कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

फागुन २८ अघ‍ि राष्ट्रपतिको निर्वाचन नभए देशमा अनिष्ट हुन्छ : कोइराला

देवनारायण साह

मोरङ — सांसद तथा कांग्रेस नेता शेखर कोइरालाले फागुन २८ गते अगाडि राष्ट्रपतिको निर्वाचन नभए देशमा अनिष्ट हुने बताएका छन् । प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशनमा शनिबार विराटनगरमा बोल्दै कोइरालाले संविधानभन्दा माथि होइन, संविधान मातहत रहने राष्ट्रपति मुलुकलाई आवश्यक रहेको बताए । 

फागुन २८ अघ‍ि राष्ट्रपतिको निर्वाचन नभए देशमा अनिष्ट हुन्छ : कोइराला

'सभामुख माओवादीको हुँदा बजेट सदन बाहिरै पढियो,' उनले भने, 'नागरिकता विधेयक सदनबाट पारित भइसकेको अवस्थामा राष्ट्रपतिले संविधान विपरीत अहिलेसम्म अल्झाएर राखिरहनु भएको छ ।' त्यसैले संविधानलाई स्वीकारेर अघि बढ्ने राष्ट्रपति मुलुकका लागि आवश्यक भएको कोइरालाको भनाइ थियो ।

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिएर अघि बढ्ने उनले बताए । उनले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई जिताउन पार्टी सम्बद्ध सबैलाई सघाउन आग्रह गरे । 'देशमा जसलाई जे मन लागेको छ त्यही गरिरहेको र त्यसलाई स्वीकारेर अघि बढ्नु पर्ने अवस्था छ,' कोइरालाले भने, 'त्यसैले अहिलेको अवस्थामा पत्रकारको भूमिका महत्वपूर्ण छ ।'

रवि लामिछानेको घटनाले यो देशमा कानुनी राज्य छ भन्ने कुरा प्रमाणित भएकोबाट सबैले पाठ सिक्नु आवश्यक रहेको उनले बताए । 'न्यायालय अडिग हुँदा न्याय हुँदो रहेछ भन्ने हिजोको सर्वोच्चको फैसलाले प्रमाणित गरेको छ,' कोइरालाले भने, 'राज्य संयन्त्र पूरै लाग्दा पनि न्यायालयले कानुन अनुसार फैसला गर्‍यो ।'

उनले देशको आर्थिक अवस्था दयनीय रहेकोप्रति चिन्ता व्यक्त गरे । 'अवकाश प्राप्त कर्मचारीको पेन्सनका लागि २० मिलियन र सामाजिक सुरक्षा भत्ताका लागि राज्यले बजेटको व्यवस्थापन गर्न नसक्ने अवस्था छ,` उनले भने, 'प्रदेशले केही मन्त्रालयहरू घटाएकाले केही अर्ब सञ्चित भएको र यससलाई संघीय सरकारले पनि अंगिकार गर्नु आवश्यक छ ।'

विज्ञापन दिने संस्था नै धाराशायी भइसकेको अवस्थामा समग्र मिडिया क्षेत्र प्रभावित भएको उनले बताए । देशका उद्योगहरू धाराशायी हुँदै गएको अवस्था रहेकाले समयमै सचेतना अपनाउनु आवश्यक भएको उनले सुनाए ।

कोइरालाले कांग्रेस जुनसुकै बेला सरकारमा जान सक्ने बताए । 'यो भन्दा अगाडि साढे तीन वर्ष कांग्रेस विपक्षमै थियो तर एमाले र माओवादीकै कारण सरकारको नेतृत्व पाएको थियो,' उनले भने, 'यस पटक देशको ठूलो दल हुँदाहुँदै पनि सरकारमा जानबाट बञ्चित हुनु परेको छ र राजनीतिमा यस्ता घटना भइरहन्छ । त्यसैले यो विषयमा धेरै चिन्ता लिनु पर्दैन किनकी जुनसुकै बेला सरकारमा जान सक्छौं ।'

प्रकाशित : माघ १४, २०७९ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?