जसपा र उन्मुक्ति पार्टी सत्तारूढ कि प्रतिपक्ष ?- समाचार - कान्तिपुर समाचार

जसपा र उन्मुक्ति पार्टी सत्तारूढ कि प्रतिपक्ष ?

संघ सरकारलाई समर्थन फिर्ता गरे नेता रिहाइको माग सुनुवाइ नहुने नागरिक उन्मुक्तिलाई डर
जसपालाई विपक्षमा जानासाथ मधेस सरकारको नेतृत्व गुम्ने जोखिम
कलेन्द्र सेजुवाल

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन सघाएका जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सत्ताबाहिरै रहेका छन् । दाबी गरेजति मन्त्रालय नपाएपछि जसपा सरकारमा नगएको हो भने नागरिक उन्मुक्ति पार्टी नेता रेशम चौधरीलाई रिहा गर्नुपर्ने सर्तका कारण सत्तासीन भएको छैन । 

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा माओवादी अध्यक्ष दाहाल पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए ।

संघ सरकारमा अहिले एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाको मात्र प्रतिनिधित्व छ । जसपाले मधेस प्रदेशमा अन्य दलसँग साझेदारी गरेर सरकारको नेतृत्व गरेको छ । नागरिक उन्मुक्ति पार्टी भने विपक्षी बेन्चमा बसेको छ । सत्ता साझेदार दलले सुदूरपश्चिमको उपसभामुख पद दिँदा पनि नागरिक उन्मुक्ति पार्टीले स्वीकार गरेन ।

जसपाले उपराष्ट्रपति र तीन मन्त्रालय मागेकामा सत्ता साझेदार अन्य दलले एकमात्र मन्त्रालय दिने निर्णय गरेका थिए । त्यसपछि रुष्ट बनेको जसपाले मधेस प्रदेशको सत्ता समीकरण भत्किने जोखिमका कारण संघ सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिएको छैन । सातदलीय सत्ता गठबन्धनबीच केन्द्रमा भएको सहमतिअनुसार मधेसमा जसपाका सरोज यादव गत पुस २७ मा एमाले, जनमत पार्टी, माओवादी र तीन स्वतन्त्रको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

मधेसमा एमाले पहिलो, कांग्रेस दोस्रो र जसपा तेस्रो ठूलो दल छन् । प्रदेश सरकारमा आधा कार्यकाल चौथो ठूलो दल जनमत पार्टीले नेतृत्व गर्ने सत्ता गठबन्धनको सहमति छ । ‘मधेसमा कसैले चाहँदैमा सरकार ढल्दैन, तर केन्द्रीय सत्ता बाँडफाँटमा उहाँहरू (एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा) ले मनपरी गर्नुभएको छ,’ जसपा अध्यक्ष उपेन्द्र यादवले कान्तिपुरसँग भने, ‘तैपनि हामी सरकारलाई दिएको तत्काल समर्थन फिर्ता लिँदैनौं, अहिले हामी कुनै पनि गठबन्धनमा छैनौं ।’

प्रतिनिधिसभा निर्वाचनमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका अध्यक्ष यादवको प्राथमिकता केन्द्रीयभन्दा प्रदेश सत्तामा रहेको छ । चुनाव जितेका बहुमत सांसदले सरकारमा जानुपर्नेमा जोड दिएका भए पनि अध्यक्ष यादवले सरकारबाहिर रहेर पार्टीको शक्ति आर्जन गर्नुपर्ने तर्क गर्दै शक्ति बाँडफाँटमा चासो नदिएको एक सांसदले गुनासो गरे । ‘अध्यक्षजी संसद्मा नभएपछि उहाँको तर्फबाट सरकारमा सम्मानजनक सहभागिताका लागि जति प्रयास हुनुपर्ने हो, त्यसमा कमी रह्यो,’ उनले भने, ‘बरु पार्टीको प्रमुख जनाधार रहेको मधेस प्रदेशमा पार्टी नेतृत्वको सरकार बनाउन उहाँले निकै मिहिनेत गर्नुभयो ।’

जसपा संसदीय दल नेता रामसहाय प्रसाद यादवले सुरुमा सरकारमा नगई पार्टी निर्माणमा लाग्नेबारे छलफल भए पनि सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा नागरिकतालगायत मुद्दा सम्बोधन गर्ने उल्लेख भएपछि सरकारमा जाने निर्णय भएको बताए । ‘हाम्रा माग र मुद्दामा सकारात्मक परिणाम आउने देखिएपछि सरकारमा सहभागी हुन कुनै समस्या छैन, तर शक्ति बाँडफाँटमा कुरा मिलेको छैन,’ उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाललाई शक्ति बाँडफाँटको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरिरहेका छौं ।’

सरकारलाई समर्थन र विश्वासको मत दिएर पनि विपक्षी बेन्चमा बसेको नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा दोषी (पार्टीको भनाइमा राजबन्दी) देखिएका नेता–कार्यकर्तालाई जेलमुक्त गर्नुपर्नेर् एकसूत्रीय माग राखेको छ । संविधान निर्माणका क्रममा मधेस र थरुहटका मुद्दा सम्बोधन नभएको भन्दै सुरु भएको आन्दोलन हिंसात्मक हुँदा २०७२ भदौ ७ मा टीकापुर घटना भएको थियो, जसमा ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।

घटनाको अर्को दिन थारूहरूका घर जलाइएका थिए भने ५८ जनामाथि मुद्दा चलाइएको थियो । मुद्दा चलाइएकामध्ये ३१ जना अहिले पनि फरार छन् । बाँकी २७ जनामध्ये कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलबाट सजाय सुनाइएका ७ जना जेलमा छन् । रेशम चौधरीसहित ६ जनाले जन्मकैद र एक जनाले १० वर्षको सजाय भोगिरहेका छन् । जिल्ला अदालतले तीन वर्षको सजाय तोकेका एक जना (लक्ष्मण थारू) लाई उच्च अदालतले जन्मकैद हुने फैसला सुनाएको छ । उच्च अदालतको आदेश आउनुअघि नै जिल्ला अदालतले तोकेको तीन वर्षको सजाय पूरा गरेका उनी जेलमा छैनन् । रेशमसहित सातै जनाले सर्वोच्च अदालतमा गरेको पुनरावेदन विचाराधीन छ ।

वर्तमान सरकार निर्माणका बेला प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले कानुन संशोधन गरेर उनीहरूलाई जेलमुक्त गर्ने आश्वासन दिएका थिए । ‘टीकापुर घटनाका राजबन्दीलाई जेलमुक्त गर्ने समझदारी भएपछि हाम्रो पार्टीले सरकारलाई समर्थन र विश्वासको मत दिएको हो,’ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले भनिन्, ‘माग पूरा नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौं ।’ बन्दी रिहाइको माग पूरा भए सरकारमा जाने उनको भनाइ छ ।

माग पूरा नभएको भन्दै सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि दोस्रो पटक भएको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका सांसद तटस्थ बसेका थिए । सरकारबाट रेशमलगायतलाई जेलमुक्त गर्ने आश्वासन पुनः पाएपछि तेस्रो पटक बल्ल माओवादी केन्द्रका सभामुख उम्मेदवार भीमबहादुर भण्डारीलाई नागरिक उन्मुक्ति पार्टीले मतदान गरेको थियो । उसले विश्वासको मत नदिए सुदूरपश्चिम सरकार ढल्ने अवस्थामा छ । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले चाहेमा कांग्रेसको सहयोगमा सरकारको नेतृत्व गर्न सक्छ । कांग्रेसले मुख्यमन्त्री दिएर सरकार निर्माण गर्न प्रस्तावसमेत गरिसकेको थियो । तर प्रदेशमा सत्तारोहण गरेर संघीय सरकारसँग टकराब गर्ने जोखिम उसले उठाउन चाहेन ।

नागरिक उन्मुक्ति पार्टीका एक नेताले संघीय सरकारसँग दूरी बढाउँदा आफ्नो प्रमुख माग पूरा हुनुको साटो थप अप्ठेरो अवस्था आउने देखेरै समर्थन र विश्वासको मत दिएको बताए । रेशमलगायतका नेता जेलमुक्त गर्नका लागि फौजदारी कार्यविधि (संहिता) ऐन संशोधन गर्नुपर्छ । त्यसका लागि अध्यादेश ल्याउने वा संसद्मा विधेयक लाने काम सरकारले नचाहे सम्भव छैन । फौजदारी कार्यविधि (संहिता) ले जिल्ला अदालतमा विचाराधीन मुद्दा मात्रै सरकारले फिर्ता लिन सक्ने व्यवस्था गरेको छ ।

पूर्ववर्ती कांग्रेस नेतृत्वको सरकारले गत मंसिर २५ मा अध्यादेशमार्फत फौजदारी कार्यविधि (संहिता) संशोधन गरेर ‘जुनसुकै अदालतमा विचाराधीन’ मुद्दा पनि फिर्ता लिन सक्ने गरी कानुनी व्यवस्था गर्ने निर्णय गरेको थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी नगर्दा ऐन संशोधन हुन सकेन । ‘सत्ता गठबन्धनलाई सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण आफ्नो पक्षमा पार्नका लागि हामीलाई साथमा राख्नुपर्ने बाध्यता छ भने हामीलाई हाम्रा राजबन्दी छुटाउन सरकारको सहयोग चाहिएको छ,’ ती नेताले भने, ‘होइन भने त हामीलाई कांग्रेससँग मिल्न कुनै समस्या थिएन, आखिर कांग्रेसको सरकारले अध्यादेश ल्याएर हाम्रो माग पूरा गर्न खोजेकै थियो ।’

सत्ता समीकरणमा चार दल (एमाले, माओवादी, राप्रपा र रास्वपा) को स्पष्ट बहुमत भएकाले जसपा र नागरिक उन्मुक्ति पार्टी सरकारबाहिर बस्दा केन्द्रीय सत्तामा खासै फरक पर्दैन । सुदूरपश्चिमको सत्ता समीकरण भने फेरिन सक्ने भए पनि बदलामा आफ्ना नेताहरूको जेलमुक्तिको प्रमुख माग सुनुवाइ नहुने भएकाले सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने ती नेताको भनाइ छ ।

विपक्षी बेन्चमा सर्नेबित्तिकै जसपाले मधेस सरकारको नेतृत्व गुमाउन सक्छ । ‘संसद्मा चार दल (एमाले, माओवादी केन्द्र, राप्रपा र रास्वपा) को स्पष्ट बहुमत हुँदा हामी पेलिएका छौं, तर अहिल्यै सरकारसँग विद्रोह गर्न सक्ने अवस्थामा छैनौं,’ जसपाका एक सांसदले भने ।

प्रकाशित : माघ १३, २०७९ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेशमाथि केन्द्रको सधैं हस्तक्षेप

पाँच वर्षमा ७ प्रदे शमा ४ सय ३७ कानुन निर्माण तर तिनको प्रभावकारी कार्यान्वयन भएको छैन
कलेन्द्र सेजुवाल

काठमाडौँ — तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ कात्तिकमा प्रदेश सरकारलाई ‘संघीय सरकारको इकाई (युनिट)’ भएको अभिव्यक्तिले संघीयताको मर्ममाथि प्रहार भएको भन्दै आलोचना भयो । तर संघीयता कार्यान्वयनमा आएको ७ वर्षसम्म प्रदेश तह निरन्तर केन्द्रको हस्तक्षेप खेपिरहेको छ ।

सोमबारमात्र प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेशका मन्त्रालयको संख्या घटाउन प्रस्ताव गरेको बताएर प्रदेशको क्षेत्राधिकारमाथि पुनः चासो राखेका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल नेतृत्वको टोलीसँग उनले भनेका थिए, ‘प्रदेशहरू आफैंमा स्वायत्त तह हुन्, त्यसमा केन्द्रले हस्तक्षेप गर्नु हुँदैन । तर प्रदेशका संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको, वित्तीय सुशासन कायम हुन नसकेको जनगुनासोबारे हामी सचेत छौं ।’

मधेस प्रदेश सरकारका पूर्वमुख्यन्यायाधिवक्ता दीपेन्द्र झा प्रधानमन्त्री दाहालको भनाइ २ वर्षअघि तत्कालीन प्रधानमन्त्री ओलीको भनाइसँग मिल्दो रहेको बताउँछन् । ‘प्रदेशमा मन्त्रालयको संख्या कटौती गर्ने कुरा स्वागतयोग्य छ । मन्त्रालयको संख्या कति राख्ने भन्ने प्रदेश कार्यकारीले निर्धारण गर्ने हो । कतिपय प्रदेशले यसको सुरुवात पनि गरिसकेका छन्,’ उनले कान्तिपुरसँग भने, ‘तर प्रधानमन्त्रीले ‘हस्तक्षेप गर्नुहुँदैन’ भन्दै हस्तक्षेपकारी अभिव्यक्ति दिनु आफैंमा हस्तक्षेप हो ।’

नेपालको संविधानको धारा ५६ मा राज्यको संरचना संघ, प्रदेश र स्थानीय तह गरी ३ तहको हुने उल्लेख छ । झाका अनुसार संविधानको सीमाभित्र रहेर प्रदेशको कार्यकारीले प्रदेशको आवश्यकता र क्षमता हेरेर मन्त्रालयको संख्या निर्धारण गर्नसक्छन् । प्रदेश तहको दोस्रो कार्यकालमा बनेका नयाँ सरकारले प्रदेश १ र गण्डकीमा मन्त्रालयको संख्या घटाइसकेका छन् । प्रदेश १ ले मन्त्रालय संख्या १३ बाट घटाएर ९ र गण्डकीले १२ बाट घटाएर ७ बनाएको छ । कर्णालीमा पनि प्रदेश तहमै सत्ता साझेदार दुई दल एमाले र माओवादी केन्द्रबीच मन्त्रालय संख्या ८ बाट घटाएर ७ बनाउने निर्णय भएको छ । ‘प्रदेश तहले स्वायत्त रूपमा आफ्नो अधिकार अभ्यास गर्न थालेका छन्, प्रधानमन्त्रीले वित्तीय वा प्रशासनिक कारण देखाएर मन्त्रालय गर्न दबाब दिनु राम्रो होइन,’ पूर्वमुख्यन्यायाधिवक्ता झा भन्छन् ।

प्रधानमन्त्रीबाट बेलाबखत हुने अभिव्यक्तिमात्र होइन, संघीय सरकारको व्यवहार पनि अधिकार कार्यान्वयनको सवालमा हस्तक्षेपकारी रहने गरेको छ । संविधानको अनुसूची ६ मा २१ वटा अधिकारलाई प्रदेशको एकल अधिकारको सूचीमा राखिएको छ । त्यसैगरी अनुसूची ७ मा संघ र प्रदेशको तथा अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची राखिएको छ । संघीय सरकारको असहयोगका कारण एकल अधिकारसमेत कार्यान्वयन गर्न नपाएको प्रदेश सरकारहरूको अघिल्लो कार्यकालको गुनासो अहिले पनि यथावतै छ । पहिलो कार्यकालमा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारविरुद्ध मुख्यमन्त्रीहरूको मोर्चाबन्दीको नेतृत्व गरेका थिए । उनको संयोजनमा ०७५ भदौ २१ मा पोखरामा मुख्यमन्त्रीहरूको भेला भएको थियो ।

‘संघले प्रदेशका एकल अधिकारमाथि कुल्चेर कानुन बनाउने काम गर्‍यो, प्रदेशले राम्रो काम गर्न खोज्दा पनि असहयोग भयो,’ हाल प्रतिनिधिसभा सदस्य रहेका गुरुङले भने, ‘त्यो अवस्था अहिले पनि यथावतै छ, तर प्रदेशमा सबै ‘एसम्यान’ मात्र छन् । प्रदेशले आफ्नो अधिकारबारे नबोल्दासम्म संघले अधिकार दिने अवस्था मैले देखेको छैन ।’ संघको असयोग र हस्तक्षेप प्रदेशसभाको दोस्रो कार्यकालमा पनि निरन्तर रहेमा संघीयतामा थप जोखिममा पर्ने उनले बताए ।

गुरुङको विचारमा प्रदेश तह बलियो हुन नसक्नुको प्रमुख कारण संघीय सरकारले प्रदेशलाई स्वायत्त रूपमा काम गर्न नदिनु हो । संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध र सहअस्तित्वलाई बलियो बनाउने गरी संघीय कानुन निर्माण गर्नुपर्नेमा त्यसमा ढिलाइ भइरहेको उनले बताए । ‘अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल संघीयता पक्षधर मानिनुहुन्छ, त्यसैले केही आशा गर्न सकिन्छ, तर उहाँले त्यसको लागि संघीयता कार्यान्वयन गर्ने आवश्यक कानुन बनाउनुपर्छ,’ गुरुङले भने, ‘प्रतिनिनिधिसभाको सभामुखको भूमिका पनि उत्तिकै सहयोगी र प्रभावकारी हुन आवश्यक छ ।’

पाँच वर्ष अवधिमा ७ प्रदेशमा ४ सय ३७ कानुन निर्माण भएका छन् । तर बनेका कानुन प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन् । प्रदेश १, मधेस, गण्डकी र लुम्बिनी प्रदेशले बनाएका प्रहरी ऐन अहिलेसम्म कार्यान्वयन भएका छैनन् । संघीय सरकारले बनाएको प्रहरी कर्मचारी समायोजन ऐनअनुसार प्रहरी समायोजन नगर्दाको प्रभाव प्रदेश प्रहरी ऐन कार्यान्वयनमा परेको छ । संघीय सरकारले प्रदेशका अधिकारमाथि अंकुश लगाउँदा कतिपय जरुरी कानुनसमेत बन्न सकेका छैनन् । ‘संविधानले दिएको अधिकारअनुसार कानुन बनाउँदा पनि त्यसलाई कार्यान्वयन हुनबाट रोकियो,’ मधेस प्रदेशका पूर्वमुख्यन्यायाधिवक्ता झाले अनुभव सुनाउँदै भने, ‘प्रदेशका अधिकारलाई अंकुश लगाएर सिंहदरबारमै केन्द्रित गर्दा संघीयता थप कमजोर भएको छ ।’

प्रदेश तहमाथि सरकार निर्माणको बेला दलीय केन्द्रीयता पनि लाद्ने गरिएको छ । प्रदेशको पहिलो र दोस्रो कार्यकालमा केन्द्रबाटै मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागबन्डा भएको छ । संविधानको धारा १६८ अनुसार प्रदेश सरकार निर्माणका साथै सभामुख–उपसभामुख चयनको अधिकार सम्बन्धित प्रदेशसभामा निहित रहेको छ ।

राजनीतिक दलहरूले भने प्रदेशसभालाई अनिर्णयको बन्दी बनाउँदै केन्द्रबाट मुख्यमन्त्री, सभामुखलगायत पदको भागबन्डा गर्ने गरेका छन् । राष्ट्रिय सभा सदस्यसमेत रहेका संघीयताविद् खिमलाल देवकोटा केन्द्र, प्रदेश र स्थानीय तहमा एउटै खालका दलहरूको वर्चस्व हुँदा प्रदेश तहमा पनि केन्द्रीय निर्णय हावी हुने गरेको बताउँछन् । प्रादेशिक राजनीतिक दलहरू बलियो भएमा मात्र त्यसले संघीयतालाई बलियो बनाउने गरी केन्द्रको हस्तक्षेप निस्तेज गर्ने उनको भनाइ छ ।

‘भारतमा सन् १९५० देखि १९९० को दशकसम्म केन्द्रदेखि प्रदेशसम्म कंग्रेस आईको एकछत्र राज थियो, क्षेत्रीय दलहरूको उदयसँगै प्रदेश तहमै सरकार निर्माण हुन थालेका हुन्,’ उनले भने, ‘नेपालमा पनि प्रादेशिक दलहरू निर्णायक नहुँदासम्म केन्द्रीय हस्तक्षेप कायमै रहने निश्चित छ ।’ सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको उदयले यस खालको छनक दिएको उनले बताए । उन्मुक्तिले समर्थन नगर्दासम्म केन्द्रबाट ठूला दलहरूले निर्णय गरेकै आधारमा प्रदेश सरकार निर्माण हुने अवस्था छैन । ‘नागरिक उन्मुक्तिजस्तै अन्य प्रदेशमा पनि निर्णायक हैसियत राख्ने क्षेत्रीय दलहरू आए भने केन्द्रको हस्तक्षेप स्वतः कम भएर जानेछ,’ देवकोटाले भने ।

प्रकाशित : माघ ११, २०७९ ०९:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×