तुइन खोलामा पुल बनाउन दैनिक चार घण्टा सडक बन्द- समाचार - कान्तिपुर समाचार
नारायणगढ-मुग्लिन खण्ड

तुइन खोलामा पुल बनाउन दैनिक चार घण्टा सडक बन्द

रमेशकुमार पौडेल

चितवन — नारायणगढ मुग्लिन सडक संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य राजमार्ग हो । तर पछिल्ला पाँच वर्षयता वर्षायाममा यो सडक पहिरो गएर घण्टौं बन्द हुने गर्दछ । यो पटक हिउँदमा पनि नारायणगढ मुग्लिन सडक दैनिक चार घण्टा बन्द भइरहेको छ । सुरुमा पुस ५ गतेदेखि एक महिनालाई भनेर गरेको बन्द फेरि महिना दिन थपिएको छ । पुल बनाउन यसरी सडक बन्द गर्नु पर्ने बाध्यता आएको हो ।

नारायणगढ मुग्लिन सडक पुरानो सडक भए पनि साँघुरो थियो । ७२ सालमा यो सडकलाई एसियाली मापदण्ड अनुसारको दुई लेनको फराकिलो सडक बनाउन काम सुरु भयो । झण्डै सवा तीन वर्ष लगाएर सडक फराकिलो बनाए पनि पुल पुरानै थिए । ३६ किलो मिटर सडकमा १८ वटा पुल छन् । तीमध्ये तीनवटा पुल दुई वर्षअघि फराकिलो बनाए पनि बाँकी १५ वटा पुल फराकिलो बनाउन ७६ सालको चैत्र १० मा सम्झौता भएको थियो ।

नारायणगढ मुग्लिन सडक, नागढुंगा मुग्लिन सडक (पश्चिम खण्ड) आयोजनाका सूचना अधिकारी रहेकका इन्जिनियर कृष्ण आचार्यका अनुसार पाँचवटा पुल पहाड काटेर निर्माण भइरहेका छन् । मुग्लिन नजिकको चिसेन्जी, तुईन खोला, कालिखोला, तोपे खोला र सिमलतालको पुलको जग राख्न तथा पहुँच मार्ग बनाउन आडको पहाड काट्नु परेको छ ।

सडक आडको अग्लो पहाड काट्दा माथिबाट ढुंगा खसेर तल सडकमा गुडेका गाडीमा लाग्न सक्ने खतरा देखेपछि गाडी रोकेर काम गर्नुपर्ने बाध्यता आएको इन्जिनियर आचार्यले बताए । पहाड काट्नु पर्ने अन्य पुलको काम सकिएको छ । तर चिसेन्जी र तुईन खोलामा धेरै नै काम बाँकी रहेपछि गाडी बन्द गर्ने समय एक महिना थप भएको आचार्यले बताए । यी दुईमध्ये तुईन खोलाको काम झनै गाह्रो छ ।

तुईन खोलाको मुग्लिन तर्फको भागको पहाड ६० मिटर अग्लो थियो । पुलको ११ मिटर फराकिलो मुखका लागि यो पहाड पूर्णरुपमा हटाउनु पर्ने हुन्छ । तर अहिलेसम्म माथिबाट १५ मिटर मात्रै काटेर सकेको आचार्यले जानकारी दिए । गाडी रोकिएका बेलामा सातवटा मेसिनले धमाधम काम गर्दछन् । तर ठाडो भिरमा कडा चट्टान भएका कारण काट्न सजिलो भने छैन । त्यसैले आउँदो फागुन ५ भित्र ४५ मिटर पहाड काटेर सक्न गाह्रै छ ।

आधा पहाड काटेर सके अहिलेको जस्तो दिनमा चार घण्टा गाडी रोकेर काम गर्न नपर्ने आचार्यले बताए । नारायणगढ मुग्लिन सडक, नागढुंगा मुग्लिन सडक (पश्चिम खण्ड) आयोजनाका प्रमुख किरण कार्कीले यो सडक हुँदै दैनिक १५ हजारको हाराहारीमा गाडी ओहर दोहर गर्ने बताए । त्यसैले लामो समय गाडी रोकेर काम गर्न चुनौतीपूर्ण छ । अवस्था हेरेर नियन्त्रित विष्फोट मार्फत पहाड फुटाउन पनि पर्न सक्ने कार्कीले बताए ।


प्रकाशित : माघ ११, २०७९ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्

‘बर्ड फ्लु’ ले कुखुरापालन व्यवसाय असफल, अझै आएन सरकारी राहत

रमेशकुमार पौडेल

चितवन — किरणप्रसाद कँडेलले चितवनको पूर्वी क्षेत्र खैरहनी नगरपलिका–२ सिमलघारीमा तात्रिबास पशु विकास फार्म तथा कृषि अनुसन्धान केन्द्र खोलेर टर्की पाल्न सुरु गरे । मासुका लागि नेपालमा ब्रोइलर कुखुरा पालन निकै फस्टाएको छ ।

कुखुराभन्दा ठुलो टर्की पाल्ने र मासु खाने चलन खासै नरहेका बेलामा कँडेलले ६९ सालमा फार्म खोलेका थिए । नयाँ काममा हात हाले पनि उनले सफलता हाँसिल गरे ।

तर‚ अचेल भने उनी निरास देखिन्छन् । व्यवसाय सुरु गरेको १० वर्ष बित्दा नबित्दै बीचमा अनेक संकट र चुनौती नआएका पनि होइनन् । कोरोनाले संकटले थला परेको व्यवसायलाई सखाप नै पार्ने गरेर उनको फार्ममा पन्छीमा लाग्ने संक्रामक रोग बर्ड फ्लु दुई पटक देखा पर्‍यो । बर्ड फ्लु पुष्टि भएर पालेका पन्छीहरू मारेमा सरकारले राहत उपलब्ध गराउँछ । तर‚ कँडेलले भने अझै राहत पाउन सकेका छैनन् ।

कँडेल मात्रै होइन‚ गत वर्ष बर्ड फ्लुका कारणले हाँस, कुखुरा, टर्कीलगायत पन्छी नष्ट गरेका कसैले पनि सरकारी राहत बुझेका छैनन् । देशभरका व्यावसायिक किसानहरुले टिपाएको विवरण हेर्दा बर्ड फ्लुको कारण गत वर्ष एक अर्ब रुपैयाँको हाराहारीमा नोक्सानी भएको देखिने पोल्ट्री महासंघले जनाएको छ । महासंघका उपाध्यक्ष टीका पोखरेलले नोक्सान बेहोरेका कसैले पनि सरकारी राहत रकम नपाएको बताए ।

‘यो समय कुखुरापालन क्षेत्रमा अनेकौं समस्याहरू थपिएका छन् । बर्ड फ्लुले व्यवसायीहरुलाई सधै हैरान बनाउँदै आएको हो । गत वर्ष बर्ड फ्लु भएर नष्ट गरेका पन्छी र त्योसँग सम्बन्धित वस्तुहरू नष्ट गरेबापत सरकारले दिने राहत रकम अझै आएको छैन‚’ पोल्ट्री महासंघका उपाध्यक्ष पोखरेलले भने । सरकारले दिने राहत नआएको तर बैंकले कर्जा नतिरेको भनेर कालो सूचीमा राख्न थालेको व्यवसायीहरु बताउँछन् ।

कँडेलको फार्ममा २५ सयसम्मका टर्की थिए । त्यसैगरी कडकनाथ कुखुरा सात हजारभन्दा बढी थिए । कडकनाथ कुखुरा कालो रंगको हुन्छ । यसको मासु र अण्डाको रंग पनि कालै हुने हुँदा विशेष खालको मानिन्छ । उनको फार्मको टर्कीको बच्चा उत्पादन पनि हुन्थ्यो । गत वर्षको चैत्र १७ मा बर्ड फ्लु आएर सबै नष्ट गर्नुपर्‍यो । त्यसपछि उनले जेठमा टर्कीका चल्ला राखेका थिए । गएको असार ५ मा फेरि बर्ड फ्लु आयो ।

‘दुई-दुई पटक बर्ड फ्लुले धक्का दिएपछि सम्हालिन गाह्रो भएको छ । बैंकमा भएको करोडौं ऋणको ब्याज पनि तिर्न नसकेपछि उसले आफ्नो प्रक्रिया सुरु गरेको छ । तर‚ हामीले सरकारबाट पाउने राहत आउने सुरसार नै छैन‚’ कँडेलले दुखेसो पोखे । सरकारले ३९ सालमा आएको दैवी प्रकोप उद्धार ऐनमा टेकेर ६४ सालमा बर्ड फ्लु नियन्त्रण आदेश जारी गरेको थियो । त्यसैको आधारमा बर्ड फ्लु हुँदा कुखुरा मार्ने र राहत दिने गरिन्थ्यो ।

दैवी प्रकोप ऐनको साटो ७४ सालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन जारी भयो । त्यसका आधारमा गत वर्षको माघमा नियमावली बन्यो । तर‚ राहत तथा क्षतिपुर्तिका लागि मापदण्ड बनाउन समय लाग्यो । गएको असार मसान्तमा बल्ल मापदण्ड स्वीकृत भएको पशु सेवा विभागका महानिर्देशक डा. सम्झनाकुमारी काफ्ले पाण्डेले बताइन् ।

अब अर्थ मन्त्रालयको सहमति लिएर पठाएको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेलगत्तै बर्ड फ्लुको राहत वितरण हुने महानिर्देशक डा. सम्झनाको भनाइ छ । उनका अनुसार गत वर्ष भएको बर्ड फ्लुको नोक्सानीका कारण १५ जिल्लाका दुई सयभन्दा बढी किसानहरूलाई ५८ करोड रुपैयाँको हाराहारीमा राहत रकम उपलब्ध गराउनु पर्ने देखिन्छ । क्षतिको ७५ प्रतिशतसम्म राहतले समेट्ने नीति रहेको उनले बताइन् ।

लागत मूल्यलाई आधार मान्दा गत वर्ष बर्ड फ्लुका कारण ८० करोड रुपैयाँका हाराहारीमा क्षति भएको देखिने पशु सेवा विभागले जनाएको छ । ‘प्रक्रियाको विषयले गर्दा यो पटकलाई समय लागेको हो । अब हामी छिट्टै राहत वितरण गर्दै छौं‚’ महानिर्देशक डा. सम्झाकुमारी काफ्ले पाण्डेले भनिन् । तर‚ सरकारी अधिकारीहरुको मुखबाट ‘छिट्टै राहत आउँछ’ भन्ने वाक्य धेरै पटक सुनेको किसान किरणप्रसाद कँडेलले सुनाए ।

प्रकाशित : माघ १०, २०७९ ०८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×