मृतक आचार्यले उठाएका मागको छानबिन हुन्छ : गृहमन्त्री लामिछाने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मृतक आचार्यले उठाएका मागको छानबिन हुन्छ : गृहमन्त्री लामिछाने

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संघीय संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारसँग भेटी मृतक आचार्यले उठाएका मागको उचित छानबिन गर्ने आश्वासन दिएका छन् । संसद् भवन अगाडि आफैँलाई आगो लगाएका इलामका आचार्यको परिवारलाई बुधबार भेटेर सहानुभूति प्रकट गर्दै उनको माग छानबिन हुने आश्वासन दिएका हुन् ।

संसद् भवन अगाडि आफ्नै शरीर जलाएपछि उनलाई कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै गृहमन्त्री लामिछानेले यस्ता कुराबाट वाक्क भएर केही गर्नका लागि राजनीतिमा प्रवेश गरेको बताए । उनले अहिले चलिरहेको राजनीति र प्रशासनिक कुराहरूमा सहभागी बन्न आफू नआएको जिकीर गर्दै देशलाई केही गरौँ भन्ने मनसायबाट आएको बताए ।उनले आफूबाट भएका कमीकमजोरी पनि नियाल्ने र बाँकी कुरामा पनि आफू गम्भीर भएर लाग्ने बताए ।

उनले भने, ‘अहिले दुःखको बेला अहिले धेरै भन्ने पक्षमा म पनि छैन, यही कुराहरूबाट दिक्क भएर नै केही गर्नुपर्छ भनेर म राजनीतिमा आएको हुँ । नयाँ छु । समय लाग्नसक्छ,’ उनले भने‚ ‘सबै चिजमा म तुरुन्त छानबिन गर्नेछु । हामीबाट भएका कमी कमजोरी पनि हामी हेर्नेछौँ । हामीले छानबिन गर्ने विषयमा छानबिन गर्नेछौँ । म गम्भीर भएर काम गर्नेछु ।’

मृतककी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, शिक्षाको सुनिश्चित गर्न, आफूलाई सक्ने रोजागारी दिन र श्रीमान्‌ले लिएको आर्थिका ऋण सरकारबाट तिरिदिन आग्रह गरेकी छन् । उनले देशमै केही गरौँ भन्ने मान्छेको मृत्यु भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण भएको बताइन् ।

उनले भनिन्, ‘उहाँले देशका लागि केही गरौँ भनेर गरौँ भन्नुभयो, तर अब बच्चाहरुको भविष्य के हुने हो ? मैले कसरी गर्ने; मेरा छोरीहरूको भविष्य, पढाइ सुनिश्चित गरियोस्; मैले सक्ने रोजगारी पनि दिनुस् । यो भ्रष्टाचारी देश भएर मेरो मान्छेको ज्यान गयो, एउटाले कृषिमा १५ पटक अनुदान पाउँदा हामीले फारम भर्नसमेत लाखौं खर्च गर्नुपर्‍यो ?’

गृहमन्त्री लामिछानेले मृतकका आफन्तलाई भेटेसँगै आफन्तहरुले शव बुझेका छन् । मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षीय आचार्यको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित : माघ ११, २०७९ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्

गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै जिम्मेवार बनाउनुपर्छ: उर्जामन्त्री लिङ्देन

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै आयोजनाप्रति जिम्मेवार बनाउनुपर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा उपप्रधानमन्त्री लिङ्देनले सबै निर्माण व्यवसायीले काम पाउनुपर्ने धारणा राखेका थिए । साथै, उनले क्रसर उद्योग बन्दले निर्माण कार्यमा देखिएका समस्या चाँडै समाधान हुने आश्वासन पनि दिएका थिए ।

महासंघका अध्यक्ष रवि सिंहले क्रसर उद्योग सञ्चालनमा देखिएका समस्याले निर्माण कार्य ठप्प रहेको मन्त्री समक्ष बताए । निरन्तरको मूल्यवृद्धिका कारण थलिएको निर्माण उद्योगलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भए बमोजिम २० प्रतिशत मोबिलाइजेसन पेस्की व्यवसायीले पाउनुपर्ने अध्यक्ष सिंहको भनाइ थियो । व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा सप्लाई चेनमै गम्भीर समस्या देखिएकोप्रति अध्यक्ष सिंहले उपप्रधानमन्त्री लिङ्देनको ध्यानाकर्षण गराए ।

निर्माणाधीन आयोजनाहरू सम्पन्न भएपछि मात्र नयाँ आयोजनाको ठेक्का लगाउन र पाँच प्याकेजको व्यवस्थालाई अझ व्यवस्थित बनाउन अध्यक्ष सिंहले आग्रह गरे । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी) ले व्यवसायीहरूले भुक्तानी पाएमा त्यसको फाइदा राज्यलाई नै हुने बताए । महासंघका महासचिव रोशन दाहालले रकमान्तर गरेर भए पनि भुक्तानीको समस्या समाधान गर्नुपर्ने बताए ।

प्रकाशित : माघ ११, २०७९ १६:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×