१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कांग्रेसले धमिलो पानीमा माछा मार्न खोज्दैछ : ज्ञवाली

माधव अर्याल

पाल्पा — पूर्वमन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेसले राष्ट्रपति निर्वाचनमा धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाएका छन् । उनले सत्ता गठबन्धनको सहमतिअनुसार एमालेबाटै राष्ट्रपतिमा आफू ढुक्क रहेको बताउँदै कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको आधारमा राष्ट्रपति पदमा सम्झौता नगरेको बताए ।

कांग्रेसले धमिलो पानीमा माछा मार्न खोज्दैछ : ज्ञवाली

प्रेस चौतारी नेपाल पाल्पा शाखाले शनिबार तानसेनमा राखेको पत्रकार भेटघाटमा बोल्दै नेता ज्ञवालीले माओवादीको बैठकमा राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने भन्ने विषय उठेको चर्चा चलेपनि कांग्रेसबाट राष्ट्रपति हुन नसक्ने बताए । ‘राष्ट्रपति निर्वाचनका विषयमा छलफलहरु हुन सक्छन्,’ उनले भने, ‘प्रतिपक्षीको हैसियतले कांग्रेेसले कोसिस गर्नु एउटा कुरा होला तर त्यो कोसिस सार्थक हुनेवाला छैन ।’

नेता ज्ञवालीले अहिलेको यो गठबन्धनलाई कमजोर गराउने कुनै पनि प्रयास सफल नहुने उनले दाबी गरे । सत्ता गठबन्धन दलबीच भएको सहमति अनुसार नै राष्ट्रपति एमालेले पाउने दाबी गर्दै उनले भने, ‘सत्तालाई सही रुपमा व्यवस्थापन गर्न नसक्दा नै कांग्रेसले सबै पद गुमाएको हो । अझै पनि धमिलो पानीमा माछा मार्ने दाउमा लागेको छ । त्यसैले राष्ट्रपतिको दाउ ताकेको हुन सक्छ ।’

सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले कुनै पनि हालतमा राष्ट्रपति पद नपाउने दाबी उनको छ । कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुको अर्थ राष्ट्रपति पाउने आशा गरेको हुनसक्ने बताउँदै उनले भने, ‘कांग्रेसलाई कुनै वचन दिएर मत माग्नु भएको छैन । पूर्व सहमतिअनुसार नै एमालेका उम्मेदवार राष्ट्रपति बन्नेमा कुनै शंका छैन ।’ सत्तागठबन्धका दलप्रति एमाले सशंकित नरहेको बताए । ‘कांग्रेस सत्ता पक्ष बन्न त सकेन नै,’ उनले भने, ‘मुलुकको विडम्बना प्रतिपक्ष बन्न पाउँ भन्दै संसद् सचिवालयमा निवेदन दिनु इतिहासमै अचम्मको घटना भएको छ ।’

प्रकाशित : माघ १४, २०७९ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?