अवैध उत्खननको विरोध गर्दा मारिएका दिलीप महतोको मुद्दामा बुधबार सुनुवाइ हुँदै

काठमाडौँ — धनुषाको औरही खोलामा भइरहेको ढुंगा, गिट्टी र बालुवा उत्खननको विरोध गर्दा मारिएका ओमप्रकाश महतो (दिलीप) को मुद्दामा बुधबार धनुषा जिल्ला अदालतमा सुनुवाइ हुने भएको छ । बुधबार जिल्ला न्यायाधीश चित्रबहादुर गुरुङको इजलासमा महतोको मुद्दाको पेसी तोकिएको छ ।

यसअघि मुद्दा दर्ता भएको करिब तीन वर्षमा मंसिर २८ गते सुनुवाइ भएको थियो । त्यसदिन बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । घर अगाडिको औरही खोलाबाट भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननको विरोध गर्दा ओमप्रकाश महतो (दिलीप) ले २०७६ पुस २५ मा ज्यान गुमाएका थिए ।
अनियन्त्रित उत्खननविरुद्ध आवाज उठाइरहेका दिलीपको चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक र कामदारले हत्या गरेको अभियोग लागेको छ । क्रसर उद्योग सञ्चालक विपिनकुमारले अवैध एवं अनियमित रूपमा बालुवा–गिट्टी उत्खनन गरेको भन्दै विरोध गर्न २०७६ पुस २५ गते बिहान ४ बजे दिलीप खोलामा पुगेका थिए तर उनी त्यहाँबाट जीवितै फर्किएनन् ।
सम्बन्धित समाचार
प्रकाशित : माघ ११, २०७९ ११:२०