राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ : महामन्त्री थापा- समाचार - कान्तिपुर समाचार

राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ : महामन्त्री थापा

रासस

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले बिहीबार दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि समय धकेल्ने प्रयास भइरहेको भन्दै निर्धारित समयमै उक्त चुनाव हुनुपर्ने धारणा राखे । 

संविधान र निर्वाचन कानून बाँझिएकाले समय धकेल्ने प्रयास भइरहेको भन्दै थापाले भने, 'राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ । यो बेलामा नेपाली कांग्रेसले आफ्नो उम्मेदवारलाई जिताउन प्रयास गर्छ ।'

पार्टीले राष्ट्रपतिको उम्मेदवारबारे केही दिनभित्र निर्णय गर्ने बताउँदै थापाले सोही उम्मेदवारलाई जिताउन सबै पार्टीसँग आह्वान गरिने बताए । 'खासगरी नेकपा (माओवादी) केन्द्रले कांग्रेसको उम्मेदवारलाई मत हाल्ने अपेक्षा हाम्रो हो, किनभने पुष्पकमल दाहाल गोरखाबाट जितेर आउँदै गर्दा त्यहाँ कांग्रेसको मत परेको छ । म काठमाडौंमा विजयी हुँदा त्यहाँ माओवादीको मत परेको छ ।'

महामन्त्री थापाले पाँच वर्षका निम्ति मत मागेर आएको बताउँदै अहिले विभिन्न बहाना बनाएर जनताको मतलाई दुरुपयोग गर्न नपाइने उल्लेख गरे । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिइसकेपछि राष्ट्रपति पद नेपाली कांग्रेसको उम्मेदवारलाई दिनुपर्ने भन्दै थापाले भने, 'त्यसो भयो भने राजनीतिमा सन्तुलन ल्याउँछ ।'

महामन्त्री थापाले एकल तागतका आधारमा पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे । अरुसँग मिलेर जाँदा कांग्रेस बलियो नहुने विगतले देखाइसकेको भन्दै पार्टीलाई एकढिक्का बनाएर जानुको विकल्प नभएको थापाले बताए । नेपाली कांग्रेस नयाँ कार्यक्रमका साथ पुनः जनतामाझ आउने थापाको भनाइ थियो ।

फागुन ७ गतेभित्र भातृसंस्थाले पूर्णता पाउने र वैशाखमा नीति अधिवेशन गर्ने तयारी भइरहेको महामन्त्री थापाले बताए । सरकार नहुँदैमा सबै सिद्धियो भन्ने सोच्नु गलत रहेको भन्दै उनले अब त्यसमै अल्झिएर बस्न नहुने बताए ।

प्रकाशित : माघ १२, २०७९ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्

हुस्सु/कुहिरोबाट सावधानी अपनाउन अनुरोध

रासस

काठमाडौँ — तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्न सक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि सूचना जारी गर्दै हुस्सु कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पार्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेस प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदलीका साथै गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम छ डिग्रीसेल्सियस र अधिकतम तापक्रम २२ डिग्रीसेल्सियस रहेको छ ।

प्रकाशित : माघ १२, २०७९ ११:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×