सिंहदरबारमा मेलम्चीको पानी पठाइँदै

ऋषिराम पौड्याल

काठमाडौँ — खानेपानी मन्त्रालयले सिंहदरबारभित्रका सरकारी कार्यालय तथा निकायहरुमा जार र बोतलमा भरिएको मिनिरल वाटरको प्रयोग न्यूनीकरण गर्न चौबिसै घण्टा उपलब्ध हुनेगरी मेलम्चीको पानी पठाउने तयारी गरिएको छ ।

सिंहदरबारमा मेलम्चीको पानी पठाइँदै

त्यसका लागि अनामनगरको साइटबाट मेलम्चीको पानीको मूल पाइप सिंहदरबार छिराइसकिएको छ । मेलम्ची आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी सप्लाइको व्यवस्था मिलाइरहेको छ । सिंहदरबारका सबैजसो कार्यालयका कोठाकोठामा मिनरल वाटरका जार तथा बोतल देखिने गरेको छ । मिनरल वाटरमा सिंहदरबारभित्र मात्र कति रकम खर्च हन्छ अध्ययन भएको भने पाइँदैन । पानी निरन्तर सप्लाई होस् भन्नका लागि ट्रक लाइनमार्फत पानी पठाउने व्यवस्था मिलाइएको छ ।

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालका अनुसार सकेसम्म सिंहदबारमा मिनरल वाटरका जार र बोतलको प्रयोग पूर्ण रुपमा हटाउने योजना रहेको बताए । सचिव गेलाले सर्वसाधारणले मेलम्चीको पानी पिइरहेको अवस्थामा सिंहदरबारमा असम्भव नहुने बताए । उनले भने, ‘सरकारले आर्थिक अनुशासन पालना गर्न ताकेता गरिरहेको अवस्थामा पानी खरिदमा मासिक करोडौं सरकारी राजस्व खर्च रोक्न खोज्नु स्वाभाविक हो ।’

उनका अनुसार नवनियुक्त खानेपानीमन्त्री अब्दुल खानले अस्ति पदभार ग्रहण गर्ने क्रममा मिनर वाटरको प्रयोग कम गर्न छिटोभन्दा छिटो मेलम्चीको पानी सिंहदरबारमा वितरण गर्न निर्देशन दिएका थिए । निर्देशनका क्रममा उनले सिंहदरबारमा सकेसम्म मेलम्चीको पानी नै पिउन उपयुक्त हुने वातावरण बनाउन निर्देशन दिएका थिए । बैठकमा सहभागी एक सहसचिवका अनुसार मन्त्री खानले सिंहदरबारमा पानीको सहज पहुँच बनाउन भनेका थिए ।

आयोजना कार्यान्वयन निर्देशक राजेन्द्र सापकोटाका अनुसार ४६ लिटर प्रतिसेकेन्ड पानी सिंहदरबार पठाउन उत्तरतर्फबाट पाइप पठाइसकिएको छ । सिंहदरबारमा ‘पिक-आवर’ मा प्रतिसेकेन्ड ४० लिटर पानी आवश्यक पर्ने अनुमान रहेको छ । प्रतिसेकेन्ड ३० देखि ४० लिटर पानी सहज रुपमा चौबिसै घण्टा सिंहदरबार पठाउन सक्ने संरचना निर्माण गरेको जानकारी उनले दिए । आयोजना निर्देशनालयले मेलम्चीको पानी वितरण लाइन तयार गर्छ भने केूकेएलले पानी वितरणको व्यवस्थापन मिलाउँछ । सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबैजसो मन्त्रालय, संघीय संसद् सचिवालय, विभिन्न आयोग, सुरक्षा निकाय तथा कार्यालयहरू रहेको छ । अहिले संघीय संसद्‌को नयाँ भवन पनि सिंहदरबारमा बनिरहेको छ ।

प्रकाशित : माघ १३, २०७९ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?