कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राजमार्गका रात्रिबजार

यात्रामा खाना र शौचालयका लागि यात्रु रोकिन्छन्, रात्रिको सफरमा त्यस्ता सुविधा भएका बजार खुला पाइए कस्तो होला ? पूर्वपश्चिम राजमार्गमा केही यस्ता बजार छन्, जुन वर्षौंदेखि रातभर सञ्चालनमा छन् । राजमार्गको विस्तारसँगै यस्ता बजार को प्रकृति फेरिने गरेको छ ।

धनगढी, महोत्तरी, सप्तरी, कपिलवस्तु, चितवन — सुदूरपश्चिमका अधिकांश बजार रात छिप्पिन नपाउँदै सुतिहाल्छन् । तर, भीमदत्त राजमार्गमा पर्ने खानीडाँडा मात्रै प्रदेशको एक्लो त्यस्तो बजार हो, जुन रातभर गुल्जार रहन्छ । मध्यरातमा यहाँका होटलबाट कुखुराको सुप, खसीको मासुदेखि फापरका रोटीको बास्ना आइरहेको हुन्छ ।

राजमार्गका रात्रिबजार

कैलालीको अत्तरियादेखि ३० किलोमिटर दूरीमा रहेको खानीडाँडा सात पहाडी जिल्ला जोड्ने मार्गको पहिलो पहाडी बजार हो । राजमार्ग निर्माण क्रममा २०३२ सालतिर यो बजारको सुरुवात भएको थियो । ‘सडक बनाउँदा ठूलो पहाडको खान काटेर बनाइएको भएर यसको नाउँ नै खानीडाँडा भयो,’ सडक विभागका पूर्वकर्मचारी रामचन्द्र अवस्थीले सुनाए । लामो समय पहाड–तराई ओहोरदोहोर गर्ने यात्रुलाई खाना खुवाउने यो बजार अहिले चल्तीको राजमार्गको बजारभन्दा फरक बन्दै गएको छ ।

जुद्ध गुरुङ २०३२ सालतिर निर्माणका क्रममा खानीडाँडा पुगेका थिए । गाडी गुड्न थालेपछि बजार बढ्दै गएर रातभर चल्ने भएको उनको अनुभव छ । ‘यहाँका होटलमा लोकल खानेकुरा पाइने भएर पनि बजार चलायमान छ,’ उनले भने । १२ वर्षअघिसम्म पहाडी रुटमा चल्ने यातायातका साधन निकै कम थिए ।

खानीडाँडाका पुराना होटल व्यवसायी नारायण शर्माका अनुसार त्यतिबेला दैनिक ३०/४० सवारीसाधनका यात्रुलाई खाना खुवाउने खानीडाँडाले अहिले दैनिक सयभन्दा बढी सार्वजनिक सवारीका यात्रुको भोक मेटाउँछ । १० वर्षयता खानीडाँडा २४ सै घण्टा खुल्न थालेको हो । बिहान १० बजेदेखि राति २ बजेसम्म नै यहाँका होटल खुला हुन्छन् । सुदूरपश्चिमका सातवटा पहाडी जिल्ला डडेलधुरा, बैतडी, दार्चुला, डोटी, अछाम, बझाङ र बाजुरा जानेआउने यात्रु नै यो बजारका ग्राहक हुन् ।

खानीडाँडामा ससाना होटल मात्रै छैनन् । २०६४ मा धनगढीका पर्यटन व्यवसायी श्याम महराले ४ करोडभन्दा बढी लागतमा रिसोर्ट खोलेपछि यो बजार पर्यटकीय गन्तव्यका रूपमा बदलिन थालेको छ । अपिदेखि गणेश हिमालसम्मका शृंखला र तराईका कैलाली–कञ्चनपुर भारतको टनकपुर, महाकाली र कर्णाली नदी एकसाथ दृश्यावलोकन गर्न सकिने भएकाले पनि खानीडाँडामा यात्रुबाहेक पयर्टक पनि ओइरिन्छन् ।

यहाँ ठूला ४ र मझौला एक दर्जन होटल छन् । यी होटलमा दैनिक ३ सयभन्दा बढीको बास हुन्छ । पहाडी जिल्लाको प्रवेशद्वार भएकाले यहाँ हुँदै दैनिक १ सयभन्दा बढी यातायातका साधनमा ओहोरदोहर गर्छन् । मध्यरातमा पनि सेवा पाइने र चिसो हावा खान पाइने भएकाले गर्मी मौसममा भारतको दिल्ली, लखनउ, बरेलीदेखिका पर्यटक आइपुग्छन् ।

साइपाल रिसोर्टका प्रबन्ध निर्देशक श्याम महराले स्थानीयदेखि भारतीय पर्यटक दुवैको रोजाइमा खानीडाँडा परेको बताए । रात्रिकालीन बजारसँगै पर्यटकीय गन्तव्य बन्न थालेको खानीडाँडाको विकासका लागि चुरे गाउँपालिकासँग समन्वय गर्ने योजना बनिरहेको गोदावरी नगरपालिका प्रमुख वीरेन्द्र भट्टले बताए ।

दिनभर सुनसान, रातमा भ्याइनभ्याई

बर्दिबास र ढल्केवरको बीचमा पर्ने पूर्वपश्चिम राजमार्गको लालगढ बजार दिनभर सुनसान जस्तै देखिन्छ । जब रात ढल्किन्छ, चहलपहल सुरु हुन्छ । पूर्वपश्चिम जाने अधिकांश सवारीका यात्रुले खाना खाने ठाउँ लालगढ रातभर जाग्राम बस्छ ।

मिथिला–१० मा पर्ने २ किलोमिटर क्षेत्रमा फैलिएको लालगढमा ठूलासाना गरी ३० भन्दा बढी होटल छन् । तिनैमध्येको एक हो, सिर्जना होटल । राजमार्गमा रात्रिकालीन यात्रा गर्नेहरूलाई २५ वर्षदेखि खाना खुवाइरहेको सञ्चालक जीवन थापाले बताए । २०५० सालदेखि यहाँ रात्रिकालीन यात्रुलाई लक्षित गरी होटल खुल्न थालेका थिए । त्यसअघि रात्रिबस धेरैजसो सिरहाको लहानमा रोकिन्थे । समयक्रममा लहानको ठाउँ लालगढले ओगट्दै गयो ।

हाइवे होटलका सञ्चालक रोशन पोखरेल हरेक रात सप्तकोसी पूर्वबाट पश्चिमका विभिन्न जिल्लामा जाने झन्डै ३० वटा रात्रिबसका यात्रुलाई खाना खुवाउँछन् । ‘लहानमा ट्युबवेलको पानी गन्ध आउँथ्यो, धेरैले गुनासो गर्थे,’ उनले भने, ‘बिस्तारै त्यहाँबाट गाडीहरूले अलि अगाडिको दूरीलाई रोकिने स्पट बनाए, त्यो ठाउँ लालगढ भयो । लहानका हामी होटल व्यवसायीहरू यता आयौं ।’ २०५० तिर लहानबाट धेरैवटा होटल लालगढ सरेपछि नयाँ ठाउँमा चमकधमक सुरु भएको उनले बताए । पूर्वका विराटनगर, धरान, इलाम, काँकडभिट्टा, धनकुटा आदि विभिन्न ठाउँबाट रात्रिबसले यात्रुलाई बेलुकीको खाना खान ठिक्क ९–१० बजेको समय पारेर लालगढ ल्याइपुर्‍याउने गरेका छन् ।

लालगढस्थित हाइवे होटलमा १२ वर्षदेखि काम गर्दै आएका सागर खड्काको कामधन्दा राति १ बजेपछि मात्रै सकिन्छ । लसुन, अदुवा केलाउने र मसला तयार गर्ने काम सकेर सुत्दा २ बज्ने गरेको उनले सुनाए । स्थानीय माधुरी लुंगेलीले राजमार्गमा दिवासेवाका गाडीहरूका तुलनामा रात्रिबसले यात्रुलाई खाना खुवाउन लालगढ रोज्ने गरेको बताइन् । मिथिला–१० का वडाध्यक्ष सविन थापा भन्छन्, ‘लालगढले एक रातमा कम्तीमा २/४ सय यात्रुलाई खाना खुवाउँछ । राति चल्ने होटलकै कारण ससाना चिया र खाजा पसल पनि चलेका छन् ।’

बरमझियाको पेडा

पेडाको स्वादले चम्किएको सप्तरीको बरमझिया ६ वर्षयता रातभर खुल्न थालेको छ । असुरक्षाका कारण सम्साँझै बन्द हुने बरमझियामा पेडाको कारोबार बढेको व्यापारीहरूको अनुभव छ । पूर्वपश्चिम राजमार्ग हुँदै गुड्ने सवारीका यात्रु राति जतिबेला पनि बरमझिया आए स्वादिलो पेडा किन्न सक्छन् ।

पेडा व्यवसायी विजयकुमार गुप्ताका अनुसार जाडोमा पनि करिब २० प्रतिशत पसल रातभर खुल्छन् । गाडीका यात्रुले पेडा किन्न मात्रै होइन खाजा खान पनि यो बिसौनी उपयोग गरेका छन् । २०३२ सालतिर बरमझिया चोकमा वैद्यनाथ साहले पेडा पसल सुरु गरेका थिए । बिस्तारै पेडाको व्यापार बढ्यो । राजमार्गको यात्रामा रोकिएर कोसेलीका रूपमा किन्ने बढेसँगै बरमझियाको पेडा काठमाडौंसम्म पुगेको छ । अहिले यहाँ ९० वटा पेडा पसल छन् । तर, पेडाको ब्रान्डिङ गर्न भने व्यवसायी पछाडि परेको देखिएको छ । साविकको बरमझिया गाविस अहिले कञ्चनरूप नगरपालिकामा पर्छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रामकुमार यादव प्रहरीले सुरक्षाको प्रबन्ध गरेका कारण रात्रिकालीन व्यवसाय चालु रहेको बताए ।

‘गाडी आएको कान थापेर सुन्थ्यौं’

बुद्धभूमि नगरपालिका गोरुसिंगेका होटल व्यवसायी टेकनारायण जोशी राति कुर्दाकुर्दा बस नआएपछि बाटोमा गएर कान टाठो पार्थे । परबाट बस हुइँकिँदै आउँदै छ कि छैन भनेर चाल पाउन उनी यसै गर्थे । फोन र मोबाइल नभएको २०३४ सालतिरको प्रसंग सुनाउँदै उनले भने, ‘रातको सुनसानमा १० किलोमिटर परदेखि बस आएको थाहा हुन्थ्यो, अनि होटलमा खानाको तयारी सुरु भइहाल्थ्यो ।’ ०३४ सालदेखि पूर्व पश्चिम राजमार्गको गोरुसिंगेमा होटल सञ्चालन गर्दै आएका जोशी अहिले पनि यही व्यवसायमा छन् । गोरुसिंगेमा अहिले सानाठूला २५ भन्दा बढी होटल छन्, जुन रातभर सञ्चालन हुन्छन् ।

मध्यरात छिचोलेर अर्को दिनको पहिलो प्रहरसम्म चहलपहल हुने अर्को बजार हो, गोरुसिंगेबाट पश्चिममा पर्ने चन्द्रौटा । जहाँ झन्डै ३५ होटल छन् । गोरुसिंगेमा राति साढे १२ बजेसम्म चहलपहल हुन्छ भने चन्द्रौटामा राति १ बजेसम्मै । राजधानीबाट पश्चिमका लागि दिउँसो छुट्ने र पूर्वबाट आउने सवारीका यात्रुले यहाँको व्यापार व्यवसाय बढाएको लेखनाथ होटलका सञ्चालक लेखनाथ पाण्डेले बताए । ४५ वर्षदेखि गोरुसिंगेमा होटलको सेवा दिइरहेका उनले माओवादी द्वन्द्वका बेला सम्साँझै बजार बन्द हुने गरेको सम्झिए ।

चन्द्रौटा बजार राजमार्ग निर्माणसँगै सुरु भएको हो । २०२७/२८ सालमा पूर्वपश्चिम राजमार्ग बनाउँदा ठेकेदार र मजदुरको मुकाम थियो चन्दौटा । यहाँ होटल हाइवे चलाइरहेका ढुण्डीराज अधिकारीले बुटवलबाट हिँडेका यात्रुहरूको पानी पिउने ठाउँ नै चन्द्रौटा हुने गरेको विगत सुनाए । २०५१ सालपछि चन्द्रौटामा होटल बढ्न थालेको र समयक्रममा यो रात्रिकालीन बजारका रूपमा बदलिएको उनले सुनाए । चन्द्रौटामा २०६४ सालबाट रात्रिबसका यात्रुले खाना खान सुरुवात गरेको होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका संस्थापक अध्यक्ष ढुण्डीराज अधिकारीको भनाइ छ ।

मलिन मुग्लिन

काठमाडौंबाट मुलुकका विभिन्न जिल्लाका लागि निस्किएका यात्रुबसले यात्रुलाई खाना खुवाउने ठाउँ थियो मुग्लिन । कुनै समय रातभर जाग्राम रहने यो बजार अहिले राति ११ नबज्दै सुनसान भइसक्छ ।

१० वर्षयता मुग्लिनको रात्रिकालीन चहलपहल सुस्ताउन थालेको होटल व्यवसायीहरूको भनाइ छ । मुग्लिनका जस्ता होटल धेरै ठाउँ खुलेकाले रौनक हराएको होटल व्यवसायी संघ मुग्लिन इकाइका अध्यक्ष मीनबहादुर श्रेष्ठले बताए । चितवनको रामनगर कटेपछि काठमाडौं हिँडेका यात्रुले मुग्लिनबाहेक अन्यत्र खाना–खाजा विरलै पाउँथे । तर, राजमार्गका अनेक घुम्ती र चोकमा बग्रेल्ती होटल खुलेपछि मुग्लिन सुस्ताउँदै गयो ।

मुग्लिनको बजार २०५० देखि २०६५ सम्मै चम्केको थियो । मुग्लिनका पुराना होटल व्यवसायी तेजबहादुर शेरचनले २०५७ सालमा यहाँ ‘थ्री सिस्टर होटल’ खोले । मुस्ताङ थासाङ टिटी गाउँबाट आएर उनका बाबुआमाले मुग्लिनमा त्योभन्दा पहिल्यै २०४२ सालमा रचना होटल खोलिसकेका थिए । बाबुआमाभन्दा पहिले नै मुस्ताङका थकालीहरूले यहाँ होटल खोलिसकेको उनी बताउँछन् ।

थाकखोलाबाट पोखरा, पोखराबाट भरतपुर र त्यहाँबाट हेटौंडा हुँदै २०२६ सालमा मुग्लिन आएका सिद्धिप्रसाद शेरचन र पदमकुमारी शेरचनले त्यहीबेला होटल खोलेका थिए ।अहिले मुग्लिन बजारमा करिब ५० वटा होटल छन् । तीमध्ये ८/१० वटा होटल मधेसी समुदायले सञ्चालन गरेका छन् ।

प्रकाशित : माघ १३, २०७९ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?