अवैध उत्खननको विरोध गर्दा मारिएका दिलीप महतोको मुद्दामा बुधबार सुनुवाइ हुँदै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवैध उत्खननको विरोध गर्दा मारिएका दिलीप महतोको मुद्दामा बुधबार सुनुवाइ हुँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — धनुषाको औरही खोलामा भइरहेको ढुंगा, गिट्टी र बालुवा उत्खननको विरोध गर्दा मारिएका ओमप्रकाश महतो (दिलीप) को मुद्दामा बुधबार धनुषा जिल्ला अदालतमा सुनुवाइ हुने भएको छ । बुधबार जिल्ला न्यायाधीश चित्रबहादुर गुरुङको इजलासमा महतोको मुद्दाको पेसी तोकिएको छ । 

यसअघि मुद्दा दर्ता भएको करिब तीन वर्षमा मंसिर २८ गते सुनुवाइ भएको थियो । त्यसदिन बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । घर अगाडिको औरही खोलाबाट भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननको विरोध गर्दा ओमप्रकाश महतो (दिलीप) ले २०७६ पुस २५ मा ज्यान गुमाएका थिए ।

अनियन्त्रित उत्खननविरुद्ध आवाज उठाइरहेका दिलीपको चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक र कामदारले हत्या गरेको अभियोग लागेको छ । क्रसर उद्योग सञ्चालक विपिनकुमारले अवैध एवं अनियमित रूपमा बालुवा–गिट्टी उत्खनन गरेको भन्दै विरोध गर्न २०७६ पुस २५ गते बिहान ४ बजे दिलीप खोलामा पुगेका थिए तर उनी त्यहाँबाट जीवितै फर्किएनन् ।

सम्बन्धित समाचार

प्रकाशित : माघ ११, २०७९ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्

आजकै दिन : विश्वकै ठूलो हीरा पत्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९०५ मा आजकै दिन (जनवरी २५) मा दक्षिण अफ्रिाकामा विश्वकै सबैभन्दा ठूलो हीरा ‘कुलिनान’ पत्ता लागेको थियो । ट्रान्सभल प्रान्तको प्रिटोरियास्थित खानीमा भेटिएको हीराको नामकरण खानी सञ्चालक सर थोमस कुलिनानको नामबाट गरिएको हो । उक्त हीरा ३ हजार १०६.७५ क्यारेट (६२१.३५० ग्राम) को हो । 

खानीमा भेटिएपछि कुलिनानले हीरा ट्रान्सभल सरकारलाई बिक्री गरेका थिए । सरकारले पछि बेलायती राजा एडवार्ड छैटौंको जन्मोत्सवमा उक्त हीरा उपहार दिएको थियो । त्यसलगत्तै हीरा अफ्रिकाबाट लन्डन पुर्‍याइएको हो ।

हीरा नेदरल्यान्ड्सको राजधानी आम्टर्डमस्थित ‘हाउस अफ एस्चेर’ का जोसेफ एस्चेरले पालिस गरेका हुन् । १८३३ मा ९७१ क्यारेटको एक्सेल्सर हीरा काटेर पालिस गरेका एस्चेरले ६ महिनाको अध्ययनपछि मात्र कुलिनानलाई टुक्रा पारेका हुन् ।

९ वटा मुख्य तथा अन्य १०५ साना टुक्रामा विभाजित हीराको सबैभन्दा ठूलो टुक्रा ५३०.२१ क्यारेटको छ । कुलिनान–१ (ग्रेट स्टार अफ अफ्रिका) नामकरण गरिएको हीरा हाल विश्वको सबैभन्दा ठूलो हो । यसको हालको मूल्य ४० करोड अमेरिकी डलर रहेको छ ।

त्यस्तै, ३१७.४० क्यारेटको कुलिनान–२ दोस्रो ठूलो टुक्रा हो । एडवार्डले राजदण्ड, श्रीपेच तथा अन्य गहना बनाउनका लागि कुलियान–१ र कुलियान–२ को प्रयोग गरेका थिए । यी हीरा अन्य रत्नहरूसँगै हाल बेलायतको ‘टावर अफ लन्डन’ मा राखिएको छ ।


प्रकाशित : माघ ११, २०७९ ०९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×