५० हजार वर्षपछि पृथ्वी नजिक आउँदै हरियो पुच्छ्रेतारा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५० हजार वर्षपछि पृथ्वी नजिक आउँदै हरियो पुच्छ्रेतारा

मणि दाहाल

काठमाडौँ — ५० हजार वर्षपछि हरियो पुच्छ्रेतारा पृथ्वीको नजिकै आएको छ । पछिल्लोपटक उक्त पुच्छ्रेतारा पृथ्वीको नजिक आउँदा होमो सेपियन्स (मानिस) अफ्रिकाबाट विश्वको अन्यत्र बसाइँ सर्न थालेका थिए । यो पुच्छ्रेतारा पृथ्वीको सबैभन्दा नजिक आगामी बिहीबार अर्थात् फ्रेबुअरी २ मा आउनेछ ।

त्यस दिन पृथ्वी र पुच्छ्रेताराबीचको दुरी २ करोड ६४ लाख किलोमिटर हुनेछ । यो दुरी भनेको पृथ्वी र चन्द्रमाबीचको दुरीको १ सय १० गुणा बढी हो । हामी बस्दै आएको उत्तरी गोलार्द्धबाट ध्यानपूर्वक हेर्दा यो तारालाई खुला आँखाले देख्न सकिने सम्भावना रहेको खगोलशास्त्रीहरूले बताएका छन् । तर‚ त्यो हेर्न भने बिहीबार नै कुर्नु नपर्ने खगोलशास्त्रीहरू बताउँछन् ।

मध्यरातमा दूरबिनको प्रयोग गरेर पनि उक्त पुच्छ्रेतारा हेर्न सकिने खगोलशास्त्रीहरूले बताएका छन् । ‘मध्यरातपछि बिहानसम्म हेर्दा यो तारा देख्न सकिन्छ । बिहान साढे ४ बजेतिर क्षितिजको सबैभन्दा माथि रहन्छ‚’ नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले भने, ‘हामीले पनि काठमाडौँबाट अवलोकन गर्ने प्रयास गरेका छौँ तर अहिलेसम्म देखिएको छैन । अर्को सातासम्म राम्रोसँग देखिन्छ भन्ने आशामा छौं ।’ उनले काठमाडौंमा प्रकाश प्रदूषण बढी भएकाले नदेखिएको पनि हुनसक्ने बताए । ‘यसका लागि डार्क स्काई आवश्यक छ र प्रकाशको कारण काठमाडौंको आकास सफा छैन‚’ भट्टराईले भने, ‘बुधबारदेखि शुक्रबारसम्म नांगो आँखाबाट देखिने भन्ने अपेक्षा गरिएको छ । त्यस्तो अवस्थामा सहरभन्दा पनि ग्रामीण ईलाकाबाट राम्रोसँग देखिन्छ । त्यहाँ वायु र प्रकाश प्रदूषण सहरको तुलनामा कम हुन्छ ।’

कसरी पत्ता लागेको थियो पुच्छ्रेतारा ?

क्यालिफोर्नियास्थित पलोमर पहाडबाट ‘ज्विकी ट्रान्जिएन्ट फ्यासिलिटी’ (जेडटीएफ) टेलिस्कोपको प्रयोग गरेर सन् २०२२ मार्चमा यो पुच्छ्रेतारा पत्ता लगाएको थियो । त्यस समयमा यो तारा वृहस्पतिको वरिपरि परिक्रमा गरिरहेको थियो । त्यसबेला यो तारा खुला आँखाले देख्न सकिने सबैभन्दा धमिलो ताराभन्दा पनि करिब २५ हजार गुणा धमिलो थियो । तर‚ क्यामेरासहितको जेडटीएफले खिचेको धेरै रातहरूमा देखिएको आकासका तस्बिरहरू स्क्यान गर्दा यो पुच्छ्रेतारा पत्ता लागेको थियो ।

पुच्छ्रेतारा के हो र यो किन हरियो हुन्छ ?

पुच्छ्रेतारा धुलो र जमेका ग्याँसको पीण्ड हो । यसलाई केही खगोलशास्त्रीहरूले ‘फोहोरी हिउँको ढिक्का’ को संज्ञासमेत दिने गरेका छन् । कुनै एउटा पीण्ड चिसो वायुमण्डलमा विकास हुने र आफ्नो गतिमा चल्दै सौरमण्डल पुग्दा सूर्यको गुरुत्वाकर्षणले आफूतर्फ तान्ने भएकाले त्यो अन्तरक्रियाको क्रममा एउटा चित्ताकर्षक खगोलीय वस्तु बन्ने र त्यो वस्तु नै पुच्छ्रेतारा भएको बताइन्छ ।

सूर्यको तापले त्यसको सतह खिइँदै जाने हुँदा खिइएर गएको पदार्थबाट ग्याँस र धुलो निस्किने खगोलशास्त्रीहरू बताउँछन्, जुन करोडौं किलोमिटर पर पुग्छ । ‘कोमा’ नाम गरेको केन्द्र भागमा नपुग्दासम्म उक्त पीण्डको खिइने क्रम जारी रहन्छ । यो सूर्यबाट टाढा हुँदा निष्क्रिय हुने र सूर्यको नजिक हुँदा सूर्यको तापका कारण सक्रिय हुने बताइन्छ । सूर्यबाट आउने परावैजनी विकिरण र पुच्छ्रेतारामा रहेको डाइटोमिक कार्बन दुवैको अणु मिलेर यसबाट हरियो प्रकाश निस्किने र त्यही प्रकाशका कारण यो तारालाई हरियो पुच्छ्रेतारा भन्न थालिएको हो ।

यो पुच्छ्रेतारा कति चम्किलो छ ?

पुच्छ्रेताराको चमकको मापन अहिलेसम्म भएको छैन । वैज्ञानिकहरूले यही पुच्छ्रेतारा पहिलो पटक पत्ता लगाउँदा यो तारालाई पृथ्वीबाट पनि देख्न सकिने सम्भावना मात्रै रहेको भनी बताइएको थियो । किनभने प्रत्येक पुच्छ्रेताराको आफ्नो प्रकारको जीवन हुने भएकाले सूर्य पार नगर्दासम्म त्यसले कसरी प्रतिक्रिया जनाउँछ भन्नेबारे केही ज्ञान हुन्छ ।

गत जनवरी १२ मा यो पुच्छ्रेतारा सूर्यको नजिक पुगेको थियो र पृथ्वीतर्फ आउँदा बिस्तारै चम्किलो हुँदै आएको छ । करिब करिब खुला आँखाले देखिने अवस्थामा रहेको यो पुच्छ्रेताराले हामीलाई आगामी बिहीबार पृथ्वीलाई पार गर्नुअघि देखिने अवसर निकै छ । अहिले पनि यो पुच्छ्रेतारा डार्क स्काई (निष्पट्ट अँध्यारो) र खगोलीय वस्तुको अवलोकनको अनुभवहरूले पनि हेर्न सक्छन् । पुच्छ्रेतारामा कहिले काहीँ ग्याँस र धुलोको विष्फोट भएर अचानक धेरै चम्किलो पनि देख्न सकिने खगोलशास्त्री बताउँछन् ।

कसरी पत्ता लगाउने हरियो पुच्छ्रेतारा ?

नासोका अध्यक्ष भट्टराईले अहिले सप्तऋषि र ध्रुवताराको बीचमा रहेको बताए । उनका अनुसार यो पूर्वतर्फबाट उत्तरतर्फ सर्दै गएको देखिन्छ । उनले फ्रेबुअरीको पहिलो साता ध्रुव ताराको आसपास हुने बताए ।

अध्यक्ष भट्टराईले पुच्छ्रेतारा भन्नेबित्तिकै मानिसको चम्किलो र हरियो भनेर सोच्ने भए पनि नांगो आँखाले हेर्दा त्यस्तो नदेखिने बताए । ‘धमिलो बादलजस्तो देखिन्छ, तारा जस्तो चम्किलो हुँदैन । हामीले देख्ने गरेको तस्बिर राम्रो टेलिकोस्पको प्रयोग गरेर खिचिएका तस्बिरहरू हुन्,’ भट्टराईले भने ।

प्रकाशित : माघ १२, २०७९ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्

माओवादी-जसपा-नेकपा एसबीच मोर्चाबन्दीको कसरत : सत्ता राजनीतिमा निर्णायक हुने दाउ

तीन दलबीच एकता वा मोर्चाबन्दी भएमा प्रतिनिधिसभामा ५४ सिट हुनेछ । कांग्रेस र एमाले नमिलेको अवस्थामा तीन दलको मोर्चाको समर्थनबिना कुनै पक्षको पनि बहुमत पुग्न कठिन हुनेछ ।
मणि दाहाल

काठमाडौँ — नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी मोर्चा निर्माणमार्फत् आगामी राजनीतिक घटनाक्रममा ‘निर्णायक शक्ति’ बन्ने होडमा छन् । तीनै दल राष्ट्रपति निर्वाचनअघि नै मोर्चा निर्माण गरेर सत्ता राजनीतिको ‘निर्णायक शक्ति’ बन्ने दाउमा छन् । 

तीन दलबीच एकता वा मोर्चाबन्दी भएमा प्रतिनिधिसभामा ५४ सिट हुनेछ । माओवादी ३२, जसपा १२ र एसको १० सिट छ । कांग्रेस र एमाले नमिलेको अवस्थामा तीन दलको मोर्चाको समर्थनबिना कुनै पक्षको पनि बहुमत पुग्न कठिन हुनेछ । एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले एकताबाट आर्जन हुने शक्तिले तत्कालीन र दीर्घकालीन राजनीतिक घटनाक्रमले दुवैलाई प्रभावित गर्ने बताए । ‘एकताबाट प्राप्त हुने शक्तिले तत्कालीन र दीर्घकालीन राजनीतिक प्रभावित हुन्छ नै,’ भुसालले भने, ‘हाम्रो लक्ष्य वामपन्थी एकताको दीर्घकालीन उद्देश्यबाट गर्न लागेका हौं ।’

भुसालले माओवादी केन्द्र, नेकपा संयुक्त र जसपासँग छलफल भइरहेको बताए । ‘संयुक्तसँग वैचारिक रूपमा ठूलो भिन्नता छैन । माओवादी पनि नेकपाकालीन वैचारिक विषयमा आउन तयार छ,’ भुसालले भने, ‘अदालतको फैसलापछि माओवादी केन्द्र माओवादीमा फर्कियो र एमालेहरू बहुदलीय जनवादमा फर्किए । हाम्रो वैचारिक धार नेकपाकालीन नै छ ।’

२०७७ फागुन २३ मा सर्वोच्च अदालतले नेकपाको एकता प्रक्रिया रद्द गरेपछि एमाले र माओवादी केन्द्र विभाजित भएको थियो । त्यसैगरी एमालेबाट छुट्टिएर नेकपा एस बनेको हो । नेकपामा विवाद हुँदा तत्कालीन अध्यक्ष केपी शर्मा ओलीविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एसका अध्यक्ष माधवकुमार नेपाल एकै स्थानमा थिए । माओवादी, जसपा र एस कांग्रेसहितको गठबन्धन थियो । अहिले माओवादी केन्द्र एमालेसँग गठबन्धन गरेर सरकारको नेतृत्व गरिरहेको छ भने जसपाले दाहाल नेतृत्वको सरकार निर्माणमा सहयोग गरेको छ तर मन्त्रालय बाँडफाँटमा चित्त नबुझेका कारण सरकार सहभागी भएको छैन । एसले दाहाललाई विश्वासको मत दिए पनि संसद्‍मा भने विपक्षी दलमा रहेको छ ।

माओवादीका सचिव शक्ति बस्नेतले एससँग एकता र जसपासँग मोर्चाबन्दीको विषयमा छलफल भइरहेको बताए । ‘हामी (एकीकृत समाजवादी र माओवादी)बीच वैचारिक हिसाब र कार्यक्रमिक हिसाबले एकै स्थानमा छौं भन्ने बुझाइ हो,’ बस्नेतले भने, ‘राजनीतिक कारणले भन्दा पनि हामी अदालतको फैसलापछि प्रविधिक कारणले मात्रै विभाजित हुन पुगेका हौं । हाम्रा बुझाइहरू आधारभूत रूपमा उस्तै उस्तै छन् ।’

सचिव बस्नेतले कहाँ कसरी र कहिले एकता गर्ने विषयमा भने अझै स्पष्ट नभएको बताए । तर स्रोतहरूका अनुसार आइतबार माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहाल, जसपा अध्यक्ष यादव र एसका अध्यक्ष माधवकुमार नेपालबीच भएको गोप्य छलफल भएपछि वार्ता टोली सक्रिय भएको हो । तीनै दलबीच राष्ट्रपति निर्वाचनअघि नै एकता नभए मोर्चा बन्दी गर्ने तयार रहेको छ । बस्नेतले जसपासँग मोर्चा निर्माणको विषयमा छलफल भएको बताए । ‘संसद्‍मा संख्याको महत्त्व हुने भए पनि अहिले भइरहेको छलफल सत्तामा केन्द्रित होइन,’ बस्नेतले भने ।

सबैभन्दा ठूलो दल कांग्रेसले सम्भावित मोर्चा र एमालेलाई बाहिर राख्ने हो भने स्वतन्त्र सांसदसहित अन्य सबै दलको समर्थन जुटाउँदा पनि झिनो बहुमत मात्रै हुन्छ । एमाले र तीन दलको सम्भावित मोर्चा एकातर्फ हुँदा संसद्‍मा १ सय ३२ संख्या पुग्छ । यस्तो अवस्थामा कांग्रेसले एमाले र तीन दलको मोर्चाको साथ नलिइ बहुमत पुर्‍याउन स्वतन्त्र सांसद र बाँकी सबै दलको समर्थन जुटाउनु पर्ने हुन्छ ।

यस्तै तीन दल एक ठाउँमा हुँदा राष्ट्रिय सभामा बहुमत नजिक हुनेछ । राष्ट्रिय सभामा माओवादी केन्द्रका १५, एसको ८ र जसपाका ३ सांसद छन् । त्यसैगरी मनोनीततर्फ सांसद नारायण दाहाल मा‌ओवादीका नेता हुन् । त्यसैगरी स्वतन्त्र रूपमा राष्ट्रिय सभाका सांसद रहेका खिमलाल देवकोटा पनि एसनिकट मानिन्छन् ।

आइतबार माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा एस र माओवादीबीच र एसको केन्द्रीय कार्यालय तीनकुनेमा जसपासँग वार्ता भएको थियो । त्यस क्रममा दुवै पक्षबीच दस्तावेज आदानप्रदान भएको थियो । यदि यी दलबीच मोर्चाबन्दी भए सातवटै प्रदेशमा सरकार निर्माणमा पनि सोही मोर्चा निर्णायक शक्ति बन्नेछ ।

सम्बन्धित समाचार

प्रकाशित : माघ ९, २०७९ २१:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×