखिन्छ । अबको ५/१० मिनेटमा सबै समस्या समाधान हुन्छ,' उनले भने । उनका अनुसार मुख्य सर्भरको मेमोरी र सिपियुमा लग हेरेपछि मात्रै कहाँबाट आक्रमण भएको हो थाहा हुनेछ । प्रायःजसो सरकारी वेबसाइट सरकारको एकीकृत डाटा सेन्टरबाट होस्टिङ हुँदै आएको छ ।
सर्भरमा समस्या हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रुसमेत अलपत्र परेका छन् । गृह मन्त्रालयमातहतको अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।
सम्बन्धित समाचार
प्रकाशित : माघ १४, २०७९ १५:३४