प्रेमप्रसादलाई न्याय माग्दै प्रदर्शन [तस्बिरहरू]- समाचार - कान्तिपुर समाचार

प्रेमप्रसादलाई न्याय माग्दै प्रदर्शन [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि मंगलबार आफैंलाई जलाएका कारण मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरुलाई राज्यले सम्बोधन गर्नुपर्ने र उनले न्याय पाउनुपर्ने माग गर्दै माइतीघरबाट 'काठमाडौं अपराइजिङ' नाममा प्रदर्शन सुरु भएको छ ।

नागरिक समाजका अगुवा र युवाहरूले इलामका प्रेमप्रसाद आचार्यको न्याय र उनीजस्तै लाखौँ नेपाली युवाहरूको न्यायकालागि सरकारसँग माग गरेका छन् । उनीहरूले आचार्यको दुःखद निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् भने उनका २५ बुँदे मागहरू पूरा गर्न सरकारसँग माग गरेका छन् ।


काठमाडौंको माइतीघरमा जम्मा भएर नाराबाजीसहित बानेश्वर पुगेका उनीहरूले ‘सरकार गरिखान दे, प्रेमप्रसाद आचार्यको आत्महत्या होइन हत्या हो, अर्को जल्दो शरीर मेरो नहोस्, यो देश हो कि बधशाला ?’ लगायत नाराहरू लेखिएका प्ले–कार्डसहित प्रदर्शन गरेका छन् ।

नागरिक अगुवा एवं लेखक सञ्जिव उप्रेतीले आचार्यको आत्मदाहले नेपाली अर्थ सामाजिक व्यवस्थाको मारमा परेको संघर्षशील युवाको जीवनलाई उजागर गरेको बताए । ‘प्रेम आचार्यको कहानी यदि कारुणिक छ कि उहाँले बारम्बार प्रयास गर्नुभएको छ माथि उठ्नकालागि । तर, उहाँलाई हाम्रो अर्थ सामाजिक व्यवस्थाले सधैँ पिँधमा पुर्‍याइरहेको देखिन्छ,’ उनले भने, ‘यो उहाँको अवस्था हो । तर यही अवस्था अहिले लाखौँ नेपालीले बेहोर्न बाध्य छन् । यस्तो अवस्थाको अन्त्य गर्न हामी सडकमा आउन बाध्य भएका छौँ ।’

प्रदर्शनका क्रममा उनीहरूले सीमान्तकृत दलित, महिला र मजदुरहरूको जीवनस्तर माथि उठ्न नसकिरहेको अवस्थाको चित्रलाई उजागर गरेको बताएका छन् ।

‘हिजो यही सडकमा उत्रिएर नाराबाजी गर्ने साथीहरू अहिले संसद्मा, सरकारमा पुग्नुभएको छ । हामीलाई उहाँहरूप्रति आशा छ, हाम्रो आशालाई निराश नबनाईदिनुहोला,’ बानेश्वरमा भएको कोणसभामा बोल्ने एक वक्ताले भने, ‘तपाईहरूबाट परिवर्तन सम्भव छ भने साताभित्र गर्नुहोला, होइन भने पद छाडेर सडकमै आउनुहोला ।’

उनीहरूले आचार्यले राखेका २५ बुँदे मागहरू पूरा नभएसम्म निरन्तर आन्दोलन गर्ने बताएका छन् ।

आचार्यले मंगलबार अपरान्ह संसद् भवन अगाडि आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । आगोले जलेर अस्पताल पुर्‍याइएका उनको बुधबार बिहान मृत्यु भएको थियो ।




प्रकाशित : माघ ११, २०७९ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्

एकमहिने स्वस्थानी व्रत आरम्भ

तस्बिर : अंगद ढकाल, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन एक सय आठ जनै, एक सय आठ सुपारी, एक सय आठ पान, एक सय आठ फूल, एक सय आठ रोटी, एक सय आठ अक्षता विभिन्न थरिका फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मितछोरालाई एवं मितछोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ ।

सय रोटी ब्रतालु आफैंले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा बर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास गरिन्छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । 'स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ,' उनले भने ।

यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत नेपाली समुदायमा प्रचलित छ । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग–नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिए ।

यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालि नदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्छ । प्राचीनकालदेखि लाग्दै आएको मेलामा महिनाभर लाखौँ भक्तजनको उपस्थिति रहन्छ ।


प्रकाशित : पुस २२, २०७९ ११:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×