कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मेडिसिटी अस्पतालले २० महिने बालकलाई दियो म्याद गुज्रेको खोप 

एनएमसीमा उजुरी, छानबिन गरिँदै
बुनु थारु

काठमाडौँ — नेपाल मेडिसिटी अस्पतालले २० महिने बालकलाई म्याद गुज्रेको खोप दिएको पाइएको छ । भक्तपुर लोकन्थलीका सौरभ भट्टराईका छोरा सारांश भट्टराईलाई अस्पतालले १ महिनाअघि नै म्याद सिद्धिएको खोप लगाइदिएको हो ।

मेडिसिटी अस्पतालले २० महिने बालकलाई दियो म्याद गुज्रेको खोप 

अस्पतालमा खोपका लागि आवश्यक रकम तिरेको बिलमा खोपको म्याद गुज्रिने मिति मे, २०२४ लेखिए पनि खोप कार्डमा ‘हेक्सासिम’ खोपको म्याद नोभेम्बर २०२२ मै सकिएको देखिएको छ । यो खोप सातवटा खोपहरुको संयोजन हो, जुन ६ हप्ताभन्दा माथिका बालबालिकालाई लगाइन्छ । यो खोपले भ्यागुते रोग, लहरे खोकी, टिटानस, पोलियो, हेपटाइटिस बी र हेमोफिलस एन्फ्लुएन्जा टाइप बीविरुद्ध सुरक्षा दिन्छ ।

अस्पतालको लापारबाही देखिएपछि भट्टराईले नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीलाई पत्र पनि लेखेका छन् । काउन्सिलका रजिस्ट्रार कृष्ण अधिकारीले काउन्सिलमा उजुरी आएको र यसको छानबिन भइरहेको बताए । ‘हामीलाई यसबारे उजुरी परेको छ । छानबिन भइरहेको छ त्यसपछि भन्न सकिएला,’ उनले भने।

बालकका बुबा भट्टराईले राजधानीकै ठूलो अस्पताल भनेर दाबी गर्ने अस्पतालको हदैसम्मको यस्तो लापारबाही गरेकाले आवश्यक कारबाहीका लागि काउन्सिलमा उजुरी दिएको बताए । उनले जनवरी १५ (माघ १) मा छोरालाई सामान्य जाँच र खोप लगाउन लगेका थिए । भट्टराईले बच्चाको डेलिभरी र सामान्य जाँचसँगै खोप पनि सोही अस्पतालमा लगाउँदै आएका थिए ।

‘विश्वास गरेर हामी सधैं यही अस्पतालमा आउँछौं । मेरो बच्चालाई केही भएको भए के हुन्थ्यो ?अस्पतालले गल्ती स्विकारेर माफी मात्रै मागेर आफ्नो जिम्मेवारीबाट पन्छिन पाउँदैन,’ उनले भने, ‘मानव जीवनसँग खेलबाड गर्न कसरी सकेको ? यसरी म्याद गुज्रेको खोप लगाउनु त अपराध हो । म्याद गुज्रेको खानेकुरा, क्रिम नै लगायो भने त झन् चासो बन्छ भने यो त शरीरभित्रै जाने चिज कति ठूलो विषय हो । समाज तथा अरु अभिभावकहरु पनि सचेत होउन् र भविष्यमा यस्ता ठूला अस्पतालले लापारबाही नगरून् भन्ने हो ।’

विभिन्न अध्ययनले म्याद सिद्धिएको खोप लगाउँदा नकारात्मक प्रभाव खासै नदेखिने बताएपनि रोगविरुद्धको सुरक्षाकालागि प्रभावकारी नहुने उल्लेख गरेका छन् । ‘प्रभावकारिता नहुने भएपछि त बाबुलाई त्यो खोपले दिने सुरक्षाबाट वञ्चित हुने भयो नी, भट्टराई भन्छन्, ‘अहिले बच्चालाई केही भएन तर पछि केही भयो भने त्यसको जिम्मेवारी कसले लिन्छ ? यसमा अस्पताल जवाफदेही हुनुपर्छ । कारबाही हुनुपर्छ ।’

स्वास्थ्य सेवा विभाग, खोप शाखाका पूर्वप्रमुख डा. झलक शर्माले म्याद सकिएको खोपले रोगविरुद्ध लड्ने क्षमता नबन्ने बताए । ‘हेक्सासिम खोपको बारेमा छुट्टै अध्ययनहरू त पढ्न पाएको छैन । तर म्याद गुज्रेको खोपले काम गर्दैन । जुन रोगविरुद्धको खोप दिएको हो त्यो रोगविरुद्ध लड्न सक्ने क्षमता विकास हुने हुन्छ, जसलाई एन्टीबडी भन्छौँ‚ त्यो म्याद गुज्रेको खोपबाट उत्पादन हुँदैन र प्रभावकारिता पनि हुँदैन,’ उनले भने ।

अस्पतालकी मिडिया कोअर्डिनेटर मनिता पोखरेलले यस विषयमा छानबिन भइरहेको बताउँदै थप बोल्न नमिल्ने बताइन् । हेक्सासिम खोप उत्पादन गर्ने कम्पनीको आधिकारी वेबसाइटमा खोपको मिति गुज्रिएपछि प्रयोग गर्न नहुने उल्लेख छ ।

प्रकाशित : माघ १३, २०७९ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?