नेपाली भूमिमै काम गर्न भारतीय सुरक्षाकर्मीले लगाए रोक- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली भूमिमै काम गर्न भारतीय सुरक्षाकर्मीले लगाए रोक

नदी कटान जोगाउन तारजाली लगाउन नदिँदा सडक भासिँदै
अवधेशकुमार झा

तिलाठी,सप्तरी — नेपाली भूमिमा नेपाल सरकारका अधिकारी, ठेकेदार र प्राविधिकलाई काम गर्न भारतीय सुरक्षाकर्मीले रोक लगाएका छन् । राजविराज–कुनौली सडकखण्ड अन्तर्गत तिलाठी कोइलाडी–१ स्थित भन्सार कार्यालयअगाडि सडकछेउमा बगिरहेको जिता नदीको कटानबाट सडकलाई जोगाउन जाली क्रेटिङ गर्ने कार्यलाई भारतीय सुरक्षाकर्मीले रोक लगाएको हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीका इन्जिनयर सञ्जयकुमार ठाकुरले जानकारी दिए । 

राजविराजदेखि कुनौलीसम्म ११ किलोमिटरको उक्त सडक हाल निर्माणाधीन नै छ । उक्त सडकको दक्षिणतर्फ जिता नदी बगिरहेको र नदीको दक्षिणमा भारतीय भूमि रहेको छ । ‘राजविराज भन्सार कार्यालयको मुख्यद्वारभन्दा १० मिटरनजिकै सडक बनिरहेको छ,’ इन्जिनयर ठाकुरले भने,‘नदी कटानबाट सडक भासिन थालेपछि सडक छेउमा पर्खाल लगायौँ,पर्खालको तल जालीमा बोल्डर हालेर क्रेटिङ गर्न खोज्दा भारतीय सुरक्षाकर्मीले रोक्यो ।’

जाली बोल्डर क्रेटिङ गर्न नदिँदा सो स्थानमा निर्माण गरिएको सडक भासिन थालेको उनले बताए । सडक भासिँदा सडकमै ठूलो खाल्डो परेको छ । ‘पर्खाल तल बोल्डर जाली क्रेटिङ नगरेसम्म सडक जोगाउन कठिन छ,’ इन्जिनयर ठाकुरले भने,‘एक वर्षदेखि यो रोक्ने काम भारतीय पक्षवाट भइरहेको छ ।’ जाली लगाउन जाँदा भारतीय सुरक्षाकर्मीले रोक्ने गरेको उनी बताउँछन् । ‘हामी त्यहाँ जाली लगाउन जान्छौँ, भारतीय सुरक्षाकर्मी आएर रोक्छन्,’ उनले भने,‘यहाँ हामी काम हुन दिँदैनौँ,माथिको आदेश भन्दै भारतीय सुरक्षाकर्मी अवरोध गर्छन् ।’

भारतीय सुरक्षाकर्मीले काम गर्न रोक लगाएकोबारे सप्तरी प्रशासनलाई पहिले पनि जानकारी गराएको इन्जिनयर ठाकुरले बताए । सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने यसबारे जानकारी नभएको बताए ।

‘राजविराज कुनौली सडक आज निर्माण गरिएको सडक होइन्,’ तिलाठीका स्थानीय बासिन्दासमेत रहेका सीमारक्षक देवनारायण यादवले भने,‘सडकलाई कटानबाट जोगाउन तारजाली लगाउने कार्य रोक्नु भारतीय जबरजस्ती हो ।’ ‘नेपाली भूमीमा काम गर्न पनि उनीहरूको अनुमति लिनुपर्ने ?,’ यादवले भने,‘यो त सरासर जबरजस्ती हो,सरकारले उच्च तहमा कुरा गरेर यो समस्या तत्काल समाधान गर्न पहलकदमी लिनुपर्छ ।’


प्रकाशित : माघ १२, २०७९ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्

‘ऋणको बोझ’ ले आत्महत्या !

छोराको बिहेमा भोजसमेत गर्दा मरिक परिवार साढे ३ लाख ऋणमा परेको थियो
अवधेशकुमार झा

राजविराज — छोराको विवाह गर्दा लागेको ऋण तिर्न नसक्दा तनावमा रहेका सप्तरी छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक मृत भेटिएका छन् । परिवारका अनुसार दुईवटा वित्तीय संस्थाबाट एक लाख रुपैयाँ ऋण लिएका रामदेव किस्तासमेत तिर्न नसक्दा तनावमा थिए ।

सोमबार राति खाना खाएर सुतेका उनलाई घरभन्दा ३ सय मिटर दक्षिण–पश्चिममा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मंगलबार बिहान स्थानीयले देखेका थिए । उनका श्रीमती र दुई छोरा छन् ।

२० वर्षीय जेठो छोरा राजकुमार मरिकको गत वैशाख १ मा भारतबाट विवाह गरेका थिए । विवाह गर्न रामदेवले गाउँमै ब्याजमा ऋण लिएका थिए, त्यसले पनि नपुग्ने देखेपछि श्रीमती उर्मिलादेवीलाई वित्तीय संस्थामा आबद्ध गराए । उर्मिलादेवीको नाममा ०७८ मंसिर १३ मा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाबाट ९० हजार ऋण लिएका थिए । किस्ता चुक्ता गर्दै अहिले ४४ हजार ३ सय ३२ रुपैयाँ साँवा र २ सय ७१ रुपैयाँ ब्याज तिर्न बाँकी छ । यस्तै, गाउँमै रहेको महुली लघुवित्त वित्तीय संस्थाबाट १५ हजार रुपैयाँ ऋण लिएकामा ४ हजार ३ सय ३ रुपैयाँ ९० पैसा तिर्न बाँकी छ ।

हरेक महिनाको ९ गते वित्तीय संस्थाको किस्ता तिर्नुपर्नेमा सोमबार उर्मिलादेवी समूहको बैठकमा नगएपछि संस्थाका कर्मचारी र समूहका सदस्य किस्ता लिन घरमै आएको छोरा राजकुमारले बताए । किस्ता तिर्ने पैसा नभएपछि रामदेवले श्रीमती उर्मिलालाई मेरो पति घरमा छैन भनेर सुनाइदिन अह्राएका थिए ।

तर, मंगलबार जसरी भए पनि किस्ता बुझाउनु भनेर गएपछि रामदेव सोमबार साँझदेखि नै गाउँमा ऋण खोज्न थालेका थिए । रामदेवले कर्जा चुक्ता गर्न नसक्दा तनावमा रहेका कारण आत्महत्या गरेको हुन सक्ने छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताए । जिल्ला प्रहरी सप्तरीका डीएसपी नरेशकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : माघ ११, २०७९ ०६:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×