भूकम्प प्रभावित क्षेत्रमा औषधि अभाव

मोहन शाही

डोटी — दम रोगले ग्रसित सिमबाटा गाउँका भूकम्पपीडित ६५ वर्षीय प्रसादे लुहार एक महिनाको अवधिमा ३ पटक काडामाडौं स्वास्थ्यचौकी धाए । तर औषधि नपाएर रित्तै फर्किए । गत साता बाख्रा बेचेर ३ घण्टा दूरीको चौखुट्टेस्थित निजी मेडिकलमा पुगेर उपचार गरे ।

सिमबाटा गाउँकै देउसरा साउदले रुघाखोकीबाट छातीमा कफ जमेपछि २ छोरीलाई स्वास्थ्यचौकी लैजाँदा उपचार पाइनन् । छिमेकीसँग ऋण लिएर उनले पनि निजी मेडिकलमा उपचार गराइन् ।

उप्परकाडा, सिमबाटा, नुवाघर, गैरा, धानुकाडा, बटालाका गाउँलेमा रुघाखोकी, श्वासप्रश्वास र दमको समस्या बढी छ । त्रिपालमुनि सुत्नुपर्दा झन्डै ९ सय बढी बिरामी भए पनि औषधिबाट भने वञ्चित हुनुपरेको स्थानीय काल्च्या साउद बताउँछन् । ‘रुघाखोकी, निमोनियाबाट संक्रमित नभएका कुनै बालबालिका छैनन्,’ उनले सुनाए ।

गत कात्तिक २३ मा आएको भूकम्पबाट प्रभावित डोटीको पूर्वीचौकी गाउँपालिकाभरि अत्यावश्यक औषधिको लामो समयदेखि अभाव छ । पालिकाले अझै औषधि आपूर्ति गर्न सकेको छैन ।

विभिन्न रोगका संक्रमण फैलन सक्ने सम्भावना भएका बेला सरोकारवाला झन् गैरजिम्मेवार बन्दै गएका छन् । भूकम्पपीडितको सहयोगका लागि कार्यरत दातृ संस्थाले समेत चासो नराखेको स्थानीयको गुनासो छ ।

‘चिसोले दिनरात खोक्दाखोक्दा छाती फुटिसक्यो, राम्रो अस्पताल गएर उपचार गर्न पैसा छैन,’ सिमबाटा गाउँकी पबी ढोलीले दुखेसो पोखिन्, ‘एक दिन हैन, दुई दिन हैन, जहिले औषधि नल्याई रित्तै फर्कनुपर्ने भएको छ ।’

पालिकामा २ महिनायताबाट औषधि अभाव भएको स्वास्थ्य इकाई प्रमुख रामप्रसाद पाठकले बताए । उनले भण्डारणमा राखिएका औषधि सकिँदै गएकाले पनि स्वास्थ्य संस्थालाई वितरण गर्न नसकिएको बाध्यता सुनाए । २ महिना अवधिमा स्वास्थ्य संस्थाहरूमा रुघाखोकी, निमोनिया तथा दमका ९ सय ९५ बिरामीहरू उपचारका लागि आइसकेको स्वास्थ्य इकाईमा तथ्यांक छ । यद्यपि पालिकाले भाद्र महिनामा खरिद गरेको औषधिसमेत वितरण नगरी थन्काएर राखेको स्रोतले बतायो ।

चालु आर्थिक वर्षका लागि टेन्डर आह्वान गरी औषधि खरिद गर्ने निर्देशन कार्यपालिकाले दिएको भए पनि कार्यालय प्रमुखले सोझै खरिद गरी ल्याउँदा विवाद भएको थियो । कार्यालय प्रमुखले मनोमानी रूपमा खरिद गरेकाले सो औषधि वितरण गर्न स्वास्थ्य इकाईलाई कार्यपालिकाले अनुमति नदिएर थन्काइएको छ ।

गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले भने लामो समयदेखि लेखापाल र कार्यालय प्रमुख नहुँदा औषधि खरिद प्रक्रियामा ढिलो भएको बताए । नयाँ कार्यालय प्रमुख आइसकेकाले केही दिनमै औषधि अभावको समस्या टार्ने अध्यक्ष उपाध्यायको भनाइ छ ।

अहिले पूर्वीचौकी गाउँपालिकामा सिटामोल, ब्रुफिन, दम रोगीका लागि दिइने सालबुटामोल, बालबालिकालाई खुवाइने एमोरेक्स, कोट्रिमोक्साजोल, मेट्रोनिडाजोल, उच्च रक्तचापका बिरामीले दैनिक रूपमा खाने एम्लोडिपिन एस्प्रिन, सुगरका बिरामीले खाने मेटफर्मिन, मानसिक समस्या भएकाले खाने एमिट्रिप्टिन तथा बिरामीलाई निःशुल्क दिइनुपर्ने अन्य

औषधिहरू एमोक्सिसिलिन, कोट्रिमोक्साजोल, एम्पिसिलिन लगायतका अत्यावश्यक औषधिसमेत नभएको सानागाउँ स्वास्थ्यचौकीका अहेव खड्क विकले बताए । उनले पालिकाबाट ९ महिनादेखि ती औषधि उपलब्ध नहुँदा उपचारका लागि आएका बिरामीहरूलाई रित्तै फर्काउनु परिरहेको गुनासो पोखे ।

प्रकाशित : माघ १४, २०७९ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्

विवाह गर्न वडाको स्वीकृति !

कान्तिपुर संवाददाता

राजविराज — सप्तरीको सुरुंगा नगरपालिका–७ मा वडा कार्यालयको पूर्वस्वीकृति लिएर मात्र विवाह गर्न पाइने भएको छ । 

विवाहअघि जन्मदर्ता वडा कार्यालयमा पेस गरी स्वीकृति लिएर मात्र विवाह गर्न वडाले अनिवार्य गरेको छ । २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाउने साथै २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने/गराउने कार्यमा संलग्न हुने जन्ती, पुरोहितसमेतलाई कारबाही हुने वडाध्यक्ष शिवनारायण चौधरीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

सूचनामा विवाहको निमन्त्रणा पत्र छपाउँदा बेहुला र बेहुलीको जन्ममिति अनिवार्य उल्लेख गर्नुपर्ने भनिएको छ । सप्तरीको सुरुंगा नगरपालिका मधेस प्रदेशमै बाल विवाहमुक्त पहिलो पालिका हो ।

गत मंसिर १४ मा उक्त नगरलाई बाल विवाहमुक्त नगरपालिका घोषणा गरिएको थियो ।


प्रकाशित : माघ १४, २०७९ ०७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×